चरा र गुँड
प्रिय बन्दाबन्दी,
चारा खोज्दै खोज्दै
पर पर जान्छ चरा
न्यानो खोज्दै खोज्दै
फेरि गुँडमा फर्किन्छ चरा
के छ गुँडमा ?
सामल ?
कपडा ?
सामल त पेटमै छ
कपडा त जिउमै छ
गुँडमा
आफ्नै मिहिनेतको स्मृति छ
रमरम न्यानो छ
थेरै ओत छ
चरा उडान हो
तर सधैं उडिरहँदैन
आकाशमा कावा खाएर
ऊ गुँड फर्किन्छ
चरा गायन हो
सधैं गाइरहँदैन
पागल हुने गरी गाएर
ऊ गुँड फर्किन्छ
गुँड खूब मन पर्छ चरालाई
थाहा छ नि सबैलाई
गुँडबारे÷जराबारे
जसले पनि छाम्न मिल्छ
गुँडको न्यानो
जराको ओस
बन्दाबन्दीमा पनि मनिषाले त
गुँडको न्यानो छामिन्
सफा अक्षरमा
होमवर्क बुझाइन्
धेरै चराहरु
गुँड गाउने मुडमा छन् अहिले ।
० ० ०
चरा बचाऊँ
प्रिय बन्दाबन्दी,
उही त हो कुरा दुःखको
हिजो चराहरु
चारा खोज्दै पर पर गए
पेटमा चारो हाले
चुच्चाबाटै चारा ल्याई बचेरा पाले
चारा टिप्दा टिप्दै
आज वनमा आगलागी भयो
आगोमा
झ्याँसहरु बले
पातहरु बले
रुखहरु बले
वन आगोमय भयो
बस्ती धूवाँमय भयो
कहाँ जाने चरा ?
कसले दिन्छ तिनलाई चारो ?
भाग्दा भाग्दै
केही आगोको लप्कामा मरे
धेरै धूवाँको मुस्लोमा परे
केहीको भुत्ला जल्यो
अत्यासको अर्को आगो जल्यो
धेरै पर छ गुँड
बाहिरै आगलागी
भित्रै आगलागी
सहरले श्रम लिन्छ
आश्रय दिँदैन
सङ्कट निर्दयी छ
कसैको मन छामेर रुँदैन
कसरी फर्काउने पर पुगेका चरालाई ?
कसरी टकटक्याउने तिनको भुत्लाको आगो ?
लौ न क्यै गरुँ
उताको आगोबाट
यताको गुँड पनि जोगाऊँ
चरालाई पनि बचाऊँ
चराहरु अर्थात्
श्रमशील नागरिकलाई ।