काठमाडौं । इरानमा आणविक वैज्ञानिक सहराम अमिरीलाई मृत्युदण्ड दिइएको पुष्टि भएको उनको परिवारलाई उद्धृत गर्दै बीबीसीले आइतवार जनाएको छ । अमिरीकी आमाका अनुसार शवको गर्दनमा डोरीको डाम भएकाले अमिरीलाई झुन्ड्याएर मारिएको हुनसक्छ ।
आणविक वैज्ञानिक अमिरीलाई सन् २०१० देखि कैदमा राखिएको थियो । सन् २००९ मा मक्का तीर्थयात्राबाट हराएका अमिरिलाई इरानको आणविक कार्यक्रमका बारेमा गहिरो जानकारी भएको विश्वास गरिन्थ्यो । अमेरिकी गुप्तचर संस्था सीआईएले आफूलाई अपहरण गरेर यातना दिएको दाबी गर्दै अमिरीले आफू हिरासतबाट भागेर इरान आइपुगेको बताएका थिए ।
सीआईएले भने उनले स्वेच्छाले नै इरानको अाणविक कार्यक्रमको महत्त्वपूर्ण जानकारी दिएको खुलासा गरेको थियो । सन् २०१० मा तेहरान फर्कँदा उनको भव्य स्वागत भएको पनि बीबीसीले दिएको छ ।