हिजो र आजका दुई समाचार - पहिलो रु.१ करोड ८४ लाखको बजेटमा राष्ट्रपति कार्यालयमा नयाँ कार्पेट हाल्ने र मर्मत सम्भार गरिने । अर्को पुल्चोकस्थित मन्त्रीनिवासमा आधुनिक सुविधासम्पन्न जिमहलको निर्माणका लागि रु.८२ लाखको टेन्डर निस्केको । राष्ट्रको इज्जत जोडिएको राष्ट्रपति भवन र जनताको इज्जत जोडिएको मन्त्रीको सम्मान त गर्नै पर्र्यो । सरकारलाई धन्यवाद ।
म सानो हुँदा म हजुर बासँग बस्थेँ । म ६/७ वर्षको हुँदा मेरो हजुरबाको स्वर्गवास भयो । मेरो कलिलो मानसपटलमा त्यसको छाप गजबसँग बसेको छ । अहिले पनि मेरो हजुरबाले भन्नुभएका कुरा याद छ । उहाँ भन्नुहुन्थ्यो - हामीले जहिले पनि खाने बेलामा पहिला मालिकलाई खुवाउनुपर्छ अनिमात्र हामीले खानुपर्छ । म सोध्थेँ - हाम्रो मालिक को हो ? उहाँ भन्नुहुन्थ्यो - हाम्रो मालिक देवता हुन् । हामी देवताको नोकर हौँ र अलिकति भए पनि पहिले उसलाई चढाएरमात्र हामीले खानुपर्छ ।
सधैँ हजुरबाले खानुभन्दा पहिले सानो कचौरामा खाना राखेर छेउमा राख्नुहुन्थ्यो र त्यो खाना कहिले बिरालोले खान्थ्यो त कहिले चल्ला (कुखुरा)लाई दिइन्थ्यो ।
हाम्रा नेताले जनतालाई देवता भन्ने गर्छन् कहिले काहीँ ! उनीहरु भन्छन् - हामी जनताका नोकर हौँ । उनीहरुको सदाशय र जनताप्रतिको इमानदारी हेर्दा भने यो शब्द मज्जाको चुट्किला झैँ लाग्छ । आजभोलि पनि कता कता हाम्रा मन्त्रीहरू र प्रधानमन्त्रीले यो शब्दको झुक्किएर प्रयोग गर्छन् । लाग्छ यो शब्दको प्रयोगपछि सायद बेलुका सुत्ने बेलामा सुनपानी छर्किन्छन् होला ।
अहिले विश्व माहामारीको रुपमा फैलिएको कोरोनाभाइरसले झन्डै ६४ लाखलाई सङ्क्रमण गरेको छ भने करिब ३ लाख ७८ जनाको मृत्यु भइसकेको छ । नेपालमा त जम्मा १ हजार ८११ जना त हो अहिलेसम्म । त्यसमा ८ जनाको मृत्यु कोरोनाले छुएरमात्र हो मेरेको त अरु नै कारण हो । कोही मिर्गौला रोगी थिए त कोहीको मृत्यु सुत्केरी अवस्थामा भएको थियो ।
नेपालमा कोरोनाको प्रभाव बढिरहेको छ । विश्वभरिमा छरिएर रहेका नेपाली घर फर्किन आतुर छन् । उनीहरूका लागि बन्दाबन्दीको पूर्वाधार बनाउने स्रोत छैन । सहायता कोषमा करिब ३ अर्ब पैसा त छ जम्मा । त्यो त राख्नु पर्यो नि पछिको लागि ! त्यो पैसा त चलाउने कुरै भएन । बरु सरकारको बजेटमा लेखेकै छ स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास र विस्तारमा ९० अर्ब । त्यसैबाट बनाउँला । अहिलेलाई विदेशबाट आएका जनताहलाई भैँसी गोठ, छाउ गोठ, सरकारी विद्यालयमा राखौँ । त्यँहा पनि न अटेमा अ डारमा राखौँ तर पैसा त खर्च गर्नुहुँदैन । भविष्यमा महामारी आउन सक्छ ।
अहिले राजस्व कम उठेको छ । त्यसैले महलमा नयाँ गलैँचामात्र फेरौँ । जिमहलमात्र बनाऔँ । पानीजहाज नभएको कार्यालयलाई २ करोडको गाडीमात्र किनौँ । सरकारी स्कुललाई बन्दाबन्दी गृह बनाएर निजी स्कुलमात्र खोलौँ । निजी अस्पताललाई अनुदान दिएर सरकारी अस्पतालमात्र चलाऔँ । चकलेटमा कर घटाउँ कृषि र विद्युतीय साधनमा कर थपौँ र विद्युतमा आत्मनिर्भर बनौँ ।
हामी त जनताका सेवक । जनता हाम्रा देवता । त्यसैले त हामी उनीहरूको जीवनको सुरक्षाको लागि भारतबाट तरकारी मगाउछौँ र नेपालको तरकारीमा कोरोना हुनसक्छ भनेर खाल्डोमा हाल्ने गर्छौँ । उनीहरू हाम्रा मालिक हुन् । त्यसैले पहिले उनीहरूले खानुपर्छ र अनि हामीले । अहिले ठ्याक्क त्यही भएको छ जुन मेरो हजुरबाले गर्नुहुन्थ्यो । थोरै सानो कचौरामा राखेर देवताको भाग छुट्याइदिने र आफू चाहिँ एक थाल खाने ।