site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘साढे तीन हजार चलचित्र प्राविधिक भाेकै मर्ने अवस्था आयो’
Ghorahi CementGhorahi Cement

काठमाडौं । चलचित्र प्राविधिक संघ (नेफ्टा) ले साढे तीन हजार चलचित्र प्राविधिक भोकभोकै मर्ने अवस्थामा पुगेको बताएको छ । सरकारले तत्काल सहयोग नगरे कोरोनाले भन्दा पनि भोकले चलचित्र प्राविधि मर्ने अवस्थामा सिर्जना हुने नेफ्टाको भनाइ छ । 

“आर्थिक अवस्था विपन्न भएका मात्रै होइन मध्यम अवस्थाका प्राविधिक पनि अब भोकभोकै मर्ने अवस्था आइसक्यो,” नेफ्टाका अध्यक्ष पुष्कर लामा भन्छन्, “सरकारले चलचित्रको पर्दापछाडि रहेका प्राविधिकहरूलाई तत्काल सहयोग गर्नुपर्ने अवस्था छ ।”

कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तिले गरेको आर्थिक सहयोगमा नेफ्टाले हालसम्म ३५० प्राविधिकलाई राहत वितरण गरेको छ । “अधिकांश प्राविधिकको घरमा ग्यास चामल छैन । महामारीको अवस्था आउन लाग्यो,” पाँचपटक गरेर साढे तीन सयलाई राहत वितरण गरेको भन्दै लामाले भने, “कम्तिमा एक वर्ष खाने बस्ने व्यवस्था सरकारले गरिदिनुपर्यो ।”

Agni Group

हालसम्म नेफ्टाले १५ लाखबराबरको राहत वितरण गरिसकेको छ । उसले अझै सहयोगका लागि अपिल गरेको छ । 

सरकारले कलाकार संघको भवन निर्माणमा मात्रै सहयोग गर्ने घोषणा गरेको भन्दै अहिले पर्दापछाडि रहेर काम गर्ने प्राविधिकको ज्यान जोगाउनु आवश्यक रहेको उनको भनाइ छ । कुनै संघ–संस्थालाई निजी घर बनाउनभन्दा पनि चलचित्रसम्बन्धी संघ–संस्था सबै एकै ठाउँमा बस्ने गरी चलचित्र ग्रामको निर्माण गर्नुपर्नेमा उनको जोड छ । 

Global Ime bank

सरकारले सहयोग नगरे चलचित्र प्राविधिकहरू वैकल्पिक पेसा अपनाउँदै यो पेसाबाटै पलायन हुने लामा बताउँछन् । प्राविधिकहरू यो पेसाबाट पलायन भए अन्ततः चलचित्र क्षेत्रलाई नै क्षति पुग्ने उनी बताउँछन् । 
अहिलेका प्राविधिक पलायन भए चलचित्र निर्माण सुरु भएपछि नयाँ प्राविधिक तयार पार्नुपर्ने हुँदा समय लाग्ने र काम पनि राम्रो नहुनेतर्फ सरकार तथा चलचित्रले ध्यान दिनुपर्ने नेफ्टाको भनाइ छ । 

नेफ्टाले लकडाउनमै पनि सामाजिक दूरी कायम राखेर चलचित्र छायांकनको अनुमति दिन सरकारसँग माग गरेको छ । छायांकनको अनुमति दिए पनि व्यावसायिक निर्माताहरूले कम्तिमा अबको एक वर्ष चलचित्र निर्माण नगर्ने भन्दै चलचित्र प्राविधिकलाई आर्थिक सहयोगको खाँचो रहेको लामा बताउँछन् ।

“चलचित्रको नाफा घाटा हिसाब गरेर मात्रै व्यावसायिक निर्माताहरूले चलचित्र निर्माण सुरु गर्छन्,” नेफ्टा अध्यक्ष लामा भन्छन्, “एकाध नयाँ निर्माताहरूले बनाए मात्रै हो । तर एक–दुईवटा चलचित्र बनाउँदैमा साढे तीन हजार प्राविधिकले काम पाउँदैनन् ।”

कोरोना संक्रमणको जोखिमसँगै लकडाउन सुरु भएपछि चलचित्र क्षेत्र ठप्प छ । छायांकनमा रहेका चलचित्रको काम रोकिएको छ । निर्माण सम्पन्न भइसकेका चलचित्र रिलिज हुन सकेका छैनन् भने नयाँ चलचित्र निर्माणको तत्काल घोषणा हुने अवस्था छैन । 

चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्र कल्याणकारी कोषको पैसा रकमान्तर गरेर भए पनि राहतको व्यवस्था गर्न उनको माग छ । यता कल्याणकारी कोषले भने कोषमा रहेको रकम रकमान्तर गर्न नसकिने यसअघि नै स्पष्ट पारिसकेको छ । दुर्घटना तथा बिरामी परेका चलचित्रकर्मीलाई उक्त कोषले सहयोग गर्दै आएको छ । 

चलचित्र विकास बोर्ड नेतृत्वविहीन हुँदा पनि आवश्यक मात्रामा पहल हुन सकेको छैन । बोर्डका तत्कालीन बहालवाला अध्यक्ष केशव भट्टराईको निधन भएपछि बोर्डले नयाँ नेतृत्व पाउन सकेको छैन । सञ्चार मन्त्रालयले बोर्डको अध्यक्षका लागि आवेदन आह्वान गरे पनि नेतृत्व चयन भने गरिसकेको छैन । 

चलचित्र विकास बोर्डले सम्बन्धित पेसागत संघ–संगठनका पदाधिकारीसँग चलचित्र प्राविधिकहरूको अल्पकालीन र दीर्घकालीन राहत तथा सहयोगका लागि छलफल गरिसकेको बोर्ड सदस्य दयाराम दाहालले जानकारी दिए । उनले सदस्य–सचिवमार्फत सरकारसामु पनि राहत तथा सहयोगका लागि अपिल गरिसकेको बताए । 

“अहिले तत्काल सबैभन्दा धेरै राहत र सहयोगको आवश्यकता भनेको प्राविधिकलाई नै हो,” बोर्ड सदस्य दाहालले भने, “अल्पकालीन र दीर्घकालीन राहत तथा सहयोगका लागि मन्त्रालयसँग पनि पहल गरिसकेका छौं ।”

लकडाउन लम्बिँदै गएको र तत्काल नयाँ चलचित्र छायांकनमा नजाने अवस्था रहेका कारण प्राविधिकहरू समस्यामा रहेको र उनीहरूलाई सहयोगको खाँचो रहेको दाहाल बताउँछन् । 

चलचित्र प्राविधिकमा क्यामेरा मेन, भीएफएक्स आर्टिस्ट, ड्रेस डिजाइनर, मेकअप आर्टिस्टदेखि लाइट तथा स्पट ब्वाइसम्म पर्छन् । नेपालमा नेफ्टामा आबद्ध १५ सय र अन्य दुई हजार चलचित्र प्राविधिक छन् ।  

सरकारले अघिल्लो साता सार्वजनिक गरेको बजेट भाषणमा कलाकार संघको भवन बनाउन बजेट विनियोजन गर्नुका साथै सातै प्रदेशमा छायांकनका लागि नेपाल, नेपालको कला, साहित्य समेट्ने चलचित्र निर्माणमा प्रोत्साहनका कार्यक्रम ल्याए पनि अफ्ठ्यारोमा परेको चलचित्र उद्योगलाई तत्काल सम्बोधन हुने कुनै पनि कार्यक्रम ल्याएको छैन । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC