मेलम्ची । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीको म्यादी जीवन बीमा गर्ने घोषणा गरेका छन् ।
कोरोना सङ्क्रमणका कारण नेपालमै पहिलो व्यक्तिको मृत्यु सिन्धुपाल्चोकमै भएका कारण यहाँ कार्यरत स्वास्थ्यकर्मी पनि असुरक्षित रहेकाले उनीहरुको बीमा गरिदिने घोषणा पूर्वमन्त्री बस्नेतले गरेको कांग्रेसका युवा नेता युधिर पौडेलले जानकारी दिए ।
बस्नेतले जिल्लाभर रहेका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकीमा कार्यरत चिकित्सकदेखि कार्यालय सहयोगीसम्मको सामूहिक म्यादी जीवन बीमा गरिदिने भएका हुन् । उनले केही दिनअघि कोरोनाका कारण मृत्यु भएकी सुत्केरीको नाबालक बच्चाको शिक्षा र लालनपालनको जिम्मा लिएका थिए । रासस