site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कसैको देवत्वकरण नगरौँ, नक्सा एक्लैले जारी गरेको होइन
Ghorahi CementGhorahi Cement

गगन थापा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । संसद्मा होस् या बाहिर निकै तयारीका साथ प्रस्तुत हुने सांसद थापा सरकारले जारी गरेको नयाँ नक्साको पक्षमा उभिँदै कालापानीबाट भारतीय सेना फिर्ता जानैपर्ने वातावरण बनाउन लाग्नुपर्ने बताउँछन् ।

तर यो काम हल्ला गरेर मात्रै हुँदैन । कुनै न कुनैरुपमा कूटनीतिक पहल गरेर भारतलाई वार्तामा बस्न बाध्य बनाउने र नेपालले आफ्ना धारणा बलियोरुपमा राख्नुपर्ने उनको तर्क छ । बाह्रखरीसँग भिडियो कुराकानीका क्रममा नयाँ नक्सा जारी गर्ने विषयमा सरकारसँगै रहे पनि कोरोना कहरको समाधानमा भने सरकारले गम्भीर अपराध गरेको बताए ।

प्रस्तुत छ, नेपाल–भारतबीचको विवाद, कोरोना न्यूनीकरणका लागि सरकारले गरेको पहललगायतका विषयमा सांसद थापासँग गरिएको भिडियो कुराकानी–

Agni Group

नेपालमा सरकारले नयाँ नक्सा जारी गरेको छ । सरकारको निर्णयको यो कदमलाई कांग्रेसले कसरी लिएको छ ?

सुगौली सन्धिदेखि लामो समयसम्म अर्थात् यहाँसम्म आइपुग्दा हामीले २०१९ सालबाटै हेर्नुपर्छ । कालापानीबाट त्यसबेलादेखि भारतीय सेना फिर्ता गएन । पञ्चायतमा पनि गएन । २०४६ सालपछि यो विषय बहसका लागि खुला भयो । सबैले यो विषय लगातार उठाइरहे । नेपालमा त्यसपछिका सबै सरकारले भारतसँग दुईतर्फी छलफल हुँदा यसलाई उठाउन कसैले छाडेन । त्यसैले गर्दा अहिले नयाँ नक्सा जारी गर्न सहज भयो ।

Global Ime bank

अहिले पनि के कुरा बिर्सनुहुँदैन भने कात्तिकको १६ गते भारतले एकपक्षीय नक्सा जारी नगरेको भए, अझ वैशाखको २६ गते भारतले आफ्नो बाटो उद्घाटन नगरेको भए अहिले के हुन्थ्यो ? आजको दिनमा सरकारले नयाँ नक्सा जारी गरेको हुन्थ्यो त ? हुँदैनथ्यो ।  यसअघि जस्तो थियो त्यस्तै हुने थियो ।

भनेको हामीले भारतले सीमा मिचेको छ भन्ने बहस भइरहन्थ्यो तर यो विषय जहाँको त्यहीँ रहन्थ्यो ।

ईपीजीको रिपोर्ट बुझ्न भारतले मानेको थिएन । यो परिस्थितिको निर्माण सीधा भारतले हेपेर, मिचेर, उक्साएर भएको हो ।  यसमा भारतले अरु कसैको हात देख्नैपर्दैन ।

यसलाई कात्तिक १६ गते नक्सा जारी गर्नासाथ सबैभन्दा पहिला नेपाली कांग्रेसले विज्ञप्ति निकालेर यो हाम्रो भूमि हो भन्यो ।

 

तत्कालीन राजदूतलाई बोलाएर हाम्रा सभापतिले भारतलाई ‘यो भूमि नेपालको हो’ भन्ने सन्देश दिनुभयो । हाम्रो सरकारलाई पनि यो मुद्दामा कांग्रेस सँगै छ अघि बढ्नू भन्नुभयो ।

संसदीय समितिले पनि प्रधानमन्त्रीलाई लगातार निर्देशन दियो ।

मंसिर १ गते प्रधानमन्त्रीले नक्सा होइन भूमि ल्याउने हो भन्नुभयो । मंसिर १० गते नै प्रधानमन्त्रीलाई कांग्रेसले नक्सा खोई ? भनेर सोध्यो । प्रधानमन्त्रीलाई गैरजिम्मेवारपूर्ण अभिव्यक्ति नदिनूस् भनेर भन्यौँ ।

मंसिरको अन्तिम र पुसको पहिलो सातामा संसदका समितिले पनि सरकारलाई नयाँ नक्सा जारी गर्न निर्देशन दियो ।

चारैतिरबाट सरकारलाई नक्सा जारी गर्न दबाब दिइएको थियो । त्यसपछि हामी कोरोनाको कहरमा प्रवेश गर्यौँ । भारतले यस्तो बेलामा सामान्य मानवीयता पनि नराखेर तामझामका साथ वैशाख २६ गते बाटो उद्घाटन गर्यो । त्यो पनि सन्देश दिने गरी । त्यसको भोलिपल्टै कांग्रेस सभापतिले वक्तव्य निकालेर यो हामीलाई स्वीकार्य छैन भन्नुभयो । फेरि संसदीय समितिले अर्को निर्देशन दियो अहिलेसम्म किन नक्सा ननिकालेको भनेर ।

त्यसपछि सर्वदलीय बैठकमा कांग्रेस सभापतिले नक्सा जारी गर, यसमा कांग्रेस सँगै छ भनेर भन्नुभयो ।

६–७ महिनादेखि लगातार नक्सा निकाल्न दबाब दियो । तर यहाँ विषयलाई कसरी प्रस्तुत गरिएको छ भने कोही एकजना व्यक्तिले गरेको छ ।

भनेको सरकार वा निश्चित व्यक्तिलाई देवत्वकरण गरिएको छ भन्न खोज्नुभएको हो ?

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नक्सा जारी गर्नुको कुनै विकल्प थिएन । भारतले नक्सा निकाल्नासाथ नेपालका सबै पार्टीसहित नागरिक समाज, विद्यार्थी, संसद् सबैले नक्सा निकाल भनेका थिए ।

नक्सा ननिकाली वार्ताका लागि चिठी सरकारले लेख्यो । भारतले त्यसलाई बेवास्ता गर्दै बाटो बनायो । बीचमा भारतीय सेनापतिले नेपालले यो कसैको उक्साहटमा गरेको हो भने । नेपालले विरोध गरेको कुरालाई पनि उक्साहटमा भने ।

संसदीय समितिले निरन्तर दबाब दिएको थियो । यस्तो बेलामा प्रधानमन्त्रीले नक्सा ननिकालेर हुन्थ्यो ? नक्सा ननिकालेको भए प्रधानमन्त्रीले दबाब थेग्न सक्नुहुँदैनथ्यो । सरकारलाई धन्यवाद ! तर भगवान नै बनाउने काम नगरौँ । यहाँ भगवान बनाउने काम भएको छ ।

भारतले नक्सा पनि निकालेको थिएन, बाटो पनि बनाएको थिएन तर एकाएक भारतलाई नक्सा निकालेर भारतलाई सेना फिर्ता लैजाऊ भनेको भए हुन्थ्यो ।

भोलिपल्ट निकालेको पनि होइन । सबैतिरको अवस्था हेरेर गरिएको हो । तर यहाँ देवत्वकरण गरेर राष्ट्रवादको लाइसेन्स बाँड्ने काम नगरौँ । गीत, कविता पनि धेरै नगाऔँ ।

किन ?

लगातार देवत्वकरण मात्रै गर्दा कहाँ पुगिन्छ भने अबको एकमहिनापछि के हुन्छ भनेर पनि सोच्नुपर्छ । प्रधानमन्त्रीले भनेको नक्सा बनाउन सहज थियो ।

एउटा व्यक्तिको काँधमा सबै कुरा जिम्मा दिँदा नेपाली जनताले खोई भारतीय सेना फिर्ता पठाएको ? भनेर नेपाली भूमि माग्न थाल्नेछन् । अनि त्यो दबाब बढ्दै गएपछि इमेज कायम गर्नका लागि अपरिपक्व र नेपालका लागि लाभ नहुने कदम चाल्नुपर्ने हुन्छ ।

केपी ओलीको ठाउँमा अर्को व्यक्ति भएको भए पनि नक्सा जारी हुन्थ्यो त ?

तपाइँले संविधान जारी गर्ने अवस्था हेर्नुहोस् । संविधान जारी गर्ने बेलामा सुशील कोइराला प्रधानमन्त्री, अर्को नेता केपी ओली सत्तारु दलकै नेता हुनुहुन्थ्यो । भारतीय विदेश सचिव आएर संविधान जारी नगर्नुस् भनेका थिए । तर हामी संविधान जारी गर्ने अवस्थामा पुग्यौँ । तर अहिले यो विषयमा कोही पनि अलमल छैन । सबै एकैठाउँमा छन् । सबैले तिमी नक्सा निकाल भनेका छन् ।

वार्ता गरौं भनेर नेपालले भन्दैगर्दा कोभिडपछि भेटौँला भनेर भारतले भन्यो । नचाहिने बेलामा भारतको हेपाहा प्रवृत्तिले हामीलाई एकै ठाउँमा पुर्‍याएको हो ।

अहिलेको अवस्थालाई कसरी पनि हेर्नुपर्छ भने प्रतिपक्षमा रहेको कांग्रेसले वक्तव्य पो निकाल्न सक्छ । संसदीय समितिले निर्देशन दिन सक्छ ।

मैले नक्सा निकालेँ भने घरमा मात्रै राख्न मिल्छ । त्यसैले निर्णय सरकारले नै गर्ने हो । निर्णय गर्ने सरकारलाई मात्रै धन्यवाद भन्दैगर्दा प्रधानमन्त्रीले पनि त्यही बेला तपाइँलाई पनि धन्यवाद भनेर फर्काउन सक्नुपर्छ । मैले मलाई मलाई भन्न खोजेको होइन, सबैलाई उहाँले धन्यवाद दिन सक्नुपर्छ ।

प्रधानमन्त्रीले त्यसो भन्नुहोला भन्ने अपेक्षा छ ?

छैन । उहाँले भन्नुहुन्न किनकि उहाँलाई देउता बनाउने होड छ ।

भारतीय सञ्चारमाध्यममा के कुरा आएको छ भने पहिलो चीनको उक्साहटमा भएको हो । अर्को नेपालको प्रधानमन्त्रीको पार्टीभित्र ठूलो संकट थियो त्यो ढाकछोप गर्न गरिएको हो ।

तेस्रो नेपालले मात्रै नक्सा निकालेर हुँदैन भोलि नेपालले मुम्बई र दिल्ली पनि समावेश गरेर नक्सा निकाल्ला । यो सञ्चारकर्मीले मात्रै होइन भारतीय संस्थापन पक्षबाट ल्याइएका कुरा हुन् । यो कुरा नेपालले चिर्नैपर्छ ।

नेपालले कसैको उक्साहटमा होइन भन्नुपर्छ । हामीले संविधान संशोधन गर्दैगर्दा संकल्प प्रस्ताव पनि पारित गर्नुपर्छ ।

सिंगो देश एकठाउँमा आएर गरेको हो भन्यौँ भने अगाडिका बाटा सहज छन् ।

तपाइँले अघि २०४६ सालपछि कुरा उठेको छ भन्नुभयो । धेरैपल्ट त्यसपछि कांग्रेसले सरकारको नेतृत्व गर्‍यो । तर नेपाली भूमि फिर्ता ल्याउनुपर्छ भनेर किन नलागेको ?

२०४६ सालको परिवर्तनपछि धेरै सरकार बने । त्यहाँदेखि यहाँसम्म आइपुग्दा कति प्रधानमन्त्री हुनुभयो ? को को हुनुभयो हामी सबैलाई थाहा छ । प्रत्येक सरकारको पालामा नेपालको सीमानाको विषयमा छलफल भएको छ ।

धेरै ठाउँमा विवाद थियो । धेरै टुंगिएका पनि छन् । कालापानी, सुस्तालगायतका क्षेत्रमा पनि टुंगो लगाउने बेलामा माधव नेपाल प्रधानमन्त्री र परराष्ट्रमन्त्री सुजाता कोइराला हुनुहुन्थ्यो । त्यसबेला भारतले हस्ताक्षर गरौँ भनेको थियो । तर नेपालले मानेन । सुशील कोइराला नेतृत्वको सरकारले त चीन र भारतलाई नोट लेखेर मान्दैनौँ भनेको हो ।

मलाई कसैले ‘तेरो पालामा के गरिस् भनेर प्रश्न गर्दा तेरो पालामा चाहिँ के गरिस् ?’ भनेर प्रश्न गर्नुपर्ने हुन सक्छ ।

हामीले महाकाली सन्धिका बेला गल्ति गरेकै हो । त्यसबेला महाकालीको शिर कहाँ हो भनेर टुंगो लगाउन सकिन्थ्यो । यो टुंगो नलाग्दासम्म सन्धि गर्दैनौँ भन्न सकिन्थ्यो । त्यसबेलाका जिम्मा कसले लिने भन्दा केपी ओलीदेखि शेरबहादुर देउवादेखि प्रकाशचन्द्र लोहनीसम्म हुनुहुन्थ्यो ।

अब नेपाली भूमिबाट भारतीय सेना फिर्ता पठाउनका लागि गर्नुपर्ने काम के के हुन सक्छन् ?

अबको बाटो भनेको भारतसँग वार्ता र संवाद नै हो । भारतसँग वार्ताका निम्ति दबाब दिने नै हो । वार्ताका लागि भारतलाई बाध्य बनाउने नै हो । तर अर्कोतिर यो वार्ता नहुन पनि सक्छ भन्ने विचार गर्नुपर्छ ।

सरकारले अब हल्ला नगरी ट्रयाक टु वार्ता जारी राख्नैपर्छ । जहाँनेर भारतलाई घोच्छ त्यहीँनेर हान्नुपर्छ । नेपालले फरक फरक अन्तर्राष्ट्रिय मञ्चमा भारतले हाम्रो भूमिमा आएर बाटो बनाएको छ भन्नैपर्छ ।  भारतका आफ्ना छिमेकीसँग कुनै न कुनै रुपमा विवाद छ ।

भारतसँग नेपालको चित्त बुझाउने हैसियत छैन भन्ने बनाउन सक्नुपर्छ । भारतको आम चुनावको बेलामा नेपाललाई हेपेर गलत गर्‍यो भन्ने  त्यहाँका जनतामा बनाउन सक्नुपर्छ ।

भारतीय मतदाता प्रभाव पार्ने क्षमता नेपालसँग होला ?

अब त्यसका लागि यहाँ सडकमा कार्यकर्ता उतारेर इनर्जी लस गर्ने होइन । अब सरकारले भन्नुपर्छ अब काम गर्न देऊ भनेर । अब उता भारतमा खेल्न सक्नुपर्छ । त्यहाँका मिडियासँग कसरी फेस गर्ने भनेर लाग्नुपर्छ । तथ्य प्रमाण सबै नेपालको पक्षमा छ । भारतसँग प्रमाण भएको भए वार्ता गर्थ्यो ।

निशान छाप सच्याउनका लागि संविधान संशोधन गर्नुपर्नेछ । त्यसका लागि विधेयक संसदमा दर्ता पनि भइसक्यो । संविधान संशोधनका लागि सरकारलाई दुई तिहाइ आवश्यक पर्छ । सरकारले यो विषयमा तपाइँहरुसँग छलफल गर्‍यो ?

छैन । गरेको छैन ।

सरकारले छलफल नगरेपछि तपाइँहरु सरकारले ल्याएको प्रस्तावको पक्षमा उभिनुहुन्छ कि विपक्षमा ?

हामी बकाइदा पक्षमा उभिन्छौँ । सरकारकै पक्षमै उभिन्छौँ । भारतले नक्सा निकाल्यो के गर्ने ? भन्दै सर्वदलीय बैठक बोलाएको छ तर नक्सा जारी गरेपछि ‘तिमीहरु भएको भए निकाल्थ्यौ ?’ भन्ने हिसाबमा स्वामित्व एक्लै लिन खोजेको होइन ? पार्टीको सचिवालयमा पनि यो विषय छलफल नगरि ल्याइएको छ । हामीलाई यसमा पनि चित्त दुखाइ छैन । जस तपाइँ नै लिनुस्, श्रीपेच तपाइँ नै लगाउनूस् । तर हामीले गर्ने काम गर्छौँ ।

प्रसँग बदलौँ–

कोरोनासँग लड्ने बेलामा छिमेकीसँग लड्नुपर्‍यो । अहिले कोरोनासँगको लडाइँमा सरकार जसरी अघि बढ्नुपर्थ्यो बढ्न सक्यो कि सकेन ? के लाग्छ यहाँलाई ?

कोरोनासँगको लडाइँमा हामी सरकारसँगै थियौँ । सहयोग पनि गर्‍यौँ । तर यही तरिकाले हो भने सरकारले डुबायो भन्नुबाहेक विकल्प रहेन । डुबायो मात्रै होइन उत्रन नसक्ने अवस्थामा पुर्‍याउँदैछ ।

कसरी ?

यो भाइरस सरकारले ल्याएको पनि होइन । परिस्थितिको जिम्मेवारी सरकारलाई मात्रै बोकाएर हुँदैन । तर सरकारले जे गर्नुपर्थ्यो त्यो गरेन ।

लकडाउन गर्नैपर्थ्यो । जुन देशको शासक भाइरसभन्दा छिटो दौडियो त्यो देशले यो लडाइँ जितेका छन् । जो देश भाइरसको पछि पछि दौडियो उ यो लडाइँमा हा¥यो । सरकारले सही समयमा लकडाउन सुरु गरेको हो । तर त्यसपछि सरकारले केही गरेन ।

लकडाउन गर्दासम्म हामी भाइरसको अघि नै थियौँ । त्यसपछि के गर्ने भनेर सरकारले बुझेन ।

अरु सुतेर सरकार सबैभन्दा बढी जाग्ने बेला थियो । तर जागेन ।

नेपाल अहिले कस्तो चरणमा छ, कहाँ पुग्दैछौँ ?

मैले भनेका धेरै कुराहरु गलत सावित हुन सक्छन् । त्यो गलत सावित भयो भने म सबैभन्दा बढी खुसी हुन्छु । हामीसँग अझै पनि समय छ ।

कम्तिमा पनि पाँचलाख व्यक्तिको पीसीआर गर्नैपर्छ । संसदीय समिति, सेनाले होमवर्क गरेको छ त्यो राम्रोसँग हेरौँ । लकडाउनको मोडालिटी फेरौँ । पीसीआरबाट पोजेटिभ देखिनासाथ उनीसँग रहेका व्यक्ति पाँचघण्टाभित्रै आइसोलेसनमा बसिसक्नुपर्ने अवस्था बनाउनुपर्छ ।

कोभिडबाहेकका बिरामीको उपचारमा खेलवाड नगरौँ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  १०:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC