site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्थानीय सरकारको बजेट र अबको सरोकार

कोरोना भाइरसको महामारी नभएको भए यति बेला स्थानीय सरकारका अगामी योजना र बजेटबारे गाउँगाउँमा छलफल भइरहेको हुन्थ्यो । वडा समितिमार्फत् वडास्तरमै प्राप्त हुने नयाँ बजेटको सीमा र स्थानीयका माग सम्बन्धमा भेला र छलफल हुने बेला हो यो । स्थानीय तहले असार १० गतेभित्रै ल्याउनुपर्ने बजेटका लागि मागमा आधारित योजना छनोट प्रक्रियाअनुसार नागरिकले आफ्नो घरदैलोको सरकारलाई आफ्ना विकास योजनाका माग राख्दै गरेका हुन्थे । 

सहभागितामूलक शासन प्रणाली र लोकतन्त्रका लाभहरूको गाउँस्तरमै अभ्यासका लागि योजना छनोटको यो प्रक्रिया हामीले अपनाउँदै आएका छौँ । भलै, यस प्रक्रियाको प्रभावकारितालाई स्थानीय तहले ‘श्राद्धमा बाँधिने बिरोलो’को नियति बनाइदिएका छन् । कम्तीमा सामान्य नागरिकले आफ्नो आँगनको सरकारलाई प्रक्रियागत र औपचारिक माग राख्ने एक अवसरका रूपमा मात्र भए पनि यसलाई प्रयोग गरिँदै आइएको छ । विडम्बना यो महामारीका कारण नागरिकले यो सुविधाबाट समेत वञ्चित हुनुपर्ने अवस्था आयो । यसको विकल्पका विषयमा कुनै तहमा छलफल भएन । महामारीको अप्रत्याशित कहरकाबीच छलफल किन भएन वा तत्काल यस्ता प्रक्रियाको विकल्प किन खोजिएन भन्ने प्रश्न पनि धेरै तर्कसंगत नहुन सक्छ । तर, गम्भीर शंका के छ भने – यसलाई कतै जनप्रतिनिधिले आफूखुसी गर्ने अवसरका रूपमा प्रयोग गर्ने त होइनन् ? 

कानुन यथावत् रह्यो भने अर्थात् स्थानीय सरकार संञ्चालन ऐनको दफा ७१ मा ब्यवस्था गरिएको पालिकाको नीति, कार्यक्रम तथा बजेट सम्बन्धीको समय सीमा र प्रक्रियामा कुनै संशोधन गरिएन भने अब स्थानीय सरकारकोे बजेट आउन केही दिनमात्रै बाँकी छ । यो हेरफेर हुने संम्भावना पनि निकै न्यून छ । किनभने हालसम्म यसमा कुनै औपचारिक छलफल नै भएको छैन तर समय थोरैमात्र छ । विभिन्न भेलामार्फत् जनताका माग सुन्ने र योजनालाई नीतिगतरूपमा सरकारी संयन्त्रको प्रक्रियाभित्र प्रवेश गराउने अवसर जसरी गुमेको छ त्यसैगरी यसका बाँकी चारवटा चरणमा पनि गहन बहसको संम्भावना कम छ । संघीय सरकारले समय सीमा केही बढाएर यसका विकल्प तोके छलफल गराउन सकिने अवस्था भए पनि कसैले सोचेको देखिँदैन । 

Prabhu Bank
Agni Group
NIC Asia

यसैले अब स्थानीय सरकारका जनप्रतिनिधिकै काँधमा थप जिम्मेवारी आएको छ । महामारीले उत्पन्न गरेको यो बाध्यात्मक परिस्थितिलाई उनीहरूले स्थानीय सरकार र आफ्नो नेतृत्वलाई स्थापित गर्ने अवसरमा रूपमा लैजान्छन् या व्यक्तिगत लाभ र निहित स्वार्थपूर्तिको मौका बनाउँछन् ? नागरिक तहमा जनप्रतिनिधिले अविश्वासको त्यो तह पार गरिसकेको छन् जुन संघात्मक व्यवस्थाकै लागि घातक बन्दै गएको छ । 

सामान्य नागरिकलाई आफ्नो आँगनमा सरकार भएको प्रत्याभूति गराउन सक्ने जनप्रतिनिधि थोरैमात्र छन् । जनताको सुखदुःखको अभिभावकभन्दा जनप्रतिनिधि ‘छोटे राजा’ बनेका छन् । तिनै जनताको मतले प्राप्त अधिकारलाई उनीहरूले आफूलाई शासक देखाउने साधनका रूपमा प्रयोग गरिरहेका छन् । नागरिक तहमा “गौंडापिच्छेका छोटे राजा आवश्यक छैनन्” भने तहसम्मको वितृष्णा उत्पन्न भएको छ । करिव २० वर्षपछि तल्लो तहको सरकारको अभिभावकत्व ग्रहण गरेका जनप्रतिनिधिले बितेका केही महिनामै स्थानीय सरकारलाई २० औं वर्षसम्म बिर्सन नसकिने गरी बदनाम गराइसके । 

Global Ime bank

सरकारी रकममाथिको दुर्नियत, कुशासन, बजेट र कार्यक्रममा देखिने मनलाग्दी शैली, सुविधा र सम्मानको भोकले नागरिक जनप्रतिनिधि हाम्रै सेवक हुन् भन्ने चाहेर पनि सोच्न नसक्ने अवस्थामा पुगेका छन् । महँगा गाडी, नातागोता र कार्यकर्ता लक्षित बजेट, अनावश्यक विषयमा पनि अधिक राजनीतिले जनतालाई आजित तुल्याएको छ । समाजको अवस्था एकातिर, नागरिकको आवश्यकता र प्राथमिकता अर्कातिर तर जनप्रतिनिधि भने ‘पिर्के सलामी’तिर लाग्दा स्थानीय स्तरमा रहेको पूर्वाधार, स्रोतसाधन तथा जनशक्ति अभावको विषय गौण र फितलो भयो । महामारीले आक्रान्त नागरिकलाई सहायतामा खानै नहुनै दाल, कुहिएका,  कीरा परेको चामल । यी र यस्तै कुरालाई स्थानीय सरकारको उपहार तथा आफैँले कर स्वरूप गरेको लगानीको फल सम्झेर चित्त बुझाउने बाहेक जनता समक्ष अरू उपाय छैन । 

अहिले विदेशबाट आएका नेपालीका लागि क्वारेन्टिन व्यवस्थापन तीन तहकै सरकारका लागि गम्भीर चुनौतीका रूपमा देखिएको छ । केन्द्र र प्रदेश सरकारले के गर्नुपथ्र्यो ? त्यो अर्को समीक्षाको पाटो हो । स्थानीय सरकारको अवस्था हेरौँ त कतिसम्म भद्रगोल देखिएका छन् ? सामान्य र आधारभूत कुरामा पनि चुकेका छन् । हो, महामारी आइलागेको हो तर स्थानीय सरकारसँग आफ्नो क्षेत्रका नागरिक कत्ति बाहिर छन् ? कहाँकहाँ छन् ? भन्नेसमेत तथ्यांक नहुनु गैरजिम्मेबारीको हद होइन र ? उता स्थानीय सरकार संचालन ऐन (परिच्छेद ३ दफा ११) ले भने आफ्नो क्षेत्रबाट विदेशिएका श्रम शक्तिको तथ्यांक संकलन र प्रशोधनलाई स्थानीय सरकारको काम, कर्तव्यको रूपमा व्यवस्था गरेको छ । यो तथ्यांक नभएकै कारण अहिले स्वयं पालिकासहित प्रदेश र संघ सरकारलाई आउनेहरूको व्यवस्थापनमा समस्या भएको हो । 

एकपटक फेरि स्थानीय सरकारको परीक्षाको समय आएको छ । माथि उल्लेख भएअनुसार असामान्य अवस्थामा बजेट ल्याउने तयारीमा रहेका स्थानीय सरकारले तत्कालमा लागि नागरिकका जीवन रक्षालाई केन्द्रविन्दुमा राख्नुको कुनै विकल्प छैन । अर्कातिर, सामाजिक र आर्थिकरूपमा महामारीले पार्ने दीर्घकालीन प्रभावबाट समुदायलाई जोगाउनु छ । अन्यथा, महामारीको प्रभावबाट नेपालले छिट्टै उन्मुक्ति पाउने कल्पना स्वाभाविक हुँदैन । गाउँलाई यसको असरबाट उकास्न नसके नीति, कागज र भाषणमा जति ठूला कुरा गरेपनि केही हुनेवाला छैन । 

समयले स्थानीय सरकारको अबको भूमिकालाई विगत बिर्सिने र व्यवस्थाप्रति आश जोगाउने अवसर बनाउने मौका दिएको छ । यसको प्रस्थानविन्दु कार्यपालिकाहरूले ल्याउने अबको कार्यक्रम र बजेट नै हो । भूमिकामा भनिए झैँ, स्थानीय सरकारको कार्यक्रम र बजेट निर्माणका केही प्रक्रियागत विषय यसपटक पाउने सुविधाले जनप्रतिनिधिलाई बहुआकांक्षा र मागबाट बाहिर निस्किने अवसर पनि दिएको छ । यसलाई उनीहरूले आफ्नो निहित स्वार्थबाट मुक्त भएर साँच्चिकै समाजको समुन्नतिका लागि लगाएमात्रै कोरोनाको दीर्घकालीन असरको दायरा घट्ने देखिन्छ । 

त्यसैले, जनप्रतिनिधिको सुझबुझ उनीहरूले ल्याउनै लागेको कार्यक्रम, नीति र बजेटमा देखिनुपर्छ । स्थानीय सरकारको बजेट र कार्यक्रम सम्बन्धित क्षेत्रका नागरिकलाई लागिमात्रै होइन सबैको सरोकारको विषय हो । ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन नसकेसम्म मुलुकले यो महामारीले पार्ने आर्थिक असरलाई न्यून गर्नसक्ने अवस्था छैन । यसमा स्थानीय सरकारले यही बजेटबाटै योगदान पुर्याउने गरी नीति लिन सक्नुपर्छ । गाउँलाई शोक र भोकबाट बचाउने कुरालाई स्थानीय सरकारले अबको बजेटको प्राथमिकतामा राख्नु अपरिहार्य छ । 

ग्रामीण क्षेत्रमा रोजगारको प्रमुख माध्यम कृषि नै हो । यसका लागि विगतमा जस्तो औपचारिकतामुखी मात्रै भए तात्विक फरक देखिने छैन । बाँझो जमिनको प्रयोग, मल, सिँचाइ, उन्नत बीउको सुविधा सिधै किसानको हातमा पुग्ने खालका कार्यक्रम आवश्यक छन् । अनुदानका नाममा कार्यकर्ता पाल्ने, टाठाबाठालाई पोस्ने खालका कार्यक्रम बन्द नगरिए कृषि क्षेत्रमा अपेक्षित सुधार देखिनेछैन । हाल नेपालमै बस्ने जनसंख्याका लागि मात्रै वर्षभरी खान १० लाख टन खाद्यान्न अभाव हुनेगरेको छ । यसको सबैभन्दा ठूलो भार गाउँपालिका, नगर, महानगरमै छ । यसकारण स्थानीय तहको खाद्यान्न अवस्था, अब गाउँमै थपिने जनसंख्या र त्यसले बढाउने खाद्यान्न आपूर्तिको भारलाई आकलन गरी खाद्यान्न उत्पादनलाई प्रत्यक्ष बढावा दिने र बजारीकरण गर्ने कार्यक्रम स्थानीय सरकारले ल्याउन सकेनन् भने भोकमरीको समस्या बढ्ने निश्चित् छ । 

रोजगारीका लागि विदेश जानेको संख्या वार्षिक पाँच लाखको हाराहारीमा छ । अहिले करिब ४५ लाख युवा विदेशमा रहेका छन् । त्यसमा भारतका रहेको ठूलो श्रमशक्तिलाई जोडिएको छैन । उनीहरू घर फर्किने क्रममा छन् । रोजगारीका क्रममा विदेशमा रहेका युवालाई घर फर्काउन सरकारले अहिले जतिसुकै आनकानी गरे पनि महामारी नियन्त्रणमा आएन भने उनीहरूलाई घर फर्काउनुको विकल्प छैन । यो जनसंख्या व्यवस्थापन पनि स्थानीय सरकारको पहिलो दायित्व हो । 

रोजगारी र आयस्रोत गुमेको यस्तो अवस्थामा उनीहरूको जीविकाको माध्यम सिर्जना गर्ने कुराको पहिलो जिम्मेवार पक्ष पनि तल्लो सरकार नै हो । यस्तै, रेमिट्यान्सबाट वार्षिकरूपमा भित्रिने ९ खर्बभन्दा बढी गाउँमै जान्थ्यो । विदेशकाहरूले घर परिवारका लागि पठाउने यस्तो रकमले उनीहरूको आधारभूत आवश्यकता टाथ्र्याे ।

स्थानीय सरकारले आफ्नो क्षेत्रमा वैदेशिक रोजगारीमा रहेका तथा तिनले वार्षिकरूपमा भित्र्याउने रकम बारे विश्लेषण गरेर अभाव पूर्तिका लागि रोजगारमूलक कार्यक्रम ल्याउनु आवश्यक छ । गाउँमा फर्किने जनसंख्यालाई रोजगारीको विकल्प दिने गरी स्थानीय तहले सोच्नुपर्ने देखिन्छ । श्रमशक्ति सर्वेक्षणअनुसार दुई दशमलव तीन प्रतिशत रहेको बेरोजगारी दरले ठूलो आकार लिनेछ । थेगिनसक्नु युवा बेरोजगारीले मुलुकको अर्थतन्त्रमा धेरै ठूलो र लामो असर पार्नेछ । रेमिट्यान्सको प्रत्यक्ष असर ग्रामीण क्षेत्रको शिक्षा, पोषण र गरिबी न्यूनीकरणमा रहेको हेक्का राखेर तीनै तहका सरकारको कार्यक्रम निर्माण भएन भने दिगो विकासका लक्ष्यमा पनि हामी चुक्ने निश्चित छ । 

विशेषगरी स्थानीय सरकारले आफ्नो क्षेत्रमा बढ्ने बेरोजगारीलाई ध्यानमा राखेर रोजगारमूलक कार्यक्रम ल्याउन् । रोजगारीका क्षेत्रको पहिचानसँगै त्यसका लागि आवश्यक वातावरण बनाउने काममा उनीहरूको महत्त्वपूर्ण भूमिका रहनसक्छ । क्षमता विकासका नाममा हुने तालिम गोष्ठी र सभा सम्मेलनजस्ता निरर्थक खर्चभन्दा नागरिकले प्रत्यक्ष लाभ पाउने उत्पादनमूलक कार्यक्रम अबको लक्ष्य हुनुपर्छ । 

स्वास्थ्य पूर्वाधारको अवस्था बारे त यो महामारीले तीन तहकै सरकारलाई राम्रो सिकाइ भएको हुनुपर्छ । स्वास्थ्य पूर्वाधार र जनशक्ति व्यवस्थापनमा केन्द्रको मुख ताक्नेभन्दा स्थानीय सरकार नै जागरुक हुने बेला आएको छ । करमाथि करको भारलाई न्यूनीकरण गर्दै यसको दायरा विस्तारमा ध्यान दिइएमा भने सर्वसाधारणले भैँसीको समेत कर तिर्नुपर्ने अवस्था रहने थिएन । 

त्यसैले, कार्यक्रम र बजेट निर्माणका चरणमा रहेका स्थानीय तहले स्थानीय सरकार हुनुको अर्थ र यसको आवश्यकतालाई सिद्ध गर्ने गरी कार्यक्रम र बजेट तय गरेर नागरिकलाई यो व्यवस्थाप्रति भरोसा दिलाउने समय आएको छ । स्रोत साधन सीमित हुनुको बाध्यता नागरिकलाई जानकारी छ । तर, त्यसको पनि सही सदुपयोग नहुँदाको नागरिकको वितृष्णा जनप्रतिनिधिलाई थाहा छैन । विषम परिस्थितिमा स्थानीय तहले ल्याउने बजेट सानै किन नहोस् मुलुकको अर्थतन्त्रका दीर्घकालीन प्रभावको आधारबिन्दु हुनेछ । आधारभूत आवश्यकताको प्राथमिकीकरण गर्ने, नागरिकलाई महामारीको दीर्घकालीन असरबाट बचाउने कार्यक्रम र बजेट अहिलेको स्थानीय सरकारको आवश्यकता हो । गाउँपालिका लागि करोडौं खर्चेर कार्यालय भवन बनाउँदै गरौँला, वडा कार्यालयसम्म पूग्ने सडक बनाउँदै गरौँला, मेयरका लागि सुविधासम्पन्न गाडी किन्ने बारे छलफल गर्दै गरौँला । अहिले जनताको भोक र कोरोनाको दीर्घकालीन असर कम गर्नु स्थानीय सरकारको प्राथमिक दायित्व हो ।

यसमा स्थानीय जनप्रतिनिधिको विवेकपूर्ण भूमिका समुदायले खोजेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  १९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC