पोखरा । पर्वतको कुश्मा नगरपालिका- ३ दुर्लुङमा भिषण वर्षाका कारण पहिरो जाँदा घरहरु पुरिएका छन । पर्वतस्थित नेपाली सेनाका मेजर अर्जुन दुलालले पहिरोमा तीन घर पुरिएको प्रारम्भिक सूचना प्राप्त भएको बताएका छन् ।
उनले भने, "हाम्रो टोली घटनास्थलतर्फ 'मुभ' भइसकेको छ । प्रारम्भिक सूचना अनुसार तीनवटा घरहरु पुरिएको भन्ने जानकारी आएको छ । त्यसैगरी उक्त घरमा आठजना भएकोले उहाँहरु हताहत भएको हुनसक्ने कुरा आएको छ । यकिन रिपोर्ट टोली घटनास्थल पुगेपछि आउँछ ।"
अहिले पनि वर्षा भइरहेका कारण ठाउँ-ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएका कारण घटनास्थल पुग्न समय लागेको हो । सवारी साधन पहिरोका कारण फसेपछि हिँडेरै टोली अघि बढेको उनले जानकारी थिए ।
पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार दुर्लुङको ढकालबारीमा पहिरो गएको र कति क्षति पुगेको भन्ने बुझ्न अहिले प्रजिअसहित जिल्ला प्रहरी कार्यालय र सुरक्षा निकायको टोली घटनास्थल गइरहेको बताएका छन् ।
स्थानीयका अनुसार आधा दर्जनभन्दा बढी घरहरुमा क्षति पुगेको छ ।
अहिले पनि भिषण पानी परिरहेकाकारण उद्धारमा कठिनाइ भएको जनाइएको छ ।
उक्त स्थानमा शनिबार राति ९ बजेतिर पहिरो जान सुरु गरेको हो ।