site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘कोरोना बिमाको पुनर्जन्म यसरी भयो, रातभर सुतिनँ’
Sarbottam CementSarbottam Cement

मैले वैशाख ७ गते कोरोना बिमा नीति सार्वजनिक गर्दै भनेको थिएँ, “कोरोनाको बिमाको पुनर्बिमा संसारभर हुन्न, सामाजिक उत्तरदायित्व बहन गरेर हामी यो नीति सञ्चालन गर्दैछौं । बिमा पुलमार्फत् जान्छौं । जसमध्ये ८० प्रतिशत बिमा कम्पनीहरुलाई बराबर दायित्व हुने गरी र बाँकी २० प्रतिशत स्वदेशी पुनर्बिमा कम्पनीमार्फत् जोखिम बहन गर्छौं । हामी जुन दिनसम्म धान्न सक्छौं, सो दिनसम्म जारी राख्छौं । र, जुन दिन बेहोर्न नसक्ने अवस्था आउँछ, त्यो दिन छलफल तथा समीक्षा गरेर आवश्यक परे सरकारलाई गुहार्छौं र त्यसो गर्दा पनि असहज हुने देखियो भने बन्दै गर्छौं ।”

म सबैलाई यी कुराहरु मनन गर्न आग्रह गर्दछु । यो स्पष्टै छ ।

योजनाअनुसार हामीले दैनिक तथ्यांकलाई अद्यावधिक गरेका छौं । हिजोसम्म कुल ३ लाख ७ हजार व्यक्ति विमित भएका छन् । यसको अर्थ बिमाक्षेत्रले कुल ३० अर्ब रुपैयाँ बराबरको दायित्व बहन गर्नुपर्ने देखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यो दायित्वको आकार नेपाल पुनर्बिमा कम्पनी र नेपाली निर्जीवन बिमा कम्पनीहरुको कुल पुँजी हो । यस्तो अवस्थामा बिमा कम्पनीहरु डराउनु स्वाभाविक हो । उनीहरु डराएर हामीलाई अहिले कोरोना बिमालाई बन्दै गर्न आग्रह गरे ।

बिहीबारमात्र हामी केही समय स्थगन गर्ने निष्कर्षमा पुग्यौं । उहाँहरुले एउटा समिति बनाएर यसको मोडालिटी परिमार्जन गर्न आग्रह गर्नुभयो । तर, मैले कुनै समिति बनाउनु नपर्ने धारणा राखें ।

Global Ime bank

समिति कहिले बन्ला ? त्यसको प्रतिवेदन के आउला ? कहिले आउला ? फेरि कहिले सूचारु होला ? अनिश्चित नै थियो । मैले भने, “म आफैं अध्ययन गर्छु ।” किनकि, हामी आफैंले जन्माएको बिमा नीति हो, यसलाई मार्न हुँदैन । र, म आफैंले यसलाई विस्तृत अध्ययन गरें ।

अध्ययनका लागि यसलाई केही समय स्थगित गरिएको हो । स्थगित भएको समय १२ घण्टाभन्दा बढी छैन । कम्पनीहरुले राति १२ बजेसम्म पोलिसी बिक्री गरेका छन् । जबकि शुक्रबार दिउँसो १२ बजेभन्दा अघि नै पोलिसी बिक्री हुन थालेको छ । कोरोना बिमा निकै लोकप्रिय बिमा नीति बनिसकेको थियो । यसअघि बिमा कार्यक्रम प्रभावकारी थिएन । अहिले यसलाई बन्द गर्दा ‘सर्वसाधारण मेरो बिमा गरिदिनुस्’ भनेर ढोकैसम्म आइपुग्दा हामीले ढोका बन्द खोजेजस्ता भान भएको थियो ।

म सबै विषयलाई समाधान गर्न चाहन्थें । मलाई रातभरी निद्रा लागेन । मेरो (बिमा समितिको) नियमन दायराभित्र मेरा कम्पनीहरु छन् । तर, समितिको सञ्चालक मेरो नियमनमा छैन । उहाँहरुलाई जवाफ दिनुपर्‍यो । बिमा समितिले केहीमा पैसा हाल्छ भने सञ्चालकको अनुमति लिनैपर्छ ।

मलाई आपत् पर्‍यो । समितिको सञ्चालक समितिको बैठक शुक्रबार बिहान ८ बजे बस्यो । १० बजेसम्म सञ्चालक समितिमा छलफल गरिसकेपछि मैले जिम्मेवारी बहन गरेर बिमक संघलाई फेरि छलफलमा बोलाएँ, नेपाल पुनर्बिमा कम्पनीलाई पनि बोलाएँ ।

र, मैले एउटा प्रस्ताव गरें ।

के छ प्रस्तावमा ?

प्रस्तावमा सुरुको १० हजार बिमितको दायित्व बिमा कम्पनीहरुले बहन गर्ने उल्लेख छ । अर्थात् उनीहरुको दायित्व १ अर्ब रुपैयाँ मात्र हुनेछ । यसबाट अहिले ३० अर्ब रुपैयाँ दायित्व बेहोर्न नसक्ने जानकारी गराएका बिमा कम्पनीहरुले ३० अर्बको साढे ३ प्रतिशतमात्र दायित्व बहन गर्नुपर्ने हुनछ ।

यर्थात् बिमा कम्पनीहरुले जति धेरै बिमा गर्छन् जोखिम त्यति नै कम हुन्छ । यसले परिस्थिति उल्टियो । हिजोसम्म ‘धेरै बिमा गरे मैले नै धेरै दायित्व बेहोर्नुपर्छ’ भन्ने बिमा कम्पनीहरुको मुड फेरियो । सबै बिमा कम्पनीले प्रिमियम नै कुल १ अर्ब रुपैयाँ बराबरको संकलन गर्न सके उनीहरुलाई १ रुपैयाँ पनि घाटा नपर्ने बुझे । यसले उनीहरुलाई कोरोना बिमा नीति झन् बढी बिक्री गर्न उत्प्रेरणा मिल्यो ।

यसैगरी नेपाल पुनर्बिमा कम्पनी १ अर्ब रुपैयाँ बराबरको दायित्व बोध गर्न तयार भयो । यसबाट थप १० हजार बिमीतको दायित्व बहन हुने भयो ।

बिमा कम्पनीहरुले प्रत्येक वर्ष नाफाको १० प्रतिशत महाविपत्ति कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । त्यो कोषमा गत वर्षसम्म ७० करोड रुपैयाँ जम्मा भइसकेको छ । अहिले त्यसमा १ अर्ब रुपैयाँ जम्मा भइसकेको अनुमान छ । त्यो कोषबाट थप ५ हजार बिमीतको दायित्व बहन गर्ने प्रस्ताव गरेको छु । यसको अर्थ थप ५ हजार बिमीतको दायित्व बहन हुने भयो ।

यसरी कुल २५ हजार बिमीतको दायित्व बिमा उद्योगले धान्नेछ ।

बाँकी १० हजार जनाको दायित्व बिमा समितिले बेहोर्ने सञ्चालक समितिले पारित गरेको छ । अर्थात्, समितिले १ अर्ब रुपैयाँ बराबरको दायित्व बहन गर्ने भयो । यो रकम समितिले लिएको १ प्रतिशत शूल्कबाट बेहोरिनेछ ।

रह्यो, बाँकी दायित्व कसले बेहोर्ने ? बजेटमा अर्थमन्त्रीले कोरोना बिमाबारे उल्लेख गर्नुभएको छ जसले कोरोना बिमालाई राष्ट्रियकरण गरेको छ । हामीले शून्यबाट सुरु गरेको कोरोना बिमा कार्यक्रमलाई राष्ट्रियकरण भएको छ । यसकारण सरकारप्रति सम्पूर्ण बिमा क्षेत्र आभारी छ ।

कोरोना बिमाको नयाँ प्रस्तावित मोडालिटीमा त्यसभन्दा बढी दायित्व राज्यले बेहोर्ने उल्लेख छ । यसको अर्थ कोरोना बिमा गर्नेमध्ये ३५ हजारलाई कोरोना संक्रमण पोजिटिभ देखिए बिमा क्षेत्रले बेहोर्ने छ भने त्यसभन्दा माथिको दायित्व सरकारको हुनेछ ।

सबैको जित

यो मोडालिटीको प्रस्तावबाट सबै क्षेत्र खुसी देखिएका छन् । बिमा कम्पनी खुसी भए, पुनर्बिमा कम्पनी खुसी भयो । महाविपत्ती कोषको रकम परिचालन भयो । बिमा समितिले दायित्व बोध ग¥यो । हामी आफैं पनि आफूले जन्माएको नीतिको निरन्तर हुने भएकाले खुसी भयौं ।

यो मोडालिटी म आफैं कल्पना गरेर तयार पारेको हुँ । यो प्रस्ताव मैले प्रस्तुत गर्न समय लागेको पक्कै हो ।

यसअर्थमा हिजो कोरोना बिमा कार्यक्रम बन्द गरेको होइन, केही समय मात्र स्थगन गरेका हौं । हाम्रा कम्पनीहरुले राति १२ बजेसम्म बिमालेख बिक्री गरेका छन् । बिहान ११ बजे, जुनबेलासम्म हामीलाई निर्णय गर्नै समय लाग्यो त्यतिबेला स्थगन भएकै हो ।

त्यसैले म ‘कोरोना बिमा बन्द’ भन्ने सन्देश फैलिएकोमा आपत्ति जनाउँदछु । यो त, छोटो समयका लागि स्थगन मात्र भएको हो ।

अर्कातर्फ बिमा समिति आलोकाँचो छैन । बिमा क्षेत्र आफैं जागरुक छ । जसजसले बिमाको सिद्धान्तबाहिरको बिमा कार्यक्रम सञ्चालन गरेको टिप्पणी गरेका छन्, उहाँहरुलाई मेरो प्रश्न छ, “तपाईंहरु महामारीको अध्ययन गरेर यस्तो बिमा कार्यक्रमको प्रिमियम यति हुनुपर्छ भनेर हिसाब निकालेको प्रतिवेदन दिनुहोस्, म त्यसका आधारमा प्रिमियत तोक्नेछु ।”

हिजो संसारमा कुनै महामारीको बेलामा कोरोना बिमा गरिएको थिएन । हामीले उदाहरणीय काम गर्दै छौं ।

अर्थमन्त्रीसँग मेरो सम्बन्ध बिग्रिएको थिएन, कहिल्यै बिग्रिँदैन

मलाई केही साथीहरुले अर्थ मन्त्री र बिमा समितिको अध्यक्षबीच झगडा भएकाले कोरोना बिमा स्थगन गरेको आरोप पनि लगाए । म बाह्रखरीमार्फत् यो भन्न चाहन्छु कि मेरो नेतृत्व विकासमा मन्त्रीको ठूलो योगदान छ । बिमाको सिद्धान्त पनि मलाई थाहा छ । यसको पुनर्बिमा हुँदैन भन्ने पनि मलाई थाहा छ ।
बिमा कम्पनी आत्तिएका हुन्, म पनि तनावमा थिएँ ।

फर्केर कोरोना बिमा कै कुरा गरौं । केही समयका लागि स्थगन गर्ने भनेका हौं ।

कोरोना बिमा गर्नेको संख्या बढेपछि बिमा कम्पनीहरु साह्रै आत्तिए । उहाँहरु बन्दै गर्नुपर्छ भन्ने सुरमा लागेका थिए । तर, नयाँ मोडल बनाउनका लागि समय चाहिएको थियो । म उहाँहरुलाई नआत्तिन भनिरहेको थिएँ ।

मैले ‘भोलि बिहानसम्म केही सोच्छु’ भन्दा उहाँहरु ‘होइन होइन’ भन्दै हुनुहुन्थ्यो । कुन कुन कम्पनीले त पुलबाटै निस्किने चिठी लेखेको कुरा मिडियाकर्मी साथीहरुलाई नै जानकारी थियो ।

म साँच्चै सुतिनँ । वैशाख ७ गते जन्माएको कोरोना बिमालाई हामीले पुनर्जीवन दिएका हौं । वैशाख ७ गते मैले बोलेका शब्दहरु पुनर्ताजगी गराउन चाहन्छु । सोही अन्तर्गत रहेको बिमा बिक्री फेरि खुला भएको छ । बिमा कम्पनीहरुमध्ये जसले धेरै कोरोना बिमा गर्छ सो कम्पनी पुरस्कृत हुने नयाँ मोडालिटीमा उल्लेख छ । किनकि एउटै कम्पनीले १ अर्ब रुपैयाँ प्रिमियम संकलन गरे सबै बिमा कम्पनीले एक रुपैयाँ पनि दायित्व बहन गर्नुपर्दैन ।

यसमा सबैको समर्थन छ । सबैजना उत्साहित भएर कोरोना बिमा गरेकोमा नीति नै खारेज भए बिमित सबैमाथि अन्याय हुने मैले बुझेको छु । हिजोसम्म मलाई निकै तनाब थियो । तर, म आज निकै खुसी छु, चिन्तामुक्त पनि । अब धेरैभन्दा धेरै सर्वसाधारणलाई बिमाको दायरामा ल्याउछौं । अब कोरोनाको जोखिम, हाम्रो आफ्नै बिमा क्षेत्र, स्वदेशी पुनर्बिमा कम्पनी, बिमा समिति र बाँकी दायित्व राज्यले बेहोर्ने गरी कोरोना बिमाको पुनर्जन्म भएको छ ।

(बाह्रखरीकर्मी रोविन पौडेलसँग गरेको कुराकानीमा आधारित)

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७  २१:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC