site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अनलाइन सूचना संकलन : कति फाइदा कति बेफाइदा ?

कोभिड –१९ को महामारीले ल्याएको नयाँ र अप्ठेरो परिस्थितिमा यसले मानव समुदायमा पारेको बहुआयामिक प्रभावको अनुसन्धान र अध्ययन गर्नु आजको आवश्यकता हो भने बन्दाबन्दी (लकडाउन)का नियमको पालना गर्दै भौतिक दूरी कायम राख्नुपर्ने बाध्यताबीच त्यस्ता अध्ययन र अनुसन्धान आफैँमा ठूलो चुनौती पनि हो । यस्तो अवस्थामा स्थलगत भ्रमण गरेर, प्रत्यक्ष अवलोकन गरेर, उत्तरदातासँग आमनेसामने भएर सूचना संकलन गर्न नसकिने र प्रभावकारी पनि नहुने हुनाले अनुसन्धानकर्ताले सूचना संकलनका वैकल्पिक विधि अपनाइरहेका छन् । यसमा इन्टरनेटमा आधारित अनलाइन तथ्यांक संकलन र विश्लेषण विधि निकै लोकप्रिय बनेको छ । 

नेपालमा पनि विभिन्न संस्था तथा व्यक्तिगत तहमा अहिले अनलाइन विधिबाट अध्ययन, अनुसन्धान, सर्भेक्षण र लेखाजोखाका नाममा तथ्यांक संकलनको बाढी नै आएको छ । एक दृष्टिकोणबाट हेर्दा यस्ता सर्भेक्षण र अनुसन्धान हुनु सकारात्मक र उत्साहवर्धक नै हो । तर, अनलाइनबाट गरिने यस्ता तथ्यांक संकलन सबै अवस्थामा उपलब्धिमूलक वा फाइदाजनक हुन्छन् त ? यस्ता प्रश्नमा भने हामी कमैमात्र घोत्लिने गर्छौँ । यस लेखमा मैले नेपालको परिवेशलाई समेत जोडेर अनलाइन विधिबाट गरिने तथ्यांक संकलनका फाइदा र बेफाइदाका बारेमा चर्चा गर्दै यसरी गरिने तथ्यांक संकलनलाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने बारेमा लेख्ने प्रयास गरेको छु । 

अनलाइन विधिबाट तथ्यांक संकलन विगत केही दशकदेखि विश्वभर नै लोकप्रिय रहेको छ । यस प्रयोजनका लागि धेरै प्रकारका विधि अपनाइने भए पनि सोगो सर्भे, सर्भे मंकी, क्लाइन्ट हार्टबिट, जोहो सर्भे, कोबो टुल, गुगल फर्म, माइक्रोसफ्ट फर्मजस्ता सफ्टवेयरको उपयोग निकै ठूलै मात्रामा गरिन्छ । अनलाइन विधिबाट सूचना संकलन गर्दा प्रायः प्रश्नावली वा फारम तयार गरी इन्टरनेटको माध्यमबाट लक्षित उत्तरदातासम्म सोझै पुर्‍याइन्छ र उत्तरदाता स्वयंले नै उत्तर दिएर अनुसन्धानकर्तालाई सोझै बुझाउन सक्छ । यसमा अनुसन्धानकर्ता र उत्तरदाताका बीचमा दोस्रो पक्षको भूमिका खासै हुँदैन । तर, यी विधिहरूका आफ्नै सीमा हुने हुनाले कुनै अवस्थामा फाइदाजनक हुन्छन् भने कुनै अवस्थामा हुँदैनन् । सबैभन्दा पहिले यस्ता विधिहरू फाइदाजनक हुने अवस्था हेरौँ ।              

Prabhu Bank
Agni Group
NIC Asia

यो विधिबाट इन्टरनेटमा आधारित माध्यमहरू जस्तै इमेल, मोबाइल एप्स, समाजिक संजाल, वेबसाइटमार्फत एकैपटक ठूलो जनसंख्यामा प्रश्नावली वा फारम पठाएर  सर्भेक्षण गर्न संभव हुन्छ । ठूलो स्याम्पल साइजमा अध्ययन गर्न सहज हुने हुनाले यसमा उत्तरको दर बढाउन सहज हुन्छ । उत्तरदाताले आफूलाई सहज हुने तरिकाले चाहेको समयमा उत्तर दिएर पठाउन सक्छ । अध्ययनकर्ताले एकठाउँमा बसेर कमभन्दा कम मानवस्रोत प्रयोग गरी देशभित्र र बाहिरका धेरै ठाउँबाट ठूलो मात्रामा सूचना लिन सक्छ ।    

छोटो समयमा धेरै सूचना प्राप्त गर्न निकै प्रभावकारी देखिने यो विधि लागत र समयको हिसाबले पनि त्यत्तिकै प्रभावकारी हुन्छ । यसमा स्थलगत भ्रमण गरेर सूचना संकलन गर्दा लाग्ने मानव स्रोत र समयको लागत पूरै बचत हुन्छ । उत्तरदाताले उत्तर दिन थाल्नासाथ अनुसन्धानकर्ताले प्राप्त सूचनाको प्रत्यक्ष अनुगमन (रियल टाइम मोनिटरिङ) गर्न सक्छ । यसले गर्दा कुनै त्रुटि भएमा तत्काल सच्याउने अवसर पाइन्छ र तथ्यांकलाई समयमै प्रमाणित गर्न सकिन्छ । 

Global Ime bank

कतिपय अवस्थामा उत्तरदाताबाट सही सूचना लिन यो विधि निकै सहज हुन्छ । जस्तै कहिलकाहीँ अनुसन्धानकर्तालाई त्यस्ता सूचना चाहिएको हुनसक्छ जुन उत्तरदाताले अन्य व्यक्तिको उपस्थितिमा दिन असहज, असुरक्षित वा अप्ठेरो मान्न सक्छ वा आफ्नो पहिचान खुलाउने चाहना नराख्न सक्छ । उत्तरदाताको गोपनीयता र सुरक्षालाई विशेष ध्यान दिएर सूचना संकलन गर्न अनलाइन विधि निकै उपयोगी हुन्छन् ।

अनलाइन विधिबाट सूचना संकलन गर्दा कागजको प्रयोग हुँदैन । फलस्वरूप मूल्य, छपाइ खर्च, बोकेर हिँड्नुपर्ने झन्झट नहुने भएकाले वातावरणमैत्री हुन्छ र प्रश्नावली निर्माणमा कुनै सम्झौता गर्नुपर्दैन । हरेक प्रकृतिका प्रश्नलाई सहज र सरल ढंगले समावेश गराउन सकिने हुनाले यो विधिबाट जटिलतम सर्भेक्षणहरूसमेत गर्न सकिन्छ । अनलाइन विधिबाट संकलन गरिएका तथ्यांकको शुद्धीकरण (डाटा क्लिनिङ) र भण्डारण (स्टोरिङ) सजिलो र छिटो हुन्छ । साथै तथ्यांकीय विश्लेषणको लागि चाहिने तालिका र चार्टहरू उत्पादन गर्न पनि निकै सहज हुन्छ । 

परन्तु, अनलाइन तथ्यांक संकलन विधि सँधै र सबै अवस्थामा फाइदाजनक हुँदैन । त्यसोभए के छन् त बेफाइदाहरू ?     

यो विधिले सबै प्रकारका लक्षित समूहलाई समेट्न सक्तैन । उदाहरणका लागि लकडाउन वा कोभिड –१९ को प्रभाव हाम्रोजस्तो देशमा सबै समुदायमा एकैनासले परेको छैन । व्यापक जनसांख्यिक, वर्गीय, सामाजिक, सांस्कृतिक, आर्थिक विविधता रहेको र सबैको इन्टरनेटमा समान पहुँच नभएको हाम्रोजस्तो समाजमा यसको प्रभाव मूल्यांकनका लागि अनलाइन विधिबाट सूचना संकलन गर्दा उत्तरदाताको विविधतालाई समेट्न निकै कठिन हुन्छ । इन्टरनेटको पहुँचमा भएकाहरू पनि सबै अनलाइन गतिविधिमा बानी परिसकेका छैनन् । निश्चित समय सीमा तोकेर खुला गरिएका अनलाइन सर्भेक्षणमा तोकिएको समयमा उत्तरदाताले भाग लिन्छन् नै भनेर सुनिश्चित गर्न पनि सकिँदैन ।   

प्रश्नावली लामो बनाएर एकैपटक धेरै कुरा समेट्ने प्रयास गरिएको छ भने उत्तरदातालाई उत्तर दिने जाँगर नहुन सक्छ वा अन्योल उत्पन्न हुनसक्छ । अन्योलका बीचबाट दिएका सूचना अधुरा वा गलत हुन सक्छन् । लामो प्रश्नावलीको कारणले धेरै समय लाग्ने हुनाले उत्तरदाताले सबै प्रश्नको उत्तर नदिने वा सर्भेक्षणमा भाग लिन नचाहने संभावना हुन्छ ।  

उत्तरदातालाई प्रत्यक्ष भेटेर, उसको सहजतालाई समेत ध्यानमा राखी प्रश्न नबुझेको ठाउँमा सहजीकरण गर्दै, थप प्रश्नहरू सोधेर सूचनाको विश्वसनीयता जाँच गर्दै ल्याएको जस्तो गहकिलो सूचना अनलाइन विधिबाट ल्याउन सकिँदैन । त्यसैले गुणात्मक प्रकारको अनुसन्धानमा (क्वालिटेटिभ स्टडी) मा अनलाइन विधि त्यति प्रभावकारी नहुन पनि सक्छ । अनलाइन विधिबाट संकलन गरिएका सूचनाहरूमा केही त्रुटि भएमा, गलत वा अस्पष्ट सूचना आएमा त्यसको पुनर्पुष्टि गर्न निकै कठिन हुन सक्छ ।   

अनलाइन विधिबाट सोधिने प्रश्नावलीमा ज्ञान वा अनुभवको अवस्था, जातीय वा भाषिक पृष्ठभूमि, संस्कृति, अपाङ्गताको अवस्था आदिका कारणले पनि सबै मानिसको समान पहुँच नहुन सक्छ । जस्तै विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति हाम्रो सर्भेक्षणका लक्षित समूहमा पर्छन् । हाम्रो अनलाइन प्रश्नावलीमा कुनै दृष्टिविहीन व्यक्तिले उत्तर दिने चाहना राखे उनको ‘स्क्रिन रिडिङ सफ्टवेयर’ले प्रश्नावलीमा पहुँच लिन सकेन भने उनी त्यसबाट वञ्चित हुनेछन् । यसैगरी हामीले सर्भेक्षण गर्न चाहेको जनसंख्या इन्टरनेटको पहुँचभन्दा बाहिर रहेछ भने पनि यो विधिको कुनै अर्थ हुँदैन ।

जस्तै नेपालमा अहिले लकडाउनको प्रभाव राउटेहरूमा कस्तो परेको छ भनेर अनलाइन सर्भेक्षण गर्न सकिने कुनै संभावन छैन । यसैगरी अनलाइन विधिबाट संकलन गरिएको सूचनाले व्यक्तिको दृष्टिकोण र विचारको  मापन गर्न सकिन्छ तर व्यवहार मापन गर्न सकिन्न ।

समग्रमा माथि चर्चा गरिएका फाइदा बेफाइदाले अनलाइन विधिबाट सूचना संकलन गर्नु राम्रो र प्रभावकारी हो तर सबै अवस्थामा यो विधि उपयुक्त हुँदैन भन्ने प्रष्ट्याउँछ । अर्थात, यो प्रभावकारी र विश्वासिलो हुन केही निश्चित सर्त, मापदण्ड र मान्यता पूरा हुनुपर्ने हुन्छ ।    
अब अनलाइन विधिबाट सूचना संकलन गर्न प्रश्नावलीहरू बनाउँदा ध्यान दिनुपर्ने विषयमा पनि थोरै चर्चा गरौँ ।  

अनुसन्धानकर्ताले लक्षित समूह र उसको इन्टरनेटसँगको पहुँच र उपयोगको अवस्थालाई विचार पुर्‍याउनुपर्छ । प्रश्नावली वा फारम निर्माण गर्दा प्रयोग गरिने भाषा र शब्दावलीको सरलता लक्षित समूहले प्रयोग गर्ने भाषा र अपेक्षा गर्ने  भाषिक सरलता अनि स्पष्टताको स्तरसँग मिल्ने हुनुपर्छ ।   

प्रश्नावली वा फारममा प्रयोग हुने शब्दावली सबै स्थानमा उस्तै अर्थ दिने हुनुपर्छ । यसै भएमा  फलस्वरूप फरक भूगोलमा वा संस्कृतिअनुसार फरक अर्थ लाग्ने शब्दावलीको प्रयोगले सूचनामा पार्ने नकारात्मक प्रभावबाट बच्न सकिनेछ । यसैगरी त्यस्ता शब्द वा शब्दावलीहरूको प्रयोग पनि गर्नुहुँदैन जसले उत्तरदाताको आत्मसम्मान र मर्यादामा ठेस पुग्छ र जाति, रंग, उत्पत्ति, वर्ग, लिंग, धर्म, संस्कृति, आर्थिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थितिका आधारमा भेदभाव वा अवहेलना जनाउँछ ।     

अनलाइन विधिबाट सूचना संकलन गर्दा प्रश्नहरू सकेसम्म छोटा, कम समय लाग्ने र सकेसम्म दिइएका विकल्पहरूबाट छान्ने प्रकृतिका (क्लोज इन्डेड) बनाउनुपर्छ । यसो भए उत्तरदातालाई प्रश्नको उत्तर दिन धेरै समय लाग्नेछैन । 

हाल कतिपय संस्था र व्यक्तिहरूले बन्दाबन्दी र मानिसको इन्टरनेटमा पहुँचको अवस्थाको आकलन गरी हरेक प्रकारको लक्षित समूहलाई सर्भेक्षणमा समेट्न बीचको बाटो पनि अपनाउने गरेका छन् जसमा अनलाइन फारमहरू सिधै उत्तरदातालाई नपठाएर केही तालिम प्राप्त गणकलाई पठाइन्छ र उनीहरूले फोनको माध्यमबाट उत्तरदातासँग प्रत्यक्ष अन्तर्वार्ता लिई फारम भरेर पठाउने गर्छन् ।        

(कार्यक्रम तथा प्रशासन प्रमुख, राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा कार्यरत) 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  ०७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC