समय परिर्वतनशील छ । समयको परिर्वतनशीलता संगसंगै हरेक वस्तुहरु पनि परिवर्तन हुन्छन् । यसबाट नेपाली समाज पनि अछुतो रहन सक्दैन । समयको विविध कालखण्डमा आउने क्रमिक परिर्वतनसंगै नेपाली समाज पनि पहिलेको जस्तै नरहेको पछिल्लो समय समाजमा भएका विविध घटनाले पनि प्रष्ट हुन्छ । ढुङ्गेयुगबाट सुरु भएको मानव सभ्यता अहिलेको विकसित २१औं शताब्दीसम्म आइपुग्दा हाम्रो समाज र नागरिकको जीवनशैलीमा पनि थुप्रै परिर्वतनहरु आएका छन् ।
द्रूगतिमा समयसँगै भएको तिब्र विकासलाई पछ्याउँदै हामी सहरी जीवनमा प्रवेश गरिरहेका छौँ । अध्ययन, पेसा, व्यापार व्यवसाय र अन्य यस्तै अवसरको खोजी गरी उज्ज्वल भविष्य निर्माण गर्न एकातर्फ सके विदेश नभए सहरमै जानुपर्ने बाध्यता छ भने अर्कोतर्फ गाउँले जीवनभन्दा सहरीया जीवन रुचाएर गाउँ छोड्नेको घुइँचो नै लागेको छ । केही जानेबुझेका, पढेलेखेका, केही गर्नसक्ने हिम्मत भएका युवा तथा प्रौढहरु जति सबै विदेश र सहरतिर जाँदा गाउँ सुनसान भएको छ ।
गाउँमा वृद्ध बाआमाहरुमात्रै छन् । खेतीयोग्य जमीन बाँझै छन् । भिरपाखा र खरबारीहमा झाडी बढेको छ । त्यहाँ जाने बाटो हराएको छ । खाना पकाउँदा ग्यासको प्रयोग बढिरहेको छ । दाउरा बालेर खाना पकाउने चलन कम हुँदैगएको छ । गाउँकैे वरपर वन बनेपछि जंगली जनावरको संख्या बढ्दै गएको छ ।
कोदो रोप्ने, बोडी, सिल्टुङ छर्ने बारीमा बोटबिरुवा बढेका छन् । गोठमा पशु चौपाया कमै पालिन थालिएको छ । गाउँघरमा जंगली जनावर, बाँदरहरुलगायतको आक्रमण बढ्न थालेको पाइन्छ । घरमा लगाएका तरकारी तथा फलफूलहरु बतिलैमा कुनबेला टिपेर लैजान्छन् त्यसको कुनै पत्तो नै हुँदैन । मेलापात, घाँस दाउरा जाँदा कैयौंपटक गाउँका दाजुभाइ, दिदीबहिनी, आमाबाहरुलाई चिथरेको घटना बढ्दैछन् ।
एकातर्फ जंगली जनावरको यस्ता खालका आक्रमणबाट गाउँका बुवाआमा, दिदीभाउजु एवं स्कुले नानीबाबुहरु त्रसित र असुरक्षित छन् भने अर्कोतर्फ किसानले मिहेनत गरेर महँगो बीउवीजन किनेर, खेताला लगाएर गरेको अन्नपात नष्ट गरेको छ । बाँदरमात्र नभएर दुम्सीले आलुबाली नष्ट गरेको कारण आलु उत्पादनमा कमी आएको वर्षौं भइसकेको छ । पहिले जङ्गलमा सीमित जनावर अहिले मानव बस्तीमा प्रवेश गर्न थालेका छन् । मानिस देखेर जनावर डराउँथे भने अब जनावर देखेर मानिस डराउनपर्ने भएको छ ।
त्यस्तै तराईका कतिपय जिल्लामा जंगली जनावरको आक्रमणबाट वर्षेनी कतिपय मानिसले ज्यान गुमाएको समाचार आइरहन्छन् । अहिले आएर यस्ता जंगली जनावरको आक्रमणको समस्या अन्नबालीको लागि मात्र नभएर मानव जीवन रक्षाको सबालसमेत बन्न पुगेको छ ।
यस्तै यस्तै विविध कारणले गर्दा गाउँमा लामो समयदेखि रहेका काम नलाग्ने घाँस काट्न नसकिने धराप सिर्जना गरेका, काठको रुपमा प्रयोग गर्न नसकिने रुखहरु काट्नुपर्ने अवस्था देखिएको छ र काटिएको छ । काटिएको रुखहरुको ठाउँमा अझ ससना घाँसका रुखहरु, राम्रो काठ हुने खालका रुखहरु रोप्नुपर्ने,उपयोगीमुलक विरुवाको वृक्षारोपणको आवश्यकता देखिन्छ ।
आज समग्र विश्व समुदाय नै कोभिड–१९सँग जुधिरहेको छ । विश्वभर महामारी फैलिएको छ । विश्वमा नै शक्तिशाली र विकसित मानिएका मुलुकहरु जस्तै : चीन, अमेरिका, बेलायत र अन्य युरोपेली मुलुकहरुले समेत यस्तो डरलाग्दो महामारी सामु घुँडा टेक्नुपरेको छ । हाम्रोजस्तो गरिब र अविकसित राष्ट्रहरु त झन् बढी प्रभावित भएका छन् । नेपाललगायत समग्र विश्व नै बन्दाबन्दीको अवस्थामा छ । विश्वमा नै लाखौं संख्यामा मानव जातिको क्षति भएको छ । यो बढ्दै पनि छ । विश्वमा धेरै मानिस महामारीबाट संक्रमिण्त भएका छन् । स्थिति अझ भयावह हुनसक्ने आकलन गर्न सकिन्छ । कोरोना भाइरसको कारणले विश्वको अर्थतन्त्र नै धराशायी बन्दै छ ।
अबका दिनमा देशको अर्थतन्त्रले कस्तो रुप लिन्छ भन्ने विषयमा अर्थविद्हरुले समेत अड्कल काट्न सकेका छैनन् । धेरै नेपाली दाजुभाइ, दिदीबहिनीहरु रोगले भन्दा भोकले मर्ने डर छ । धेरै नेपालीहरु विदेशमा अलपत्र परेका छन् । जसरी हामी पहिले बाध्यता र विवशतामा परेर विदेश र सहरतर्पm जान बाध्य भयौँ त्यसरी नै अहिलेको महामारीमा गाउँ फर्कने अवस्थाको सिर्जना भएको छ ।
अब पुनः पुरानै जीवन र पुरानै लयमा फर्कनुपर्ने अवस्था सिर्जना हुन लागेको छ । अब बाँझा खेतबारी खेती गरिनुपर्छ । जान्ने मानिसले नजान्नेलाई सहजीकरण गर्दै अगाडि बढ्नुपर्छ । विदेशबाट आउनेहरुले आफूले आर्जन गरेको ज्ञान, सीप, बुद्धि र विवेकलाई आफ्नै गाउँमा प्रयोग गर्नुपर्ने समय आएको छ । आफुसँग भएको सीप र क्षमतालाई व्यावहारिक जीवनमा अवलम्बन गर्नुपर्ने अवस्था ल्याएको छ महामारीले । महामारीमा परेका मानिसहरुलाई सहयोग गरी बिस्तारै सामान्य जनजीवनमा फर्किनुपर्छ । सबैलाई सबैले आत्मीयता, सदाशय देखाउनुपर्ने हुन्छ । समाजमा कसैले कसैलाई पनि अपमान र तिरस्कार गर्नु हुँदैन । यो हामी नेपालीको संस्कार पनि होइन ।
जे होस् अहिले कोभिड–१९ विरुद्धको लडाइँमा मिलेर विजय प्राप्त गर्नुपर्छ । जीवनमा जस्तोसुकै कठिन परिस्थितिसँग पनि उच्च मनोबलका साथ हाँसीहाँसी सामना गर्नुपर्ने हुन्छ । जीवनमा कठोर परिस्थितिसँग संघर्ष गर्नुपर्ने हुन्छ । महामारीको कारण रोग, भोक, र शोकको त्रासमा छटपटिरहेको यो अवस्थामा हामी सबै आशावादी भएर बाँच्न सिक्नुपर्छ । आखिर यस्तै संघर्षमय गाथा त हो मानव सभ्यता !
हाल स्याङ्जा, उदियाचौर