site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
विनय भन्थे– अब साप्ताहिक पत्रिका निकाल्नु पर्छ
Sarbottam CementSarbottam Cement

राजेश खनाल


‘लेखक स्वयम्मा सत्ता हो ।’ विश्वप्रशिद्ध साहित्यकार तथा चिन्तक अल्बेयर कामुको यो उक्ति कवि विनय रावल बारम्बार दोहोर्याउँथे । 

विनय दाइ भन्थे, ‘‘एउटा लेखकको आलेखमा सत्तालाई धरासायी बनाउन सक्ने क्षमता हुन्छ । त्यसैले सत्ता लेखकसँग डराउँछ । लेखक सत्तासँग हैन ।’’

Prabhu Bank
Agni Group
NIC Asia

स्पष्ट विचारका विनय खरो स्वभावका थिए । उनको यही स्वभावका कारण कतिपय उनीसँग चिढिएका थिए । उनको विचार र चिन्तनप्रति असहमत हुनेहरू पनि थिए ।

खरो स्वभावभए पनि विनय दाइसँग परिचयको दिनदेखि नै मेरो सम्बन्ध भने सुमधुर रह्यो । 

Global Ime bank

साहित्यकार राजव, हिरण्यकुमारी पाठक, अच्युत चालिसेहरूसँग वाणिज्य बैङ्कमा जागिर थालेदेखि नै मेरो सम्पर्क आरम्भ हुन थाल्यो । अलिक पछि प्रतीक ढकाल, कणाद महर्षि, शार्दूल भट्टराई, मित्रलाल पङ्ज्ञानी, सीताराम उप्रेतीहरूसँग नजिकिएँ । 

सोही संस्थामा रहे पनि केही वर्षपछि मात्रै विनय दाइको सङ्गतमा पुगेँ । तर घुलमिल भने चाँडै नै भएँ ।

विनय दाइ राष्ट्रिय वाणिज्य बैङ्कको वीरगञ्ज, भैरहवालगायतका विभिन्न शाखामा कार्य गरिसकेको कमलनाथ ढुङ्गानाले बताएका थिए । २०४७÷४८ सालतिर उनी केन्द्रीय कार्यालय प्रशासन विभागमा सरुवा भएर आए । 

म पनि त्यही समयबैङ्कको त्रैमासिक पत्रिका ‘उपहार’को सम्पादन समूहमा काम गर्ने गरी सरुवा भएँ । ‘उपहार’ प्रशासन विभागको मातहत निस्कन्थ्यो ।

प्रशासनमा रहँदा केही महिना विनय दाइसँग एउटै कोठामा बसेर काम गरियो । हामी दुवै लेखन र पत्रकारितासँग आवद्ध भएकोले पनि होला, हामीबीच पत्रपत्रिका र लेखनका विषयमा खुब कुरा हुन्थ्यो । सायद, हामीबीच सम्बन्ध मधुर हुने कारण यही पत्रकारिता र साहित्य नै थियो ।

विनय दाइको एउटा खुट्टा कमजोर भए पनि विचार र चिन्तनमा भने उनी औधी बलिया थिए । उनी कविताका अतिरिक्त पत्रपत्रिकामा समसामयिक विषयमा स्तम्भ पनि लेख्थे । राष्ट्रपुकार साप्ताहिकमा उनले ‘अतुलेश’को नामबाट खरो टिप्पणी लेख्दै आएका थिए । 

विनय दाइको कवित्वबारे उनीसँग चिनाजानी भएको केही समयपछि जानकार भएँ । ‘उपहार’का लागि मैले लेखरचना सङ्कलन गर्नुपर्ने भएकोले बेलाबेला ‘फलानो–फलानोको लेख पनि ल्याउन सक्छौ भने ल्याऊ’ भन्थे । अपितु उनी ‘उपहार’को सम्पादन समूहमा थिएनन् । तर पनि ‘उपहार’मा छापिने रचना राम्रो रहोस् भन्ने उनको दृष्टिकोण थियो । 

विनय दाइसँगको सम्बन्ध नजिकको भए पनि म क्षेत्रीय कार्यालय, विभाग र शाखाहरूमा सरुवा भएर गएकोले निरन्तर भेटको मेसो केहीकाल भाँचियो । तथापि, भेट जुर्दा कालो चियासँगै हामी रमाउँथ्यौं ।  

तीन वर्षपछि म फेरि केन्द्रीय कार्यालयमै फर्किएँ । त्यतिबेला भने हाम्रो कार्यरत विभाग बेग्लाबेग्लै भए पनि दुवैको अफिस एउटै तलामा थियो ।

विनय दाइ बैङ्क व्यवसाय विभागमा उप–प्रमुख थिए । म औद्योगिक कर्जा विभागको सुब्बा । त्यही तलामा रहँदा नै म लेखक–कवि विनय, पत्रकार विनय, प्रजातान्त्रिक राजनीतिक चिन्तनले झाङ्गिएका विनयसँग झन्झन् नजिक भएँ । 

उनी राष्ट्रपुकारका स्तम्भकार ‘अतुलेश’ हुन् भन्ने पनि मैले त्यसैबेला थाहा पाएँ ! उनी कामु, सात्र्र र चाल्र्स देगालको चिन्तनलाई गहिरो गरी अध्ययन गर्ने व्यक्ति हुन् भन्ने पनि त्यही समय थाहा भयो । 

एउटै तलामादुईवटा विभाग खडा थियो । विभाग फरक भए पनि ‘ए पत्रकार । तिमी आऊ त मेरो चेम्बरमा’ भन्दै बोलाउँथे उनी । अनि कुरा गर्थे लेख–निबन्ध र कविताका विषयमा । राजनीतिक लेखनका विषयमा । समसामयिक राजनीतिक चलखेलका विषयमा । अनि पत्रिका प्रकाशनका विषयमा ।  

उनका केही कविताको किताबहरू प्रकाशित थिए । ‘ठूलदिदीको देशमा’ शीर्षकको एउटा अर्को पुस्तक पनि थियो । ‘ठूलदिदीको देश’ विनय दाइले मलाई उपहार दिएका थिए । तर त्यो किताब अहिले मसँग छैन !

उनको चेम्बरमा छिर्दा कहिलेकाहीँ कुनै साहित्यिक गोष्ठीमा पुगेको महसुस हुन्थ्यो भने कहिले राजनीतिक बैठकमा ! मैले विनय रावलकै कोठामा चिनेको हुँ, ज्ञानुवाकर पौडेल, दुबसु क्षेत्री, धु्रव मधिकर्मी, कृसु क्षेत्री, जयदेव भट्टराईलगायतका धेरै साहित्यकर्मीहरू । यथार्थमा, त्यहाँको वार्ता र छलफलमा  राजनीति र साहित्यको कोलाज छरपष्टै भेटिन्थ्यो !

विनय दाइले बरोबर बोलाइरहने भएकोले यदाकदा नबोलाए पनि म आफैं पुग्थेँ । यसरी धेरै पटक उनको चेम्बरमा नभनेरै छिरेको छु, नबोलाएको पाहुनाजसरी । कहिलेकाहीँ घण्टौ कुरा गरेर बसेको छु ।

एकपटक विनय दाइले मलाई चेम्बरमा बोलाए । त्यस बेला केही साप्ताहिक पत्रिकाहरूमा स्तम्भ लेखिरहेको थिएँ म । त्यो पनि छद्म नामबाट ।अनि विनय दाइलाई भनेको थिएँ “तपाईंजस्तै लुकेर लेख्दैछु म पनि !”

मैले स्तम्भ लेख्ने पत्रिका र मेरो नक्कली नाम उनलाई थाहा थियो । मेरो कोलम उनी पढ्थे पनि । त्यसैले पनि उनी कहिलेकाहीँ मलाई विषय सुझाउँथे । 

केही दिनअघि मसँग कृसु क्षेत्री भन्दै थिए, “तिमीलाई कतिपय विषय विनय दाइले मेरै अगाडि दिएको मैले बिर्सिएको छैन नि । कतिलाई ठोक्यौ, गनुँ म !” अनि फोनमै कृसु जोडदार हाँसो हाँसे ।   


एक दिन आउँदाआउँदै आफ्नो चेम्बरमा बोलाएर उनले चिया मगाए । अनि भरखरै निस्किएको आफ्नो सम्पादनमा प्रकाशित साहित्यिक पत्रिका दिँदै भने, “राजेश बैङ्कबाट रिटायर भएपछि साप्ताहिक पत्रिका निकाल्नु पर्छ । र, हामी दुई सँगै काम गर्नुपर्छ ।”

विनय दाइ स्पष्ट थिए, बैङ्कबाट अवकास लिएपछि साप्ताहिक पत्रिका प्रकाशनमा लाग्ने विषयमा । कहिलेकाहीँ म विनय दाइलाई जिस्काउथँे, “तपाईंले पत्रिका के निकाल्नु हुन्थ्यो र ! कमलादीको ठूलो घरको जिम्मा लिएर जानु होला नि ?” उनी हाँस्थे र भन्थे, “त्यो धेरै पछिको कुरो हो ।” 

विनय दाइकै चेम्बरमा एक दिन कृसुले भने– मिर्मिरेका लागि दाइको अन्तरवार्ता लिइदिनु पर्याे । विनय दाइले ‘भइहाल्छ नि’ भनेपछि मैले पनि हुन्छ भनेँ । र, त्यसको केही समयपछि विनय दाइसँग लामो कुराकानी गरेँ । त्यो अन्तरवार्ता मिर्मिरेमा प्रकाशित भयो । त्यसको चर्चा पनि निक्कै भयो । 

तिनताक पाको नयाँसडकमा रहेको ‘केएटीएच एफएम ९७.९ मेगाहर्ज’मा मैले विभिन्न रेडियो कार्यक्रम सञ्चालन गर्दै आएको थिएँ । त्यसैमध्येमा एउटा कार्यक्रम थियो ‘सारस्वत’ । यो साहित्यिक कार्यक्रम थियो, जुन पहिले श्रीओमश्रेष्ठले सञ्चालन गर्थे । श्रीओमले इमेज (पहिला केएटीएच) छोडेपछि ‘सारस्वत’ मैले सञ्चालन गर्न थालेँ ।

एक दिन मैले विनय दाइकै चेम्बरमा गएर भनेँ, “दाइ, ‘सारस्वत’मा बोलौं ।’ उनले ‘हुन्छ’ भने । सायद उनी साझा प्रकाशनको सञ्चालक समितिमा भिड्ने मनस्थितिमा थिए त्यो समय । नाइँ भनेनन् । 

साँझ७ बजेदेखि ८ बजेसम्म एक घण्टाको कार्यक्रम थियो त्यो । कार्यक्रमभरि रमाइलो र महत्वपूर्ण साहित्यिक वार्तालाप भयो । तर आजको जस्तो कम्प्युटरमा कार्यक्रम रेकर्ड हुने चलन त्यसबेला थिएन । लाइभ प्रस्तुति भएकोले उक्त अन्तरवार्ता एफएमको रेकर्डमा पनि रहेन ।  

त्यसै समयमा वाणिज्य बैङ्कको व्यवस्थापन समूह परिवर्तन भएको थियो । अमेरिका, अस्टे«लियालगायतका देशबाट विज्ञहरू आएका थिए । 

केही नेपाली विज्ञहरू पनि थिए । बैङ्क नयाँ व्यवस्थापनले लिएपछि संस्थामा अलिकति उथलपुथल स्वाभाविक थियो । धेरैले स्वेच्छिक अवकाश लिए ।

त्यतिबेलासम्म विनय दाइ साझा प्रकाशनको सञ्चालक समितिमा निर्वाचित भइसकेका थिए । साझाको सञ्चालक समितिमा पुगेपछि नै उनको सरुवा नेपालगञ्जको क्षेत्रीय प्रबन्धकमा भयो । 

त्यसपछि विनय दाइ बैङ्क छोड्ने मनस्थिति बनाउन थाले । उनी बेलाबेलामा मलाई भन्थे, “अब साप्ताहिक पत्रिका प्रकाशन गर्नुपर्छ, पत्रकार ।”

नेपाली कवितामा ‘तरलवाद’का प्रवत्र्तक थिए कवि विनय रावल, तीर्थ श्रेष्ठ र फणीन्द्र नेपाल । यी तीन जनालाई ‘फविती’ नामले पनि चिनिन्थ्यो । त्यसबखत तरलवाद चर्चामा रह्यो ।तीसको दशकका कतिपय कविहरूले तरलवादको विरोध पनि गरे । कवितामा वाद हुनुहुँदैन भन्ने तिनको मान्यता थियो । र पनि कवितामा तरलवाद केही समय बगिरह्यो ।

केही समयअघि पोखरेली कवि तीर्थ श्रेष्ठसँग कुरा गर्दा उनले पछि आफू तरलवाद आन्दोलनबाट पन्छिएको बताए । कविता स्वतन्त्र दृष्टिकोणबाट लेखिनु पर्छ । कवितामा वादको स्थान रहँदैन भन्दै तीर्थ तरलवादबाट अलग भएका थिए । तर विनय रावलसँग आफ्नो सम्बन्धमा कुनै दरार नआएको उनी बताउँछन् ।

कवितामा केही नयाँ काम गर्नुपर्छ भनेरै सुरु भएको कवितामा तरलवाद अन्ततः हराएर गयो । तर विनय दाइ कवितामा सधैंबगिरहे । साथीहरूसँग विनय दाइ सधैं सम्पर्कमा रहिरहे । 

तीर्थश्रेष्ठ मसँग विनय दाइका विषयमा भन्दै थिए, “विनय आत्मीय थियो । एक्टिभ थियो । तर खरो पनि थियो । जे भन्नु पथ्र्योसीधै भन्थ्यो । ‘सुगरकोटेड’ गफ गर्थेन ऊ ।”

तीर्थ दाइले भनेजस्तै खरा कुरा गर्थे विनय दाइ । सायद त्यही खरा कुराले धेरैको मन पो दुखाएका थिए कि (?)! हैन भने, विनय दाइका धेरै साथी एकेडेमीमा बेलाबेलामा प्राज्ञ भएर गए । तर विनय दाइलाई सम्झिएर कसैले पनि एउटा कार्यक्रम गर्न सकेनन्, गर्न चाहेनन् !उपकुलपतिसम्म भएका डा. विष्णुविभु पनि चुके ! डा. तुलसी भट्टराई पनि चुके । नत तीर्थ श्रेष्ठले नै केही गर्न सके । नत अर्का मित्र वियोगी बुढाथोकीले नै केही गरे ! 

यो चर्चा गर्दा तीर्थ भन्छन्, “विनयको निधनपछि उसका नाममा केही कार्यक्रम गर्ने कुरो नउठेको होइन । पटकपटक उठेको हो ! विनयलाई सम्झँदै नसम्झिएको होइन, तर उसको सम्झनामा कुनै ठोस काम हुन नसकेको भने पक्कै हो ।”

उता, विनय दाइको २०६२ साल जेठ २५ गते भारतको खर्साङमा भएको सडक दुर्घटनामा निधन भएपछि उनको नाममा संस्था स्थापना गरेर पनि खासै केही काम हुन सकेन । एक–दुई वर्ष विनय दाइको नाममा केही गरेजस्तो मात्रै गरेको देखियो । 

अहिले त्यो संस्था कता छ ? के गर्दैछ ? कसैलाई थाहा छैन ! संस्था कता हरायो, हरायो ! विनय दाइकै नाममा खुलेको संस्थाले विनय दाइलाई बिर्सियो ! यसरी बिर्सिनु नै थियो भने संस्था नखोलेको भए हुन्थ्यो कि ?

गएको वर्ष एउटा कार्यक्रममा धु्रव मधिकर्मी भेटिए । उनलाई मैले भनेँ, “तपाईं प्राज्ञसभामा हुनुहुन्छ यतिखेर । विनय दाइको सम्झनामा केही गर्न सकेदेखि त राम्रै हुन्थ्यो ।”

“कुरो ठीक हो ।” मधिकर्मीले यति भने । तर उनले पनि के अग्रसरता लिएनन् ।

मैले भने यतिबेला विनय दाइलाई सम्झिने प्रयास गरेको हुँ । विनय दाइसँग जोडिएका धेरै सम्झना अझै छन् । तर ती सबैलाई एउटैमा समेट्न सकिएन ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७  ०९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC