site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आगो बल्यो आगो निभ्यो
Ghorahi CementGhorahi Cement

रत्न प्रजापति


सहरमा लकडाउन छ । सहर लकडाउनमा छ । उनीहरू पनि लकडाउनमा छन् ।

‘लकडाउनको बेला कोठाबाट बाहिर ननिस्कनू ।’ कसैले भनेथ्यो ।

Agni Group

‘हस् ।’ उसले भनेथ्यो । 

उसलाई थाहा थिएन लकडाउन भनेको के हो भनेर । कोठामै थुनिएर बसेपछि उसले आफैले लकडाउनको अर्थ लगायो– लकडाउन भनेको कोठाभित्रै बन्दी भएर बस्नु रहेछ । उसले अँध्यारो कोठाको सानो आँखीझ्यालबाट बाहिर चियाएर हेर्याे । बाहिर कोही पनि निस्केका छैनन् । उसले मनमनै सोच्यो, सबैजना के गरी बसिरहेका होलान् घरभित्रै र कोठाभित्रै ? 

Global Ime bank

उसले पुलुक्क श्रीमतीतिर हेर्यो । श्रीमतीले उसलाई हेरी र मसक्क मस्की । उसले मनमनै सोच्यो, अरू पनि कोठाभित्र बसेर यसैगरी मस्कामस्की गरिरहेका होलान् । उसको अनुमान शतप्रतिशत गलत होइन र शतप्रतिशत सही पनि होइन । हुनेखानेहरू उसले अनुमान गरेजस्तै हाँसीखुसी र मस्कामस्की नै गरिरहेका होलान् । तर ऊजस्तै हुँदाखानेहरू चाहिँ अब भरेदेखि के खाने भनेर चिन्ता लिएर बसेका होलान् । रोगको भन्दा पनि भोकको बढी भय छ गरिबलाई । कोरोनाले भन्दा पनि भोकले मरिएला भन्ने चिन्ता छ गरिबलाई । ऊजस्तै सहरमा भारी बोक्ने भरियालाई । ठेलागाडा ठेल्ने ठेलावालालाई । रिक्शा चलाउने रिक्शावालालाई । सडकमा मकै पोलेर बेच्ने दिदीलाई । बदाम र चना–भटमास भुटेर बेच्ने दाइलाई । निर्माणस्थलमा इँटा बोक्ने, बालुवा चाल्ने र सिमेन्ट घोल्ने ज्यामीलाई । अनि आफ्नै गाउँघरमा बनिबुतो गर्ने गाउँलेलाई । संसारमा रोगको महामारीले भन्दा बढी भोकको महामारीले बढी मान्छे मर्छन्, मरिरहेछन्, अझै मर्दैछन् । 

रेडियोले बारम्बार फलाकिरहेछ– साबुनपानीले मिचिमिची हात धुनु । ऊ सोच्छ– उसले साबुन किन्न नसकेर महिनौं ननुहाउँदा पनि भएकै छ । किन धुनुपर्यो हात साबुनपानीले ? मास्क लाउनु रे । भारी बोक्दा तर्तरी चुहिने पसिना पुछ्नलाई एउटा हातेरुमाल किन्न नसकेर उसले कमिजको बाहुलाले पसिना पुछ्दा पनि भएकै छ । किन लाउनुपर्यो मास्क उसले ?

डराउनचाहिँ डराएकै हो है ऊ त्यो कोरोना भाइरससँग । यो भाइरसले समातेपछि त मान्छे मर्छ रे भन्ने सुनेको छ उसले । त्यही भएर अरूजस्तै ऊ पनि कोठाभित्रै लुकेर बसेको छ । तर दिनहुँ भारी बोकेर खानुपर्ने ऊजस्तो मान्छेले कोठाभित्रै मात्र बसेर कति दिन चल्छ ? उसले योचाहिँ सोच्नै बिर्सेछ । सबैजना घर र कोठाभित्र बसे । ऊ पनि बस्यो । उसकी श्रीमती पनि बसी । उसको घरपट्टी पनि घरभित्रै बसेको छ । माथिबाट तल पनि ओर्लेको छैन । उसलाई कसैले केकस्तो छ भनेर सोधेको छैन । पहिला पनि कसले नै सोध्थ्यो र ! कहिलेकाहीँ घरपट्टीले भाडा उठाउने बेलामा ‘के छ त भाइको हालखबर ?’ भन्थ्यो । त्यत्ति नै हो । क्वारेन्टिन के हो ? आइसोलेसन के हो ? उसलाई थाहा छैन । तर ऊ त सधैं नै क्वारेन्टिन र आइसोलेसनमा बसेजत्तिकै थियो । अहिले पनि त्यस्तै छ । कोठाभित्र बस्नुले मात्रै उसलाई केही फरक परेको छैन । तर भारी बोक्न नपाउँदा भने उसलाई धेरै फरक परेको छ ।

दुई महिना भयो लकडाउन भएको । दुई महिनै भयो उसले सहरमा भारी नबोकेको पनि । सहरमा भारी नबोकी उसलाई खान पुग्दैन । अहिलेसम्म कसरी पुग्यो ? ऊ अचम्ममा छ । सायद आधा पेट टन्न खायो उसले । अनि उसकी श्रीमतीले पनि । केटाकेटी गाउँमै छन्, हजुरबा–हजुरआमासँग । उनीहरूले के खाए भगवान जानून् । दुई महिनै भयो उसको घरसँगको सम्पर्क टुटेको पनि । लकडाउन हुनु एक दिन अघि उसले छिमेकीलाई फोन गरेर सोधेको थियो, ‘घरमा कस्तो छ ?’ छिमेकीले भनेको थियो ‘सबैलाई सञ्चै छ ।’

उसको घरमा टेलिफोन छैन । उसको बाबु अथवा आमासँग मोबाइल पनि छैन । त्यसैले उसले छिमेकी दाइलाई फोन गरेको थियो । कहिलेकाहीं सञ्चो–बिसञ्चो सोध्न एउटा सस्तो मोबाइल किनिदिन सकेको छैन उसले बाबु–आमालाई । ऊ आफैंसँग पनि पाँच वर्षअघि किनेको एउटा सस्तो कलर ब्रान्डको टिकटिके मोबाइल छ । त्यही पनि घरीघरी बिग्रेर हैरान पार्छ उसलाई । श्रीमतीले एउटा टचस्क्रिनवाला मोबाइल चलाउने रहर गरेको धेरै भइसक्यो । उसले श्रीमतीको त्यो रहर पूरा गरिदिन सकेको छैन । भारी बोकेको कमाइले खान, लाउन, कोठाभाडा तिर्न र कहिलेकाहीँ छोराछोरीलाई खर्च पठाउन ठिक्क छ । बाबुआमालाई त उसले खर्च पठाएकै छैन । अहिलेसम्म बाबुआमाले खर्च मागेका पनि छैनन् । त्यो चिन्ताबाट ऊ बचेको छ । 

कमाइ नभएको दिन भोकै सुत्नु परोस्, तर उसले एक क्वाटर लोकल रक्सी लिएर आउनचाहिँ कहिल्यै बिर्सेको छैन । नुनमा चोपेर खुर्सानी टोक्छ र त्यो लोकल रक्सी घुट्क्याउँछ । उसकी श्रीमती रिसाउँछे । भोकै सुत्नुपर्दा त्यो रिस अझै बढ्छ । तर उसलाई केही फरक पर्दैन । ऊ रक्सीको सुरमा घुप्लुक्क निदाइहाल्छ । कहिलेकाहीं रक्सी खाएपछि ऊ शेर पनि बन्छ । अनि श्रीमतीलाई बिनाकारण भकुर्छ पनि । उसकी श्रीमती आफ्नो भाग्यलाई सम्झेर विलौना गर्दै रुन थाल्छे । त्यतिञ्जेलमा ऊ भने घुर्न थालिसक्छ । 

यसैगरी चलिरहेको थियो उसको दैनिकी । एक्कासि कोरोनाले गर्दा सहरमा लकडाउन भयो । उसले त बुझेकै थिएन लकडाउन । एक्कासि सहर सुनसान हुन थाल्यो । उसले सम्झ्यो सहरमा कफ्र्यू लाग्यो । सहरमा कफ्र्यू लाग्दा यसैगरी सुनसान हुन्थ्यो । उसले धेरैचोटि सुनेको थियो कफ्र्यू । धेरैचोटि देखेको र भोगेको पनि थियो । तर जिन्दगीमा पहिलो पटक सुन्यो उसले लकडाउन । 

कफ्र्यू त एकदिन लाग्थ्यो । बढीमा दुई दिन लाग्थ्यो । तर यो लकडाउन दुई महिनासम्म पनि लागिरह्यो । अझै कति दिनसम्म लाग्छ, उसलाई थाहा छैन । कसैलाई पनि थाहा छैन । 

दुई महिनासम्म उसले भारी नबोकी कोठामै बितायो । उसले रक्सी नखाएको पनि दुई महिनै भइसक्यो । कोठाभित्र थुनिएदेखि ऊ बाहिर निस्केकै छैन । एकदिन कोठाबाट निस्केर चोकतिर जानै लाग्दा एउटा प्रहरीसित भेट भयो । उसले कोठामै बस्न आदेश दियो । त्यसपछि ऊ खुरुक्क कोठामै आएर बस्यो । 

उसलाई रक्सीको तलतलले निकै सताउन थाल्यो । अरूबेला बिहानै नाम्लो बोकेर निस्कनासाथ ज्ञानमायाको भट्टीमा गएर एक गिलास रक्सी निस्तै घुट्क्याउँथ्यो । न अचार न सितन । घाँटीदेखि पेटसम्म रक्सीको स्पर्श अनुभव गथ्र्यो ऊ । उसको शरीरमा रक्सीले काम गरेपछि उसलाई पनि काम गर्ने सुर आउँथ्यो ।

‘बिहानसम्मलाई त जसोतसो पुर्याएँ । भरेलाई केही पनि छैन दाल, चामल र तरकारी पनि । सबै रित्तै छन् ।’ उसकी श्रीमतीले अभावलाई पस्की रित्ता भाँडा देखाएर ।

सुनेर ऊ झस्क्यो । के गर्ने त ? समस्या छ, तर तत्काललाई समाधान छैन । किनभने सहरमा लकडाउन छ । सहर लकडाउनमा छ । जसरी ऊ लकडाउनमा छ । लकडाउनमा बाहिर ननिस्कनू भन्ने उर्दी छ । चोकका पसलहरू बन्द छन् । गल्लीमा कतै खुलेका होलान् । जसरी गल्लीका भट्टीहरू सधैं खुला हुन्छन् । अब उसलाई गल्लीको भट्टीसम्म भए पनि जाने मन छ । उसलाई रक्सीको तलतल मेट्नु छ । तर त्यो भन्दा पहिला भरेको भोक मेट्ने व्यवस्था गर्नुछ । नत्र उसकी श्रीमती मात्रै होइन ऊ आफैं पनि भोकै पर्छ । उसले श्रीमतीलाई मात्रै सम्झी । गाउँमा रहेका बाबु, आमा र छोराछोरीलाई सम्झेको छैन । उनीहरूले खान पाएका छन् कि छैनन्, त्यो उसले सोचेकै छैन । 

जय बाबा पशुपतिनाथ ! उसले पशुपतिनाथलाई सम्झ्यो । सायद उसका बाबु, आमा र छोराछोरीलाई पशुपतिनाथले खुवाउँछन् । पशुपतिनाथ हामी सबैका पनि देवता हुन् । उनले हामी सबैको कल्याण गर्छन् । ‘श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् ।’ उहिलेका राजाले यसै भन्थे । अहिलेका राजाहरूले चाहिँ भनेका छैनन् ।

‘मेरा पनि खल्ती रित्ता छन् ।’ उसले पनि कमिजको खल्ती उल्टो पारेर देखाउँदै भन्यो । साँच्चै त्यो खल्ती रित्तै रहेछ । उल्टाएर देखाउँदा पनि त्यसबाट एक रूपैयाँ झरेन । उसकी श्रीमती ट्वाँ परी । अब के गर्ने त ? उसले केही उपाय सोच्न सकिन । रसिला आँखाले रित्ता भाँडातिर हेर्न थाली । उसले भाँडाहरू धमिलो देखी । उनीहरूको भविष्य झन् धमिलो थियो । 

ऊ हातमा नाम्लो बोकेर फुत्त निस्क्यो । उसकी श्रीमतीले उसलाई नजाऊ भनिन । अब लोग्नेले कमाएर ल्याएमात्रै चुलोमा आगो बल्छ र पेटको आगो भिाउन पाइन्छ भन्ने उसलाई थाहा थियो ।

सबैभन्दा पहिला ऊ गल्लीको भट्टीमै पस्यो । एक गिलास रक्सी निस्तै निल्यो । अनिमात्रै आफ्नो मुख्य गन्तव्यतिर लाग्यो ।

धेरै पसल खुलेका थिएनन् । औषधि पसलमात्रै खुलेको थियो । त्यहाँ पनि कुनै ग्राहक थिएन । यता–उता, दाया–बायाँ, चारैतिर हेर्यो । सबैतिरका सटर र ढोका बन्द छन् । एकाध मान्छेहरू हतार–हतार हिँडिरहेका छन् । उसलाई चाहिँ हिँड्न पनि मन लागेन । सडकपेटीमै थचक्क बस्यो । 

फनक्क घुमाएजस्तो भयो उसलाई । खाली पेटमा रक्सी घुट्क्याएको थियो । सायद त्यही रक्सीले काम गर्न थाल्यो । एक पटक आँखा चिम्म गर्यो । एकछिनसम्म चिम्म गरिरह्यो ।

आँखा खोल्दा उसका सामुन्ने केही मान्छेहरू थिए हातमा केही लिएका । कसैका हातमा पीठोको प्याकेट थिए । कसैका हातमा तेलको । अनि कसैका हातमा चाहिँ नुनको । उनीहरूका पछिपछि थिए दुईजना टेलिभिजन पत्रकार पनि ।

‘दाइको नाम ?’ पत्रकारले सोध्यो । क्यामेराम्यानले उतिर क्यामेरा सोझ्यायो ।

‘भरिया ।’ उसले टाउको कन्याउँदै भन्यो ।

‘तपाईंको नाम के हो भनेको ।’ पत्रकारले फेरि दोहो¥याएर भन्यो ।

‘सबैले भरिया भन्छन् ।’ उसले क्यामेरातिर हेरेर फिसिक्क हाँस्दै भन्यो । सायद उसले आफ्नो नामै पो बिर्सिसक्यो कि ?

‘के काम गर्नुहुन्छ ?’ पत्रकारको प्रश्न ।

‘भारी बोक्छु ।’ उसको उत्तर ।

‘काम पाउनुभा’छ ?’ पत्रकारको बेतुकको प्रश्न । सहरमा लकडाउन छ । कसरी काम पाउँछ उसले ?

‘छैन ।’ उसको निराश उत्तर ।

‘खान पाउनुभा’छ ?’ अहिलेचाहिँ पत्रकारले सही प्रश्न सोध्यो ।

‘छैन ।’ उसको झन् शतप्रतिशत सही उत्तर । 

‘त्यसोभए हामी तपाईंलाई अलिकति राहत सामग्री दिन्छौं । हामी तपाइँजस्तै मान्छेलाई राहत बाँड्दै हिँडिरा’छौं ।’ पत्रकारले यसो भन्नेबित्तिकै क्यामेराम्यानले पीठो, तेल र नुनको पोकोतिर क्यामेरालाई फोकस गर्यो ।

उसले राहतस्वरूप एक प्याकेट ज्ञानचक्की आँटा, एक प्याकेट धारा खानेतेल र एक प्याकेट आयोनुन पायो । यति थोरै राहत पाउँदा पनि धेरै पाएजस्तो खुसी भयो ऊ । थोरै पाउँदा पनि धेरै खुसी हुन जान्दछन् नेपालीहरू । ऊ राहत प्रदान गर्नेप्रति निकै अनुगृहीत भयो । आफूले पाएको राहतको पोकालाई भुइँमा राखेर दुवै हात जोडेर नमस्कार गर्यो उसले । क्यामेराम्यानले त्यसलाई विशेष मानेर खिच्यो । राहत प्रदान गर्नेहरूले पनि क्यामेरातिरै आफ्नो अनुहार देखाए ।

राहत लिन पाएर ऊ दङ्ग पर्यो । राहत दिन पाएर उनीहरू झन् दङ्ग परे । राहतका नाममा एउटा नाटकमञ्चन भयो । भरे टेलिभिजनमा लाखौं दर्शकले हेर्छन् त्यो राहत बाँडेको दृश्य । सबैले सोच्छन् सरकार जनमुखी छ । सरकारले सोच्छ सरकार सफल छ । यही भ्रममा छौं हामी । यही भ्रममा छ सरकार । हामी सबै भ्रममा बाँचिरहेका छौं ।

त्यस्तै पीठो, चामल, दाल, नुन, तेल, आलुको भारी बोकेर ग्राहकका घरघरमा पुर्याउँथ्यो । साहुले उसलाई विश्वास गरेको थियो । ग्राहकले पनि उसलाई विश्वास गरेका थिए । उसले कहिल्यै विश्वासघात गरेन । बेइमानी गरेन । गरेको भए यस्तो सङ्कटको बेलामा काम लाग्ने रहेछ । तर त्यस्तो बेइमानी गर्न कहिल्यै आएन उसलाई । सधैं इमानदार नै बनिरह्यो ऊ । सधैं इमानको कमाइमात्रै खाइरह्यो उसले । इमानदारहरू नै भोकै पर्छन् । त्यसैले आज ऊ भोकै पर्यो । उसको इमानदारीका कारण उसकी श्रीमती पनि भोकै परी । सायद गाउँमा उसका बाबु, आमा र छोराछोरी पनि भोकै नै छन् ।

सरकारले भनेको छ, कोही भोकै पर्दैनन् । कोही भोकै मर्दैनन् । हो जस्तै लागेको छ उसलाई । उसले भोकै मर्नुपरेको छैन । उसकी श्रीमती भोकै मरेकी छैन । अरू को भोकै मर्यो उसलाई थाहा छैन ।

ऊ राहतको पोको बोकेर कोठातिर हिँड्यो । रक्सीको रमरम अलिकति बाँकी नै थियो । राहत पाएको खुसीमा उसलाई अझै अलिकति रक्सी थप्न मन लाग्यो । अनि ऊ सधैं जाने गरेको गल्लीको ज्ञानीमायाको भट्टीमा छिर्यो । 

लकडाउनमा पनि भट्टी खुल्नु अनि भट्टीमा ग्राहक हुनु कुनै आश्चर्यको कुरो होइन । अस्पताल र औषधि पसल बन्द हुनु, तर भट्टी खुल्लै रहनु हाम्रो देशको विशेषता नै हो ।

ज्ञानीमाया छोयला साँध्दै रहिछ । छ्वय्लाको बास्नाले उसको मुखमा पानी आयो । उसले हाफ प्लेट छोयलासँगै एक गिलास रक्सी माग्यो । पिरो छोयलासँगै रक्सी खाएर ऊ त्यहाँबाट निस्क्यो । अघिको रमरममा अलिकति रमरम थपेपछि उसलाई डबल रमरम भयो । हिँडेको हो कि उडेको हो, ऊ आफैंलाई शङ्का हुन थाल्यो ।

रमरम भए पनि ऊ लर्बराएको छैन । नलर्बराइकनै ऊ फटाफट हिँडिरह्यो । मन खुसी हुँदा ज्यानमा फूर्ति त्यसै आउँदो रहेछ । ऊ फूर्तिसाथ हिँडिरह्यो । ऊ फूर्तिले हिँडेको देखेर अरूबेला उसलाई भुक्ने कुकुरहरू डराएर भागे । अरूबेला उसलाई धक्का दिएर हिँड्ने मान्छेहरू पनि ऊदेखि तर्किएर हिँडे । यो पनि सायद भ्रम नै होला । किनभने एकले अर्कोलाई छोइएला र कोरोना सर्ला भनेर मान्छेहरू डराउँदै हिँडिरहेका थिए । ऊचाहिँ निर्धक्क हिँडिरह्यो ।

कोठामा पुगेर राहत सामग्रीको पोको बिसाउँदै उसले गर्वसाथ भन्यो, ‘सुनिस् बूढी, आज त मान्छेहरू मसँग डराए नि ।’ 

उसकी श्रीमतीलाई थाहा छ, मान्छेहरू ऊसँग डराएको होइन । कोरोनासँग डराएका हुन् । उसलाई छोए कोरोना सर्छ भनेर ऊदेखि हच्किएका हुन् । डराएर भागेका होइनन् । ऊ भ्रममा थियो । भ्रममा बाँच्नुमा पनि आनन्द हुँदोरहेछ । 

उसकी श्रीमतीले पहिला रक्सीले रातो भएको उसको मुख हेरी । अनि उसले ल्याएको राहत सामग्रीको पोको हेरी । उसलाई त्यो पनि थाहा छैन कि त्यो राहत सामग्रीको पोको हो । उसले चाहिँ लोग्नेले कमाइ गरेर ल्याएको सोचेकी छे । यस्तो बेलामा पनि कमाउनसक्ने लोग्नेलाई उसले पुरुषार्थी सम्झेकी छे । ऊ पनि भ्रममै छे । 

जे होस्, आज उनीहरूको चुलोमा आगो बल्यो । अनि उनीहरूको पेटको आगो निभ्यो । उनीहरू खुसी भए । सुखी हुने दिनचाहिँ कहिले आउला ? त्यो भविष्यले बताउला ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७  ०९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC