site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेसलाई थपिएको दायित्व      

 नेपाली कांग्रेसमाथि दायित्व थपिएको देखिँदैछ । अरू सबै राजनीतिक दलहरु पनि महसुस गर्ने हो भने नियतिले दायित्व बेहोर्नपर्ने अवस्थामा पुगेका छन् । भूमिकामा सानोठूलो, प्रभाव आआफ्नो स्थितिले निर्देशित त गरेको हुन्छ नै । तर, कोही पनि भूमिका शून्य वा दायित्वहीन छैन । निर्णय भने आफ्नै स्थितिअनुसार गर्छन् । नेपाली कांग्रेसको नियति चाहिँ संवेदनशील संक्रमणको बेला सधैँ अगाडि भएर संक्रमणलाई पार लगाउनु वा अर्को चरणमा प्रवेश गराउनुमा छ । इतिहासले अहिलेसम्म भनेको यही हो र पुनः कांग्रेससँग समयले यस्तै माग गरेजस्तो छ ।

अहिलेको परिस्थितिलाई राजनीतिक आस्थाजन्य आग्रहभन्दा केही माथि बसेर सोच्नुपर्ने देखिन्छ । राष्ट्रिय वा राजनीतिक जोखिमका सम्भावित विषयमा खुला र निर्धक्क छलफल हुन जरुरी छ । ‘कार्पेट मुनि फोहर’ लुकाएर सफा हुन वा समस्याको समाधान खोज्न सम्भव छैन । राजनीतिक दलहरुले संयम, धैर्य र परसम्म हेर्ने खुवी प्रदर्शित गर्ने बेला हो यो । बुझकी नागरिक समाजको दायित्व पनि यसरी नै निर्धारित छ । 

राजनीतिक निकास पाइएको भनिए पनि मुलुक संक्रमणको अर्को डिल सामु पुगेको छ । संक्रमण कुन कोल्टो फर्किन्छ भन्न सकिँदैन । लोकतान्त्रिक दलहरु समर्थ भए संक्रमण त्यतै लहसिन्छ नभए कता कता ? टुंगिएको लामो राजनीतिक यात्रा लम्मिनु पनि हुँदैन र उल्टिनु त झन् हँुदैन । लोकतान्त्रिक प्रणालीको परिमार्जन हुनसक्छ, परिष्कार लोकतन्त्रको वैशिष्ट्य हो तर लोकतन्त्रको विकल्प अन्य प्रणाली होइन, लोकतन्त्र नै हो । प्राप्त लोकतन्त्र  थप सुदृढ बनाउँदै जाने हो । 

Prabhu Bank
Agni Group
NIC Asia

कोरोनाको महामारीबीच आर्थिक उन्नयन थेक्दै अगाडि बढ्नुपर्ने नेपालसामु दुई चुनौती प्रमुख छन् । छिमेकी भारतसँग थप उजागर सीमा विवादसँगै  संविधानमाथिको दबाब प्रमुख चुनौती हुन् । लिम्पियाधुरा समेटेर अद्यावधिक नेपाली नक्सालाई संविधानमा समेट्न सरकारले संसद्मा प्रस्तुत गरेकोे संशोधनलाई कुनै दुघर्टना रहित निर्णायक बनाउने चुनौती छ । 

सरकारी दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को उपल्लो सदनमा दुई तिहाइ बहुमत छ । तल्लो सदन(प्रतिनिधिसभा) मा दुई तिहाइ पुर्याउन सरकारले नेपाली कांग्रेस वा मधेस केन्द्रित समाजवादी वा राष्ट्रिय जनता पार्टीको समर्थन पाउनुपर्ने छ । दस सांसद थपिँदा सरकारलाई दुई तिहाइ पुग्ने देखिन्छ । संविधान संशोधनको उधारो वचन र पद दिएर सरकारले दस सांसद जुगाड पनि गर्ला तर संविधान संशोधन त्यो पनि देशको नक्साजस्तो गम्भीर विषयमा सर्वसम्मत हुनु वाञ्छनीय छ । 

Global Ime bank

नेपालको अद्यावधिक मानचित्र समेट्ने विषयसँगै आफ्नो मागको संशोधन पनि यतिबेलै समावेश गर्नुपर्ने मधेस केन्द्रित दुई दलको आग्रहले कुन रुप धारण गर्ने हो अहिले अनुमान सहज छैन । अपेक्षा चाहिँ अन्ततः उनीहरु राष्ट्रिय नक्सा पारित गर्ने पक्षमा सहभागी हुनेछन् भन्ने हो । यहीँनेर नेपाली कांग्रेसको भूमिका गम्भीर र जोखिमयुक्त देखिन्छ । सरकारले सर्वसम्मत बनाउन गर्ने प्रयासभन्दा प्रभावकारी भूमिका प्रमुख प्रतिपक्ष कांग्रेसको हुनेछ ।

मधेस केन्द्रित दलहरुलाई किनारामा राखेर नक्सा पारित गरिनु अर्को जोखिम हुनेछ । तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाले आफ्नो राजनीतिक छवि दाउमा राखेर मधेस केन्द्रित दललाई संविधान र संसद्भित्र ल्याएको कांग्रेस वा अरुले बिर्सनु हुँदैन । 

प्रतिस्पर्धामा हार्ने बुझेर पनि प्रधानमन्त्री पदमा उम्मेदवारी, संविधानअन्तर्गत संसद्मा हुने मतदानमा सहभागी हुने मधेस केन्द्रित दलको आग्रह कोइरालाको बाध्यता थियो । संविधान संशोधनको मागसँगै लिएर उनीहरु संसद्मा आए, मत पनि दिए तर उनको जित सम्भव थिएन र भएन । 

सभापति कोइरालाको उम्मेदवारी जित्नेभन्दा मधेस केन्द्रित दलहरुको उपस्थिति संसद्मा हुनु उपलब्धि बन्यो । धेरैतिरको दबाबबीच संविधान घोषणा गर्ने सरकारको नेतृत्व कोइरालाले गरेका कारण व्यापक समर्थन जुटाउने उनको चाहना स्वाभाविक थियो । उनले उम्मेदवारी दिएमात्र होइन संविधान घोषणपछि सरकार छोड्ने वचन पनि सँगै दिए । 

तत्कालीन नेकपा एमाले र त्यसका अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने सर्त स्वीकारेर समर्थन समेत जुटाए । बाहिर बसेका मधेस केन्द्रित दलहरुलाई संसद्भित्र आउने बाटो बने । आफ्नो उम्मेदवारीको अर्थ स्पष्टीकरण जति दिए पनि धेरैले सुन्न चाहेनन्, खुब आलोचना गरे, सत्ता लोलुपसम्म भन्न भ्याए । अधिक सतहमा बुझ्ने र गाम्र्भीय ग्रहण नगर्ने नेपाली मानसिकता उजागर भयो । 

कोइरालाको प्रसंग नेपाली कांग्रेसका लागि अहिले पनि स्मरणीय छ । नेकपाको सरकारलाई लिम्पियाधुरा समेटेर नेपालको ऐतिहासिक पश्चिमी मानचित्र अद्यावधिक गर्न  दबाब र समर्थन दिएको नेपाली कांग्रेसले यसलाई टुंगोमा पुर्याउने दायित्व पनि सँगै उठाएको बुझ्नुपर्छ । दायित्व निर्वाहको उपाय कांग्रेसले आफ्नै नीति र दृष्टिकोणअनुरुप खोज्नेछ, खोज्नुपर्छ । 

नेकपा वा यसको सरकारले जस्तो चाहन्छ आँखा चिम्लिएर त्यस्तै गर्न कांग्रेस होइन । बहुकोणीय प्रभावलाई विश्लेषण गरेर देश, जनता र लोकतान्त्रिक संविधानलाई दुर्घटनाबाट जोगाउने निष्कर्ष दिने गम्भीर दायित्व कांग्रेसले बुझेको पक्कै छ । उत्ताउलिएर होइन संयम र धैर्यले समाधानका उपायहरुमा विहङगम दृष्टि दिने समय विशेष उपस्थित छ । नक्सा प्रमाणीकरणमात्रै आन्तरिक समाधानमा सीमित छैन । यो त छिमेकीसँगको सम्बन्ध पनि जोडिएको भूमि विषय हो । विषयले खोजेको गाम्भीर्य र परिणाममा कसरी पुग्ने दूरप्रभावी निर्णय नेपाली कांग्रेसले लिनुपर्छ । भनाइ छ नि – ‘सर्प पनि मर्ने, लठ्ठी पनि नभाँचिने’ ।

पहिलेदेखि संशोधनको दबाबमा रहेको संविधान अहिले थप दबाबमा पर्ने देखिन्छ । संविधान संशोधनै गर्न नमिल्ने वस्तु होइन तर अहिले नक्साबाहेकको संशोधनको खाता खोल्दा ती सबैलाई कसरी समेट्ने भन्ने अप्ठ्यारो जोखिम छ । संशोधन अस्वीकृत गर्ने कोही छैन तर यसैलाई मूल मुद्दा बनाएर जतिसक्यो चाँडो प्राप्ति खोज्नेहरु धेरै छन् । अघि पनि संशोधन भएको हो र प्रस्ताव पनि गरिएको थियो । समाजमा व्यक्त असन्तुष्टिबाट संशोधनको तीव्र अपेक्षाको घनत्व बुझिन्छ । 

मधेस केन्द्रित दलहरु, हिन्दु धर्मका आग्रहीहरु, जनजातिहरु, संघीयता विरोधीहरु र परम्परावादी शक्ति तथा प्रदेशको संख्या थप्न खोज्नेहरु सबैसँग संविधानप्रति असन्तुष्टिका पोका छन् । ती संशोधन चाहन्छन् । क्रमशः सम्बोधन आवश्यक भए पनि यी सबै पोका फुकाउन अहिले कति सहज र थेग्ने प्रकारका छन् ? थप वर्गीय अधिनायकवादी र कम्युनिस्टहरु नै लोकतान्त्रिक संविधान अनुकूल रहेको देखिँदैन । 

नेकपा सरकारले लोकतन्त्र विरोधी, संविधानविपरीत, नागरिक स्वतन्त्रता खुम्च्याउने र प्राज्ञिक वा विकेन्द्रित स्वायत्तता हरण गर्ने ऐन, कानुन बनाउने स्वेच्छाचारी शैली देखाएको छ । अनुदारवादलाई निर्धक्क साथ दिने सरकारी नेकपाका सांसद्हरुको भूमिकाले यिनीहरु लोकतन्त्र र संविधानको दोहन र उपयोग गर्ने पात्रमात्र हुन् भन्ने पुष्टि हुन्छ । गहिरिएर हेर्दा संविधानमाथि थेगिनसक्नु दबाब थपिएको बुझिन्छ । 

अरुको अस्तित्व स्वीकार नगर्ने र सबैलाई भित्ता लगाउने सोच प्रतिविम्बित सरकारी भूमिका परिस्थितिजन्य बाध्यताले सर्वदलीय बैठक मञ्चन चाहिँ गर्दैछ । केही विषयमा यसअघि पनि सर्वदलीय वा पक्षीय बैठकको नाटक मञ्चन गरेको सरकारले नक्सा संशोधनको  विषयमा पनि यस्तै बैठक बोलायो । संशोधन प्रस्ताव प्रस्तुत गर्नु अघि जुटाउनुपर्ने सहमतिलाई बेवास्ता गरेर आफ्नो निर्णयमा सबै लतारिनु पर्ने हठी मान्यताले पहिले संशोधन प्रस्ताव संसद्मा छिरायो अनि पछि सर्वदलीय बैठकको उल्टो विधि अपनायो । 

स्वाभाविक हो, नेपाली कांग्रेसले प्रस्तावित यो प्रस्तावमा संस्थागत निर्णय लिनु । पार्टी केन्द्रीय समितिबाट निर्णय लिन खोज्नु वैधानिक तरिका हो । संस्थागत निर्णयका लागि गरिएको प्रयासलाई अबुझ बनेर आलोचना र कांग्रेसलाई आरोपित गर्ने मसला बनाउनु सरकारको कपटी चाल र संशोधनलाई ‘भरको चिन्डो’ बनाउने सरकारी छद्म पारा हो । यस्ता कुटिल चालले नेपाली कांग्रेस आत्तिनु हुँदैन । 

नक्सा अद्यावधिक गर्न सबैको समर्थन पाएको सरकारले संशोधन प्रस्ताव दर्ता गर्दा अरु कसैको पूर्वसहयोग अपेक्षा राखेन । एकलौटी निर्णय लियो आफू राष्ट्रवादी देखिने धुनमा अरुमाथि चुनौती थप्ने र प्रस्ताव तुहाउने बाटो स्वयं बनायो । सरकारी रबैयाले जटिल बनाउँदै गएको समस्या सुल्झाउने थप दायित्व कांग्रेसमा आयो । नेपाली कांग्रेसले उत्तर, दक्षिण छिमेकी मुलुकसँग निर्धारित मित्रतालाई सन्तुलित सम्बन्धको दायारामै राखेर समस्याको समाधान खोज्ने हो । 

कांग्रेसले लिने सुझबुझलाई उग्रप्रियतावादीले आरोप लगाउने मसला बनाउलान् । सरकारी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाललयायत अरु वरिष्ठहरु संशोधन विषयमा ‘पर्ख र हेर’ झैँ किन मौन छन् ? आफैँले बढाएको र चढाएको माओवादीले अहिले धोका दिएको भन्ने केही भारतीयको गुनासो किन आइरहेछ ? नेपाली कांग्रेसलाई आरोपित गर्नखोज्ने सरकारी र तिनका ‘अन्ध’ समर्थकले बुझ्न जरुरी छ । 

बाह्य र आन्तरिक प्रतिक्रिया आउँदै छन् । तिनको अध्ययन पनि आवश्यक छ । यसअघि लिम्पियाधुरादेखि लिपुलेकसम्मको विवाद नेपाल, भारतबीचको दुई पक्षीय हो र दुवैले वार्ताबाट समाधान गर्न सुझाएको चीनले बुधबार चीन र भारत दुवै वार्ताको लागि तयार भनेको समाचार सार्वजनिक भएको छ । नेपालका परराष्ट्रविद् भनिएका केहीले यो सीमा विवादमा छिमेकी चीनलाई तान्न नहुने तर्क गरेको सुनियो । 

भारतसँगको सीमा विवादमा चीनलाई प्रत्यक्ष तान्न खोज्नु अपेक्षित नहोला तर नेपालको लिपुलेकलाई व्यापारिक मार्ग  बनाउने सम्झौता भारतसँग गरेर चीन स्वयं यो विषयमा मुछिन आएको हो । भारतले नेपाल हुँदै लिपुलेकसम्म निर्माण गरेको सडकको उद्घाटनसमेत गर्यो । सडक निर्माण त्यही सम्झौतासँग सहप्रभावित छ । यस कारण लिपुलेक सम्झौतामा आफ्नो स्थिति(पोजिसन) के हो ? प्रस्टै गर्नैपर्ने कारण बोधले होला बुधवार चीन सरकारका प्रवक्ताले चीनसमेत भारत पनि वार्ताका लागि तयार रहेको बताएको हुनुपर्छ ।

लिपुलेक सम्झौताकै बेला नेपालले दिएको विरोध पत्रबारे चीनले गम्भीरता पूर्वक लिएको र भारतले नेपालको बारम्बारको वार्ता प्रस्तावलाई उतिबेलै सम्मान गरेको भए अवस्था सायद अहिलेजस्तो कटु वा जटिल हुने थिएन । नेपालले आफ्नो ऐतिहासिक अधिकार दावा गर्नु मित्रता विरोधी कार्य पक्कै मानिनेछैन । 

समग्र कोणहरुको अध्ययन गरेर सुझबुझपूर्ण निर्णय निर्देश गर्ने दायित्व नेपाली कांग्रेसको हो । कांग्रेसको निर्णय स्थापित आफ्नै नीति अनुकूल हुने हो । सरकार धेरै काम कुरामा चुकी सकेको छ । यस्तो व्यापक समर्थन पाएर पनि सरकार असफल साबित छ । कांग्रेसले दिएजस्तो सहयोग, समर्थन र सुरक्षा कम्युनिस्टबाट उसले कहिल्यै पाएन । बरु हत्या, हिंसा र असहयोगमात्र पायो, समाधान खोजिरहनु पर्ने भयो । 

भर्खरै निर्वाचित सरकारलाई उन्नाइस दिनमा फालिदिन तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको आन्दोलन उद्घोष र विसं २०५२ सालमा सन्ताउन्न दिन संसद् अवरुद्ध पार्ने असहयोग एमाले कम्युनिस्टले गरे । प्रजातान्त्रिक राजनीतिको चरणमा असहिष्णुताको बीजारोपण कम्युनिस्टहरुले नै गरेका हुन् । कांग्रेस प्रायः सहिष्णु बन्यो र उत्पन्न समस्याको शान्तिपूर्ण समाधान यहाँसम्म ल्यायो, आयो । अहिले पनि नेपाली कांग्रेस समाधान दिने यस्तै गुरुगम्भीर दायित्वको बोझमा छ । 

छिमेकी मित्रहरुसँगको सम्बन्ध, सन्तुलन कायम गरेर कांग्रेसले देश, जनता र लोकतान्त्रिक संविधानको रक्षाका लागि सबैलाई मिलाउनेछ । संवैधानिक प्रक्रिया बाहिर कसैलाई छोड्नेछैन र निकट समस्या सुल्झाउने उपाय सफल बनाउन कांग्रेस पुनःसक्षम हुने विश्वास लिनु अन्यथा हुनेछैन । यस्तो ऐतिहासिक दायित्व कांग्रेसले बुझेकै हुनुपर्छ । सरकारी मनपरी र देशी, विदेशी इच्छा, आरोपमा लतारिएर होइन, बुझेर सही निर्णय लिने कांग्रेसलाई बुझ्न समय पर्खनै पर्छ ।   
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  १२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC