site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना नियन्त्रणमा कहाँ चुक्यौँ हामी?

अमेरिकामा पछिल्लो एक सातादेखि कोरोना संक्रमितहरुको संख्यामा भएको वृद्धि हेर्दा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको अडकल काट्न थालिएको छ । पछिल्लो केही साताहरुमा जर्ज फ्लोइड हत्याको विरोधमा विभिन्न सहरमा प्रदर्शन जारी छ । प्रदर्शनमा धेरै मानिस एकै ठाउँमा भेला भएको कारणले पनि संक्रमितको संख्यामा वृद्धि भएको अडकल गर्न सकिन्छ ।

सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै यस्तै प्रदर्शनहरु नेपालमा पनि केही दिनदेखि जारी छ । नेपालमा भएका प्रदर्शनहरुमा सामाजिक दूरी कायम राख्ने प्रयास भएकै छन् । तैपनि, यस्ता प्रदर्शनहरुमा जति नै सावधान हुन खोज्दा पनि रोग सर्ने जोखिम बढी नै हुन्छ । यसको अर्को उदाहरण भारतस्थित महाराष्ट्र प्रान्त हो । त्यहाँ पनि मजदुरहरुको आन्दोलनपश्चात संक्रमण व्यापकरूपमा फैलिएको थियो ।

हुन त कोरोनाको कारणबाट हुने मृत्युको दर थोरै नै छ । तर, छिटो फैलिन सक्ने यसको संक्रमण हाम्रो अगाडि चुनौती बनेर उभिएको छ । अझ लामो समयसम्मको बन्दाबन्दी (लकडाउन)ले जनताको धैर्यको बाँध टुट्ने स्थिति समेत आयो । यसले गर्दा सरकारलाई ‘लकडाउन’ खोल्न व्यापक दबाब पर्न गयो । तर, लकडाउन खुकुलो पारेसँगै अझ व्यापकरुपमा संक्रमण फैलने त्रास पनि बढेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिले, हवाईमार्गबाट आउने संक्रमितहरु सबै निको भइसकेका छन् । उनीहरुको व्यवस्थापनमा सरकारले दिएको ध्यान पनि तारिफयोग्य छ । त्यसैगरी, विदेशबाट फिर्ता ल्याइएकाहरुको रेखदेखको प्रबन्ध पनि राम्रै मान्न सकिन्छ । तर, स्थलमार्गबाट आएकाहरुको व्यवस्थापनमा सरकार चुक्यो । अरु देशहरु कोरोना के हो भन्ने जान्न नभ्याउँदै यसको चपेटामा परे । हामीसँग भने तयारी गर्न पर्याप्त समय थियो । त्यसलाई सहीरुपमा सदुपयोग गर्न सकेको भए अहिलेको अवस्था आउने थिएन । 

स्थिति कहाँसम्म पुग्ने हो अहिल्यै भनिहाल्न सक्ने अवस्था छैन । गत वैशाख १० सम्ममा ४५ मात्र रहेको संक्रमितको संख्या अहिले आएर पाँच हजार नाघेको छ । नेपाली विद्यार्थीहरुको एउटा समूहले हालै प्रकाशन गरेको शोधपत्रमा यो संख्या जुलाई महिनाको पहिलो सातासम्ममा करिब दस हजार पुग्ने आकलन गरिएको छ । अन्य देशमा देखिएका संक्रमण वृद्धिको दर हेर्दा पनि यो आंकलन सही हुने अनुमान सहजै लगाउन सकिन्छ ।

Global Ime bank

आखिर लकडाउन सुरु हुदाँसम्म लगभग कुनै सक्रिय संक्रमण पुष्टि नभएको नेपाल अहिलेको अवस्थासम्म कसरी आइपुग्यो त ? यस प्रश्नको जवाफ भविष्यमा देखिन सक्ने अरु रोगहरुको नियन्त्रणका लागि समेत एकदमै उपयोगी हुनेछ ।

सर्वप्रथम, दक्षिण र पश्चिम भूभागका लाखौं नेपाली रोजगारीको सिलसिलामा भारतमा छन् । सन् २०१८मा नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयले प्रकाशन गरेको एक प्रतिवेदनमा तेस्रो मुलुकमा करिब साँडे पैंतीस लाख नेपाली रहेको जनाइएको छ । तर, खुल््ला सिमानाको कारणले भारतमा कति नेपाली छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन । यसैले गर्दा त्यहाँबाट फर्किने नेपालीको व्यवस्थापनमा ठूलो कमजोरी  भयो र यो नै कोरोना संक्रमण फैलिनुको प्रमुख कारण बन्यो ।

नेपालमा देखिएको पहिलो संक्रमणलाई छाड्ने हो भने २०७६ को चैत ४ गतेमात्र नेपालमा कोरोना संक्रमण भित्रिएको मान्न सकिन्छ । कतार एयरलाइन्सबाट त्यसै दिन आएका तीनजनामा संक्रमण भेटिएको थियो । त्यसैगरी स्थलमार्गबाट भित्रिएको पहिलो संक्रमण चैत २२ मा पुष्टि भएको थियो । अझ समुदाय स्तरमा फैलिएको संक्रमण भने २०७७ वैशाख ५ मा उदयपुरमा भेटिएका संक्रमितहरु नै पहिलो थिए ।

कोरोनाको विशेष जोखिम नै समुदाय स्तरमा फैलिएपछि सुरु हुने हो ।  त्यसैगरी, भारतमा कोरोनाको पहिलो संक्रमण गत वर्षको माघ १६ देखिएको थियो । त्यसपछिमा खासै नबढेको संक्रमण फागुनको तेस्रो सातासम्म आइपुग्दा समुदाय स्तरमा देखिन थाल्यो । यसको मतलव भारतमा समुदाय स्तरमा संक्रमण देखिन थालेको करिब दुई सातापछि मात्र नेपालमा पहिलो चरणका संक्रमित भेटिएका थिए ।

त्यो समयमा नेपाली नेतृत्वले दूरदर्शी भएर भारतमा फैलिन सुरु भएको संक्रमण त्यहाँ रहेका नेपाली नागरिकका लागि मात्र हैन नेपालमै बस्नेका लागि पनि खतराको घन्टी हो भन्ने बुझ्न चुक्नु हँुदैन थियो । विश्वव्यापी महामारीको बेलामा त झन् आफ्ना नागरिकलाई अरु देशको भरमा कुनै देशले छोड्दैनन् । हामीसँग दुई साता जतिको ‘बफर’ समय पनि थियो जुन भारतमा भएका नेपालीलाई फिर्ता ल्याउन पर्याप्त हुन्थ्यो ।

अझ नेपालको समुदाय स्तरको संक्रमणको कुरा गर्दा त हामीसँग एक महिनाभन्दा बढी समय थियो । त्यो अवस्थामा भारतमा रहेका नेपालीलाई देश फर्किन आह्वानमात्र गरिदिँदा पनि पुग्थ्यो । सरकारले दुई सातापछि बन्दाबन्दी सुरु हुने संकेत दिएर त्यस्तो आह्वान गरिदिएको भए लकडाउन सुरु भएपछि मात्र सिमानामा आएर बसेका नेपाली पक्कै पनि दुई साता अगाडि नै आउने थिए ।

त्यतिबेला भारतमा भरखरै सुरु भएको संक्रमण उनीहरुले लिएर आउने सम्भावना पनि न्यून हुने थियो । उनीहरुलाई आफ्नै देशतिर ल्याएर सुरक्षित राख्न सकिने थियो । साथै, आन्तरिक लकडाउनसमेत केही दिन पछाडि धकेल्न सकिने थियो । तर, आज तिनै सिमानामा अल्झाएर राखिएका नागरिकमा सबैभन्दा धेरै संक्रमण भयो र हामी अहिलेको स्थितिसम्म आइपुग्यौँ ।

दोस्रो, सबै देशमा कोरोनाका बिरामी दिन प्रतिदिन बढ्दै गर्दा नेपालमा भने एक जनामा पनि सक्रिय संक्रमण नदेखिनु सरकारको लागि उत्तम अवसर थियो । सरकारले यसलाई सदुपयोग गरेर तयारी तीव्र पार्नु उचित  हुन्थ्यो । तर, यही संख्यालाई सरकारले प्रतिष्ठाको विषय बनाएर अगाडि बढेको देखियो । सरकारको ध्यान नेपालमा भएका संक्रमितको संख्या नबढाउनेमा मात्र केन्द्रित भयो ।  

भारतबाट आएकालाई सुरक्षित रुपमा भित्र्याए पनि उनीहरुको परीक्षण गर्दा संक्रमितको संख्या बढ्ने थियो । त्यसैले, संख्या बढ्ने डरमा सिमानामा रहेकाहरुलाई फिर्ता ल्याउन सरकारले चाहेन । अझ नेपालगन्जमा त क्वारेन्टिनबाट भागेको घटनाले सरकारलाई थप सशंकित बनायो । यिनै परिस्थितिले गर्दा लकडाउन सुरु हुदाँ नै आएका र क्वारेन्टिन अवधि पूरा गरेकाहरु पनि नेपाल छिर्न पाएनन् ।

केही लुकीछिपी नेपाल पसे । तर धेरैजसो, नयाँ आएकाहरुसँग एउटै क्वारेन्टिनमा मिसिन बाध्य भए । नयाँ आउनेहरु संक्रमण बोकेरै क्वारेन्टिनमा प्रवेश गर्ने जोखिम थियो । यसरी संख्या बढ्ने डरमा क्वारेन्टिन अवधि पुगेकाहरुलाई पनि फिर्ता ल्याउन नसक्नु उनीहरुलाई संक्रमित नै हुन छोड्नु जस्तै साबित भयो । 
अर्को महत्त्वपूर्ण प्रसंग, कोरोनाको कुनै विशेष औषधि नभएको विश्व स्वास्थ्य संगठनले बारम्बार दोहोर्याई रहेको छ ।

उसका अनुसार यसको सबैभन्दा उत्तम रोकथाम भनेको नै सामाजिक दूरी र अधिकतम संक्रमितको पहिचान गर्नु हो । सामाजिक दूरीको पाटोमा ध्यान पुगे पनि परीक्षणको दायरा बढाउने सबालमा सरकारबाट ठूलो चुक भयो । अन्य देशहरुले आरडीटी परीक्षणको विश्वसनीयतामा प्रश्न उठाउँदै गर्दा हाम्रो सरकार भने आरडीटी परीक्षणमा नै बढी केन्द्रित देखियो । यसले परीक्षणको संख्या बढी देखाउनेबाहेक अरु केही उपलब्धि भएन । बरु उल्टै संक्रमित पहिचानमा ठूलो आघात पुर्यायो र समुदाय स्तरमा भाइरस अझ बढी फैलिन पायो ।

नदी थुनेर बाढी कहिल्यै रोकिँदैन । उल्टै, अझ ठूलो विनाश निम्त्याउँछ । यसको सबैभन्दा सही समाधान होसियारीपुर्वक बाँध खोलेर पानीको बहाबलाई उसकै गतिमा बग्न दिनु हो । हाम्रो अहिलेको कोरोना महामारीको अवस्था सरकारले भारतसँगको सिमानामा जनतालाई रोकेर राख्दा नै निम्तिएको हो । अहिले बाँध भत्कियो र संक्रमण व्यापकरूपमा फैलियो । होसियारीपूर्वक परीक्षण गर्दै आफ्ना नागरिकलाई देश भित्र्याएको भए संक्रमितको संख्या केही बढे पनि स्थिति नियन्त्रणमा नै रहन्थ्यो ।

तसर्थ, भारतबाट समयमा नै नेपालीलाई फिर्ता नबोलाउनु, सिमानामा आएर बसेकाहरुको क्वारेन्टिन र परीक्षणमा हेलचेक्य्राइँ गर्नु र परीक्षणको संख्यामा उल्लेख्य वृद्धि गर्न नसक्नु नै हाम्रा प्रमुख कमजोरी भए । त्यसबाहेक, सरकार परिवर्तनका खेलहरु, विज्ञविहीन कोरोना नियन्त्रण समिति, अध्यादेश प्रकरण, स्वास्थ्य सामग्री खरिदमा निम्तिएका विवाद र कालापानी क्षेत्रको सिमाना विवादले पनि रोग नियन्त्रणमा बाधा पुग्यो ।

अमेरिकामा दैनिक बीस हजारभन्दा माथिको संख्यामा संक्रमण देखिदै गर्दा हामी शून्यमा नै थियौँ । विकसित देशहरुले समेत नियन्त्रण गर्न नसकेको भाइरस हाम्रोमा नियन्त्रित छ भन्दै हामी मख्ख परेर बस्यौँ । तर, त्यही अमेरिकाले करोडौंको संख्यामा गरेको परीक्षणलाई भने हामीले अनुसरण गरेनौ । पचासवटा विशाल राज्यहरु भएको देशमा २० हजार संक्रमण भनेको प्रतिराज्य दैनिक ४०० को हाराहारीमा हो । दैनिक ४०० संक्रमणको अवस्था हाम्रोमा पनि अब धेरै पर छैन । यसको मतलब हो — हामी अमेरिकामा देखिएको महामारीकै संहारमा छौँ ।

थोरै क्षतिमा कोरोना संक्रमण अन्त्य गर्ने सुवर्ण अवसर त सरकारले गुमाइसकेको छ । तर, जनताबाट पाएको साथ अझै पनि अतुलनीय छ । साथै, संक्रमितको संख्यामा वृद्धि हुने निश्चित भए पनि नियन्त्रण बाहिर नै जाने अवस्था आउन केही दिन लाग्नेछ । अझै पनि परीक्षण बढाउने, विदेशबाट आएकाको तथा क्वारेन्टिहरुको उचित व्यवस्थापन गर्ने र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने हो भने कोरोना संक्रमण हाम्रो हातबाट बाहिर गइसकेको छैन ।

दैनिक पाँच हजारको हाराहारीमा भइरहेको परीक्षणलाई असारको मध्यदेखि १५ हजार पुर्याउने उद्घोष स्वास्थ्यमन्त्रीले गरिसकेका छन् । परन्तु, अहिले क्वारेन्टिनमा रहेकाहरुको संख्या हेर्ने हो भने त्यति परीक्षण पनि अपर्याप्त छ । त्यसैले, पछिल्लो तीन महिना लकडाउन मात्र थपेको सरकारले अब भने होसियारीपूर्वक कदम चाल्नुको विकल्प छैन । 

अन्यथा, एकातिर लाखौँको संख्यामा संक्रमित जनता र अर्कातिर राज्यको ढुकुटी रित्तिएको अवस्था हामीबाट खासै टाढा छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २, २०७७  १८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC