site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कमरेड माओ त्से ओलीको आगमन

जनवादी गणतन्त्र चीनका अध्यक्ष माओ त्से तुङ्गलाई कम्युनिस्ट क्रान्ति सम्पन्न भएपछि देशलाई अत्यन्त द्रूत गतिले अघि बढाउने चाह भयो । त्यसबेलाको सबैभन्दा विकसित देश बेलायतलाई पन्ध्र वर्षमा भेट्ने उद्देश्यका साथ उनले ‘महान् अग्रगामी छलाङ’ (ग्रेट लिप फरवार्ड) लागु गरे । गाउँगाउँका जनताले आफ्नो घर, खेती, व्यवसाय सबै गुमाए । चीनभर कम्युनहरू बने । अर्थात्, सामूहिक खेती, सामूहिक उत्पादनको सोच आयो । औद्योगिक उत्पादनमा भएभरका मजदुर, साधन र स्रोत खन्याइयो । 

यही क्रममा सन् १९५८ देखि १९६२ को समय चीनमा भयंकर जनतामारा नीतिको बोलाबाला भयो । स्रोतको गलत उपयोग, गलत आर्थिक नीति र विरोधीको क्रूरतापूर्ण दमनका कारणले एउटा नेताको गलत महत्त्वाकांक्षाको बलिवेदीमा लाखौं चिनियाँको ज्यान गयो । तर, पनि माओ नीतिको विषले फैलाएको मृत्युको कहरका विषयमा कसैले मुख खोल्न सकेन । 

माओको जीवनकालमा चीनको सरकारले भोकमरी र त्यसबाट भएको मृत्युलाई नकारेर बस्यो ।  माओको मृत्युपश्चात चीनकै औपचारिक स्रोतले भोकमरीको कारण २० लाख मान्छे मरेको तथ्यांक सार्वजनिक गर्‍यो । तर भोकमरीले ४५ लाख चिनियाँले ज्यान गुमाएको विदेशी विद्वान्हरूको अध्ययनले देखाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

माओले कम्युन स्थापना र औद्योगिक महत्त्वाकांक्षा बढाउँदा देशको अहित त पक्कै चाहेका थिएनन् होला । कतिपय अवस्थामा नियत सही हुँदाहुँदै पनि परिणाम गलत आउनसक्छ । त्यस्तो गल्ती भएको अवस्थामा समयमै नेतृत्वलाई सचेत गराउनु वा नेतृत्व आफैँले गल्ती स्वीकार गर्नुपर्छ । तर, अधिनायकवादी सोचमा भने नेतृत्वले गल्ती गर्नसक्छ वा गल्तीलाई स्वीकार गर्नुपर्छ भन्ने चेत हुँदैन । 
नेता सत्तामा रहँदा आफ्नो स्वार्थको रोटी सेक्नेहरूले कहिल्यै नेतृत्वलाई ‘कोर्स करेक्सन’ (बाटो परिवर्तन) को सल्लाह दिँदैनन् ।  नेतृत्वलाई गल्ती स्वीकार गरेर आफ्नो कमजोरी सार्वजनिक गर्ने आँट हुँदैन । परन्तु, जब जनताले विद्रोह गरेर कोर्स करेक्सन गराउने अवस्था आउँछ त्यसबेला नेता र उनका आसेपासे कोही सुरक्षित हुँदैनन् । 

अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली पनि ‘माओ त्से ओली’ बन्ने बाटामा लागेका छन् । आफ्नो कार्यकालको दुई वर्षसम्म विरोधको स्वर दबाउन भरमग्दुर प्रयासमा लागेका ओलीले कोरोनाको महामारीलाई आफ्नो स्वार्थमा प्रयोग गरेर पार्टीभित्रको विरोधको स्वर दबाउने र पार्टी बाहिरका विरोधी (मिडिया)लाई सिध्याउने कोसिस गर्दैछन् । तर, यसबाट आउनसक्ने भयंकर परिणामको ज्वारभाटाबाट उनीमात्र होइन नेपालमा आफूलाई कम्युनिस्ट हुँ भन्ने कुनै पनि राजनीतिक दल जराबाटै उखेलिने अवस्था उत्पन्न हुने विषयमा भने चेत खुलेको देखिँदैन । 

Global Ime bank

दल वा नेता जरैबाट उखेलिउन् वा जमिनमा गाडिउन् धेरैलाई मतलब हुँदैन, हुनु पनि पर्दैन । तर, जुन सरकार यो देशमा कसैले मागेर खानु पर्दैन भन्दै थियो त्यही सरकार अहिले काम गरेर खान चाहनेलाई मागेरमात्र खान पाउँछस् काम गरेर खान पाउँदैनस् भन्दैछ । 

जाजरकोटकी महिला लालकला परियार आफ्ना पतिलाई भेट्न राजधानी आएकी थिइन् । तर, लकडाउनले घर फर्कन नपाएकी उनले सातौं सन्तानलाई कोठामै जन्माइन् र बच्ची २५ दिनकी नहुँदै तिनलाई बोकेर सडकमा माग्दै हिँड्न बाध्य भइन् । माग्दै हिँड्न त सरकारले दियो तर कम्मर पेटी बेच्ने उनका पति हंश परियारलाई सडकमा मास्क लगाएर र सुरक्षित दूरी कायम गरेर आफ्नो काम गर्न यो सरकारले निषेध गर्यो । 

कीर्तिपुरमा सूर्यबहादुर तामाङ हातमा नाम्लो लिएरै सडकको पेटीमा मृत्युको सिकार बने । जिन्दगीभर विदेशीसँग मागेर वा जनतालाई ठगेर खाने नेतालाई काम नगरी मागेर खानुलाई स्वाभिमानको समर्पण भन्ने थाहा नहोला तर भारी बोकेर जीवन धान्नेले स्वाभिमानको मूल्य ठूलो ठान्छ । सायद, सूर्यबहादुरलाई माग्ने भएर जिन्दगी गुजार्न स्वीकार भएन, बरु भोकै बसेर ज्यान फाले । 

हाम्रो देशका माओलाई अहिले एउटै धुन छ – कोरोना भाइरस फैलिएर देशमा कसैको ज्यान नजाओस्, भोकमरी र अन्य रोगले गयो भने त्यो उनको जिम्मेवारीमा पर्दैन । अन्यथा, ट्राफिक प्रहरीको तथ्यांकअनुसार चैत ११ मा लकडाउन हुनुभन्दा अघि हरेक दिन करिब सात जना व्यक्तिले सडक दूर्घटनामा ज्यान गुमाइरहेका थिए भने करिब १४ जना अशक्त घाइते भएका थिए । यो अत्यन्त पीडाजनक तथ्यांक हो तर यसको समाधानको उपाय स्वरुप सम्पूर्ण सवारी साधन बन्द गर्ने वा सडकमा सवारी साधन चल्न नदिने त ? बरु सडक नियम अझ कडाइका साथ पालना गर्ने र गराउने हैन र ? त्यस्तै कोरोना संक्रमणको रोकथाम गर्ने उपाय गर्नु ठीक हो तर अर्थतन्त्र नै लकडाउन गर्नु सडक दुर्घटना रोक्न सडक बन्द गर्नुजस्तै हो । 

नेपालमा अहिलेसम्म करिब ७० दिनमा ८ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।  यो रोग समुदायमा फैलियो भने अत्यन्त भयावह हुने डर विश्व स्वास्थ्य संगठनले फैलाएको छ ।  नेपालमा यसको असर भयावह भइसकेको छैन, हुनसक्ने जोखिम छैन भन्न पनि सकिँदैन ।  तर, कस्तो उपाय अपनाउने भन्नेमा ध्यान नदिएर एकोहोरो लकडाउन गर्नु भने देश र जनताको आर्थिक अवस्था समाप्त पार्ने षडयन्त्र वा अपराध हो । 

अलिकति तथ्यांकबाट हेरौँ । जेठ १७ गते साँझसम्मको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा नेपालमा १ हजार ५७२ जनामा कोरोना देखिएको छ भने हालसम्म ‘र्‍यापिड डायग्नोस्टिक टेस्ट’ किटबाट १ लाख ११ हजार १०९ र पीसीआर प्रविधिबाट ६९ हजार ५८७ व्यक्तिको जाँच भएको छ । आरडीटीलाई मन्त्री र सल्लाहकारका छोराहरूलाई पैसा कमाउनका लागि मात्र छाडिदिउँ । अर्थात्, त्यसको हिसाब आधामात्र गरौँ । 

पीसीआरबाट टेस्ट भएका करिब ७० हजार र आरडीटीको करिब ५५ हजार (आधा) व्यक्तिको मात्र हिसाब गरौँ । यस्तो टेस्ट अधिकतम संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्क (कन्ट्याक्ट) मा रहेका र विदेशबाट आएका व्यक्तिमा गरिएको छ । अर्थात्, रोग भएको हुनसक्ने सम्भावित व्यक्तिको पीसीआर जाँच गर्दा जम्मा १.२५ प्रतिशतमा संक्रमण देखिएको छ । 

सम्पूर्ण नेपालीलाई नै रोग लाग्ने संभावना रोगीसँग सम्पर्कमा आएका व्यक्ति र विदेशबाट आएका व्यक्ति जति त हुँदैन । तर सो पनि सम्भव मानौं । त्यस अनुपातमा सम्पूर्ण दुई करोड ८० लाख नेपालीको आजै जाँच गर्ने हो भने साढे तीन लाखमा संक्रमण देखिने रहेछ । 
अहिले १५७२ मा आठ जनाको अनुपातमा मृत्यु हुने हो भने करिब १ हजार ७५० व्यक्तिको ज्यान जाने रहेछ । 

त्यो संख्या त एक वर्षमा दुर्घटनाबाट मारिनेभन्दा कम हो । अझ आत्महत्याबाट नेपालमा प्रतिवर्ष करिब ७ हजार जनाको ज्यान गइरहेको छ । जे होस्, कोरोनाका कारणले थप १ हजार ७५० नेपालीको ज्यान जानु हुँदैन । 

मेरो साधारण हिसाबबाट अहिलेको अवस्थामा कोरोनाबाट नेपालमा १ हजार ७५० व्यक्तिको ज्यान जाने देखियो । यो हिसाब असुरक्षित तबरले आहार, व्यवहार गरेको, विदेशबाट आएको, धेरै दिन ठूलो समूहमा हिँडेको आदि अनेक कारणले बढी देखिएको हो । प्रत्येक व्यक्तिले मास्क लगाउने, भीडमा नजाने, कुनै बाहिरी वस्तु छोएपछि हात धुने वा स्यानेटाइजर प्रयोग गर्ने हो भने यो संख्या दुई तिहाइभन्दा कम हुन्छ । अर्थात्, करिब ६०० जति होला । तर, अब लकडाउनलाई लचिलो नबनाउने, व्यापार व्यवसाय नखोल्ने र सरकारी जागिर नभएकाले सरकारले बाँडेको सहायताको दालभात खान लाइन लाग्नुपर्ने अवस्था आयो भने विभिन्न रोग र आत्महत्याबाट नै कोरोनाबाट मर्नसक्ने भन्दा धेरैको मृत्यु अवश्यम्भावी देखिन्छ । 

कोरोना बिरामीलाई राख्न भनेर जथाभावी बनाइएको क्वारेन्टिनमा अबौं खर्च गरिंदैछ । तर तपाईंलाई थाहा छ, कुनै पनि संक्रमण भएका बिरामीलाई आईसीयूमा राख्ने, अक्सिजन दिने वा भेन्टिलेटरमा राख्ने काम गर्नु परेको छैन । यस्तो अवस्थामा अस्पताल पनि एक क्वारेन्टिन भन्दा बढी भूमिकामा छैन । अब दुई हजार संक्रमणभन्दा बेसी भएपछि संक्रमितलाई घरमै बस्ने सल्लाह दिने सरकारी तयारी छ ।

यस्तो अवस्थामा देशको नेतृत्वमा बसेको व्यक्ति आफैँ मानसिक र शारीरिकरुपमा कमजोर देखिनु हुँदैन ।  आफ्नो मनको कुनामा बसेको डर समातेर अन्य विषयलाई बेवास्ता गर्न प्रधानमन्त्रीले मिल्दैन ।  स्वास्थ्यकर्मी तथा अन्य व्यक्तिसँगको छलफलमा थाहा भए अनुसार माओले “महान अग्रगामी छलाङ” प्रति पालेको विशेष मोह प्रधानमन्त्री केपी ओलीले पनि ‘लकडाउन’प्रति राखेको देखिन्छ । 

मन्त्रीहरूसम्मको तहबाट लकडाउनको अवस्थालाई लचिलो बनाऊँ भन्ने प्रस्ताव मन्त्रिपरिषद्मा जाने तर प्रधानमन्त्रीले कसैको कुनै कुरा नसुनी एकोहोरो सशक्त लकडाउनको निरन्तरताका लागि आदेश दिने गरेको सूचना छ ।  जनतालाई लकडाउनले असह्य भयोभन्ने थाहा छ, तर समस्याको समाधान गर्नुभन्दा अब सेनालाई पनि सडकमा उतारेर लकडाउनलाई नछाड्ने जिद्दीपन देखिएको छ । 

यस्तो अवस्था हो भने अध्यक्ष माओ त्से ओलीको आगमन भएको छ, चाहे स्वागत गर्नुस् वा दुःखी हुनुस ।  तर, माओ त्से ओलीलाई हेक्का रहोस्, माओको समयको चीनजस्तो आजको नेपाल छैन ।  अब नेपाली जनता मूर्खतापूर्ण लकडाउनको त्रासमा बस्ने मनस्थितिमा देखिँदैनन् ।  भोलि लकडाउनको विरोधमा आउने जुलुसले सरकारलाई बालुवाटार र सिंहदरबारबाट भाग्ने समय पनि नदिने अवस्था नहोस् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC