कोरोना विकराल समस्याका रुपमा फैलिँदा उत्पन्न परिस्थितिलाई कसरी अवसरमा रूपान्तरण गर्न सकिएला भन्ने विषयमा केही चर्चा गर्ने जमर्को गरेको छु ।
१. नीतिगत तथा अन्य व्यवस्था — कोरोना र यस्तै प्रकृतिका महामारीको रोकथाम, नियन्त्रण र उचित सम्बोधनको लागि अन्तर्राष्ट्रिय मापदण्डको आधारमा नेपाली समाज सुहाउँदो आवश्यक ऐन, कानुन, नीति, नियम, मापदण्डहरुको निर्माण गर्ने । साथै तिनान समयसापेक्ष परिमार्जन गर्दै अल्पकालीन, दीर्घकालीन रोकथाम, नियन्त्रण र प्रतिकार्यका विभिन्न उपायहरुको खोज अनुसन्धान गर्ने । तत्सम्बन्धी विभिन्न संयन्त्र, संरचना निर्माण गर्ने र तिनको उचित व्यवस्थापन एवं संचालनका लागि आवश्यक प्रणालीको स्थापना तथा विकास गर्ने । यस्ता कामका लागि कोरोना महामारीबाट उत्पन्न परिस्थितिको सिकाइलाई अवसरमा परिणत गर्न सकिन्छ ।
२. आत्म निर्भरतासहितको समृद्धि — ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न आत्मनिर्भरता सबैभन्दा बलियो आधार हो । यति बेला हामी परनिर्भर रहेजति विषयमा आत्मनिर्भर बन्न विभिन्न विकल्पको खोज अनुसन्धान गर्ने कार्य प्रारम्भ गर्न सक्छौँ । संघीयताको अभ्यासलाई संस्थागत गर्न प्रत्येक स्थानीय तहलाई आत्मनिर्भर बनाउँदै लैजानुपर्छ यसका लागि स्थानीय उपभोगमा आधारित उत्पादनलाई पहिलो प्राथमिकता दिएर स्थानीय स्रोत साधनको उच्चतम उपयोग गर्दै उत्पादन थाल्न सकिन्छ । सबै स्थानीय तह आआफ्नो क्षेत्रभित्र उपभोग हुने वस्तु तथा सेवामा आत्मनिर्भर बन्न सके भने यो देशमा समृद्धिलाई कसैले रोक्न सक्तैन । यसैगरी स्थानीय तहमै उपलब्ध स्रोत साधनको उपलब्धता र नजिकको बजारको सम्भावनामा आधारित रहेर उत्पादन कार्य प्रारम्भ गरियो भने रोजगारीका थप अवसरसमेत सिर्जना भई बेरोजगारी समस्या कम गर्न सकिन्छ । साथै, विदेशबाट फर्किएका युवा श्रम शक्तिलाई सदुपयोग गर्ने अर्को महत्त्वपूर्ण आधार तयार पार्न सकिन्छ । यसरी प्रत्येक स्थानीय तह आत्मनिर्भर भए भने कोरोनासँगै हाम्रो परनिर्भरता पनि सधैँका लागि हटेर जानेछ ।
३. उपभोग प्रवृत्तिमा परिवर्तन — बन्दाबन्दीको कारण हाम्रो दैनिकी फेरिएको छ । सामान्य अवस्थामा हुने उपभोगका वस्तु तथा सेवाको सहज उपलब्धताका कारण प्रचलनमा रहेको हाम्रो उपभोग प्रवृति, पारिवारिक, सामाजिक संस्कारमा समेत केही अवरोध र परिवर्तन पक्कै आएका छन् । यो परिस्थितिसँग जुध्न जस्तो अप्ठेरोको सामना गर्नु परिरहेको छ त्यसको ठीकविपरीत यही परिवेशमा घुलमिल भएर उपभोग प्रवृत्ति, पारिवारिक सामाजिक संस्कारलाई समेत स्वदेशी उत्पादनमा केन्द्रित गरीे जीवनशैली परिवर्तन गर्ने अवसर हाम्रो सामु छ । यसो गर्न सके कहिल्यै परनिर्भर बन्नु पर्नेछैन ।
४. स्वदेशी उत्पादन प्रवर्धन — सामान्य अवस्थामा हामीले स्थानीय स्तरमा उपभोग्य वस्तुहरु उत्पादन तथा बजार प्रवर्धन गर्न बाह्य उत्पादनसँग प्रतिस्पर्धा गर्नुपथ्र्यो । उत्पादन लागत, कच्चा पदार्थको उपलब्धता, वस्तुको गुणस्तर, उपभोग प्रवृत्ति र रोजाइ आदि जस्ता कारणले पनि यो चुनौतीपूर्ण थियो । तर बन्दाबन्दीको समयमा आन्तरिक स्रोत साधनमा आधारित रहेर उत्पादन कार्यलाई बढाउन सके बाह्य वस्तु तथा सेवासँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहँदैन । फलस्वरूप, स्वदेशी उत्पादन र उपभोग प्रवृत्तिले गति लिन थाल्छ । हाम्रो स्थानीय स्रोत साधनको अधिकतम सदुपयोग हुन सक्छ । यससँगै हाम्रो अन्तारिक पुँजीको संचिति र उचित परिचालनले गति लिन थाल्छ । यसले हाम्रो अर्थतन्त्रलाई थप बलियो बनाएर आत्मनिर्भरताको मार्गमा बढ्न मद्दत गर्छ ।
५. आयात प्रतिस्थापन र निर्यात प्रवर्धन —हामीले स्वदेशी उत्पादन प्रवर्धन गरेर उपभोग प्रवृत्तिलाई स्वदेशी उत्पादनमा आधारित बनाउन सके बन्दाबन्दीको समयमा रोकिएको आयातलाई स्थानीय उत्पादनले प्रतिस्थापन गर्नसक्छ । यसरी स्थानीय तहमा उत्पादित वस्तुहरु स्थानीय तहमै खपत हुँदा तत्कालका लागि हाम्रा आवश्यकता परिपूर्ति गर्न पनि सहज हुन्छ । आन्तरिक मागबमोजिम आपूर्तिमात्र गर्न सके पनि हाम्रो खर्चको ठूलो हिस्सा स्वदेशमै रहन्छ । यसले गर्दा भोलिका दिनमा हामीले बाह्य मागको आधारमा लगानी प्रवर्धन गर्न सक्छौँ । वस्तु तथा सेवाको गुणस्तरमा वृद्धि गर्दै आयात प्रतिस्थापनसँगै निर्यात प्रवर्धन गर्ने महत्त्वपूर्ण अवसरका रुपमा यस परिस्थितिलाई सदुपयोग गर्न सकिन्छ ।
६. स्थानीय स्रोत साधनको उचित सदुपयोग — हामी स्रोत साधनको कमीका कारणले परनिर्भर भएका होइनौं । बरु उपलब्ध स्रोत साधनको उचित पहिचान र सदुपयोग नगर्दा आजको अवस्था भोग्नु परेको हो । ‘लकडाउन’सँगै ‘लुकडाउन’ अर्थात् प्रकृतिसँगको सामिप्यमा वा प्रकृतिमा आधारित जीवनापन र आफ्नो पन, धर्ती, स्रोत साधन, मौलिकतामा रमाउन सिकौँ । हाम्रो शक्ति अर्थात् सबल पक्षको पहिचान गरौँ । उपलब्ध स्रोत साधनको खोजी गरौँ । मौलिक सम्भावनाको खोज अनुसन्धान गरौँ । हाम्रो प्राकृतिक र मानवीय स्रोतको पूर्ण उपयोग गर्दै अगाडी बढ्ने महत्त्वपूर्ण अवसर बन्दाबन्दीसँगै हाम्रो सामु छ । यो देश प्राकृतिकरुपमा यसै पनि सुन्दर छ । त्यसमाथि सम्पूर्ण नेपालीको मेहनत, पसिना र सकारात्मक कर्मले यस देशलाई संसारकै सुन्दर मुलुकमा परिणत गर्न सकिन्छ ।
७. बेरोजगारी समस्या समाधान — हामीसँग अवसर नभएर बेरोजगारी समस्या बढेर गएको होइन । सुखको हाम्रो बुझाइ अर्थात् विनापरिश्रम आवश्यकता पूर्तिको होस् भन्ने चाहना र आफूले गर्नसक्ने काममा पनि अरुलाई श्रममा लागाएर दैनिक जीवन संचालन गर्ने प्रवृत्ति आफँैमा परनिर्भरताको द्योतक हो । यही प्रवृत्तिलाई समाजमा सम्मान प्राप्त हुनु पनि बेरोजगारी बढाउने एउटा कारण हो । कुनै पनि काम शैक्षिक योग्यता, जात जाति, पारिवारिक, सामाजिक पृष्ठभूमिको आधारमा गर्न हुने वा नहुने हुँदैन । कुनै पनि कामलाई सानो वा ठूलोमा वर्गीकृत गर्ने र सामाजिक प्रतिष्ठासँग जोडेर हेर्ने प्रवृत्तिले हाम्रा धेरै युवा विदेशमा गरेको काम स्वदेशमा गर्न चाहँदैनन् । या पनि बेरोजगारीको अर्को कारण हो । त्यसैले माथि उल्लेखित विषयहरुमा जनधारणा परिवर्तन गरी हामीसँग उपलब्ध जल, जमिन, जंगल, जडीबुटी, जनशक्ति, कृषिमा आधुनिकीकरणलगायतका सम्पूर्ण अवसरको पूर्ण सदुपयोग गर्न जागरुक गराएर यो जटिल परिस्थितिको सामना गर्नुपर्छ । यसका लागि सुरक्षित स्थानीय तहहरुमा कामको प्रकृतिअनुरुपको सुरक्षा सावधानीका मापदण्ड निर्माण, सामाजिक सुरक्षाको सुनिश्चितता गरी उत्पादनमूलक कार्यमा योगदान गर्न वैदेशिक रोजगारीबाट फर्किएका र स्वदेशमै क्रियाशील नागरिकलाई आआफ्नो ज्ञान, सीप, क्षमता, दक्षताअनुसारको अनिवार्य श्रमका लागि सरकारले आह्वान गनुपर्छ । तदनुरुपका कार्यक्रम संचालन गरी बेरोजगारी समस्याको समाधान गर्नुको साथै विकासशील देशबाट विकसित देशतर्फको यात्रा थाल्न सकिन्छ ।
८. प्रविधिमा आधारित शिक्षा प्रणालीको विकास — बन्दाबन्दीको कारण हाम्रा बालबालिका र युवा शिक्षाको पहुँचबाट टाढा हुनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ । यस परिस्थितिले हाम्रो शिक्षा प्रणाली सामान्य अवस्थाको लागि मात्र अनुकूल रहेको स्पष्ट पारेको छ । विश्व समुदाय सूचना तथा संचारको विकासमा प्रतिस्पर्धा गरिरहेको अवस्थामा हामी हाम्रा बालबालिका विद्यालयसम्म कसरी लैजाने र कसरी टिकाई राख्ने भन्नेमा चिन्तित छौँ । अब बालबालिकालाई विद्यालयसम्म होइन बरु विद्यालय कसरी बालबालिकाकहाँ पुग्न सक्छ भन्ने विषयमा आवश्यक नीति निर्माण, संयन्त्रहरुको विकास, विभिन्न प्रविधिमा आधारित प्रणालीको स्थापना गर्नेलगायत प्रविधिमा आधारित शिक्षा प्रणालीको विकासका लागि खोज अनुसन्धान गर्नुपर्छ । त्यससम्बन्धी व्यवहारमा परिवर्तन गर्ने महत्त्वपूर्ण अवसरका रुपमा यस परिस्थितिलाई सदुपयोग गर्न सक्छौँ ।
९. संघीय शासन प्रणालीको प्रवर्धन : राज्यका सम्पूर्ण सेवा सुविधामा सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्न स्थानीय तह र प्रदेश सरकारहरुलाई आत्मनिर्भर बनाउदै लैजानु नै संघीय शासन प्रणालीको मूल मर्म हो । बन्दाबन्दीका कारण चाहेर पनि बाह्य गतिविधि संचालन गर्न र त्यस्ता गतिविधिमा सहभागिता जनाउन सक्ने अवस्था छैन । यसकारण पनि आन्तरिक गतिविधिलाई तीव्रता दिने यो सबैभन्दा महत्वपूर्ण समय हो । सबै स्थानीय तहले आआफ्ना आवश्यकता पहिचान गरी तिनको परिपूर्ति गर्न स्थानीय तहमा उपलब्ध स्रोत साधनको उपलब्धताका आधारमा योजना तथा कार्यक्रम तर्जुमा गरी संचालन गर्दै जानुपर्छ । कार्यक्रम संचालन गर्दै जाँदा बाह्य सहयोग आवश्यक देखिए प्रदेश र संघ सरकारले आवश्यक सहयोग उपलब्ध गराउनुपर्छ । सम्पूर्ण स्थानीय तहलाई आत्मनिर्भर बन्न र बनाउन सहज हुनुको साथै प्रदेश र संघीय सरकार विभिन्न राष्ट्रिय गौरवका योजनामा केन्द्रित हुने अवसर पनि मिल्छ । यसरी संघीय शासन प्रणालीको प्रवर्धनसँगै समग्र राष्ट्र नै समृद्धिको दिशामा अग्रसर हुने महत्त्वपूर्ण अवसरले कोरोनाको कहरसँगै हाम्रो ढोका घच्घच्याई रहेको छ । यी र यस्तै अवसरहरुको ढोका खोल्ने वा नखोल्ने निर्णयाधिकार हामी सम्पूर्ण नेपालीलाई नै छ ।