site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
शोभा म्याडम
Sarbottam CementSarbottam Cement

मधुवन पौडेल 


रघु त्यो दिन निरुद्देश्य काठमाडौंका गल्लीमा टहलिने योजना बनाएर घरबाट निस्केको थियो । सहरको दक्षिण–पश्चिममा रहेको एउटा ऐतिहासिक गल्लीबीच घुम्दाघुम्दै उसले अनायास शोभा म्याडमलाई सम्झ्यो । उसको स्मृतिपटलमा शोभा म्याडमसँग आफ्नो विद्यार्थी जीवनमा पहिलो भेट भएको बनारसका दिनहरुदेखि, फाटफुट विगतमा काठमाडौंको सामाजिक जमघटमा हुने हाई–हेलो र पोहोर साल शोभा म्याडमको न्युयोर्क बसाइसम्मका कुराहरु झल्झली आइरहेका थिए र उसले आफ्नो काठमाडौंको छोटो बसाइमा उनलाई एकपल्ट भेट्ने निधो गरेको थियो । ऊ झण्डै एक घण्टाको पट्यारलाग्दो बस यात्रा र केही बेरको हिँडाइपछि शोभा म्याडमले ठेगाना भनी बताए अनुसार सहरको दक्षिणी पुछारमा रहेको उनको घर भएको ठाउँ पुगेको थियो । घुम्दाघुम्दै रघुले त्यहाँको चोक र गल्लीहरुमा आफ्नो पुराना किशोरावस्थाका दिनहरु सम्झ्यो र पुराना कुरा सम्झिने क्रममा ऊ केही नोस्टाल्जिक पनि भयो । उसको विगत, खास गरी कलेजको पहिलो वर्ष, सुमनासँग चिनजान र घनिष्टता, बनारस जानुअघि यही गल्लीको चक्कर लगाउने दैनिकी र अन्त्यमा कलेज छोडेर बनारस प्रवासका धूमिल दिनहरु स्मृतिपटलमा घुमिरहेका थिए ।  

रघुले देखेका पुराना घरहरु धेरैजसो दुई वर्ष अगाडिको महाभूकम्पले क्षत–विक्षत भएका थिए । कैयौं कारिगरले कति समय लगाएर आफ्नो पुस्तौनी सीपले सजाएका थिए होलान् र कतिजनाले विगतमा यिनै घरको वैशिष्ट्यद्वारा आफ्नो वैभव पनि प्रदर्शन गरेका थिए होलान् ! तर अहिले त्यहाँ जताततै फुटेका इँटाहरुको चाङ, पुरानो सुर्कीको थुप्रो र घाम पानीले खाएर रङ्ग खुइलिई बेरङ्गी भएका र फुटेका  काठ, मार्बलका टुक्राहरु मात्र देखिन्थे । जताततै टेको लगाएर साँघुरो पारिएको चोक र लगभग प्रत्येक घरमा गच्छे अनुसार साना, ठूला तर अव्यवस्थित देखिने फलाम वा काठका टेका तेर्सिएका थिए । सडकको छेउतिर भने केही बलिया जस्तो लाग्ने तर भित्र चोकमा पस्दाचाहिँ आफूलाई नै कुन बेला थिच्लान् जस्तो डर लागेर आउने पुराना घरका भग्नावशेष थिए ! जे भए पनि शोभा म्याडमको घर त खोज्नै पर्यो भन्ने सोच्दै रघुले त्यहाँ नजिकैको घरबाहिर उभिएर चुरोट तानिरहेको एकजना अधेड मान्छेलाई सोध्यो,
‘‘दाई, शोभा म्याडमको घर कुनचाहिँ हो ?’’ 

Prabhu Bank
Agni Group
NIC Asia

‘‘को शोभा म्याडम ? कीर्तिपुरमा पढाउने प्रोफेसर हो ? ती ठूला टेकाहरुको आडबाट अलि अगाडिबाट भित्र पसेर बायाँ जानोस्, ठूलो र बाटुलो चोक आउँछ । त्यहाँ पस्नासाथको  अगाडिकै ठूलो घर हो । रघुलाई त्यो मान्छे हेर्दैमा बज्रस्वाँठ र उसको बुझाइ अनुसार ठेट काठमाडौंबासी कुवाको ब्याँङजस्तो लाग्यो । 

‘‘कति मान्छे आउन सकेका होलान् ! एनजीओकै त होला नि यो मान्छे पनि !’’ भनेर भुत्भुताउँदै ऊ आफ्नो घरभित्र पसिहाल्यो, रघुले ऊसँग चाहेर पनि अरु थप केही सोध्नै पाएन । 

Global Ime bank

अनि तिनै टेकाहरुको कापबाट अन्दाज गर्दै ठूलो चोकभित्रको एउटा तीन तले घर अगाडि पुगेपछि अलमलिएझैं रघु ठिङ्ङ उभियो । त्यसको विपरीत दिशातिर एउटा मन्दिर थियो, शिव मन्दिर र उत्तरपट्टि फर्केको एउटा भत्केको पाटी पनि ! शोभा म्याडमले दिएको ठेगानाको बयान पनि मिल्यो । ऊ त्यसपछि दायाँबायाँ आँखा डुलाउँदै टक्क उभिएको के थियो उसले अरु केही नसोची दोस्रो तल्लाबाट एउटी किशोरीले आधा खुलेको सँझ्यालभित्रबाट आफैंतिर हेरिरहेकी देखेर सोधिहाल्यो, 
‘‘शोभा म्याडम हुनुहुन्छ नानी ?’’
रघुको आवाजले ऊ केही असमञ्जस जस्ती भई, मानौं उसलाई आगन्तुकले केही सोध्ला भन्ने लागेकै थिएन ।  

‘‘को तपाईं ? एनजीओबाट हो ? किन चाहियो ?  हिजो जस्तै लामा फर्महरु बोकेर आएको होला, होइन ?’’  

रघु जिल्ल प¥यो, बिहान मात्र शोभा म्याडमसँग कुरा गरेको, ठेगाना सोधे पनि भेट्ने समय मात्र नलिएको हो । अर्कै घर पर्यो कि क्या हो ? ऊ मनमनै सोच्दै थियो । उसले देखिरहेको थियो, हकारे जस्तै गरी एकै सासमा चार वटा प्रश्न गर्ने त्यो किशोरी उसैतिर क्रुद्ध अनुहारले हेर्दै पनि थिई । पछाडिबाट स्कुटी बन्द गरेको आवाजसँगै एक्कासि कसैले उसैलाई बोलाएर सोधिरहे जस्तो लाग्यो ।  

‘‘कसलाई सोध्नुभएको ? मलाई हो भने म यता छु !’’

रघुले पछाडि हे¥यो । शोभा म्याडम मुसुमुसु हाँसेर उसैलाई हेर्दै थिइन् ।  

‘‘नानी, ढोका खोल् ल ! अङ्कल हामीकहाँ नै आउनु भएको हो ।’’ 

बल्ल रघुलाई लाग्यो– ऊ ठीक ठाउँमा पुगेको रहेछ ।  
सामान्य शिष्टाचारको आदानप्रदानपछि रघु शोभा म्याडमको पछिपछि घरको मूलढोकातिर लाग्यो ।  

‘‘कस्तो ठ्याक्कै पहिल्याउनु भएछ त ! हाम्रो घर पहिलोपल्ट आउने सवैजना अलमलिन्छन् । विदेशमा बसेको मान्छेले पहिल्याउनु त के, काठमाडौंका गल्लीभित्र छिर्न पनि तर्सनुपर्ने, त्यसमाथि भूकम्प पछिको अस्तव्यस्त अवस्थामा ?’’ 

‘‘कहाँ म्याडम् ! म त यताउति काठमाडौंका यस्तै गल्लीहरुमा आफ्नो जीवनको २० वसन्त काटेको मान्छे पो हुँ त ! फेरि यो टोलतिर लामो समय मेरो आवतजावत भई नै रहन्थ्यो तीनचार दशकअघि ! मतलब अर्कोपट्टि सडकभित्रको चोकमा मेरो एकजना सहपाठीको परिवार पनि बस्थे !’’  

‘‘ए ! पहिले भन्नु भएन त । कसको घरमा ? मैले आफूजस्तै कामको कारणले र पछि सामाजिक सम्बन्धनले काठमाडौंका गल्लीसँग परिचित हुनुभएको होला भन्ठानेकी !’’  

शोभा म्याडमले उसको विगतमा चाख लिएर रघु किन केही समय यता आउने गथ्र्यो भनेर सोधिनन् र कुरा त्यहीँ टुङ्गियो ।
 
शोभा म्याडम बिहेपछि मात्र स्थायी वासिन्दा भएर मधेसबाट काठमाडौंमा लोग्नेको घरमा भित्रिएकी थिइन् । उनको कुरा अनुसार आफ्नो मधेसको माइतीमा बारम्बार आइरहने एकजना मालपोतका हाकिमले उनका बाबुसँग मागी विवाहको प्रस्ताव गरेका रे उनलाई ! उनको लोग्ने आफूचाहिँ बिहेपछि पनि धेरै समय जागिरको कारणले जिल्लातिरै हुन्थे रे ।

रघुले खराब सङ्गतमा परेर काठमाडौंमा राम्रो पढाइ नगरेकोले उसका बाबुले आफ्नो पुरानो मित्रको सल्लाहमा उसलाई बनारस पठाएका थिए । उसले शोभा म्याडमलाई आफू चार वर्ष वनारसमा पढ्दा एउटा कार्यक्रममा भेटेको थियो, ऊ हायर सेकेन्डरीमा पढ्दा उनी बी. ए. अनर्सकी छात्रा थिइन् । विद्यार्थी छँदा पढाइमा तेज, रुपवती र स्थानीय विद्यार्थी राजनीतिमा पनि सक्रिय थिइन् उनी !  नयाँ छँदा उनको एकजना बङ्गाली सहपाठीसँग बढ्तै साँठगाँठ भएको हल्ला चलेको भन्ने रघुले सुनेको थियो ! नेपाली विद्यार्थी समुदायमा गाइँगुइँ हल्ला पनि भएको थियो । पछि उनका बाबु आफैं वनारस गएर सम्झाइबुझाइ हल्ला पनि सामसुम पारेका रे भन्थे । जेजस्तो हल्ला भए पनि उनले आफ्नो पढाइचाहिँ वनारसमा नै सकेर नेपाल फर्केकी थिइन् । हुन त उनी अलि पुखली स्वभावकी भएकीले पनि अरुले कुरा काटेका पनि होलान्, तर नेपालबाट बाबु नै आएका हुनाले हल्ला गर्नेलाई थप मसला मिलेको थियो ।

राणाहरुको दरबारमा लामो समय सुब्बाको जागिर खाएका शोभा म्याडमका बाबुले वनारसको गल्लीभित्र एउटा तीन कोठा र भान्सा अनि माथि बुइँगलसमेत भएको घर किनेका रहेछन् । त्यही आफ्नै घरमा उनी दाजुको परिवारसँग बस्थिन् । उनका दाजुले युनिभर्सिटीको पढाइ सकेपछि स्थानीय एक गुजराती व्यापारीकी छोरीसँग घरजम गरेर बसेका थिए र ससुरालीकै व्यापार सम्हालेर उतैका स्थायी बासिन्दा जस्तै भएका थिए । घरको जेठो छोरो आफूबाट छुट्टिएर विदेशमै बस्दा शोभा म्याडमका बाबु त्यत्ति खुसी थिएनन् रे । तैपनि उनीहरुको प्रेमविवाह भएको र आफ्नो वनारसको सम्पत्ति पनि हेरचाह गर्ने, अनि बुढेसकालमा काशीवास गर्नुपरे ‘आफ्नो छोरो छ भन्न पाउने’ आसले पनि उनले केही प्रतिरोध नगरेका रे !
 
पढाइ सकेर आफ्नो मधेसको घर फर्केपछि रघुले शोभा म्याडमलाई काठमाडौंको सामाजिक जमघटको हुलमुलमा बाहेक एकदुईपल्ट मात्रै भेटेको थियो । तर उनले चाहिँ यताउछि सोधपूछ गर्ने रहिछन् । रघु जागिरमा अलि व्यस्त रहने केही वर्षको अन्तरालमा ऊ लामो समय खटिएर जाने कारणले पुराना घनिष्ट साथीहरुबाट पनि उसलाई टाढिन बाध्य हुनुपथ्र्यो, शोभा म्याडम त यदाकदा मात्र काठमाडौं आउने भएकीले पनि भेट नभएको हो । 

वर्ष दिनअघि शोभा म्याडम दुई हप्ते एउटा अन्तर्राष्ट्रिय वार्षिक कार्यक्रममा एक हूल अरु सहभागीसँगै न्युयोर्क पुगेकी थिइन् । वनारसपछि रघु र उनको प्रत्यक्ष भेट त्यही बेला भएको हो ।

नेपालबाट धेरैजना एकैपल्ट आउँदा वा चिनजान भएका अतिथि नभएका बेला आफूकहाँ उपलब्ध सुविधा अनुसार कसले कसलाई आतिथ्य दिने वा को कसको निवासमा जाने भन्ने नियोगका कर्मचारीबीच भागबण्डा हुन्थ्यो । खासगरी सरकारी कर्मचारी र महिलाहरुलाई होटेल र पैसा तिर्नुपर्ने ठाउँमा सकभर नपठाउने प्रचलन थियो । शोभा म्याडम त्यतिबेला आफ्नो पुरानो चिनजानको कारणले पनि रघुको भागमा परेकी थिइन् । भागमा भन्नाले उनलाई त्यहाँ बसुञ्जेल आतिथ्यको जिम्मा, यताउति घुमाउने र बैठकमा आवश्यक मद्दत गर्ने काम पथ्र्यो । बैठकहरुमा भाग लिने ठूलो समूह आउँदा  भागबण्डामा तीनचार जना पाहुनासम्म पनि पर्थे । यीमध्ये कहिलेकाहीँ नेपालका ठूला मान्छे, कोही तथाकथित अभिजात वर्गका, राजनैतिक नेता, समाजसेवी र पत्रकार पनि हुन्थे । तर सरकारी सेवाका कर्मचारी विभिन्न कामले आइरहने र चिनजानका हुने भएकाले प्रायः कसैका घरमा पनि पाहुना खाली हुन्नथ्यो । आफ्नो पुस्ताका कोही अरु साथीभाइ आउँदा धेरै रमाइलो पनि हुन्थ्यो, तर त्यस्तो संयोग विरलै पथ्र्यो भने पनि हुन्छ । योग्यता, अनुभव र सम्बद्ध कामभन्दा अरु नै कारणबाट छानिएर आउने हुँदा पनि रघु र पूरै नियोगका सबैलाई दुईतीन महिना त्यो पनि कामको चाप हुने बेला अनावश्यक तनाव हुने गथ्र्यो ।
  
जेसुकै भए पनि शोभा म्याडमचाहिँ राजनैतिक प्रभाव, सैद्धान्तिक प्रतिबद्धता र त्यसमाथि महिला पनि र प्राध्यापन समूहबाट प्रतिनिधि भएर छिरेकी हुँदा अरुभन्दा बेग्लै र विशेष थिइन् । रघुका दम्पतिले छोटो हेलमेलमै उनलाई स्पष्टवक्ता, शिष्ट र रमाइली पाएका थिए । त्यसमा पनि वनारसको चिनजान र सम्पर्कले गर्दा पनि उनले नेपाल छाड्नु अगावै रघुको आवासमै बस्न आफ्नो हकै जनाएर फोनमा भनेकी थिइन् ।  

‘‘लौ है रघु बाबु । मैले त यहाँ सबैलाई मेरो भाइ छन् न्युयोर्कमा, त्यहाँ बसोबासको लागि ढुक्क छु भनिदिइसकेँ है ?’’  
‘‘ठीक छ नि म्याडम, यो त मेरो लागि सौभाग्य हो नि । त्यत्रो वर्ष हजुरको माइतीमा आउने जाने खाने गरेको मान्छे हुँ नि त म पनि !’’ रघुले खुसी व्यक्त गर्दै भनेको थियो । 

वनारसमा पढाइ गर्दागर्दै दुईचार पल्ट रघु वार्षिक विदा, चाडवाडमा काठमाडौं आवतजावत गर्दा शोभा म्याडम साथै आउने र उनीहरुको मधेसको घरमा बस्ने पनि गथ्र्यो । 

‘‘अरुलाई ठाउँ छैन भन्नोस् नि ! ...दिक्क पार्ने खालका जस्तो लाग्छ नामनामेसी हेर्दा, मैले त तपाईंलाई चिनेकी छु नि, कस्तासँग मात्र सरसङ्गत गर्नुहुन्छ तपाईं भनेर !’’ 

रघुलाई अरु थप बोझ नथपियोस् भन्ने शोभा म्याडमको मनसाय थियो । 

शोभा म्याडम न्युयोर्क आइन्, राम्रैसँग खुसी भएर रघुको आवासमा बसिन् । रघुका दम्पति दुवैले घुमघाम पनि राम्रैसँग गराइदिएकाले खुबै रमाएर गइन् । न्युयोर्कमा किनमेल पनि राम्रै गरिन् र जाने बेला विदा हुँदा ‘आफ्नै माइतीकहाँ आए जस्तो लाग्यो मलाई’ भनेकी थिइन् । 

शोभा म्याडमले न्युयोर्क आएकै दिनदेखि रघु र उसकी श्रीमतीसँग आफ्नो व्यक्तिगत जीवनका सबै कुरा बेलीविस्तार लाउन भ्याएकी थिइन् । उनको विहे एउटा संयोग थियो । उनको जीवनको सवैभन्दा ठूलो भूल पनि ! पुरातन विचारका उनको बुवाको मनमा सधैं त्रास रहन्थ्यो रे ! बाबुआमाबाट टाढा वनारसमा बसेर पढेकी, बेलाबेलामा उडन्ते हल्ला पनि चलिरहने । झन् पढाइ सकेर आएको वर्ष दिनमै आमा पक्षाघातले थलिएपछि त उनी बढी करकापमा परेकी थिइन् । न्युयोर्क आउँदा उनले ‘हतारमा बिहे गरेर फुर्सदमा बाँकी जीवनभर पछुताइरहेकी छु’ भन्दै रघुकी श्रीमतीसँग बेग्लै दुखेसो पनि पोखेकी थिइन् । पहिलो त अनमेल विवाह थियो उनको, उमेरमा पनि श्रीमान् अलि पाका र एक ढड्डीका जस्तै, अर्को झन् संवेदनशील कुरो चाहिँ उनको लोग्नेले परिवारलाई थाहा नदिई धेरै समयअघि नै अर्की महिलासँग गाँठो जोडिसकेका रहेछन् ! यति ठूलो धोका ! आफ्नो लोग्नेकी अर्की आइमाईबारे उनलाई दुइ वर्षपछि मात्र थाहा भएछ, त्यो पनि छोरी पेटमा भएका बेला । जे होस् सासूससुराले उनलाई बढ्तै माया गर्थे र त्यसबाट उनलाई केही सान्त्वना र आडभरोसचाहिँ थियो । 

बिहेअघि नै शोभा म्याडमले कलेजमा पढाउने काम गर्न थालेकी थिइन्, आफ्नै जन्मथलोमा । काठमाडौं आएपछि पनि उनले त्यही पेशा रोजिन् । उनको कलेजको जागिर पनि राम्रै थियो, उनी आफ्नो बाँकी समयमा  घरको काम, छोरीको हेरचाह र जागिरमा आफूलाई व्यस्त राख्दै पारिवारिक तिक्तता बिर्सने प्रयास गर्थिन् । 

न्युयोर्क आउँदा शोभा म्याडमको दुःखदायी जीवनको कथा सुन्दा रघुका दम्पतिका पनि आँखा रसाएका थिए । तर उनको मन बलियो थियो, उनले जीवनमा कसैको मद्दत नलिएरै यहाँसम्म आइपुगेकी थिइन् ।

न्युयोर्क आएको चार वर्षअघि उनका श्रीमान् अर्की श्रीमतीको भिसामा उनैसँग न्युजिल्यान्ड पसेका रहेछन् । रघुका दम्पतिसँग शोभा म्याडमले दुःख पोखेकी थिइन्,
‘‘लोग्नेले अर्की श्रीमतीलाई बाहिर छुट्टै घर पनि किनेर राखेका, दुइटा हुर्केका छोरा रहेछन् र पेशाले अर्की श्रीमती नर्स रहिछन् । अरुभन्दा मलाई चाहिँ वहाँको चिन्ता पनि हुने गर्छ, यो उमेरमा यत्रो वर्षको सरकारी जागीर छोडेर त्यहाँ नयाँ ठाउँमा नयाँ जीवन सुरु गर्न के रहर लागेको होला ? तर जाने मान्छेलाई के गर्नु मैले र केही बोलिनँ पनि । वहाँ गएको ३ वर्षपछि भूकम्पले पुरानो घरको दुर्गति भइहाल्यो । सासूससुरा मसँगै हुनुहुन्थ्यो, एक वर्षको अन्तरालमा उहाँहरु दुवैले परलोक सुधार्नुभयो । त्यस्तो बेलामा पनि वहाँ नेपाल एक पटक पनि आउनुभएन ।’’  पुराना कुरा सम्झिरहेको रघु आफ्नै सुरमा थियो । शोभा म्याडमको चर्को आवाजले ऊ झसङ्ग भयो ।

‘‘लौ, रघु बाबु, म मात्रै बोलिरहेकी छु, राम्ररी समातेर उक्लनुस् है ? यो काठको के भर छ र ! अझ हाम्रो यो घर त धन्न बस्नचाहिँ हुने भनी छाप लाइदिएका छन्, तैपनि सडकतिरको भाग चौपट छ, सामानहरु पनि धेरै अझै उतै छन् ।’’  

‘‘लौ । यही हो बस्न हुने एउटा कोठा !’’ शोभा म्याडम लामो र सुसज्जित बैठक कोठा देखाउँदै थिइन् ।

‘‘चाडबाडको बेला हामी यहीँ लाम लागेर सुत्छौं पनि !’’

बैठक पूर्वदक्षिण मोहडाको भएकोले निकै उज्यालो थियो र उत्तरपट्टिको भागमा मिलाएर पुस्तक राख्ने दराज, सोकेसहरू र त्यसभित्र आकर्षक देखिने गरी ढलौट र काठका मूर्ति तथा अन्य उपहारका सामग्रीहरुले भरिएका थिए । ढोकाको छेउमा पुरानो भित्ते घडी र त्यसपछि सासूससुरासँग आफू र छोरी बसेको फोटो पनि टाँगिएको थियो । घर पुरानो भए पनि निकै मजबुत गरी निर्माण गरिएको रहेछ ! चोकपट्टि दुई वटा ठूला कलात्मक सँझ्याल, २२ इञ्चको गारो, पुरानो खालको एउटा लामो कौसी पनि रहेछ, त्यसमाथिको जस्ताको छानाचाहिँ हालै झिकिदिएको रे, गहु्रँगो भएर घरले नथाम्ला भनेर ! 

भित्र पसेर रघु झ्यालपट्टि लामो सोफाको एक छेउमा बस्यो । शोभा म्याडमले छोरीलाई चिया बनाउन पठाइसकेकी थिइन् । उनी छोरीलाई सङ्केत गर्दै भन्दै थिइन्,
‘‘नन्दिनी प्लस टु सकेर बसेकी छ, तपाईंलाई छोडेर विदेश पढ्न जान्न भन्छे, तर ‘यसरी कहाँ जीवन चल्छ र जानुपर्छ’ भनिरहेकी छु । मेरो छ न त ७–८ वर्ष जागिर पनि बाँकी छ तर चाँडै अवकास लिने विचार गरेकी छु, छोरीलाई अनि उतै आउँला भन्दै बाहिर जानका लागि फकाइरहेकी छु ।’’ 

‘‘कफी मेकरमा पानी राखेर आएँ,’’ छोरी फर्किसकेकी थिई । 

‘‘अलि कडा मिजासकी छे यो ! सबैको सातो खान्छे डाँकोले । तपाईंलाई पनि हप्काइहोली नि ? यहाँ दिनभरि ८–१० थरी मान्छे आई नै रहन्छन्, सहायता गर्न नाम टिप्ने भनेर । तर सबैका आँखा हाम्रो यी दुइटा पुराना सँझ्यालमा होलान् जस्तो लाग्छ । हामी मधेसको भएर त्यत्ति थाहा छैन, धेरै पुरानो मूल्यवान् झ्याल हुन् रे यी ! मैले सबैलाई सरकारी सहायता जति आउँछ, त्यसमा आफ्नै पैसा थपेर मर्मत गर्छु भन्ने गरेकी छु । म नहुँदा यस्ता कुरा गर्न कोही आए वा कुनै फर्म, प्रश्नावली देखाउन थाले भने नन्दिनी बघिनी हुने गर्छे !’’  

‘‘कस्तो रिस उठ्ने कुरा मात्र गर्छन् नि, अनि के गर्नु त ? अङ्कललाई त नचिनेर सोधेकी नि ! तपाईंले पनि केही भन्नुभएको होइन !’’ नन्दिनीले लजाउँदै भनी । 

रघु आमाछोरीको कुरा सुनिरहेको थियो । 
 
एक घण्टा जति बस्दा शोभा म्याडमले मात्र बोलिन्, रघुले सुनिरह्यो । उनको धेरै आनीबानीवारे उसले न्युयोर्कमै थाहा पाइसकेको थियो । उता आउँदा उनले भनेको कुरा सम्झ्यो रघुले,
‘‘सबैथोक छ, सिवाय मनको शान्ति !’’ सायद उनको भाग्यमा यही लेखेको थियो । 

कफी खाइसक्नासाथ रघु हतारिएको थियो ।

‘भोलि बेलुकीको टिकट छ, म हिँड्नुपर्छ अब म्याडम् ! भाइबरमा भए पनि समय मिलाएर सम्पर्कमा बस्नेछु है’ भन्दै रघु फर्कियो । 

बाटोभरि रघुको मनमा शोभा म्याडम र उनको विगतका कुराहरु खेलिरहे ।  

शोभा म्याडम त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागमा अर्थशास्त्र पढाउँथिन्, बिहे गरेर आउँदा घरको पारिवारिक व्यापार पनि थियो रे । तर त्यो उनको पतिको पुस्तामै पनि आइपुग्नसकेनछ, त्यसको कारण थियो– उनका पतिले पनि पारिवारिक व्यापारभन्दा सरकारी जागिरलाई नै आफ्नो पेशा बनाएका थिए रे । 

पतिले उनलाई छोडेर विदेश पसेपछि उनको भागबण्डामा पर्न आएको लाजिम्पाटको भाडामा लगाएको एउटा घर पनि उनकै नाममा थियो । आर्थिक कठिनाइ र समस्या थिएन, तर मानसिक रुपमा त्यति दह्रो थिइनन् उनी । रघुले वनारसमा देखे जस्ती जल्दीबल्दी शोभा पनि थिइनन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७  ११:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC