site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पुरानो सामान्यको प्रतीक्षा
Ghorahi CementGhorahi Cement

समय उस्तै रहन्न । पहिले अमेरिकामा मास्क लगाएर हिँड्ने कोरियन–चाइनिज जस्ता मानिसलाई अमेरिकामा कर्के नजरले हेरिन्थ्यो । अझ कपडाले नाकमुख छोपेर हिँड्यो भने पहिचान लुकाएर अपराध गर्ने मान्छेलाई जसरी शशङ्कित भएर हेरिन्थ्यो । तर अहिले मास्क भाइरस छेक्ने ढाल वा कवच भएको छ । सार्वजनकि स्थानमा जाँदा मास्क छैन भने नाकमुख छोप्ने कपडा वा त्यस्तै केहीले छोप्न सल्लाह दिइन्छ । अमेरिकाका व्यस्त स्थानहरुमा पहिले मास्क लगाएर मान्छे हिँडेको दृश्य दुर्लभ थियो । तर अहिले त्यस्ता स्थानमा मास्कबिना कोही हिँडेको छ भने प्रहरीले सचेत गराउनेदेखि लिएर स्थानीय प्रशासनको नियमअनुसार जरिवाना पनि गराउन सक्छ । 

भन्नलाई नयाँ सामान्य अर्थात् ‘न्यू नर्मल’ भन्छन् तर म यसलाई नयाँ असामान्य वा ‘न्यू याब्नर्मल’ भन्न चाहन्छु । दैनिकीमा नयाँ बानी थोपर्नै पर्ने भएकोले यसलाई नयाँको जलप लगाइएको होला । हुन त न्यू नर्मल भन्ने शब्द विश्वमा पहिलो पटक प्रयोग भएको होइन । अमेरिकामा सन् २००७–२००८को वित्तीय सङ्कट र २००८ देखि २०१२को विश्वव्यापी आर्थिक मन्दीपछि पनि न्यू नर्मल भन्ने शब्दको प्रयोग भएको थियो । त्यतिबेला नयाँ सामान्यको प्रयोग आर्थिक परिस्थितिमा भएको थियो भने अहिले कोरोना भाइरसले निम्त्याएको मानवस्वास्थ्यको सङ्कटसँग लड्ने दैनन्दिनी रणनीतिमा नयाँ सामान्य अर्थात न्यू नर्मलको प्रयोग भएको छ । 

अहिले कोरोना भाइरसको महाव्याधिसँगै यो नयाँ सामान्य निकै सकसपूर्ण छ, खासगरी हवाईयात्राको लागि । अमेरिकाको धेरै राज्यहरुमा नयाँ सामान्य सुरु हुनुभन्दा अगाडि नै मे महिनाको दोस्रो सातामा मैले एउटा हवाईयात्रा गरेको थिएँ । त्यो यात्राको क्रममा अनुभूत र अवलोकन गरेका कुराहरु यो आलेखमा पोख्ने प्रयासमा छु म । एउटा अत्यावश्यकीय कामको सिलसिलामा म उत्तरपूर्वी अमेरिकाको बस्टनबाट मध्यअमेरिकी भाग ओमाहा नेब्रास्का जानुपर्ने थियो । कोभिडको आपत्कालीन अवस्थामा निर्देशित हतियार– व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र अत्यावश्यकीय कामको प्रकृतिलाई प्रमाणित गर्ने कागजातको खोजी भएको खण्डमा एटोर्नी जनरलको पत्र पनि गोजीमा राखेको थिएँ । पीपीई भन्ने एब्रिभिएडेट शब्दजोडले जटिल बनाइए पनि त्यसमा खास मास्क, आँखा ढाक्ने चस्मा, पञ्जा र स्यानिटाइजर थिए । 

Agni Group

केही पनि सामान्य थिएन । घरबाट हिँड्दादेखि गन्तव्य नपुगुञ्जेल र गन्तव्यबाट आफ्नो घर नफर्किउञ्जेलको अनुभूति असाध्यै असामान्य थियो, नयाँ सामान्यको पूर्वसन्ध्यामा । मलाई लाग्छ, यो नयाँ सामान्य धेरैका लागि झञ्झटिलो र कष्टकर नै हुनेछ । तर नयाँ सामान्यमा अवलम्बन गर्नुपर्ने नियमले कोरोना भाइरसको फैलावटलाई न्यूनीकरण गर्न सहयोग पुग्छ । मुख र नाक छोपिने गरी लगाइएको मास्कले तपाईंको नाकसम्म जाने भाइरसको नैसर्गिक गुणधर्मलाई बाधा पुर्याउँछ । यसरी तपाईं भाइरससँग लड्नु हुनेछ । युद्धको प्रतिकार प्रतियुद्धले मात्र हुँदैन वा प्रहारले मात्र हुँदैन । ब्लक वा छेकबार पनि युद्धको राम्रो रणनीति हो भन्ने कुरा विश्वले अहिले अभ्यास गरिरहेको छ, कम्तीमा भ्याक्सिन पत्ता नलागुञ्जेल वा नयाँ औषधि पत्ता नलागुञ्जेल । 

बिहानै ६ः३० को फ्लाइट थियो युनाइटेड एयरबाट । एक घण्टाअघि बस्टन लोगन एयरपोर्ट पुग्न उबर मगाउन खोजेँ । मलाई एयरपोर्टसम्म लैजाने चालक म बसेको ठाउँमा आइपुग्न २२ मिनेट लाग्ने देखायो । त्यति टाढाबाट त्यो उबर चालक आउला जस्तो लागेन र त्यसलाई रद्द गरेर फेरि अर्को चालकलाई अनुरोध गरँे । भाग्यवश, आठ मिनेटको दूरिबाट ऊ आउने देखायो एपले । उबर चालक राउलले मास्क लाएका छन् । आफू जाने एयरपार्ट टर्मिनल बी गन्तव्य भन्दै गाडीभित्र छिर्छु । सामान्यतया उबर वा ट्याक्सीमा चढ्दा चालक फरासिला देखिए बोली साट्न मन लाग्छ मलाई चालकको मुड हेरिकन । तर नयाँ नर्मलको पूर्वसन्ध्यामा चढेको त्यो उबर गाडीभित्र चालकसँग बोलूँ जस्तो लागेन । सङ्क्रमित भए–नभएको थाहा नभएका ती अपरिचित चालकले बोल्दाबोल्दै मास्कभित्रबाट भाइरस उम्किने पो हो कि ? अथवा मैले बोल्दा उबरचालक त्यस्तै गरेर भाइरस फुत्कने हो कि भनेर डराउने पो हो कि ! त्यसैले आवश्यक परेको कुरा मात्र गर्नु ठीक छ । 

Global Ime bank

टर्मिनल बीको स्टपमा ओर्लेर जसै एयरपोर्टभित्र जान्छु, एयरपोर्ट त सुनसान छ ! एयरपार्ट सेक्युरिटीसम्म पुग्न कत्ति पनि लाइन थिएन । सरासर बोर्डिङ पास र आईडी देखाएर ब्याकप्याक चेक गराउँछु । कोभिड– १९ अघिका समयमा सोमबार बिहान यात्रुहरुको लामो लाइन हुन्थ्यो टीएसएका बुथमा, तर मेरो अघिल्तिर एकजना मात्र यात्रु थिए । उबरले ड्रप गरिदिएको ३ मिनेटभित्रै म टर्मिलन गेटमा पुगिसकेको थिएँ । टर्मिनल गेटको सिसाबाट धावनमार्गको पर क्षितिजमा रक्तिम सूर्य उदाउँदै थियो । सूर्योदयलाई हेर्दा पहिले जस्तो उत्साह थिएन । बन्दको परिस्थितिमा हरेक दिन उदाउने सूर्यले फेरि अर्को घाटाका अङ्क थुपारिदिन्छन् । हरेक नयाँ सूर्योदयले फेरि थुप्रै मृत शरिरको तथ्याङ्क चुलाइदिन्छन् !   

बोर्डिङ हुनका लागि प्रतीक्षारत यात्रुहरु सामाजिक दूरि कायम गर्दै समय कटाउँदै थिए । विमान चढ्ने बेला भएको छ । दूरि कायम गर्दै लाइन लागेर यात्रुलाई भित्र लैजाने अनाउन्समेन्ट हुन्छ । अनाउन्समेन्टमा महिला स्वरले भन्छ, यदि तपाईंको मास्क वा अनुहार ढाक्ने कुरा छैन भने हामीलाई भन्नुहोला । एयरपोर्टमा होस् वा विमानभित्र मास्क लगाउनु अनिवार्य छ । कोभिड– १९ महाव्याधिका कारण हामी कुनै खाना र कफी उपलब्ध गराउने छैनौं । यात्रुको सङ्ख्या र प्लेनको साइज हेर्दा यस्तो लाग्थ्यो, यो विमान जम्मा २० देखि २५ प्रतिशत मात्र भरिएको छ । प्लेनको मात्र के कुरा कोभिड– १९ का कारण विमानस्थलमा आवतजावत गर्ने यात्रुको संख्या पनि उल्लेखनीय रुपमा घटेको समाचारहरु आएका छन् । विमानभित्र पनि सामाजिक दूरि कायम गरेर उडान भरिएको थियो । अघिल्लो सिटको विन्डोतर्फको सिटमा यात्रु बसेका छन् भने पछिल्लो सिटको आइलतिरको साइडमा अर्को यात्रु राखिएको थियो । त्यसैगरी अघिल्ला तीनवटै रो हरु खाली राखिएका थिए । सायद धेरै पटक डिसइन्फेक्टेन्टले सफा गरिएकैले होला सिट चम्किलो देखिएको थियो । सिटअगाडिको पकेटमा विमानका म्यागजिनहरु राखिएका हुन्थे पहिले, अहिले हटाएछन् । खाली दुई पानाको सेफ्टी इन्फरमेसन मात्र राखिएको छ । सम्भावित सङ्क्रमित यात्रुले छुन सक्ने र त्यही म्यागजिन अर्को यात्रुले चलाउँदा सर्न सक्ने सम्भावनालाई कम गर्न त्यो म्यागजिन हटाइएको हुनुपर्छ । 

स्टारबक्सको कफी नखाएको झण्डै डेढ महिना भएको थियो । सिकागोको ओ हेयर एयरपोर्ट ट्रान्जिटमा एउटा स्टारबक्स स्टोर खुल्लै रहेछ । एयरपोर्टका अरु धेरै रेस्टुरेन्ट, फास्टफुड र कफी पसलहरु बन्द थिए । सामान्य जनजीवनका बेला मान्छे कुर्सीमा बस्छ, टेबलमा खाना हुन्छन् वा कफी । अनि मान्छेले टेबलमा कुहिना अड्याएर बस्छन् । तर ठाउँठाउँमा बन्द रेस्टुरेन्ट अगाडिका टेबलहरुले घोप्टिएका कुर्सीलाई झेलिरहेको थियो । पूरानो सामान्यमा अभ्यस्त यी आँखालाई त्यो दृश्य टिठ लाग्दो थियो । उल्टिएको कुर्सी र चकमन्न एयरपोर्टले एउटै कुराको सङ्केत गरिरहेको थियो, जनजीवन र अर्थतन्त्रका कहालीलाग्दा क्षण । 

यो असामान्य वास्तविकतामा पुरानो सामान्य वा ओल्ड नर्मल धेरै मिस भइरहेको थियो । ओल्ड नर्मलका ती दृश्यहरु चल्दै गर्दा मनमा असङ्ख्य योजना र विचारहरु सल्बलाउँदथे । तर अचेल हरक्षण मलाई मात्र होइन प्रायः सबैलाई एउटै प्रश्नले गाँजिरहन्छ । एक्लै हुँदा होस् कि टेलिसंवाद गर्दा अथवा दूरि कायम गर्दै भेट्दा नै किन नहोस् । कहिले हामी पुरानो सामान्यमा फर्कौंला ? कम्तीमा अहिलेको समयमा यो खर्बौं डलरको प्रश्न हो । कोरोना भाइरसले अभिशप्त विश्व यो प्रश्नको उत्तर अधीरताका साथ खोज्दैछ । विभिन्न फर्मास्युटिकल कम्पनीले औषधि तथा भ्याक्सिन पत्ता लगाएको र तिनको परीक्षण भइरहेको समाचारहरु आइरहेका छन् । अनि फेरि अर्को प्रश्न आउँछ, कहिले ती भ्याक्सिनहरु विश्वमा समान रुपले वितरण होलान् ? र, फेरि पुरानो सामान्यमा बेफिक्री फर्कन सकिएला ! 

त्यसै पनि कम भीडभाड हुने नेब्रास्काको ओमाहा सहर कोभिड– १९ को असरले सुनसान थियो । सुनसान सहर बादल लागेको त्यो दिन झन् नरमाइलो देखिएको थियो । रेस्ट्रेन्ट र फास्टफुडहरुले डेलिभरी र टेकआउट मात्र सञ्चालन गरिरहेका थिए । प्रायः रेस्टुरेन्टहरुले त्यहीँ बसेर खान मिल्ने सेवालाई बन्द गरेका थिए ।

फर्किने क्रममा सिकागोकै अर्को एयरपोर्ट मिडवे अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट थियो । एयरपोर्ट टर्मिनलका बन्द पसल र रित्तो एयरपार्टबाट गुज्रिँदै गर्दा यस्तो लाग्थ्यो, म कुनै खुल्न बाँकी रहेको प्रदर्शनी हलभित्र हिँडिरहेछु । अलिअलि मानिस त थिए, तर मास्क लगाएर टाढाटाढा बसिरहेका । प्लेनको ढोकाबाट कुद्दै अर्को गन्तव्यको लागि गेटमा जान हतारिने यात्रुहरु थिएनन् । उडेर आआफ्ना गन्तव्य पुग्न लामबद्ध यात्रुहरुको शान्त लस्कर थिएन । अनि रेस्टरुम पनि खालीखाली थियो ।  

साउथवेस्ट एयरको प्लेनबाट बस्टनमा ओर्लेपछि घर फर्किन उबर चढ्ने ठाउँमा गई राइड मगाउन खोजेँ । तर एपले कुनै कार उपलब्ध छैन भन्ने जानकारी डिस्प्ले ग¥यो । त्यसपछि फेरि हिँडेर ट्याक्सी पाइने स्थानसम्म पुगेँ । त्यहाँ त ट्याक्सी त परै जाओस् कुनै गाडी पनि थिएनन् । अनि त्यहाँ काम गर्ने कर्मचारी जस्तो देखिने एक व्यक्तिलाई ट्याक्सीको बारेमा सोध्दा उसले ट्याक्सीहरु एयरपोर्टमा पाइन छोडेको हप्तौं भएको बतायो । त्यसपछि सार्वजनिक यातायात लिनुको विकल्प भएन घरसम्म जानको लागि । संसार र दैनिकी जसरी चल्ने गरेका थिए त्यसरी चल्न बन्द हुँदा पनि एउटा छुट्टै किसिमको पीडा हुने रहेछ । त्यो दिन मैले त्यस्तै पीडा महसुस गरेँ । दिउँसोको १२ बजे एकैछिनका लागि एउटै मान्छे र एउटै गाडी पनि देखिएनन् म प्रतीक्षारत सडकमा । करिबकरिब निर्जन नै देखियो त्यो स्थान । अन्ततः सिल्भरलाइनको बसबाट साउथ स्टेसन उत्रेपछि बस्टनको रेडलाइन रेल चढेर आफ्नो बासस्थानका लागि सोझिएँ ।

सूचना प्रविधिले विछ्याएको तरङ्गका मार्ग र ग्लोबलाइजेसनका अवधारणालाई दशकौं लागेको हो विश्वलाई ग्लोबल भिलेज बनाउन । त्यही विषयमा द न्यूयोर्क टाइम्सका चर्चित स्तम्भकार तथा लेखक राजनीतिक विश्लेषक टमस एल फ्राइडम्यानले ‘वल्र्ड इज फ्ल्याट’ नामक पुस्तक लेखे । तर कोरोना भाइससले पनि आधुनिक संरचनामा बगेर ६ महिनामै विश्वलाई फ्ल्याट अर्थात् सम्म बनाइदियो– प्रायः सबै देशमा फैलिएर, विश्वव्यापी रुपमा मानवीय क्षति पुर्याउँदै अर्थतन्त्रलाई धरासायी बनाएर । 

हो, समय उस्तै नहोस् । अदृश्य शत्रु कोरोना भाइरससँग नडराइकन फेरि निस्फिक्री र निर्धक्क भएर हिँड्ने समय आओस् । त्यही प्यारो पुरानो सामान्य । 


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  ०९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC