site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सरोगेट मदर
Sarbottam CementSarbottam Cement

आज छोरोको न्वारन हुँदै छ । धार्मिक परम्पराअनुसार होमादी  पूजासँगै टपरीमा एकमाना चामल र एक सय रुपियाँ दक्षिणा राखेर पण्डितले रातो चन्दनले पीपलको पातमा नाम लेख्ने तयारी गर्दै छन् । पण्डितले पातमा लेख्दै बाबुलाई सोधे,  “तपाईंको नाम ?” 

बाबुले उत्तर फर्काए “डा.कोभिड ।” 

अनि श्रीमतीको नाम ?

Prabhu Bank
Agni Group
NIC Asia

“कोरोना ।”

“छोरा कुम्भ राशि सतभिषा नक्षत्रमा जन्मिएकाले नाम सबाट राख्नुपर्ने देखियो ।”

Global Ime bank

कोरोना फ्याट्ट बोली, “त्यसो हो भने सङ्क्रमण राखौं ।” पण्डितले छोरा लिएर आउन आदेश दिए । कोरोना काखमा छोरो च्यापेर पूजा भइरहेको ठाँउमा पुगी । पण्डितले छोराको दाहिने कानमा नाम लेखेको पीपलको पातले छुँदै नाम सुनाउँदै तीन पटक फुके । 

म भने आफ्नै छोरालाई कोरोनाले आमा बनेर नाम आफैं तोक्दै हातमा लिएर नाम सुनाउँदा पनि दुई कोठा पर बसेर सबै परिदृश्य हेरिरहन विवश छु । मन भक्कानिन्छ, तर केही बोल्न सक्दिनँ । गहभरि आँसु आउँछ । आमाको ममता छचल्किन्छ । तर केही गर्न सक्ने अवस्थामा छैन । एक मन त लाग्छ, कोरोना यो छोरा तिम्रो हैन मेरो हो भनेर खोसेरै लिऊँ । तर त्यो सम्भव पनि त छैन । 

हुन त छोरा जन्मिएकै दिन मैले त्यो छोरा जिम्मा लगाएर जानुपर्ने हो । तर सुत्केरीको पोषणयुक्त खुराककै लागि मलाई १५ दिन घरमै राखेर स्याहार गर्ने डा.कोभिडको सदाशयले  यो घरमा फर्किएकी हँु । हुन त यो घर मेरा लागि नौलो हैन । म विगत १० महिनादेखि बस्दै पनि आएकी छु । गर्भवती भएदेखि नै म यही घरमै छु । १० महिना पेटमा राखेर जन्माएको छोरा कोरोनालाई सुम्पिएर चार दिनपछि त म पनि मेरै घर जानुपर्ने बाध्यता छ । छोराको पनि त हस्पिटलदेखि नै उसको आमाको नाममा कोरोना राखेरै बर्थ सर्टिफिकेट बनाइएको छ । 

न्वारन सकियो । पण्डित गए । आगन्तुकहरु सबैको नजरमा कोरोना आमा बनी । अस्पतालबाट छोरा घर ल्याउँदा पनि ऊ नै सुत्केरी भए जसरी नै आफैं बच्चा च्यापेर आएकी हो । म भने डा.कोभिडसँग सुटुक्क घरमा आएँ । उसले मलाई  कोठाभित्र लुकाएर राख्यो । मैले मेरो बाचा पूरा गरेँ । 

सुत्केरी भएको आज चौधौं दिन । म पनि कोभिडका परिवारले दिएको मायाममता र स्याहारबाट तङ्गिँ्रदै छु । भोलिबाट म यो घर छाडेर जानुपर्ने छ । छोरा पनि त कोरोनालाई नै जिम्मा लगाएर जाने हो । आफूले १० महिनासम्म पेटमा हुर्काएको सन्तान छाडेर जान त मेरो मनले पनि सहजै कहाँ मानेको छ र ! तर पनि छोड्नै पर्ने अवस्था छ । बिछ्याउनामा यसो पल्टिएको विगतका स्मृतिहरु एकपछि अर्को नजर वरपर दोहोरिन थाले ।  

मेरो पनि आफ्नै परिवार छ । श्रीमानको शिक्षण पेसा । अस्थायी नै भए पनि जीविकोपार्जनको एउटै विकल्प यही त हो । जसोतसो घर चलेकै थियो । नजिकैका छिमेकी हामी कलेज पनि सँगै पढ्यौं । एकले अर्कालाई मन पराउने अनि सामाजिक स्तर र जातसमेत मिल्ने भएपछि पारिवारिक सहमतिमै हामी वैवाहिक बन्धनमा बाँधिएका थियौं ।

घरमा वृद्ध सासूससुरा अनि हामी दुई गरि चार जना मात्रैको हाम्रो परिवार गरिब भए पनि खुसी नै थियो । पढाइ सकेसँगै उनले अस्थायी नै भए पनि जागिर पाए । उनको सानोतिनो जागिर भएपछि म खाली पनि भएपछि सन्तान प्राप्तिको योजनामा थियौं हामी । यस्तै अवस्थामा हाम्रो परिवारमाथि ठूलो वज्रपात भयो । अचानक उनी बिरामी परे । एकदुई दिन हल्का ज्वरो आयो । त्यसको केही दिनपछि पूरै शरीर सुन्निन थाल्यो । हस्याङफस्याङ गर्दै नजिकको अस्पताल पुर्याइयो । 

बिरामीहरुको अत्यासलाग्दो भीडका बीच घण्टौंको लाममा बसेपछि बल्लतल्ल टिकट काटियो । अब पालोको पर्खाइमा । एकजना डाक्टरले सयौं बिरामीलाई हेर्नुपर्ने । कहिले सुध्रने होला स्वास्थ्य क्षेत्रको अवस्था ? मन आत्तिएको छ । उता बिरामीको पीडा उस्तै । 

चिकित्सकले जँचे । अनि प्रेस्क्रिप्सनमा रक्त परीक्षणदेखि एक्सरे, भिडियो एक्सरे सबै लेखे । चिकित्सकको सल्लाहअनुसार सबै परीक्षण पनि भयो । रिपोर्ट देखाउन म चिकित्सककोमा पुगेँ  । चिकित्सकले सबै रिपोर्ट हेरेरपछि भने, “हेर्नुस्  तपाईंको श्रीमान्को मिर्गौलाले काम गरेको छैन । दुवै मिर्गौला काम गर्न नसक्ने भइसकेछ । फेर्नुको विकल्प छैन ।”

चिकित्सकको कुराले म छाँगाबाट खसेझैं भएँ । मेरा हातखुट्टै लरबराए । आँखा तिर्मिराए । के गरौं, कसो गरौं भएँ । थचक्क भुँइमा बसेँ । मलाई पत्तै भएन म त बेहोस भएछु । केही छिनपछि होसमा आउँदा मैले आफूलाई अस्पतालकै कोठामा लडिरहेको अवस्थामा पाएँ । 

घरको कमजोर आर्थिक अवस्था, त्यसमाथि वृद्ध सासूससुराको जिम्मेवारी अनि बिरामीको उपचार खर्च अब कसरी थेग्ने ? बिरामी भएपछि जागिरको पनि के ठेगान भयो र ! आखिर अस्थायी न हो । अब यो सब... केले  श्रीमान्को मिर्गौला फेर्ने ? म द्विविधामा परेँ । उपचार नगरौं पनि भरखरकै उमेरमा आँखै अगाडि यो दुर्दशाको कसरी टुलुटुलु हेरेर बस्न सकूँ  ? उपचार गरौं, महङ्गो उपचार कसरी थेगौं ? यत्रो खर्च कहाँबाट जुटाउनु ? 

तत्काल उनलाई डायलाइसिस गरेर घर लगेँ । यसले केही दिन त ठीक बनायो । उसलाई सबै कुरा बताएर दुःखी बनाउन चाहिनँ । बूढा भएका बाबुआमालाई बताएर पीडा किन दिनु, जे छ आफैं सहन्छु भन्ने ठानेँ । 

आफ्नो मिर्गौला मिले त हुन्थ्यो । नमिले फेरि कहाँ खोज्ने ? त्यति मात्र भएर कहाँ भयो र ! प्रत्यारोपणको खर्च कसरी जोहो गर्ने ? वेचैनी भयो । तर उनलाई जसरी पनि बचाउने अठोट मैले गरेँ । तर कसरी त्यो भने आफंै अनभिज्ञ थिएँ । 

उपचार गर्न पैसाको जोहोका लागि मैले धेरै आफन्तसँग गुहार मागेँ, तर कतैबाट सरसहयोग पाउन सकिनँ । सम्पत्ति भएकै  कति साथीभाइसँग अनुनय विनय गरेँ तर सुनेनन् ।  म हार खाएर घर फर्किएँ । 

एकातिर श्रीमान् मृत्युशैयामा छटपटिरहेका छन्, अर्कातिर वृद्ध सासूससुरा पाल्नुपर्ने अवस्था छ । धेरै पीडा भयो मलाई । आफैंले आफंैलाई यति बेला कमजोर ठानिरहेको छु ।  

कस्तो छ हाम्रो समाज ? के गरिबले आफ्नो जीवन बाँच्न नपाउने ? यस्तैयस्तै धेरै प्रश्नहरु उठे तर त्यसै हराउँदै गएँ । 
...

आज म शिक्षण अस्पतालमा छु । श्रीमान्को मिर्गौला कसरी फेर्न सकिन्छ भनेर चिकित्सकसँग सल्लाह गर्दै छु । मैले श्रीमान्का लागि आफू मिर्गौला दान गर्न तयार भएको तर प्रत्यारोपण खर्च नभएको गुनासो गरेँ । उनले मिर्गौला प्रत्यारोपण गराउन कम्तीमा पनि १० लाख रुपियाँ लाग्ने बताए । त्यो तत्काल सम्भव पनि थिएन । 

“हेर्नुस् तपाईं आफ्नो श्रीमान्लाई बचाउन चाहनुहुन्छ ?” चिकित्सकले बोले । 

मैले जिज्ञासु हँुदै भने, “हजुर डाक्टर सा’ब ।”

“त्यसो हो भने तपाईंले एउटा काम गर्नुभयो भने त्यो सम्भव देख्छु म ।”

“के डाक्टर सा’ब ?” उत्साहका साथ सोधेँ मैले ।

“तपाईंले अर्काका लागि कोख बेच्नुपर्ने छ ।”

डाक्टरको कुरा मैले तत्कालै बुझिनँ । “कोख बेच्नु पर्ने ! के हो यो भनेको ?” मेरो मनमा कौतूहलता थपियो । श्रीमान्को उपचार हुनेमा केही खुसी जागेको मन चिकित्सकको कुराले निराश बनायो । मैले फेरि सोधेँ, “डाक्टर सा’ब कोख बेच्ने भनेको के हो ?”

चिकित्सकले सम्झाउँदै भने, “हेर्नुस् यो हाम्रो देशमा मात्रै नौलो हो । विश्वका ठूल्ठूला देशमा प्रचलनमा छ । अरुकै गर्भ बोकेर बच्चा जन्माएर उसैलाई छाडिदिने कामलाई चिकित्सकीय भाषामा यसलाई ‘सरोगेट मदर’ भन्छन्  । यति गर्न सक्नु भयो  भने तपाईंको समस्या सुल्झिन्छ नि ।”

मलाई त्यो डाक्टरदेखि रिस उठेर आयो । कति सजिलै... ! कुनै नारी आफ्नो अस्मिता त्यति सजिलै कसैलाई सुम्पन तयार कसरी हुन सक्छे ? कुरा सुनेर ठाडै अस्वीकार गरेँ । हुन त अस्वीकृति मेरो समस्या समाधान थिएन । डाक्टर अलिकति हच्किए पनि । वातावरणलाई सहज बनाउने प्रयास गर्दै उनले भने, “तपाईंको समस्या समाधानका लागि एक उपाय बताएको मात्र...।” मेरो मुखबाट कुनै जवाफ आएन । म त्यहाँबाट बाहिरिएँ । घर कसरी आइपुगेँ पत्तो भएन । सोचेँ श्रीमान्लाई बचाउने उपाय के त ? तत्कालै यतिको ठूलो रकम कसरी जुटाउने ? कुनै उपाय पनि त छैन । 

साँझ खाना खाई सुत्ने बेलामा सोचेँ, हाम्रो समाजमा चिकित्सकले भनेजस्तै अर्कैको गर्भ बोकेर सन्तान दिने काम सम्भव छ र ? परिवारले यो कुरा सुने भने ? एक स्वाभिमानी श्रीमान्ले यस्तो कुरा कसरी स्वीकार्न सक्छ ? 

बिछ्यौनामा पल्टिएँ । अर्को बिछ्यौनामा श्रीमान् सुतिरहेका थिए । एक निरीह प्राणीजस्तै लाचार, युद्ध हारेर पराइको छाउनीमा बन्धक सिपाहीजस्तै देखिरहेथेँ म उसलाई त्यतिबेला । औषधिले र पेनकिलरले कतिञ्जेल धान्न सक्थ्यो र उसलाई... पूरै शरीर सुन्निएकै छ । बिस्तारै उसको अनुहारमा नजर पु¥याएँ । कति  मयालु छ अबोधपन डुलिरहेको छ उसको अनुहारमा... केटाकेटीको जस्तै ! हुन पनि मलाई उसको सबैभन्दा मन पर्ने चिज नै उसको स्वाभिमान हो । तर आज उसको त्यही स्वाभिमानले किन उसलाई नै गिज्याइरहेको छ त्यो पनि पराजयको अन्तिम बिन्दुबाट...? अँह म उसको हारको कारक बन्न चाहन्नँ... बरु मृत्यु स्वीकार गर्छु । के यसबाट उसले जित्छ त ! अँह कदापि जित्दैन... बरु बेच एक गर्भ बेचेर जीवन रक्षा हुन्छ भने । खनौंला नयाँ बाटाहरु यदि पदयात्राका लागि सबल बन्छन् भने पथको के फिक्री रह्यो र ! 

म रक्तअल्पताले सिकिस्त हुँदा रगत दिएर बचाउने पनि त उही हो नि । आखिर हाम्रो सामीप्यको क्षण पनि त यही हो । उसको अनुहारले यतिबेला जीवन रक्षाको याचना गरिरहेको छ । मैले मेरै सिन्दुरको रक्षाका लागि पनि त एक युद्ध हारेरै भए पनि अर्को युद्ध जित्नुपर्छ । 

जुनसुकै अवस्था सहेर भए पनि मैले मेरो श्रीमान्को जीवन रक्षा गर्ने निधो गरेँ । डा. श्रीव आफ्नै चेम्बरमा बसिरहेका थिए । म उनलाई भेट्न त्यहीँ पुगेँ । 

“डाक्टर सा’ब तपाईंले भनेको प्रस्ताव मान्न म तयार छु, तर मेरो पनि सर्त छ ।” 

“के सर्त ?” डाक्टरले दुई दिनअघिको कुरा बिर्सिएछन् क्यारे प्रश्न गरे । अनि मैले उत्तर फर्काएँ, “त्यै के डाक्टर सा‘ब सरोगेट मदर बन्ने कुरा ।”

“ए हो... सुनौं न त तपाईंको सर्त । ”

“पहिला उपचार अनिमात्र सरोगेट मदरको प्रोसेसमा लाग्ने मेरो सर्त ।”

“ए ल... म डा.कोभिडसँग कुरा गरेर तपाईंलाई खबर गरौंला ।” उसको जबाफ थियो ।

डा.श्रीवको फोन आयो । यसपटक डा.कोभिडसँग पनि परिचय भयो । शिक्षण अस्पतालका स्त्रीरोग विशेषज्ञ डा.कोभिडको परिवारमा सब सुख छ । कयौं निःसन्तान दम्पत्तिलाई सन्तानको सुख प्राप्तिका लागि उनको उपचार विधि सफल बन्यो । तर आफ्नै दाम्पत्य जीवनमा उनले सन्तान सुख दिन सकेनन् । लामो समयदेखि वैवाहिक सम्बन्धमा रहे पनि सन्तान हुन सकेको छैन । उनले आफूले सिकेको जानेको सबै विधि र पद्धति अपनाए पनि उनी आफैंमा सफल हुन भने सकेनन् । अन्ततः आफ्नी श्रीमतीबाट सन्तान सम्भव नभएपछि उनका दम्पत्ति सरोगेट विधिबाट नै सन्तान प्राप्तिको उपायतिर आकर्षित भएको पनि मैले थाहा पाएँ ।

डा.श्रीवले मलाई विश्वास दिलाउँदै भने, “तपाईंको सानो सहयोगले उहाँको पनि सन्तानको रहर पूरा हुने अनि बाबु बन्ने सपना साकार बन्न सक्छ, अनि तपाईंको श्रीमान्को उपचार खर्चको पनि चिन्ता लिनु परेन, भएन त दुवै हातमा लड्डु ।’’  

डाक्टर श्रीवको कुरा सुनेपछि केही नबोले पनि मैले नचाहेरै हाँसेको ओठे हाँसो हाँसिदिएकी थिएँ । त्यो म अहिले पनि सम्झिरहेकी छु । 

डा.कोभिड भन्छन्, “सरोगेट मदरले दुई तरिकाबाट सन्तान जन्माउँछन् । पहिलो फिजिकल रिलेसनबाटै, दोस्रो चिकित्सकीय विज्ञानबाट । त्यो कुन प्रक्रिया अपनाउने त्यो हामी आपसी समझदारीबाट अपनाउन सक्छौं ।”

तर पनि पहिलो विधि नै सजिलो र हामी दुवैका लागि उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ । त्यसका लागि जसको बच्चा जन्माउने हो उसैसँग बस्नुपर्छ । 

चिकित्सकहरुसँगको यो संवादपछि पहिला श्रीमान्को मिर्गौला प्रत्यारोपण गराउन आवश्यक सबै आर्थिक सहयोग गर्न डा.कोभिड तयार भए । म पनि मिर्गौला प्रत्यारोपणपछिको एक महिनापछि उनैको घरमा बसेर उनको सन्तान जन्माउन तयार भएँ । 

अस्पतालमा श्रीमान्को मिर्गौला प्रत्यारोपण पूरा भयो । खर्चको व्यवस्थाका लागि मलाई कुनै चिन्ता परेन । अस्पतालमा लाग्ने सम्पूर्ण खर्च डा.कोभिडले गरे । मिर्गौला भने नन्दले आफ्नो दाइलाई दिइन् । श्रीमान्को पुनर्जीवनमा सहयोग गर्नेप्रति म आभारी हुनु स्वाभाविक थियो । यसमा म धेरै खुसी छु । हर्षका आँसु थामिएका छैनन् । अहिले दुवै जना स्वस्थ भएर घर आइसकेका छन् । मलाई भने कुन बहाना बनाएर घरदेखि एक वर्षका लागि बाहिर बस्ने हो भन्ने कुराले सताएको छ । मैले श्रीमान्लाई भने, “अब तपाईंको मिर्गौला प्रत्यारोपण गर्दा पनि धेरै खर्च भएको छ । अब म डेढदुई वर्ष विदेश गएर कमाउँछु ।”

श्रीमान्ले सुरुमा त मानेनन् । नमान्नुमा उनको कुनै स्वार्थ थिएन । थियो त केवल मप्रतिको माया । सधैं मायामात्रै गरिरहन पाइन्छ र ? विवशता, बाध्यता अनि जीवन भोगाइका अनगिन्ती पीडाहरुले मानव जीवनलाई लखेटिरहेका हुन्छन् नै । अझ निम्नमध्यम वर्गीय जीवन भोगाइमा पाइने दुःखको हिसबकिताब गरेर साध्य नै कहाँ छ र ! परिवारको ऋण, जीविकोपार्जनका भावी दिन, बाध्यताले नै जन्माएका मेरा कर र उनकै उपचारको कहरले उनको अडानलाई लामो समय टिक्न दिएन । विदेश जाने बहानामा म घर छोडेर डा.कोभिडसँगको सर्तअनुसार उसकहाँ पुगेँ । विदेश जान्छु भनेर घरबाट निस्कँदा पनि कम्ता तनाव भएन मलाई । सबका आँखा छलेर हिँड्नुप¥यो । कोभिडले आफ्नो श्रीमती कोरोनासँग परिचय गरायो । 

ऊ आपैmं चिकित्सक भएकाले पनि मेरो महिनावारीदेखि सबै उसले बुझेकै थियो । महिनावारी भएको १०औं दिन गर्भ रहनका लागि उत्तम दिनका रुपमा मानिन्छ । रुटिनभित्रै सबै काम सक्नेमा हामी सहमत छौं । 

साँझको खाना खाएपछि हामी सुत्ने तयारी गर्दै थियौं । बेडरुम सजिसजाउ थियो । विदेशी अत्तरहरुले कोठा मगमगाएको अनुभूत हुन्थ्यो । तर मलाई यो सबै फिक्का लागिरहेको थियो । “नारी आफ्नो अस्मितामाथि कहिल्यै जोखिम उठाउन चाहन्न । आखिर म पनि त एक नारी नै हुँ । नेपाली समुदायमा परपुरुषसँगको बेड सेयरिङ हरेक पतिमाथिको धोका हो । म आफ्नै पतिलाई धोका त दिँदै छैन ? तर यहाँ अस्तित्वको विषयमात्र थिएन पतिकै जीवन रक्षाका लागि त म यो सब गर्दै छु अनि कसरी धोका हुन सक्छ ?” त्यस समय यी सब कुरा मेरो मनमा खेलेकै हुन् । 

केभिडकी धर्मपत्नी कोरोना आफ्नो रुम छाडेर अर्को कोठामा गएकी छे । कोठामा कोभिड र ममात्रै बाँकी छौं । अरुलाई सन्तान दिने नाममा मैले आफ्नै अस्मिताको बली दिँदै छु । 

सम्झिएँ, आफ्नो श्रीमान्सँग विवाह गरेर आएको दिन सुहागरात । त्यसपछिका सहवास गर्दाका दिनहरु कति रमाइलो थियो । यो हजारौं मूल्य पर्ने अत्तरभन्दा कति गुणा बढी  सुगन्ध थियो त्यो पलमा । सायद उनीप्रति मेरो विश्वास र भरोसा छ । माया छ । त्यसैले होला । अहिलेको सम्बन्धमा पीडा छ । तै पनि बाध्यता छ । यही पीडाबीच हाम्रो सम्बन्ध एक हप्तासम्म रहिरह्यो । सायद रुटिनमै सहवास भएका काराण होला मेरो गर्भ रह्यो । मेरो खिन्नताकै बीच त्यो परिवारमा खुसी छायो । गर्भवती भएर बस्दा पनि मलाई त्यो घरमा खाने कुराको केही अभाव थिएन । सोधेरै मन लागेको खाने कुराहरु खान दिइरहेका हुन्थे । फलफूल, माछा मासु, अन्डा नियमित तर त्यहाँ खाएको चौरासी व्यञ्जन खानाभन्दा मलाई खुसीका साथ श्रीमान्सँग खाएको ढिँडो र गुन्दु्रक नै कति मीठो कति ! त्यसमा स्वतफूर्त माया र प्रेम मिसिएको हुन्छ । गर्भमास पुग्यो । छोरो जन्मियो । परिवारमा खुसी छायो । म पनि आमा बनेँ, ओरिजिनल आमा तर सबका अगाडि ओरिजिनल नै डुप्लिकेट बन्नु थियो । मेरो मातृत्वको यहाँ कुनै अर्थ थिएन । बाँचेर पनि मेरो मातृवात्सल्यता मेरै आँखासामुन्ने मृत घोषित हुँदै गरेको म राम्ररी बुझ्दथेँ । 

कोठाको ढोका घरक्क उघारियो । म झसङ्ग भएँ । विगतको सम्झानाले केहीबेर तरङ्गित भए पनि रातिको साढे नौ बजेको रहेछ । कोरोनाले हातमा दुध लिएर आएकी रहिछे । उसले मलाई गर्भवती भएदेखि नै स्याहार गर्दै आइरहेकी छे । उसको पनि बाध्यता छ अरुले देख्ने गरी आफू नै सुत्केरी हो भन्ने देखाउनु छ । अरु बेला मसँगै हुन्छे । मेरो स्याहारमै दिन कटाउँछे । अहिले त झन छोरा जन्मिएपछि उसैको स्याहारसुसार दुध खुवाउने मै फुर्सद छैन उसको । 

ऊ कोठाबाट निस्किएपछि म दुध खाएर कोठामै पल्टिएँ । अनि भोलि त यो घर अनि आफैंले जन्माएको छोरो छोडेर जानु छ । झण्डै एक वर्षको अवधिमा कस्तो भयो होला है हाम्रो घर । अनि श्रीमान्, सासूससुराको अवस्था कस्तो होला ? सम्झन्छु । हुन त उनीहरुसँग पनि कहिलेकाहीँ फेसबुक म्यासेन्जरबाट कुरा भइरहेको हो । फोनबाट गर्न मिलेन । उनीहरुका लागि त म वैदेशिक रोजगारीमा छु । भोलि त भेट भइहाल्छ । अरुभन्दा पनि मलाई १० महिना गर्भमा बोकेर जन्माएको मेरै मुटुको टुक्रालाई कसरी छाडेर जान सक्छु र म ? म भक्कानिन्छु । आमाको ममता नै त हो । आँसुले सिरानी भिजेको छ । तर पनि सत्य कुरा भोलि आफैंले छोरा छोडेर जान बाध्य छु । म अमिलो मन हुँदै गर्दा भोलि छोरा छाडेर जानुपर्ने पीडाले छटपटाउँदै गर्दा राति कति खेर निदाएछु पत्तै भएन । सपना देखेँ आफ्नै श्रीमान् घरमा आफूलाई कुरेर बसिरहेका । भन्दै थिए । तिमी आउँछौ र छोराछोरी जन्माऔंला । बाआमा पनि तिम्रै प्रतीक्षामा हुनुहुन्छ । आऊ छिटो आऊ । भन्दाभन्दै म झल्याँस्स ब्युझिएछु । भित्ताको घडी हेर्दा बिहानको सात बजिसकेको रहेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  ०९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC