site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राजनीतिक विकल्प बन्न नसकेका वैकल्पिक शक्ति

'आखिरमा मम नै अर्डर’ गरेकोमा नेपाली जनताले फेरि एकपटक कथित  'बुद्धिजीवी’हरूको खप्की खानुपर्ने हुनसक्छ । यद्यपि, काठमाडौं र ललितपुरमा विवेकशील र साझा पार्टीले अपेक्षा गरिएभन्दा बढी नै मत ल्याएका छन् । यसैले तिनीहरू जनताप्रति आभारी हुनुपर्ने हो राजनितक सोच र सुझबुझ भए।

नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईले भने सामाजिक सञ्जाल ट्विटमार्फत् प्रतिक्रिया दिइसके — 'वैकल्पिक राजनीतिको विमर्श केन्द्रीय स्तरमा बढी सान्दर्भिक र प्रभावकारी हुने भएकाले स्थानीय निर्वाचनमा उसको कम प्रभाव देखिन सक्छ । पर्खेर हेरौँ !’ स्पष्ट नभने पनि उनको भनाइको अर्थ स्थानीय तहका जनता वैकल्पिक राजनीतिक विमर्शका पात्र हैनन् वा हुनसक्तैनन् भन्ने न हो । राजनीतिक प्राणी भएकाले उनले जनतालाई वैकल्पिक राजनीतिमा चासो नराखेकोमा सोझै दोष नदिएका मात्र हुन् । 

ठूला भनिएका दलहरूले हारजितको समीक्षा गरिरहेको वा गर्न लागेको समाचार आउन थालेको छ । समीक्षा जति नै गरे पनि त्यसबाट पाठ सिक्ने यी ठूला भनिएका दलका नेताको बानी छैन । यसैले तिनको समीक्षालाई गम्भीरतापूर्वक लिनु जरुरी छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

निर्वाचनको मुख्य पाठ

अरूले सिक्न खोज्ने हो भने यस चुनावले सिकाएको एउटा पाठ हो — निर्वाचन जित्नका लागि संगठन आवश्यक हुन्छ । प्रचारका भरमा केही मत त ल्याउन सकिएला तर चुनाव जित्न सकिँदैन । विवेकशील र साझा दुवै पार्टी नयाँ हुन् । विवेकशीलले संगठन विस्तारको समय पाएको हो । साझाले त त्यो समय पनि पाएन । यसैले जति मत आयो त्यही धेरै हो । तर, राजनीतिक विकल्प बन्ने मौका भने पाएका हुन् दुवैले । दुवै दलका नेतामा अरू दलका नेतामा जस्तै दम्भको रोग लागेको देखियो । उनीहरूले निर्वाचन पूर्व नै तालमेल गर्नुपर्थ्यो । विवेकशीलले सामान्य राजनीतिक चरित्र देखाएर साझाकी उपमेयरकी उमेदवारलाई समर्थन पनि गरेकोथियो । सबै पदमा मिलाएरै भए पनि उमेदवार उठाउन सकेको भए चुनावमा केही मत त थपिन्थ्यो नै संगठन पनि तयार हुन्थ्यो । तर, संगठन विस्तारको यो अवसर दुवैले गुमाए । राजनीतिक चेत भएकाले बाबुराम भट्टराईले संघीय समाजवादी फोरमको चुनाव चिह्न लिएर भए पनि धेरै ठाउँमा उमेदवार उठाए । उनको पार्टीको हार भएको छ तर त्यहाँ संगठन त बन्यो नि !

Global Ime bank

अराजनीतिक राजनीति

अराजनीतिक राजनीतिको दृष्टान्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हुन् । चुनाव त उनले पनि पहिले पार्टीको र पछि देशकै जितेकै हुन् । तर, उनी राष्ट्रपति भएपछिका व्यवहार हेर्दा उनकै पार्टीका नेतासमेत चारै महिनामा आजित भइसकेका छन् । उनका निम्ति देश र पार्टीको हित वा शासन प्रणालीको मूल्य मान्यताको नै मूल्य छैन । प्रचलित कानुनले के गर्न हुन्छ र के हुँदैन भन्नेसँग पनि मतलब छैन । मनले जे सही ठान्यो त्यही गर्छन् । रुसलाई गोप्य सामरिक जानकारी दिएपछि ट्रम्पबाट हुनसक्ने क्षतिको आकलन सुरु भएको छ । यही प्रवृत्ति रहे उनलाई कार्यकाल पूरा नहुँदै हटाइने सम्भावना नै धेरै छ । यसैले राजनीतिक दल सञ्चालन गर्नेहरूले सानो वा ठूलो जस्तो पदमा भए पनि राजनीतिक व्यक्तिको चयन गर्नुपर्छ । व्यवस्थापन वा प्रशासनमात्र होइन राजनीति । 

सिद्धान्तहीन ठूला दल

सैद्धान्तिक आधारमा नामैबाट पनि फरकफरक देखिने ठूला भनिएका सबै दलले एक अर्कासँग गरेको चुनावी गठबन्धनले यिनीहरू 'रंगहीन’ देखिएका छन् । अहिले यिनलाई दिइएको मत रोजाइभन्दा पनि बाध्यता हो भन्ने बुझ्न खासै गाह्रो पर्दैन । फुकुयामाले जे सुकै लेखुन् — राजनीति सिद्धान्तहीन हुनै सक्तैन । लोकतन्त्र सायद अब मूलधारका सबै दलले आवरणमा स्वीकार गरेका छन् । अभ्यासका आधारमा भने कुनै पनि दललाई लोकतान्त्रिक भन्न मिल्ने देखिँदैन । यसैले विकल्प बन्न खोज्नेहरूमा सैद्धान्तिक स्पष्टता पनि हुनुपर्छ । आफ्नो राजनीतिक मान्यता स्पष्ट राख्नसक्नुपर्छ । 

खतरा लोकतन्त्रमाथि !

अहिले सबैभन्दा ठूलो खतरा लोकतन्त्रमाथि नै छ । पञ्चायत कालमा आवरणमा पनि लोकतन्त्र थिएन । त्यसैले लोकतन्त्रवादीलाई पञ्चायत अस्वीकार गर्ने बलियो आधार मिलेको थियो । अहिले त लोकतन्त्रको आवरणमा नै अलोकतान्त्रिक क्रियाकलाप हुन थालेका छन् र त्यसबाट सबैभन्दा सकस लोकतन्त्रवादीलाई हुनेगरेको छ । लोकतान्त्रिक विधि र प्रक्रिया अनुसरण गरिएका छन् तर लोकतन्त्रको मर्ममा प्रहार पनि भइरहेको छ । 

नेतातन्त्रको अधिनायकवादी अभ्यास

हुँदाहुँदा संसद्जस्तो जनताका प्रतिनिधिको सार्वभौम संस्थासमेत पार्टीका नेताको सनकको बन्धक बन्न पुगेको देखियो । लोकतान्त्रिक मूल्य मान्यता मास्न संसद्कै प्रयोग गरिँदा पनि सांसदहरू मूकदर्शक बने । थाहै नपाई र चित्तै नबुझ्ने काममा आफ्नो हस्ताक्षर प्रयोग हुँदा पनि सहेर बस्नेहरूले लोकतन्त्र जोगाउन सक्त्तैनन् । यसैले अहिलेको शासन पद्धति विधि र प्रक्रियाका दृष्टिमा लोकतान्त्रिक भए पनि यथार्थमा नेतातन्त्रमात्रै हो । 

भरतपुर नगरपालिकाको प्रमुखलगायत पदमा केन्द्रमा तालमेल गरे । उमेदवारको उमेदवारीसमेत केन्द्रबाटै खोसियो । केन्द्रीय सभापतिको आदेशमा उमेदवारी खोसिने कानुन छ रे । व्यक्ति निरीह हुने कानुन बनाउने संसद्ले लोकतन्त्र जोगाउन सक्तैन । यो लोकतन्त्रको नाममा लोकतन्त्रविरुद्ध रचिएको षड्यन्त्र हो । नयाँ दलहरूले यस प्रकारका संवैधानिक र कानुनी प्रावधानका विषयमा अध्ययन र त्यस प्रवृत्तिविरुद्ध अभियान चलाउन सके लोकतान्त्रिक विकल्प बन्ने नैतिक शक्ति हासिल गर्नेछन् । 

लोकतन्त्र हैन छद्मअधिनायकवाद !

अहिले राजनीतिक दलका नेताले देशलाई कुनै व्यावसायिक ’कर्पोरेसन’ जसरी चलाउने प्रवृत्ति देखाएका छन् ।  कम्युनिस्टहरूको ’जनवादी केन्द्रीयता’कै अर्को आवृत्ति हो यो प्रवृत्ति । व्यवहारमा जनताका नाममा पार्टीले निर्णय गर्ने र पार्टीका नाममा नेताको हैकम चल्ने प्रणालीलाई नै जनवादी केन्द्रीयताको नाम दिइएको हो । अहिले नेपालमा हामीले अभ्यास गरिरहेको पद्धति पनि लोकतन्त्रको आवरणमा ’छद्म अधिनायकवाद’ हो । 

कसैले पनि आफूलाई अधिनायकवादी भन्दैन । त्यसका लागि अधिनायवादीहरू राष्ट्रवाद वा प्रगतिशीलताको नारा दिन्छन् र अरूलाई 'अराष्ट्रियतत्व’ वा 'यथास्थितिवादी’ भन्दै जनतामा घृणा र भय उत्पन्न गराउने प्रयास गर्छन् । जनताको भावनात्मक दोहन गरेर उनीहरूले निरन्तर राख्ने चाहिँ नेताको हैकम हो र बढाउने भने राजनीति गर्नेहरूको सम्पत्ति तथा सुविधा हो । यही हो अधिनायकवादको सक्कलीरूप ! आआफ्ना विफलता र दुष्टता जनताका आँखाबाट लुकाउन कुनै जाति, वर्ग वा समूहलाई दोष दिन्छन् । अहिलेका ठूला भनिएका राजनीतिक दलका नेताले गरेको पनि यही नै त हो । 

उनीहरू नाम त लोकतन्त्र र जनताको लिन्छन् तर लोकतान्त्रिक मान्यताका पक्षधर हुँदैनन् । लोकतन्त्रमा त व्यक्तिको मर्यादा र अस्तित्वको सबैभन्दा बढी सम्मान हुन्छ । यिनले त त्यसको उपहास गर्नेगरेका छन् । ’खुला अर्थतन्त्र’का नाममा ’आसेपासे अर्थतन्त्र’ (क्रोनी क्यापिटलिज्म’ बढाएजस्तै । 

शासनको ’आउट सोर्सिङ’

राज्य सञ्चालनका सबै तहमा व्यक्तिलाई निरीह र परनिर्भर बनाउने नियम, पद्धति, अभ्यास चलाइएको छ । सरकारी सेवा 'आउट सोर्सिंग’ गरेर सिन्डिकेट राजलाई संस्थागत बनाउने प्रणाली अपनाइएको छ । मालपोतमा जग्गा किनबेच गर्दा व्यक्ति आफैँले लेख्न सक्ने र जान्ने भए पनि कर्मचारीसँग निकटता भएकै लेखनदाससँग लेखाएमात्र काम हुन्छ । नगरपालिकामा नक्सा पास गर्नमात्र हैन घर बनिसकेपछि सम्पन्न भएको प्रमाणपत्र लिन पनि घुस खुवाउनुपर्छ । नियम पूरा गरेरमात्र हुँदैन । नियम पूरा भएको अरू कसैले भनिदिनुपर्छ । घर नक्साबमोजिम बनेको छ कि छैन भनेर जाँच्न नगरपालिकाको इन्जिनियर घरमा जान्छ । त्यसरी जानु उचित पनि हो । कार्यालयकै इन्जिनियर घरैमा जाने भएपछि अर्को प्राविधिकलाई बीचमा काम गराउनुपर्ने बाध्यता उत्पन्न गर्नु सरकारी कामकाजमा भएको 'सिन्डिकेट' नै त हो । (जति लिनु छ, खानु छ नगरपालिकाकै इन्जिनियर वा हाकिमहरूले लिएखाए भैगो नि ! कागजमा जति मिलाए पनि अप्ठेरो पार्ने बाटो निकाल्न हाम्रा कर्मचारीलाई कसैले सिकाउनु पर्दैन क्यारे !) 
यो एउटा सामान्य उदाहरण हो । झट्ट हेर्दा कर्मचारीको घुस खाने निहुँजस्तो देखिए पनि शासनको प्रवृत्तिका रूपमा जरो गाडेको जनविरोधी अभ्यास हो यो । नयाँ दलहरूले शासनको यस्ता प्रवृत्तिविरुद्ध जनमत बनाउने कि नबनाउने ? सरकार सानो तर प्रभावकारी बनाउने उदार लोकतन्त्रको मान्यतालाई क्रूर पुँजीवादका पक्षधरले राज्यलाई कमजोर बनाउने तर सिन्डिकेट पोस्ने अस्त्रका रूपमा प्रयोग गरेका छन् । यस्ता चंगुलबाट जनतालाई मुक्त गर्ने नीति र कार्यक्रम के छ ?

सिन्डिकेट र कमिसन राज   

सामाजिक सेवाका क्षेत्रमा पनि राज्यले सिन्डिकेटलाई नै प्रोत्साहित गरेको छ । बिरामी र विद्यार्थीसँग कर लिनुको भित्री आशय शिक्षा र स्वास्थ्य पनि दैनिक उपभोगका वस्तु हुन् भन्ने सिद्ध गर्नु न हो । अर्थात्, राज्यले शिक्षा र स्वास्थ्य सेवालाई उपभोग्य वस्तुको दर्जामा राख्यो । यही कारण देशमा लोकतन्त्र स्थापना भएपछि पनि सामाजिक सेवा (शिक्षा, स्वास्थ्य र यातायात) मा चर्को असमानता, विसंगति र सिन्डिकेट राज बढेर गएको हो । पञ्चायतमै थालिएको यो जनविरोधी प्रवृत्तिलाई कांग्रेस, माओवादी, एमाले सबैको नेतृत्वका सरकारले निरन्तरता दिएका छन् । यसले मानसिकरूपमै नागरिकलाई शिक्षा र स्वास्थ्य राज्यको दायित्व हैन रहेछ भन्ने छाप पार्दैलगेको छ । के हुन्छ नयाँ दलहरूका धारणा यसमा ? 

अहिले सिन्डिकेट र कमिसनतन्त्र सार्वजनिक क्षेत्रको मानकजस्तै बनेको छ । राज्यको सञ्चालनमा सबैभन्दा बढी प्रभाव सिन्डिकेटहरूको छ । राजनीतिक दलका नेताहरूको चरित्र र प्रवृत्ति दुवै सिन्डिकेट र कमिसनबाट निर्देशित देखिएको छ । लोकतान्त्रिक विकल्प बन्नेले उद्योगहरूको निजीकरणको विरोध वा चिकित्सा शास्त्र शिक्षामा शुल्क निर्धारण हुनुपर्छ भन्नेजस्ता आन्दोलनको समर्थनमात्र गरेर त पुग्दैन । यस्ता विषयमा स्पष्ट धारणा निर्माण गर्नुपर्छ । अनिमात्र जनताले लोकतान्त्रिक विकल्पका रूपमा लिन सक्छन् । 

व्यक्तिको अस्मिता 

सत्य निरुपण र दण्डहीनताका सम्बन्धमा राजनीतिक नेताहरूको स्वार्थ पूरा हुने तर पीडितले न्याय र पीडकले सजाय नपाउने तरातम्य मिलाइएको छ । राज्यलाई क्षमादान दिने अधिकार हुन्छ ? पीडितले हैन क्षमा दिनुपर्ने ? पैसा दिएपछि न्याय नगरे पनि हुन्छ ? मानवताविरुद्धको जघन्य अपराधमा क्षमादान स्वीकार्य हुन्छ ? राजनीतिक कार्यकर्तालाई 'विशेष नागरिक’सरह राज्यको ढुकुटीबाट पैसा दिनु अरू नागरिकको हक खोस्नु हो कि हैन ? यस्ता प्रश्नहरूको उत्तरबाटै को कति लोकतन्त्रवादी हो भन्ने देखिन्छ । 
स्थानीय तहको संख्या निर्धारण गर्दा भूगोल र रहनसहन र संस्कृतिलाई बेवास्ता गरेर जनसंख्यामात्रलाई मूल आधार बनाइएको छ । त्यतिमात्र हैन नेकपा (एमाले)लाई चुनाव जित्न सजिलो हुने गरी क्षेत्रहरू मिसाउने र फुटाउने पनि गरिएको छ । पहिलेका कतिपय गाविस अहिले एउटा वडा बनाइएका छन् । यसले गाउँका जनतालाई मर्का परेको छ । तर, कुनै पनि दलले यसको तर्कसंगत विरोध गरेनन् ।  स्थानीय तहको संरचना जनतालाई सकेसम्म नजिकै राज्यका सुविधा र संयन्त्र पुग्नेगरी गर्नुपर्नेमा कर्मचारीको व्यवस्थापनका लागि सजिलो हुने गरी गरियो । पुनःसंरचना जनताको नजिक राज्यलाई लैजान गरिएको हो कि सरकारी संयन्त्र जनताको पहुँचबाट बाहिर लान गरिएको हो ? कर्मचारीको व्यवस्थापन वा खर्चपर्च गर्न अप्ठेरो हुन्छ भनेर स्थानीय तहको मूल मर्ममै प्रहार गर्नु उचित हो ? 

साना दलको सुझबुझ र आँट 

आफैँलाई प्रत्यक्ष बेफाइदा हुने मतपत्रका बारेमा त नयाँ दलहरूले जनताले बुझ्ने र थाहा पाउने गरी विरोध गर्न सकेनन् । ठूला र साना दलबीच निर्वाचन आयोगबाटै नै पक्षपात भयो । निर्वाचन चिह्नमात्र हैन मतपत्रमा समेत भेदभाव गरियो । कर्मचारीको सजिलोका लागि उमेदवारीको टुंगो नलाग्दै मतपत्र छापियो । दर्ता भएकै दललाई पनि निर्वाचन आयोगले चिह्न दिएन । राष्ट्रिय दल नहुनुको अर्थ राजनीतिक दल पनि नठहरिनु भयो । उमेदवारै नभएका चिह्न राखेर मतपत्रलाई अत्यन्त जटिल र मतदाताका लागि अप्ठेरो बनाइयो । अहिले गणनामा परेको अप्ठेरोको कारण त्यही हो । उमेदवारको अन्तिम नामावली छापिएपछि मतपत्र छापेको र प्रत्येक पदका लागि बेग्लाबेग्लै बनाएको भए न मत दिन कठिन हुन्थ्यो न गन्न नै महाभारत पर्नेथियो । कर्मचारीलाई सजिलो र ठूला दलका हितमा हुने गरी मतपत्र बनाउनु एकछिनको अल्छ्याइँमात्र हैन । यो सिन्डिकेट र कमिसन राजको उदाहरण हो । यसलाई समाप्त पार्ने उपाय, आधार र अठोट नयाँ दलहरूले देखाउनुपर्छ ।
 
र अन्त्यमा,
राजनीति अलिअलि रहर, लहड वा रोमाञ्च पनि हो तर त्यतिमात्र भने पक्कै हैन । तपस्या पो हो त राजनीति । विकल्प बन्न चाहनेले तपस्या गर्ने आँट गर्नुपर्छ । समस्या त तपस्वीमध्ये अधिकांशले ’आसुरी शक्ति’ माग्न र प्रयोग गर्न थालेपछि न उत्पन्न भएको हो । नेपाली जनताको ’आशुतोष’ प्रवृत्ति पनि यस संकटको कारक हो । भष्मासुरलाई शक्ति प्रदान गर्न बेरै लगाउँदैनन् ! अनि कति भाग्नू ? जनता जनार्दनले पनि मोहनी अवतार कति पटक लिनू ?  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ७, २०७४  १५:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC