हामी वार्षिक करिब १० खर्ब रुपैयाँको समान भारतबाट किन्छौँ । त्यसमा ५० अर्ब रुपैयाँ जतिको त तरकारीमात्र हुँदो रहेछ । अब अनुमान गरौँ त्यति धेरै तरकारी उत्पादन गर्न कति जनशक्ति आवश्यक पर्दो हो ? देशभित्रै कृषि उत्पादन वृद्धि गर्ने हो भने अहिले भारतमा काम गरिरहेका नेपालीमध्ये एक चौथाइ जनशक्ति फिर्ता बोलाई यहीँ रोजगारी दिन सकिन्छ ।
नेपालको कुल व्यापारको ६५ प्रतिशत हिस्सा भारतले ओगटेको छ । त्यसमा केही प्रतिशतमात्र कमी गर्न सके पनि नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुग्छ । नेपालमा उपयोग हुने तरकारी किन्दा भारत जाने ५० अर्ब रुपैयाँ नेपालकै गाउँमा नै राख्न सकेको भए ग्रामीण अर्थतन्त्र निकै चलायमान हुने थियो । रोजगारीको थुपै अवसर सृजना हुने थियो भने अत्याधुनिक औजार मेसिन प्रयोगमार्फत उन्नत कृषि उत्पादन गरी व्यापार घाटा कम गर्न सकिने थियो । तरकारीजस्तै ठूलो संभावना बोकेको माछा, मासु, मसला, जडीबुटी आदिमा क्षेत्रमा पनि उत्पादन वृद्धि गर्ने संभावना छ । यसलाई बढावा दिन आजैदेखि राज्यले प्रविधिक जानकारी गाउँगाउँमा पुर्याउने प्रयास सुरु गर्नुपर्छ । चितवनलगायत केही जिल्लाले कुखुरा पालनमा देखाएको जागरुगताले गर्व गर्न सकिने नतिजा देखाएको छ । अरु ठाउँमा पनि यस्तै उदाहरण भेटिन्छन् । यसलाई देशव्यापी बनाउन सकिन्छ ।
तरकारीमा आत्मनिर्भर हुन हामीलाई २ वर्षसम्म लाग्न सक्छ । प्रत्येक वडामा एक एकवटा कृषक बजार (फार्मर्स मार्केट ) को थालनी गर्ने हो भने यसले स्थानीय बजारमा चहलपहल बढाउन, कृषक कृषकमा अनुभव आदानप्रदान प्रचार र गाउँका बासिन्दाबीचको आपसी सम्बन्धलाई पनि बलियो बनाउँछ । कृषक बजारले राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका त खेल्ने नै छ गाउँ र सहरबीचको भावनात्मक दूरी पनि कम गर्नेछ ।
साथै, कृषक बजारले ग्रामीण क्षेत्रका किसानलाई व्यवसाय गर्न सिकाउँछ । आवश्यक खाद्यान्नको कमीलाई पूरा गरेर देशलाई आत्मनिर्भर बन्न पनि सघाउनेछ । खाद्य पदार्थ उत्पादन प्रशोधन र विक्री वितरण आफ्नै क्षेत्रमा हुन थालेपछि रोजगारीका अवसर स्थानीय स्तरमै उपलब्ध हुन्छ । कृषक बजारले मुख्यरूपमा ससाना कृषक र ससानै करेसा बारीमा उत्पादन गर्ने सबैलाई फाइदा पुग्छ । उत्पादन आफ्नै नजिक सेरोफेरोमा नै बेच्न पाइनछ भने बजारको माग र आवश्यकताअनुरुपको बाली लगाउन पनि बजारले कृषकलाई सिकाउँछ । अर्को महत्त्वपूर्ण पक्ष यातायात र कोल्ड स्टोरेजमा खर्च नहुने भएपछि उत्पादन लागत कम भएर ग्राहक र किसान दुवैलाई फाइदा हुन्छ ।
हामीले ठूला संगठित बजार अर्थात् सुपर मार्केटमा खरिद गरिएका तरकारी र फलफूल ती बजारमा पुर्याउन न पाकी काँचै टिप्नुपर्ने, लामो समय स्वच्छ देखाउन विभिन्न प्रकारका रसायनको प्रयोग, कोल्ड स्टोरेजमा भण्डारण र लामो दूरीसमम ढुवानी गर्नुपर्ने हुन्छ । त्यसबाट कतिपय पौष्टिक तत्त्वहरु पनि नष्ट हुन्छन् । अर्थात उपभोक्ताले ताजा तरकारी खान पाउँदैनन् । अर्कातिर, हामीले किनेको मूल्यको १५ प्रतिशतमात्र उत्पादन गर्ने कृषकले प्राप्त गर्छन । तर, कृषक बजारमा विक्री वितरण गर्दा विक्री मूल्यको धेरै अंश कृषकसमक्ष पुग्छ । यसले सामान्य मानिसमा कृषिप्रति आकर्षण बढाउँछ ।
कृषक बजारमा आउने किसानहरु आफैँले बेच्ने तरकारी तथा फलफूल स्वस्थ्यकर, पूर्णरूपमा पाकेको र छोटो दूरीमा ढुवानी गरिएको हुने अनि कोल्ड स्टोरेजमा भण्डारण र विषादी प्रयोग गर्नु नपर्ने भएकाले तरकारीमा प्रचुरमात्रामा पौष्टिक पदार्थ कायम रहन्छ । उच्च गुणस्तरको स्वाद पनि रहिरहने भएकाले स्वस्थ्य रहन सहयोग पुग्छ र स्वास्थ्य उपचारको खर्चमा पनि कमी आउँछ । निरोगी नागरिक, बलियो चलायमान अर्थतन्त्र भएको स्थानीय बजार बनाउन र राज्यको एक पैसा पनि खर्च नगरी आत्मनिर्भर हुन प्रत्येक वडामा कृषक बजार बनाउनु पर्ने देखिन्छ । यस्तो बजार अमेरिकामा पनि ९ हजारभन्दा बढी दर्ता भएका छन् । काम गरिरहेका छन् । यसले अमेरिकाको अर्थतन्त्रलाई ठूलो योगदान दिएको छ ।
(अमेरिकामा व्यवसाय गर्दै आएका व्यवसायी )