site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
अनागरिक म 

अहिले विश्व नै कोरोना भाइरसको प्रकोपमा छ । म विदेशिँदा दुनियाँमा कुनै प्रकोप थिएन । म घरखेत बन्धक राखेर विदेश गएँ । विदेशमा कमाएको पैसाले घरखेत निखने । मैले रातविरात नभनी कमाएको रकम मुलुकमा पठाएँ । म विदेश जाँदा सरकारले एक सुको कतै सहयोग गरेन । बरु दलालहरुले कति ठाउँ ठगे ! म ठगिनु हुँदैनथ्यो भन्ने सरकारलाई कतै लागेन । मैले पैसा पठाउन थालेपछि सरकार मसँग खुसी भयो । किनभने सरकारको शून्य लगानीमा मैले कमाएको रकमबाट उसलाई विभिन्न नाममा कर तिरेँ । जब विश्व संकट आयो र म मेरो घर सम्झेर फर्कन चाहेँ त्यति बेला थाहा भयो मेरो सरकार देशमा रहेन छ । म यतै रोकिनुमा मेरो देशको सरकारले आफनो दायित्व निर्वाह हुने ठान्यो । म नआउनुलाई उसले मेरा देशका नागरिकका सुरक्षा देखेको छ । म जहाँ छु, त्यो मेरो देश होइन । जहाँ मेरो घर छ, त्यहाँ मेरो सरकार छैन । सायद, अब म मेरो देशको ‘अनागरिक’ हूँ ।

जब देशभित्र कोरोना संक्रमणका लक्षण देखिन थाले सरकारले राहत कोष खडा ग¥यो । मजस्ता विदेशिएका छोराहरु फर्कन राज्यले सहयोग गर्छ भन्ने मेरा बालाई पनि लाग्यो । छोराले घरवार नभनी, रगत पसिनाले आर्जेर पठाएको रकम र आफ्नो मानो काटेर जोगाएको धनबाट मेरा बाले पनि कोषमा सानोतिनो सहयोग गर्नु भयो । उहाँलाई लाग्यो, कुनै दिन मेराजस्तै छोराछोरीहरु घर फर्किने अवस्था आउला, त्यसबेला सरकारलाई मैले दिएको धनले थोरै भए पनि सहयोग पुर्‍याउला । तर, मेरा बाका यी सपना सरकारको सपनाभित्र परेनन् । सपना नदेख, विपनामा रमाऊ भन्ने मेरो सरकारका अगाडि मेरा बाले सपना देख्नु नै गलत थियो । विपनामा बाँच भन्ने सरकारले कुन दिन सपना देख्ने मेरा बालाई अनागरिक ठान्ने हो ? मलाई थाहा छैन । 

Agni Group

मेरो भाइ अहिलेसम्म कोरोनाको संक्रमणमा परेको छैन । ऊ हट्टाकठ्ठा पनि छ । सानोतिनो रोगले छुन्छ भन्ने उसलाई विश्वास पनि छैन । तर, मानिसको अन्न पानीको शरीर न हो उसलाई पनि मौसमी रुघाखोकीले छुँदै छँुदैन भन्ने त होइन । अरु बेला त यस्ता नाथे रुघाखोकी भनेर ऊ कुनै पर्वाह गर्दैनथ्यो । कोरोना संक्रमणको कोे भय छ । कतै रुघाखोकी लागि हाल्यो भने ? सुन्दैछु, हिजोआज ऊ चिन्तित छ । कतै मलाई पनि कोरोना त भएन ? यो शंका गर्ने छुट उसलाई छैन । उसले शंका गर्नु भनेको मेरा बाले सहयोग गरेको कोषबाट उपचार पाउन खोज्नु हो जुन हैसियत अब ऊ राख्दैन । लक्षण नै नदेखिई राज्य कोषको खर्चमा उपचार गर्न पाइन्छ ? मेरो सरकारले भन्यो – पाइँदैन । त्यस्तो लाग्छ भने पैसा तिर, निजी अस्पतालमा जाऊ – मेरो सरकारले कति सहज उपाय सुझाएको छ । तेह्र हजार रुपैयाँ पर्ने र्‍याल परीक्षण उपकरण निजी क्षेत्रले ल्याएको छ । त्यसमा २० प्रतिशत अर्थात २ हजार ६ सय थप, डाक्टरको फी ४ सय तिर, मात्र १६ हजार रुपैयाँमा तिम्रो शंका निवारण हुन्छ । रोगको संक्रमणमा परे आइसोलेसन खाली रहेछ भने त्यसपछि सरकारले के गर्ने हो गर्छ । संकटको यस घडीमा सरकारलाई यति पनि सहयोग गर्दैनौ भने तिमी के नागरिक ? मेरो सरकारले मेरो भाइसँग यही प्रश्न गर्न चाहेको छ । अन्यथा ऊ पनि अनागरिक हुन सक्छ ।

संसद्को अधिवेशन सुरु हुने भयो । राज्य सञ्चालन गर्ने कुरा कोरोनाका नाममा रोकेर राख्न पनि त मिलेन । संघीय संसद् अधिवेशनको आह्वान राष्ट्रपतिले गर्नु भयो । बिस्तारै प्रदेश संसद्का अधिवेशनको आह्वान प्रदेश प्रमुखहरु गर्दै हुनुहुन्छ । संसद् बैठक बस्ने भएपछि म, मेरा बाआमा र मेरो भाइले छानेका जनप्रतिनिधिहरु सुरक्षित हुनुपर्ने भयो । उहाँहरुमा कुनै संक्रमणको शंका गर्नै मिल्दैनथ्यो । किनभने चुनावमा भोट माग्न जस्तो संकटका बेला उहाँहरु राहत बाँड्न मेरा बाको घर, टोलमा जानु भएकै थिएन । घरबाट ननिस्केका सांसदलाई सरकारको आवश्यकताले अपहरण नै गर्नुपर्दा पनि सुरक्षित तवरले गाउँदेखि राजधानी ल्याएको थियो । तर, शंका नै गर्नु नपर्ने सांसदहरुको भटाभट घाँटी र नाक ठाडो पार्दै र्‍याल निकालियो । त्यही १३ हजारको यन्त्र लगाएर सुरक्षित भएको घोषणा गरियो । 

Global Ime bank

एउटा मिडियाले समाचार लेखेन – उहाँहरुमा लक्षण देखा परेकाले परीक्षण गरिएको हो वा कुनै सांसदले आफूमा त्यस्तो शंका लागेको बताएका कारण परीक्षण गरिएको हो । बरु मैले सुने – अस्पतालका डाक्टर, नर्स संसद् सचिवालयमै पुगेर परीक्षण गरेका हुन् । नागरिकको उपचारमा खट्नु पर्ने यी स्वास्थ्यकर्मी आफ्नो दायित्व छाडेर आफैँ संसद् भवन पुगे । कहिल्यै पाइलो हाल्न नपाइने ठाउँमा पुग्नुको मज्जासँगै मेरा सांसदहरु सुरक्षित भएको प्रमाणपत्र दिएर फर्के । म, मेरा बा र भाइले तिरेको करबाट तलब खाने बिचरा सांसदसँग के हुनु र उनीहरुले विनाआशंका गरिएको परीक्षणको पैसा तिर्नु ? उनीहरुको परीक्षण निःशुल्क हुनुको कारण पनि मलाई थाहा छ । किनभने उनीहरु मजस्ता अनागरिक होइनन् र अनागरिक बनाइएका मजस्ताको विपत्तिमा चुइँक्क नबोलेर सरकारको सुरक्षा कवच बनेका ताबेदार हुन् ।

मेरी बहिनी सुत्केरी व्यथाले अस्पताल गइन् । गर्भावस्था नहुँदो हो त उनको अस्पताल जानुपर्ने कारण नै थिएन । जहाँ उपचार हुने विश्वासमा गइन्छ त्यहाँबाटै रोग सर्ने मेरो देशको अस्पताल ? उनलाई रोग सार्ने रहर थिएन । आफ्नो सन्तान सुरक्षित जन्मियोस् र आफू पनि सुरक्षित हुन पाइयोस् भन्नेमात्रै थियो । तर विडम्बना, मेरी बहिनी सुत्केरी हुनु उनको काल बन्यो । उपचार दिनुपर्ने अस्पताल रोग संक्रमणको खोर किन बन्यो भनेर कसैले प्रश्न गरेन । मेरी बहिनीको मृत्युपछि डाक्टर नर्स क्वारेन्टिनमा बस्नु परेको विषय चाहिँ समाचारका हेडलाइन बने । मेरी बहिनीले भलै सुन्नु परेन ।

उनको आत्माले शान्ति पाओस् । तर, मेरो सरकारले भन्यो – उनी कोरोनाले मरेकी कहाँ हुन् ? उस्तै उस्तै लक्षण देखिएछ, कोरोना भन्दिए । मर्नेहरु कोरोनाजस्तै लक्षणले मर्ने रहेछन्, कोरोनाका नाममा अर्बाैं रकम खर्चिनुको के अर्थ रहेछ ? अब के मेरो सरकारले आफू खुसी खर्च गर्न दिएको यो रकम बेरुजु हुने हो ? कुनै नागरिकलाई यो प्रश्न सोध्ने अधिकार छ भने सोधिदिनु होला । 

घाँटी र नाकका र्‍याल सिंगान जाँच्ने त्यो यन्त्रको १३ हजार पर्ने हो कि होइन ? यो प्रश्न गर्ने छुट मजस्ता अनागरिकलाई त कसरी होस् र मेरा बा र भाइलाई पनि छैन । किनभने यस्तो संकटका बेलामा सरकारले कसरी औषधि र उपकरण जोहो गरेको छ भनेर प्रशंसा गर्न छाडेर यो प्रश्न गर्नु अनागरिक हुने मेलो हो । मौकामा चौका नहान्ने के नेता ? के व्यापारी ? मह काढ्नेले हात चाट्ने छुट दिने नेपाली संस्कार नै हो । अनि यस्तो मौकामा काम दिनेमाथि प्रश्न गर्ने ? सांसद अपहरण गर्न सघाएबापत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त हुन पाउने योग्यता भएको देशमा रकम हिनामिनामा प्रश्न गर्ने म कस्तो नागरिक ? देश भित्रिएर यस्तो प्रश्न गर्न खोज्नेलाई मेरो सरकारले अनागरिक बनाउनु नै मप्रतिको न्याय हो कि ?

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC