site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अन्तिम फोन
Sarbottam CementSarbottam Cement

भावना पौडेल

‘‘सायद म तिमीलाई भेट्न सक्दिनँ होला, बिर्सिदेऊ मलाई अबदेखि’’ फोनमा रुखो स्वर मेरो अघोषित प्रेमी पिटरको थियो । 

यति सुनेपछि मलाई एक्कासि बादलसँग प्रतिस्पर्धामा उडिरहेको चरा जमिनमा पछारिएझैं भएको थियो । के गरुँ, कसो गरुँ भयो । बाथरुममा निर्वस्त्र भएर चिसो पानीले नुहाएँ, अलिक होस आएझैं भयो । शरीरको जलन कम भए पनि मन पोलिरह्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

कसैले भनेको सही लाग्यो– ‘जीवनमा कसैले अरुको दिलमा सजिलै घर बनाउँछन् जब बस्ने समय आउँछ तब उसले ठेगाना बदलिदिन्छन् ।’

नेपालमा कोरोना भाइरस देखिनुभन्दा केही दिनअगाडि पिटरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मलाई चिनो स्वरूप अक्षय सामीप्यको सुगन्ध दिएर हात हल्लाउँदै बिदा भएको थियो । यत्रो संसार हल्लाउने विध्वंसकारी कोरोनाको त्रासमा विश्व रहँदा म भने प्रेममा परेको थिएँ, उसैको स्पर्शको उन्मादमा ।  मिलनको अलौकिक पललाई व्यग्रतासाथ प्रतीक्षारत् थिएँ ।

Global Ime bank

अनायास फोनले विदेशीको मोह रोषमा परिणत भयो । मानव साँच्ची नै बहुतै स्वार्थी छ, जब आफ्नो अनुकूल हुँदैन तब ऊ अरुलाई दोष थुपारेर भाग्न चाहन्छ । तर मैले सम्पूर्ण कुरा नबुझी उसलाई दोष÷रोष केही नपोख्ने निर्णय गरेँ ।

कसैको सम्बन्धको भर्याङमा बसेर अरुको बाटो छेक्ने प्रवृति मेरो थिएन । निर्णयका लागि समयको जिम्मा छोडेर साक्षी भावले हेरिरहेँ मनका आवेग, क्षोभ, ग्लानि, कुण्ठा आदि सबै ।

होनोलुलु एयरपोर्ट पुगेर उसले फोन गरेको थियो ।

फेसबुकमा पाँच हजार साथी हुनेहरू आफ्नो कुण्ठा ओकल्ने कोही नपाएर डिप्रेसनको सिकार भएका, अपरिचित साथीका सात पुस्ता चिन्ने आफ्नै परिवारका सदस्यको अनुहार बिर्सने भलाद्मीलाई देखेर विगत केही वर्षदेखि स्वार्थी फेसबुके भीडबाट म टाढिएको थिएँ । त्यसैले मैले फेसबुकको सहायता लिएर आफैंभित्र रहेको विश्वासिलो आत्मीय मित्रको चियो गरिनँ । 

अरु भन्दा फरक म एकलकाँटे, साँच्चै म मानवका छद्मभेषी पाराबाट आजित भएकी थिएँ । बरु आफूसँग आफंैलाई खोज्ने निश्चयमा ढृढ थिएँ ।

मूलतः मेक्सिकन भए पनि पिटर अमेरिकाको पर्यटकीय स्थान होनोलुलुमा परिवारसहित बसाइ सरेको थियो । आध्यात्मिक मानवताको चेत भरपूर भएको ऊ सबैलाई समान व्यवहार गर्ने, दाहिने गालामा डिम्पलसहितको आकर्षक हँसिलो अनुहारले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउँथ्यो । नेपालमा तीन महिना ध्यान गर्नका लागि सात समुद्र पार गरेर आएको थियो । बुद्ध ध्यान गर्न उसलाई गुम्बामा बस्नु थियो । 

मेरो स्कुटर सर्भिसिङमा दिएकाले त्यस दिन म अफिसबाट माइक्रोबसमा घर चाबहिलतर्फ जाँदै थिए । मसँगै सिटमा रहेको गोरो छालासँग रेटभन्दा बढी भाडा कुम्ल्याउन खोजेको देखेर मेरो मनै थामिएन र सहचालकलाई मैले ‘भाइ हाम्रो पैसा लिऊ’ भनेर ३० रुपियाँ दिएँ । 

त्यसपछि विदेशीले मसँग ह्यान्डसेक गर्न खोज्यो । मैले नमस्कार गरेँ । ऊ मसँग कुरा गर्न थाल्यो । उसको दोस्रो पटक नेपाल भ्रमण रहेछ । मैले नजिक देखिएका ठाउँहरूको वर्णन गर्दै गएँ । रातोपुलमा केहीबेर जाम भएर बस्दा उसले मलाई भन्यो, ‘‘अहिले तिम्रो फुर्सद छ भने मलाई पशुपति मन्दिर लगिदेऊ न ।’’ उसलाई घुमाउन म तयार थिएँ ।

हामी पशुपतिनाथको मन्दिरतिर लाग्यौं । किनकिन पाशुपत क्षेत्रमा पुग्नेबित्तिकै मलाई अलौकिक दिव्यताको आभास हुन्छ । सा“झको समय भएकाले आरतिका लागि मानव चहलपहल बढिरहेको थियो । मान्छे र बाँदर एकअर्काका लागि रमिता बनिरहेका थिए । म भने जीवनको रङ्गमञ्चमा पहिलोपल्ट विदेशीका लागि गाइडको अभिनय गरिरहेको थिएँ । हामी कुरा गर्दै गयौं ।

‘शिवमा प्रत्येक धर्मको मर्म भेट्छु, बुद्धमा शिवत्व पाउँछु । दिव्य पाशुपत क्षेत्र नारोपा, तिलरोपा, गोरखनाथ, कपिलमुनिजस्ता विभिन्न ध्यानीहरूको आराध्यस्थल अनि सबै धर्म, सम्प्रदायको ऊर्जाको पुञ्ज परापूर्वकालदेखि र अहिलेसम्म, हरेक साधनाको तपोभूमि हो यो’ ऊ भन्दै थियो म सुन्दै थिएँ । 

लाग्थ्यो, मलाई भन्दा उसलाई धेरै कुराको ज्ञान रहेछ मैले सोचेँ– ‘हामी छिमेकीको चाहिँ चियो गर्छांै तर आफूभित्रको नाद सुन्न हामी गुरु खोज्दै हिड्छौं !’ 

वाग्मती आरतिस्थल वरपरमा कोही पूजा भाँडा माझ्दै, कोही वाद्यवादनमा सुर मिलाउँदै, कोही जीवन निस्सार भनेर वितृष्णी भावमा वाग्मतीको दूषित पानीसँग संवाद गर्दै, कोही सुसाइट नोट लेख्न लागेको जस्तो, कोही भजनमा नाच्न कम्मर मर्काउँदै, कोही आफन्तको लाशलाई डढाएर वियोगको पीडामा भावविह्वल हुँदैथिए । पकेटमारहरू मोटो खल्ती खोज्दै, कोही लाश पोलेर आफ्नो सन्तानको उज्ज्वल भविष्यको सपना सिँगार्दै त कोही जागिर÷सरुवा÷बढुवा माग्दै, कोेही प्रेमबाट छुटकारा माग्दै थिए । कोही नयाँ प्रेमिका माग्दै, कोही विदेशको यात्रा माग्दै, कोही विदेश गएकालाई फर्काइदिन कामना गर्दै, कोही सन्तान माग्दै, सन्तानका मनबाट निष्कासित बाआमाहरू आँसुमा डुबेर आफ्नै मुत्युको कामना गर्दै पनि थिए । कोही घरमा ढाँटेर आफन्त भेटिएलान् भनेर डराएर प्रेम गर्दै, कोही विदेशी नयाँ फोटो खिच्ने धुनमा व्यस्त हँुदै जस्ता मानव लीला देख्दा साँच्चै इन्द्रेणीझंै लाग्छ, मलाई पाशुपत क्षेत्र ।

म आरतिमा मग्न भइरहँदा पिटर आर्यघाटमा लाश पोलेको फोटो खिच्दै थियो । ऊ भन्दै थियो, ‘‘तिमीले मेरो जीवनको अर्थ बदलिदियौ । यस्तो जीवन्त दृश्य कहिले पनि देखेको थिइनँ । सुन न, तिमीलाई मृत्युदेखि डर लाग्छ ?’’ 

मैले भनेँ, ‘‘जन्म र मृत्यु मात्र जीवनको शाश्वत सत्य हो, तर पनि अचेल तिथिमिति हेराई विज्ञानको आडमा जन्म गराउने प्रविधि आइसके पनि मृत्यु भने कसैको हातमा आइसकेको छैन । फेरि मेरो जन्मसँगै मृत्यु पनि छायाजसरी मसँगै सुखदुःखमा हिँडिरहेको छ किन डराउनु नि, मलाई त अभिन्न मित्र जस्तो पो लाग्छ !’’

ऊ मलाई सोध्दै थियो, ‘‘किन लाशलाई घोच्दै बाहिर खुल्ला ठाउँमा पोलेको ? मरेको लाशलाई किन तीनचोटि घुमाएको ? किन आफन्तहरू घुमेको ? मरेको मान्छेलाई किन पानी खुवाएको ?’’ उसका प्रश्नहरु सीमातीत थिए । 

म भने आरतिको सङ्गीतसँगै ब्रह्मनाद महसुस गर्दै थिएँ । उसका प्रश्न सबै गौण लागे मलाई । मेरो निरुत्तरतालाई देखेर वा किन हो ऊ मलाई समय समयमा अँगालो हालिरहन्थ्यो । यसले सामीप्यको अनुभूति गराए पनि मान्छेका भीडमाझ हामी आँखो भइरह्यौं । लगभग साढे आठ बजेतिर हामी छुट्टियौं ।

घर पुग्नासाथ पिटरको मेसेज आयो, ‘‘आइ लभ यु ।’’ मैले जवाफमा ‘गुड नाइट’ मात्र भनेँ । 

भोलिपल्ट बिहान गुड मर्निङसँगै ‘डु यु लभ मी’ भन्ने आयो । मलाई झनन रिस उठ्यो, जाबो दुई घण्टा सँगै बस्दा केटा मान्छेहरू कति सजिलै प्रेमको नाटक रच्न सक्छन् होला ? सा“च्चै प्रेम किन यति सस्तो छ यो कलियुगमा ? यही म्यासेज कति जनालाई फरवार्ड गर्यो होला । म मुरमुरिएँ ।

सायद यो पनि प्रकृतिको नियमित आकस्मिकता होला भनेर चुपचाप अफिस गएँ । अझै रिस शान्त भएको रहेनछ, एउटै सडकमा सँगै हुइँकिरहेको बाइकको सहयात्रीले तपाईं साइडलाइट हेर्नु भन्दा म झल्यास्स भएँ । एउटा कारमा सवार भुतभुताउँदै थिए– केटीहरूको शरीर एकातिर दिमाग अर्कातिर हुन्छ ।’ स्कुटरको लाइट र म विपरीत दिशामा हुइँकिरहेको रहेछु । 

अफिसको काम सकेर सडकमा पुग्दा पिटरले हात दिइरहेको रहेछ । यसले नछोड्ने भयो भनेर म आत्तिएँ । बेकार मैले अफिसको नाम भनेछु । स्कुटरमा पछाडि बस्न इशारा गरँे । बच्चाझंै चपक्क टाँसिएर बस्यो । उसले मौन चिर्दै भन्यो, ‘‘नेपाली खाना खुवाउन लग है, मलाई धेरै भोक लागेको छ ।’’ विकल्प थिएन चुपचाप नेपाली थकाली भान्साघरतिर गुडिरहेँ ।   

खाना अर्डर गरेपछि उसले मेरो हात समाउँदै भन्न थाल्यो, ‘‘म बुद्धिजम पढेको मान्छे हुँ । अमेरिकामा भए पनि अहिलेसम्म हामी संयुक्त परिवारमा नै छौं । मेरो एकजना केट नामकी साथी थिई । एकदिन ऊ मूच्र्छा भएपछि मात्र थाहा भयो शरीरमा क्यान्सर रहेछ । हामी धेरै समय सँगै बस्न पाएनौं । ऊ नभएपछि म विक्षिप्त भएँ । दई वर्षसम्म केटको अशान्त आत्मा बोकेर भारत, नेपाल घुमेँ । विभिन्न आश्रम, गुम्बामा गएर बत्ती बालेँ । उसको आत्माले पछ्याउन अझै छोडेन । हिजो तिमीसँग पशुपतिमा रहँदा उसको आत्मा पनि खुसी भएको अनुभूत गरँे । उसैको आत्मादीप तिमीसँग गएर विलीन भयो, तिमीमा अदृश्य दैवीक शक्ति छ । त्यसैले मैले तिमीलाई धेरैपटक अङ्कमाल गरेँ । तिमीले मलाई जीवनको सम्पूर्ण खुसी दियौ । हिजोको रात म वर्षौंपछि पूर्णरूपमा सुतँे । तिमीसँग बिताएका क्षण अमूल्य छन् मेरा लागि । तिम्रो इच्छा के छ त म जान्दिनँ, तर म तिमीलाई सास छऊञ्जेल प्रेम गरिरहनेछु । तिम्रो जीवनमा मेरो हक त छैन तैपनि मेरा लागि एकपटक सोचिदेऊ ।’’ 

म मौन बसिरहँे । उसका कुरामा छलकपट थियो कि थिएन म जान्दिनँ, तर उसका आँखाका पानीले आफैसँग आफैंलाई बयान दिन गीता छुनु पर्छ र भन्दै सत्यताको वकालत गरिरहेको थियो । खाना खाएर हामी छुट्टियौं ।

भोलिपल्ट बिहान नित्यकर्म सकेपछि फोन खोलेर हेर्दा उसको म्यासेज आएको रहेछ– ‘म आजदेखि तीन महिनाका लागि गुम्बामा ध्यानमा जान्छु मलाई भेट्दिनौ ?’ तल ठेगाना दिएको थियो । 

म अनायास कपडा लगाउन थालेछु । उसले दिएको होटल मेरियट, नक्सालतिर मोडियो मेरो स्कुटर । रिसेप्सनकी राम्री केटीले मलाई नमस्कार गरिन्, मैले उसको नाम दिई बोलाइदिन आग्रह गरे । 

ऊ जिम गरेको शरीरको पसिना पुछ्दै आयो । प्रफुल्ल मुद्रामा मलाई अँगालो हाल्दै उसको कोठातिर लिएर गयो । 

बाहिरको स्विमिङ पुलको पूरै दृश्य देखिने, सूर्यको किरण ओछ्यानमा उठाउन आउने अनि चन्द्रमा आफैं उसका लागि निदरीको गीत गाउने साह्रै लोभलाग्दो कोठा थियो । मैले उसलाई सोधेँ, ‘‘यस्तो महँगो होटलमा बसेर माइक्रोमा त्यो दिन किन हिँडेको तिमी ?’’ 

उसले मलाई देखाउँदै रेडिमेट उत्तर दियो, ‘‘मेरो खुसी तिमीसँग भेट्न अनि मलाई सार्वजनिक यातायातका मान्छेको मनोविज्ञान पढ्न साह्रै मन पर्छ ।’’ 

बाहिर पोखरीमा युवती निलो पानीमा नुहाउँदै थिइन् । मेरो आँखा त्यही छताछुल्ल पोखिएको यौवन टिप्नमा व्यस्त भइरह्यो । साँच्ची नारी सौन्दर्य रहस्यकी खानी हुन् । म नारी भएर नारी सौन्दर्यमै मोहित थिएँ, सायद प्रकृतिको विपरीत । मनमा आहाको धुन बजिरह्यो ।

हामी ब्रेकफास्ट खाँदै गफ गर्दै थियौं । ऊ मलाई स्यान्डविच खुवाउँदै आफू आंैला चुस्दै थियो । म भने मन बाहिर कान भित्र राखेर बसेको थिएँ । मेरो ध्यानलाई ऊतिर आकर्षित गराउन बीचैमा उठेर उसले फिल्मी स्टाइलमा घुँडा टेकेर फूलदानीको फुल दिँदै ‘आइ लभ यु’ भन्न थाल्यो । म भागिरहेको माछो जालमा परेझैं भए, तर पनि पहाडको चट्टानझैं निर्भय मौन बसिरहेँ । उसले भन्यो, ‘‘तिमीले नभनेसम्म यत्तिकै बसिरहन्छु ।’’ 

उसको त्यो जिद्दीपनले म होशमा पनि बेहोसी भई उसकै प्रेमिल शब्द दोहोर्याउन पुगेछु । त्यसपछि उसको अनुहारको क्रान्तिले मलाई समेत उजिल्याएको थियो । हड्डीसम्म स्पर्श हुनेगरी बाहुपाशमा राखी मलाई फूल बनाएर निर्वाधरूपमा भमरा बन्न थाल्यो । ‘म पनि शिरीषको फूलकी साकम्बरी हुन्छु छोडिदेऊ मलाई’ भन्न थालेँ, तर अन्तर्मनमा ।  

म त भित्रैदेखि ऊर्जावान् बन्दै गइरहेको थिएँ । झ्यालबाहिर सुन्दर कान्तिपुर सहर मेरो लागि लजाएझैं घुम्टो ओढिरहेको थियो । सायद प्रेमको साँचो अर्थ यही होला आफू रित्तिएर अरुलाई खुसी दिनु । प्रेमको शाब्दिक अर्थ पत्ता लगाउन नसकेको मैले यसैलाई प्रेमको श्रीपेच पहिर्याइदिएँ । 

ऊ जिस्किँदै थियो, ‘‘अब मलाई ध्यानमा बस्न गाह्रो हुन्छ तिमीलाई सम्झिँदा, कि नजाऊँ ?’ 

‘‘तिमी जाऊ म कुरिरहनेछु,’’ मैले पनि लाडिएर भनेँ । 

उसले तुरुन्तै भावुक हुँदै भन्यो, ‘‘तिमी मेरा लागि भए पनि अमेरिकाको भिसा आवेदन देऊ न है प्लिज ।’’ स्वीकृतिमा मैले टाउको हल्लाएँ । हामी भेट्ने वाचासहित छुट्टियौं । ऊ फर्कने दिन फेब्रुअरी १० को रिमाइन्डर राखँे । 

जीवनमा म पहिलोपल्ट उसैको लागि अमेरिकाको भिसा आवेदन दिन गएँ । लगभग एक हप्तामा अन्तर्वार्ता भयो । नेपाल फर्कने कुनै ठोस आधार नभएको भन्दै म अस्वीकृत भएँ । कारणहरू उल्लेख गरेको सेतो कागज बोक्दै म बाहिरिएँ । 

नभन्दै त्यो दिन आइपुग्यो जसलाई मैले दिनरात एक गरेर व्यग्रताका साथ उसैको तस्बिर नियालेर पर्खिबसेको थिएँ । ध्यान सकेर आउनेबित्तिकै उसले मलाई फोन गर्यो र भन्यो, ‘‘मेरो देश तुरुन्तै जानुपर्ने भयो, अफिसियल कामले त्यसैले तिमीलाई भोलि भेट्छु है ।’’ उसको स्वर समस्याले दबेको जस्तो सुनिन्थ्यो । 

मसँग बिदा भएर फेब्रुअरी ११ का दिन ऊ कोरिया ट्रान्जिट हुँदै होनोलुलुका लागि उड्यो ।

एक हप्तापछि उसको फोन आयो । लगातार फोन आइरहँदा म उठाउन बाध्य भएँ । पिटरले भन्यो, ‘‘सरी बेबी तिमीलाई दुःख दिएँ ।’’

मैले झर्कंदै भनेँ, ‘‘किन फोन गरेको, नगर । तिमीले बिर्सिन भनेको होइन । मलाई अब तिमीसँग कुरा गर्नु छैन ।’’ 

बोल्न गाह्रो भएको आवाजमा ऊ भन्दै थियो, ‘‘म करिब एक महिनादेखि बिरामी छु ।’’

उसको आवाजले मेरो प्रेम उम्लेर आयो । मेरो बोली अचानक निस्कियो, ‘‘के भयो तिमीलाई ?’’ प्रश्नसँगै मेरा आँसु बहन थाले । 

ऊ सास रोकिन लागेझैं बिस्तारै भन्न थाल्यो, ‘‘पहिले घरमै आइसोलेसनमा बसेँ, तर एक्कासि गाह्रो भएर अहिले अस्पतालमा छु । डाक्टरले पनि हार खाइसके । मलाई कोरोना पोजिटिभ देखियो । तन नभए पनि यो आत्मा तिमीसँगै रहनेछ । !’’

ऊ स्वासले मात्रै बोल्न थाल्यो । केही सेकेन्डमै त्यो बोली पनि रोकियो...। 


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७  १०:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC