सन् २०१९ को सेप्टेम्बरमा रिलिज भए पनि गत साता ‘नेटफ्लिक्स’ मार्फत् इन्टरनेटमा विश्वव्यापी रिलिज भएपछि स्पेनी सिनेमा ‘दि प्लेटफर्म’ ले धेरैको ध्यान तानेको छ ।
‘दि प्लेटफर्म’ नेटफ्लिक्समा यस्तो बेला रिलिज भएको छ, जतिबेला विश्व कोरोना भाइरससँग जुधिरहेको छ । ‘द न्युयोर्क टाइम्स’ ले यसलाई ‘दुर्घटनाबस मिलेको संयोग’ भनेको छ । महामारीसँग जुध्न नेपाललगायत विश्वका सबैजसो देशले लकडाउन गरेका छन् ।
पसल, कार्यालय, यातायात सबै बन्द गरेर मानिसलाई एकअर्कासँग दूरी कायम राख्न घरभित्रै बस्न भनिएको छ । कुनै औषधि पत्ता नलागेको यो रोगसँग लड्न लकडाउनलाई नै सर्वोत्तम उपाय मानिएको छ । मानिसले रोगसँग त ढिलोचाँडो विजय प्राप्त गर्ला, तर यसले विश्वभरि नै दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुको जीवन कष्टकर बनाउँदै गएका खबरहरु आइरहेका छन् ।
‘दि प्लेटफर्म’ सयौं तला अग्लो एउटा जेलको कथा हो । हरेक तलामा एउटा मात्र सानो कोठा छ, जहाँ दुईजना कैदीलाई राखिएको छ । बीचमा एउटा ठूलो खाली ठाउँ छ, त्यहीँबाट कैदीहरु आफूभन्दा माथि र तल्लो तलाका मान्छेलाई देख्न र तीसँग बोल्न सक्छन्, तर उनीहरुबीच संवाद विरलै हुने गर्छ ।
प्रत्येक दिन केही समयको लागि त्यो खाली ठाउँमा खाना भरिएको एउटा ठूलो तख्ता आउँछ जसलाई ‘प्लेटफर्म’ भनिन्छ । सबैभन्दा माथिल्लो तलाबाट प्रत्येक तलामा केही मिनेटको लागि रोकिँदै ‘प्लेटफर्म’ तल झर्छ । निश्चित समयभित्र माथिल्लो तलाका मान्छेले खान सक्ने जति खान्छन् अनि बचेको खाना क्रमशः तल झर्दै जान्छ । न कसैले खाना चोर्न सक्छ न लुकाउन नै । प्लेटफर्म जति तल जान्छ, खाना त्यही अनुपातमा सकिँदै जान्छ । अनि सुरु हुन्छ खानाको लागि युद्ध ।
तल्लो तलामा हुने कैदीहरु खान नपाएर एकअर्काको मासुसम्म खान्छन् । नियमअनुसार कैदीहरु प्रत्येक तलामा एक महिनासम्म रहनुपर्ने हुन्छ । महिना दिनपछि कि अझै तल झर्न सक्छन् वा माथि जान सक्छन् ।
एक महिनामा तल्लो तलामा रहेको कैदी माथिकाले केही खाना छोड्लान् भन्ने आशामा हुन्छन्, तर आफैं माथिल्लो तलामा पुग्दा भने अरुको लागि नसोची चाहिने भन्दा बढी खान उद्यत् हुन्छन् । एउटा डिग्री पाउने सर्तमा ६ महिनाको लागि जेलमा स्वेच्छाले आएको नवयुवक ‘गोरेङ’ ले त्यो व्यवस्थाको अन्त्य गर्ने प्रयास गर्छ । भनिन्छ, ‘यदि सबै तलाका कैदीहरुले आफूलाई चाहिने जति मात्र खाने हो भने प्लेटफर्ममा सबैभन्दा तल्लो तलासम्मको कैदीलाई पुग्ने खाना हुन्छ ।’ यो कुरा बुझेको गोरेङले अरु कैदीलाई बुझाउन प्रयास गर्छ । तर ऊ भन्दा तलकाले माने पनि ऊभन्दा माथिकाले आफूलाई चाहिए जति मात्र खाने कुरा स्वीकार्दैनन् । अर्को महिना १७२औं तलामा झरेपछि १७१औं तलाका कैदीहरुले चाहिने भन्दा बढी खाएकोले उनीहरुसम्म पुग्दा ‘प्लेटफर्म’मा खाली भाँडा मात्र हुन्छन् अनि गोरेङलाई पहिले मित्रवत् व्यवहार गरेको उसको रुममेट ‘ट्रामागासी’ले मारेर खान खोज्छ । तर आफ्नी छोरी खोज्दै हिँडेकी ‘मिहारु’ ले माथिल्लो तलाबाट आएर ‘ट्रामागासी’ लाई मारिदिन्छे र उसको मासु खाएर ऊ र गोरेङ बाँच्न सफल हुन्छन् ।
अर्को महिना छैटौं तलामा पुगेको ‘गोरेङ’ ले त्यहाँ आवश्यकताभन्दा बढी नखाने मात्रै होइन कि नयाँ रुममेट ‘बहारत’ सँग मिलेर प्लेटफर्ममा चढेर तल्लो तलासम्म पुग्ने र मान्छेहरुलाई आफ्नो आवश्यकताअनुसार मात्रै खान दिई सबैलाई समान रुपमा खाना वितरण गर्ने सल्लाह गर्छ ।
नेपाल पनि विगत आठ सातादेखि बन्द छ । यो पढिरहँदा आफैंलाई एउटा प्रश्न गर्नुहोस् त, देश ‘लकडाउन’ हुने भन्ने भएपछि कतिले आफूले प्रयोग गर्नेभन्दा बढी ग्यास सिलिन्डर लिएर आयौं ? कतिले चामल, नुनतेल र अन्य खाद्यान्न सामग्री आफ्नो परिवारलाई चाहिनेभन्दा बढी थुपा¥यौं ? आफूभन्दा पछि आउने व्यक्तिको आवश्यकता नहेरी स्यानिटाइजर र मास्क पाएजति किनेर कतिले लग्यौं ? बजारमा उल्लिखित सबै नभए पनि धेरै जसो सामानको अभाव हुन थालेबाट थाहा हुन्छ कि हामीमध्ये धेरैले आफ्नो आवश्यकता हेरेर हैन, साधन र स्रोतमा आफ्नो पहुँचअनुसार यी सामानहरु सकेसम्म बढी किनेर थुपार्यौं !
यो हाम्रो मात्र होइन, समग्र विश्वकै समस्या हो । महामारीको सङ्कटबीच पश्चिमा मुलुकहरुमा ट्वाइलेट पेपरको अभाव यसै भएको हैन । अहिले केही प्रष्ट रुपमा देखिएको जस्तो लागे पनि यो समस्या वर्गीय हो र यो धेरै पहिलेदेखि हामीबीच रहिआएको थियो । के हामी यो अवस्थाबाट माथि उठ्न सक्छौं ? के हामीसँग भएका सीमित स्रोतसाधन र हाम्रा असीमित चाहनाहरुबीच सामञ्जस्य कायम गर्दै समाजका तल्लो तहमा रहेको वर्गसम्म पहुँच स्थापित गर्न सक्छौ ? समस्याको यो दलदलबाट निस्कने उपाय हिंसात्मक हुन जरुरी छ वा परिवर्तन आपसेआप हुन्छ ? ‘दि प्लेटफर्म’ ले जेलमा रहेका कैदी र तिनलाई ‘प्लेटफर्म’ मा राखेर दिइने खानाको बिम्ब प्रयोग गरी यिनै प्रश्नको उत्तर खोज्ने प्रयास गरेको छ ।