site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘शरत्चन्द्र पढ्न बङ्गाली भाषा सिकेँ’ 
Sarbottam CementSarbottam Cement

अमृतलाल नागर


सम्झना भइरहेको छ, स्कुल जीवनमा जहिलेदेखि उपन्यास र कथाहरू पढ्ने रुचि हुँदै गयोे, मैले शरत्बाबुका कैयन् पुस्तक पढेर सिध्याएँ । हरेक पुस्तक पटकपटक पढेँ । आज जतिबेला उपन्यास अथवा कथाकहानी पढ्नु मेरा लागि केवल मनोरञ्जनको साधन मात्र हैन अपितु अध्ययनको प्रमुख विषय पनि भएको छ, र पनि म उनका रचनाहरू बारम्बार पढ्छु । उनका रचना मूल भाषामा पढ्नकै लागि पनि मैले बङ्गला भाषा सिकेँ । साँच्ची नै, म उनीबाट अत्यन्तै प्रभावित भएको छु ।

उनको दर्शन गर्नैका लागि म कलकत्ता गएँ । उनीसँग परिचय भएपछि जब अर्को दिन म उनलाई भेट्न गएँ, मलाई यस्तो लाग्यो मानौं, हामीले एकअर्कालाई वर्षांैदेखि राम्ररी चिन्दै आएका छौं ।

Prabhu Bank
Agni Group
NIC Asia

यताउताका धेरै कुराहरू भएपछि अचानक उनले मसँग सोधे, “के तिमीले आजन्म साहित्यको सेवा गरेर बस्छु भन्ने निश्चय गरिसकेका छौ ?”

मैले नम्रतापूर्वक उत्तर दिएँ, “हजुर ।”

Global Ime bank

उनी बोल्न थाले, “ठीक छ । एउटा कुरामा विशेष ध्यान राख्नु, तिमीले जेजति पनि लेख्नेछौ, त्यो अधिकांश तिम्रा अनुभवहरूको आधारमा नै होस् । व्यर्थका कल्पनाको चक्करमा कहिल्यै नअल्झिनू ।”

आरामकुर्सीमा आनन्दका साथ पल्टिएका, सटक (धुमपान गर्ने एक साधन)को दुईतीन कश तान्ने काम गरेपछि शरत्ले फेरि भन्न थाले, “कलेजमा हामीलाई एकजना प्रोफेसर महोदय पढाउँथे । उनी सुप्रसिद्ध समालोचक पनि थिए । कलेजबाट बाहिरिएपछि मैले ‘देवदास’, ‘परिणीता’, ‘बिन्दूरछेले’ (बिन्दुको छोरा) आदि केही लेखेँ । मानिसले त्यसलाई रुचाए पनि । एक दिन बाटोमा तिनै प्रोफेसरसँग भेट भयो । उनले मसँग भने, ‘शरत्, मैले सुनेको छु तिमी राम्रो लेख्छौ रे । तर तिमीले मलाई आफ्नो रचना त देखाएनौ !” 

सङ्कोचबस् मैले उनलाई उत्तर दिएँ, “ती खासै केही हैनन्, जसबाट तपाईंहरु जस्ता पण्डितहरूको मनोरञ्जन हुन सकोस् । त्यसमा के नै छ र ?”

प्रोफेसरले भने, “खैर, म त्यो कतैबाट ल्याएर भए पनि पढ्छु । मलाई त यस कुराले खुसी बनाएको छ कि, तिमी पनि लेख्छौ । तर शरत्, मैले भनेको पनि एकदुई कुरा हमेशा ध्यानमा राख्नु । एउटा त, कहिल्यै पनि कसैको व्यक्तिगत आलोचना नगर्नु । र अर्को, जेजति पनि तिमीले लेख्छौ त्यो तिम्रो अनुभवभन्दा बाहिरको कुरा नहोस् ।” 

यति सुनाएर शरत्ले केहीबेरका लागि आँखा बन्द गरे । फेरि मतिर हेरेर भने, “यही दुई कुरा तिमीलाई पनि म भन्छु, भाइ ।”

कुनै पनि कुरालाई सजिलै भन्न सक्ने विशेषता उनको थियो । कुराकानी गर्दागर्दै उनी हास्यरस पनि यति मजाले भर्थे मानौं कुनै गम्भीर कुरा भनिरहेका हुन् ।

ग्रामोफोनमा इनायत खाँ सितारिएको रेकर्ड बजिरहेको थियो । रेकर्डको अन्त्यमा उनले नाम पनि भनेका छन् । उनी मुस्काए । फेरि हुक्काको कश तान्दै भने, “भाइ, इच्छा त मेरो पनि हुन्छ कि म आफ्नो आवाजमा रेकर्ड भरौं । र, अन्त्यमा गएर त्यही अन्दाजमा भनौं कि मेरो नाम हो श्री शरत्चन्द्र चट्टोपाध्याय ।”

मस्ती, भोलापन र स्नेहका सजीव मूर्ति लाग्दथे, उनी । दुब्लो–पातलो तर छरितो शरीर, चाँदीजस्तै चम्किएका सेता कपाल, उन्नत निधार, लामो नाक र ठूलठूला आँखा, उनको व्यक्तित्वको विशेषता थियो ।

हिन्दीको कुरा उठ्नासाथ उनले भने, “तिमीहरूले आफ्नो साहित्यिक कार्यक्रमको सभापति साहित्यका कुनै महारथीलाई नबनाएर राजनीति गर्ने नेताहरूलाई किन बनाउँदै आएका छौ ?”

मैले जवाफ दिएँ, “हिन्दीमा स्वयम्भू कर्णधारहरूको एउटा समूह छ, जसले आफूले चाहेको जसरी यो काम गर्दै आएका छन्; त्यसो त हाम्रो हिन्दीमा पनि प्रेमचन्द, जयशङ्कर ‘प्रसाद’, मैथिलीशरण गुप्त, निराला आदि केही यस्ता व्यक्तिहरू छन्, जो माथि हामी गर्व गर्न सक्छौं ।” 

उनले भने, “हाम्रो बङ्गलामा पनि धेरैजसो साहित्य सम्मेलनको सभापति ठूलठूला जमिनदारहरू नै बन्दै आएका छन् । तर मलाई यो मन पर्दैन । जुन मानिसलाई साहित्य शब्दको वास्तविक अर्थको सही ज्ञान छैन, तिनलाई सम्मेलनको सभापति बनाउनु बेवकुफी मात्रै हो ।”

प्रेमचन्दजीको विषयमा कुरा चल्दा उनले मसँग भनेका थिए, “उनी एकदम भलादमी र राम्रा मानिस थिए । उनीसँग दुईतीन पटक भेट भएको छ । उनले मलाई भनेका थिए– हिन्दीमा लेखकहरूले धेरै पैसा पाउँदैनन् ! बङ्गलामा पनि पहिले त्यही हालत थियो । अहिले सुधार भएर गएको छ । हेर न, साहित्य सेवाको बलमा नै आज मैले भगवान्को दयाका कारण दुई वटा घर, मोटर गाडी, टेलिफोन किन्न सकेको छु ।”

उनको कुरा सुनेर मैले धेरै पटक अनुभव गरेको छु, उनमा स्नेहको मात्रा अधिक थियो । कैयन् पटक कुराकानीको दौरानमा उनले मलाई भनेका थिए, “हेर अमरीत, तिमी अहिले बच्चै छौ । फेरि, तिम्रो पिताजीसँगको साथ पनि छुटिसकेको छ । दुनियाँले यस्ता मानिसलाई हरेक किसिमबाट ठग्ने कोसिस गर्छ । तिम्रो साथ तिम्रो गृहस्थी पनि छ । त्यसैले पनि म तिमीलाई यो सबै भनिरहेको छु । ...र, यो कुरा पनि हरपल ध्यानमा राख्नु, यदि तिमीसँग चार पैसा छ भने बढीभन्दा बढी त्यही चार पैसा मात्रै खर्च गर्नु । तर कसैसँग पनि पाँचौ पैसा उधारो नलिनु । यो पनि मेरा तिनै प्रोफेसर महाशयले दिएको उपदेश हो ।”

शरत्बाबुको जीवनमा कति परिवर्तन आयो आयो । उनले अनेक परिस्थितिहरूको सामना गर्नु परेको थियो । यो कुरा प्रायः धेरैलाई थाहा छ । हुगली जिल्लामा उनको पुर्खाद्वारा बनाइएको घर छ, तर त्यहाँ उनी एकदमै कम जाने गरेका छन् । कलकत्ताको कालीघाटमा मनोहर पुकुर नामको स्थानमा उनले आफ्नो एउटा घर बनाए ।

हावडादेखि ३२ मिल टाढा, बी.एन.आर.लाइनमा ‘देउलटी’ स्टेसनभन्दा लगभग दुई मिल अझै अगाडि पानीबास नामको एउटा गाउँ छ । ‘देउलटी’ स्टेसनबाट एउटा कच्ची सडक सीधै त्यहाँसम्म पुग्छ । नजिकनजिकै दुवैतिर खेत र पोखरीहरू पनि छन् । कच्ची तर सुन्दर घर, किराना पसल, हातले कपडा बुन्ने दोकान, पान–चुरोट, चिया–बिस्कुट आदिका पसलहरू, एउटा पक्की सानो स्कुल, केरा र खजुरका बोटहरू हेर्दा राम्रा लाग्छन् । 

एउटा गोरेटो बाटोबाट ओर्लिंदा अगाडि नै डाक्टरबाबुको सेतो चुनले पोतेको झोपडी (औषधि पसल), टड्कारै देखिन्छ एउटा मेच, कुर्सी, एउटा लामो स्टुल र दुई वटा दराज । औषधि पसलको दुवैतिर पोखरी छ । यो सबै देखेपछि मानिसले सहजै बुझ्न सक्छन् यो शरत्को देश हो ! त्यहाँबाट करिबकरिब दुई फर्लाङ अझै अगाडि हिँडेर पुगिन्छ दुई तले घर । ढोकाको ठीक अघिल्तिर कमलका फूलहरूले भरिएको एउटा पुष्करिणी । भवनको बायाँतिरबाट विशाल ‘रुपनारायण’ नदी बगिरहेको छ । यही शरत्बाबुको गाउँवाला आफैंले बनाएको घर हो । उनी धेरैजसो यहीँ नै बस्न मन पराउँछन् ।

उनले मलाई आफ्नो पुस्तकालय देखाए, जहाँ धेरै किताबहरू थिए । 

“हेर अमरीत, यो मेरो कुर्सी हो । यसमा बसेर मैले आफ्ना प्रायः सबै किताबहरू लेखेको हुँ ।” –बाँसको डण्डामा काठको चारकुना मिलेको तख्ता एउटा कुनामा बाँधिएको थियो । उनी प्रायः त्यही आरामकुर्सीमा बसेर लेख्थे ।

घरको बरण्डामा रुपनारायण नदीको अगाडि नै बस्न उनी मन पराउँथे । उनी बडो रुचिका साथ उत्साहपूर्वक मलाई एकएक कुरा देखाउँथे ।

एक पटक उनले मलाई भनेका थिए, उनले आफ्नो जीवनमा दुई पटक दुःखको आन्तरिक अनुभूति गरेका छन् । 

सन् १९१०मा जब शरत्बाबु रङ्गूनमा बस्थे, एक पटक उनको घरमा आगो लाग्यो । जसमा उनको एउटा ठूलो लाइब्रेरी तथा एउटा आधाउधि लेखिएको उपन्यास जलेर खरानी भयो ।

अर्को चोटी, सन् १९१५÷१६ तिर करिबकरिब उनको एउटा किताब नष्ट भयो । शरत्बाबुको त्यो उपन्यास पूरा लेखिसकिएको थियो । मात्रै एउटा अन्तिम अनुच्छेद लेख्न बाँकी रहेको थियो । त्यो दिन उनले त्यसलाई पूरा गर्न बाहिर पनि निकालेका थिए । उनी सोचिरहेका थिए, त्यसको समाप्ति कसरी गर्ने भनेर । उनले चिया बनाए । चिया पिए र फेरि सोच्दासोच्दै शौचका लागि गए ।

त्यसताका उनको साथमा एउटा कुकुर पनि थियो । त्यसको बानी थियो, अगाडि राखिएको कुनै पनि सामान नष्ट गर्ने चेष्टा गर्ने । शरत्बाबु यसै कारण पनि जब कोठाबाट बाहिर निस्किन्थे, कुकुरलाई बाहिर निकालेर ढोकाको छेसकिनी (सिक्री) लगाएर बाहिरिन्थे । तर त्यो दिन उनको ध्यान उपन्यासको अन्त्यमा थियो । त्यसैले यत्तिक्कै खुल्ला छोडेर हिँडे ।
शौचालयबाट फर्किएर आउँदा उनले देखे, पूरा उपन्यास टुक्राटुक्रा भएर कोठाभरि छरिएको थियो र कुकुर त्यहीँ बसेर त्यसको अन्तिम पृष्ठ च्यात्दै थियो ।  

यो कथा सुनाउँदै गर्दा उनको आँखा रसाएर आयो । केही भारी र गम्भीर आवाजमा उनले मसँग भनेका थिए, “अमरीत, आज पनि जब त्यसका बारेमा सोच्छु । यदि त्यो प्रकाशित हुन्थ्यो भने त्यो मेरो सर्वोत्तम रचना मानिने थियो । मैले ६ महिनामा लगनपूर्वक त्यसलाई समाप्त गरेको थिएँ ।”

निधन हुनुभन्दा करिब डेढ महिनाअघि म उनलाई भेट्न पानीबास गएको थिएँ । त्यसबेला उनी सुकेर सिन्काजस्तो भइसकेका थिए । उनलाई अपचको समस्या थियो । उनी केही पनि खान सकिरहेका थिएनन् ।

मलाई देखेर उनी खुसी भए र भने, “तिमी आयौ । मलाई औधी खुसी लाग्यो ।” मैले अनुभव गरेँ, त्यतिबेला भावुकताको मात्रा उनमा एकदमै बढेको देखिन्थ्यो ।

उनले मसँग भने, “अब यो जीवनमा मलाई कुनै लालसा बाँकी रहेन । यो शरीर पनि प्रायः निर्जीवसरह भएको छ । म धेरै थाकिसकेँ । यमराजले जुनसुकै समयमा पनि ‘इन्भिटेसन कार्ड’ पठाए भने म त्यही समयमा निःसंङ्कोच जानका लागि तयार बसेको छु ।”

केही समय उनी चुपचाप बसे । फेरि भने, “इच्छा त हुन्छ जलवायु परिवर्तनका लागि म बङ्गाल छोडेर बाहिर जाऊँ । तर कहीँ पनि एकनासले बस्ने मन छैन । सोच्छु, ट्रेनट्रेनमा नै घुमुँ । हरेक ठाउँमा एक दुई दिन बस्दै ।”

मैले भनेँ, “सायद तपार्इंका लागि यतिबेला यो ठीक नहुन सक्छ । तपाईं धेरै कमजोर हुनुभएको छ ।”

उनले केही उत्तर दिएनन् । चुपचाप आँखा बन्द गरेर कौचमा ढल्किए ।

फर्किने बेला, साँझ मैले जब उनको चरण चुमेर स्टेसन जानका लागि पालकीमा बस्न लागेँ, उनले भने, “पख अमरीत, म तिमीलाई यतिबेलाको ‘रुपनारायण’को शोभा देखाउन चाहन्छु ।”

पालकीबाट ओर्लिएर म उनका साथ किनारसम्म गएँ । 

आकाशमा तारा देखिन थालेका थिए । त्यस दिन सायद पूर्णिमा पनि थियो ।

हातले इशारा गरेर उनी मलाई भन्दै थिए, “जब बाढी आउँछ, पानीले मेरो घरको सतह छुन्छ । त्यतिबेला मलाई खुबै आनन्दको अनुभूति हुन्छ ।” 

कसलाई थाहा थियो र, त्यस दिन अन्तिम पटक नै, रुपनारायणको तटमा खडा भएर म ती महान् कलाकारको व्यक्तित्वको दर्शन गरिरहेको थिएँ !

(अमृतलाल नागर (१९१६–१९९०)लाई बीसौं शताब्दीका प्रख्यात भारतीय लेखक मानिन्छ । उनले अल इन्डिया रेडियोका लागि थुप्रै नाटक उत्पादन गरेका थिए । उनी उपन्यास, कथाका साथै समालोचनामा पनि उत्तिकै पकड राख्थे ।)
  

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७  ०७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC