मुख्तियार जनरल भीमसेन थापाको अहंकार, आलाकाँचाका सल्लाह र राजा गीर्वाणयुद्वको कुबुद्विले विशाल नेपाल गुम्यो । बडाकाजी अमरसिंह थापाले कसैको व्यर्थको घमण्डले नासिन नपरोस् भनेर दरबारलाई दिएको ऐतिहासिक परामर्श सुनवाइ नहुँदा मूलतः भीमसेन थापाकै अहंकारका कारण एकतिहाइ नेपाली भूभाग गुम्न गयो ।
ऐतिहासिक चाकरी
इतिहासमा जस्तै अहिले पनि शासकहरूले ठीक र बेठीक छुट्याउनु जरूरी छ । फलस्वरूप, अल्पकालीन सहयोग र लाभका बदलामा देश र जनताले पुस्ताैं पुस्ता कष्ट भोग्नुपर्ने अवस्था नआओस् । नक्सा बनाउने तर भोगचलन कायम गर्ने सार्थक प्रयास नहुने हो भने सरकारलाई जिम्मेवार मान्न सकिन्न – नक्सालाई, केबल नक्सालाई मात्र ऐतिहासिक भन्ने बेतुकको चाकरीमा उत्रने भए अर्कै कुरा !
त्यसैले सरकारको ऐतिहासिक पहल नक्सामा सीमित रहने, नक्सामै रमाउने अनि संघर्ष चाहिँ छोरा, नाति पुस्ताले गरोस्, अहिलेलाई संकट टर्यो, ध्यान मोडियो भन्ने धारणा पाल्ने हो भने राष्ट्रिय सार्वभौमिकताविरुद्ध त्यसभन्दा ठूलो धोका अरू केही हुन सक्दैन । त्यसकारण रोजाइ हाम्रो हो, अहंकारी भीमसेन थापा हुने कि ? अनुभव र बुद्धिमताको बाटो रोज्ने ।
एक जुके ‘राष्ट्रवादी’ले भर्खरै सार्वजनिकरूपमा प्रधानमन्त्री केपी ओलीलाई प्रेरणाको स्रोत माने, उनको मार्गनिर्देश शिरोधार्य गरे । हजार जिब्रो भएका यस्ता बहुरूपी स्तुतिगायक समाजमा भेटिन्छन् । यसरी नै पेटपालोले भित्रभित्रै धेरैलाई छुरा धसेका छन् । उग्रतापूर्ण उक्साहटको भर गरेर ओलीले बाँच्ने अन्तिम पासा फालेका हुन् भने दुर्दिन सुरू भएको छ ।
शासकलाई यसै पनि स्तुति र चाकरीले पिछा छाड्दैन । चाप्लुसी गर्ने छद्मभेषी हो कि तीतो सल्लाह दिने हितैषी, फरक छुट्याउने काम शासकको हो । किनभने राष्ट्रियताको धार दुवैतिर हुन्छ । समय कता मोडिन्छ भन्न सकिन्न । गतिसँगै चोला फेर्ने पात्रहरूको कमी छैन । त्यस्ता प्रवृत्ति, आफू हुर्केबढेको बाल्यकाल र दरबार भूलेर, म राजावादी होइन भन्छ । संघीय मन्त्रीको हैसियतमा आफैँले लागू गरेको संघीयताविरुद्ध विषवमन गर्छ । धरातल बिर्सने छेपारोको ताँतमा त्यसैले अमरसिंह थापाको ऐतिहासिक वाणी सान्दर्भिक हुन गएको हो ।
इतिहासको पानाबाट
विशाल (ग्रेटर) नेपालको पश्चिम सतलज क्षेत्रमा रहेर नेपाली भूमि रक्षाका लागि लडिरहेका अमरसिंह थापाले आफ्नो भूमिको रक्षाका लागि अंग्रेजविरूद्व युद्ध लड्न सिखसँग संझौता गरेका थिए । तर गलत मार्गचित्र भन्दै भीमसेन थापाको अहंकारपूर्ण सल्लाहमा राजा गीर्वाणले त्यसलाई अनुमोदन गरेनन् ।
अंग्रेजसँग युद्ध हुने खबर सुनेर, त्यत्रो वर्ष लगातार युद्ध गरेर नथाकेका भक्ति थापा, बलभद्र कुँवरसहित अन्य सबै मुख्य सेनानायकहरूको विचार विमर्शअनुसार अमरसिंह थापाले राजा गीर्वाणका नाममा पत्र लेखी पठाए । उक्त पत्रमा भनिएको थियो – सरकार ! हामीले जितेका प्रदेशहरूमा व्यवस्था मिलाउन कठिन भइरहेको अवस्थामा अंग्रेजसँग युद्ध गर्न खोज्नु कत्ति पनि बुद्धिमानी होइन ।
स्थानीय राजारजौटा, सिख, मराठा कोही पनि हामीलाई सहयोग गर्ने पक्षमा छैनन् । यो समय लडाइँका लागि अनुकूल समय होइन । तसर्थ, महाराजाधिराजसँग हाम्रो प्रार्थना छ, अहिले युद्ध टारौं बरू अंग्रेजले मागेको अवध भूमि बुटवल र स्युराज दिएरै भए पनि यो विपत्तिबाट पार लगाऔं ।
पत्रको अन्त्यमा भनिएको थियो – सरकार ! युद्धको रणभूमि नदेखेका, लडाइँको वास्तविक अनुभव नभएका काँचाहरू, गाह्रो साँगुरो केही नभोगेका, दरबार अनि त्यसको वरिपरि हुर्केर बढेका, विचार र विवेकको प्रयोग राम्रो गर्न नजान्नेहरूको उग्रतापूर्ण कुराको पछि लागियो भने भोलि सबैले दुःख पाउनेछन् । यसैमा मालिकको भलो छ, देशको भलो छ, सारा नेपालीको भलो छ । अन्यथा व्यर्थको घमण्डले नासिन नपरोस्, अस्तु ।
हनुमान ढोकाको सनक
यस किसिमको बेहोराको पत्र हनुमान ढोका दरबारमा पठाइयो तर त्यो पत्र पढेर सुनाउनासाथ जसरी पेटपालो राष्ट्रवादको जुँगा हल्लिन्छ त्यसैगरी भीमसेन थापाको मुख क्रोधले रन्कियो । अनि फन्फनी घुम्दै भन्न थाले – हामीलाई अनुभवहीन र आलाकाँचा ठान्ने ? म त फेरि भन्छु अंग्रेजविरूद्व आजै युद्धको बिगुल फुकौँ । यी फिरङ्गीहरूलाई हाम्रो ताकत देखाइदिऊँ ।
उनको त्यस्तो अहंकार देखेर रणजोर थापा भन्छन् – भनिन्छ नि, बुद्विमान व्यक्ति त्यो हो, जसले अलिकति छोडेर धेरै गुमाउनबाट बचाउँछ । हाम्रो स्थिति पनि त्यस्तै, त्यस्तै हुनसक्छ । भर्खरै जितिएका देश, प्रदेशहरू हाम्रो काबुबाट बाहिरिन पनि सक्छन् । त्यसैले युद्वतिर होइन, अलिकति भूमि छोडेर गोरासँग संझौता गरी आफ्नो सैन्यशक्ति सुदृढ बनाउनेतर्फ लागौँ ।
त्यसपछि जुके राष्ट्रवादका सामुन्ने लम्पसारहरूले प्रशंसाको वर्षा गरेझैँ भीमसेन थापाका भाइले रणजोर थापामाथि औंला उठाउदै भने – गोराको गुणगान गाउने ? मुख्तियार दाजैको सुस्पष्ट विचार अनि अलग पहिचानलाई तपाईँहरू नजरअन्दाजमा उडाउने ? अमरसिंह थापाको त्रुटिपूर्ण मार्गचित्र सुनेर फिरंगीसँग युद्ध गर्न डराउने ?
उनले भने – हेर्नुहोस्, बुटवल र स्युराजमा गोराले चौकी राखेकै थिए तर पाल्पाबाट गएर हाम्रा बुबाले एकै झपटमा भगाएर हाम्रो अधीनमा ल्याए । पहाडी इलाकामा यिनीहरूको केही चल्दैन । युद्ध भनेको कलाकौशल पनि हो । सैन्यसंख्या मात्र सबथोक होइन । त्यसैले युद्धको बिगुल अहिले नै फुक्नुपर्छ । त्यसपछि जो होगा, देखा जायेगा ।
आगोमा घिउ थप्ने उक्साहट
भीमसेन थापाका भाइको उक्साहटले आगोमा घिउ थप्ने काम गर्यो । त्यसपछि आउने परिणामभन्दा पनि युद्धको बिगुल फुक्न उनलाई हतार भयो । जस्तो प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई समेत उछिनेर केही दिनअघि वक्तव्य निकाले, एक ट्विटेले । त्यसैले लडाइँको बिगुल फुक्नासाथ युद्धको भयानक कालो बादल नेपालको क्षितिजमा मडारियो । त्यसको परिणाम, एकतिहाई भूमि नेपालबाट अंग्रेजको पोल्टामा गयो ।
अन्ततः संझौता गर्नु पर्दा, सन् १८१६ मार्च ४ तारिखमा विशाल नेपालको एकतिहाइ भूखण्ड गुम्यो । त्यसमा तराई भूखण्ड (मुगेर गंगा तटसम्म), कोसी र गण्डकीबीचको झण्डै तीन हजार वर्गमाइल, गण्डकी र राप्तीबीचको १ हजार एक सय वर्गमाइल अनि राप्तीदेखि महाकालीबीचको दुई हजार दुई सय वर्गमाइल भूमि अंग्रेजलाई बुझाउनु पर्यो । त्यतिमात्र होइन, महाकालीभन्दा पश्चिम नेपालको आफ्नो भूमि रूरूक्षेत्रमा पर्ने ऋषिकेशसहित सतलज नदीसम्मको क्षेत्र गुम्यो । पूर्वमा मेचीदेखि टिस्टाबीचको भूमिसमेत अंग्रेजलाई सुम्पनु पर्यो ।
स्वागतयोग्य नक्सा
भन्न खोजेको के हो भने, लिम्पियाधुरासम्मको आफ्नो नैसर्गिक भूमि समेटेर सरकारले नक्सा बनायो त्यो स्वागतयोग्य हो । तर, त्यतिलाई मात्र उपलब्धि मान्न सकिन्न । किनभने भैंसी उसले पाल्ने, दूध पनि उसैले दुहेर खाने तर दाम्लो हामीसँग छ भन्दैमा स्वाधीनताको रक्षा पूर्ण हुँदैन । त्यसैले खेत अरूले जोतेर खादै गर्दा लालपूर्जा मात्र देखाउँदै हिँडियो भने राष्ट्रवादी भावनासँग खेलबाड भयो बाहेक अरू केही भन्न सकिन्न ।
राष्ट्रवाद राष्ट्रमुखी हुन्छ सत्तामुखी हुँदैन । राष्ट्रवाद भनेको सनातन परम्परा, संस्कार, संस्कृति, सभ्यता र सामाजिक मूल्य एवं मान्यतासँग जोडिएको हुन्छ । कसैको सत्ता प्राप्तिको भ¥याङ र देवत्वकरण हुँदैन ।
युगान्डाका तानाशाह दादा इदी अमिनमाथि जब जब सत्ताको संकट आउँथ्यो, आन्दोलन मत्थर बनाउन उनी तान्जानियाली सेनाले हाम्रो भूभागमाथि आक्रमण गर्यो भन्थे । यसरी इदी अमिनले जनआक्रोश तान्जानियातर्फ मोडेझैँ लिम्पियाधुरा देखाएर सरकारले आफ्नो दुष्कर्म लुकाउने प्रयास गरेको हो भने त्यो लामो समय टिक्नेछैन । मतियार, सरकार सबै उदांगो बन्ने छन् । नक्सा अन्तिम उपलब्धि होइन । देश र दुनियाँको नजर भोगचलनमै छ । जनचाहना र माग पनि यही हो । यो सत्य तोडमरोड हुनेछैन ।
( राप्रपाका नेता )