site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
एक छात्र नेताको दैनिकी 
Sarbottam CementSarbottam Cement

विभूतिनारायण राय

० ० ०
पछिल्लो रात ऊ धेरै अबेरसम्म गल्लीको मोडमा रहेको चिया पसलमा बसेर क्रान्ति गरिरहेको थियो । करिब दुई बजेसम्म उसले व्यवस्था परिवर्तन र नयाँ व्यवस्था स्थापित गर्ने कुरा गरेको थियो । देशदेखि विश्वविद्यालयसम्मका सारा समस्याहरूलाई हल गरेउप्रान्त जब ऊ आफ्नो कोठामा फर्कियो, त्यतिबेला ऊ एकदमै सन्तुष्ट थियो । 

तर यही समय, सन्तोष असन्तोषमा परिवर्तन भइसकेको थियो । अहिले नौ बजेको थियो र यस्तो खुसीको मौसममा, जब सुत्नुभन्दा गतिलो काम अरु केही हुँदैनथ्यो, उसले उठ्नु परेको थियो । त्यसबेला उसले आफ्नो नेतागिरिलाई गाली ग¥यो र फेरि सुत्ने प्रयत्न ग¥यो । जब उसलाई सम्झना भयो, विश्वविद्यालयको चुनाव नजिकै आएको छ, यतिबेला उसका लागि विश्वविद्यालय जानु अत्यन्त जरुरी छ । 

Prabhu Bank
Agni Group
NIC Asia

ऊ खाटमै बसेर चुरोट पिउन थाल्यो, किनभने उसले आफ्नो त्यस क्रिया–  जुन क्रियालाई शास्त्रहरूमा नित्य क्रिया भन्ने गरिएको छ– लाई सम्पादित गर्नमा सुविधा होस् भन्ने चाहेको थियो । हुन त ऊ क्रान्तिकारी भएका कारण यस्ता कुनै पनि दैनिक क्रियामा विश्वास गर्दैनथ्यो । प्रायः यस्ता क्रिया उसले साप्ताहिक र मासिक किस्तामा गर्दथ्यो ! चुनावको मौसम भएका कारण पनि अचेल यसलाई नियमित गर्नुपरेको थियो । 

चुनावमा चुस्ती अत्यन्त सहायक तत्व हो र दुर्भाग्य, चुस्ती त्यसरी नै आउँछ । खुसीखुसी उसले सबै कार्य सम्पादित गर्यो । एक पटक फेरि उसलाई व्यवस्थाको यस भद्दापनमाथि रिस उठ्यो । ऊ जस्तो महत्वपूर्ण व्यक्ति– जसको आवाजमा हजारौं केटा एकसाथ विश्वविद्यालय छोडेर सडकमा ओर्लिन्छन्– ले चिया पिउनका लागि केही पर रहेको चिया पसलसम्म जानु पर्छ । हिजो राति उसको दलका जिल्ला शाखाका अध्यक्ष जतिखेर व्यवस्थाका विरुद्धमा आफ्नो आक्रोश पोखिरहेका थिए, त्यसबेला ती व्यक्ति उसलाई हास्यास्पद लागिरहेका थिए । तर अहिले उसलाई उनको आक्रोश सही लागिरहेको थियो । उनको गुनासो थियो, ‘यस व्यवस्थामा जब मानिसले सानो कारको लाइसेन्स सजिलै गरी पाउँछन् भने आखिर के कारण हो कि उनले चिनीको कोटा पनि पाइरहेका छैनन् ? अवश्य पनि यसमा व्यवस्थाको नै कुनै षड्यन्त्र छ ।’ उसलाई लाग्यो कि समयमा चियाको व्यवस्था पनि षड्यन्त्रका कारण हुन सकिरहेको छैन । उसले आफ्नो टाउको हल्लायो र स्वयम्लाई विश्वास दिलायो कि शीघ्र नै उसको पार्टीले देशमा समाजवादी व्यवस्था ल्याउनेवाला छ । समाजवाद आउनासाथ उसको पार्टीका जिल्ला अध्यक्षका लागि चिनीको कोटा र उसका लागि ओछ्यानमै चिया सजिलै उपलब्ध हुनेछ !

Global Ime bank

चिया पिएर ऊ बिस्तारैबिस्तारै विश्वविद्यालय क्याम्पसतिर लाग्यो । क्याम्पस नजिक पुग्दा नपुग्दै उसको सारा सुस्ती गायब भइसकेको थियो र ऊ यतिबेला पुरा फूर्तिलो र ताजा भइसकेको थियो । अगाडिबाटै केही भोटहरू आइरहेका थिए । उसले केही टुथपेस्टीय विज्ञापन शैलीमा आफ्नो बत्तिसी दाँत देखायो र हे...हे...गरेर हाँस्दै तिनको हालचाल सोध्न थाल्यो । त्यसपछि जसरी उसको दाँत देखाउने क्रम सुरु भयो, त्यो ऊ क्लास रुम पुग्दासम्म यथावत् रह्यो । बाटोभरि उसका चम्चाहरू उसको लगातार पान खाने बानीले मैलो र पहेँलो भएको दाँत देखेर आश्वस्त हुँदै थिए र उसका विरोधीहरूलाई तोडने विषयमा आफ्नो शुभराय व्यक्त गरिरहेका थिए ।

क्लास रुम र उसमा पुस्तौंको दुस्मनी थियो । तर चुनावका कारण यतिबेला क्लास रुमले उनलाई चुम्बकले जस्तै तान्दै लगेको थियो । त्यहाँ जाँदा उसलाई दुईवटा फाइदा थियो । एउटा, ऊ आफ्नो विरोधीहरूको प्रचार ‘उसको पढाइसँग कुनै विशेष नाता छैन’को खण्डन गर्न सक्दथ्यो भने अर्को, यसबाट केही जनसम्पर्क पनि वृद्धि हुन्थ्यो ।

कक्षा कोठामा अध्यापक महोदय अहिलेसम्म आएका थिएनन् । ऊ दाँत देखाउने आफ्नो पुरानै प्रक्रियामा फेरि जोडदाररुपमा जुटेको थियो । उनले सबैसँग खबरखाबर सोधेपछि अध्यापकको परिवारका महिलाहरूका विषयमा शिष्ट किसिमबाट केही विचार उपस्थित छात्रहरू समक्ष प्रस्तुत गर्यो । र, फेरि दादा किसिमका एक छात्रसँग केही ‘अति गोप्य’ कुराकानी गर्न भनेर कोठाबाट निस्किएर बरण्डामा गयो । ती दुवै रहस्यमयी शब्दहरूका साथ साउती गरिरहेका थिए । त्यसैबेला अध्यापक छेउबाट हिँडे । उसले अध्यापकमाथि एउटा धार्मिक किसिमको ‘रिमार्क’ बोल्यो । अध्यापक आत्तिएर यताउता हेर्न थाले । र, फेरि केही नसुनेजस्तो गर्दै कक्षामा छिरे । अब ती दुवै ठूलोठूलो आवाजमा कुरा गरिरहेका थिए । अध्यापकले आफ्नो दुईदशक पुरानो नोट्स निकाले र आत्तिएको तर सुस्त आवाजमा तिनको आवाजसँग प्रतिष्पर्धा गर्न थाले ।

कक्षातिर उपेक्षापूर्ण नजर दिँदै ऊ दादा प्रवृत्तिको छात्रका साथ चौरमा पुग्योे । त्यहाँ उपस्थित कैयन् छात्रहरूले उसलाई घेरे । उनीहरू एकै स्वरमा उसको सामुन्ने आफ्ना पीडा रुँदै गाउन थाले ! उसले पनि धेरैलाई आश्वासनको रस सरोबरमा निथु्रक्क भिजाउने काम गर्यो । कतिलाई उसले आफ्नो घरमै बोलायो । अनि केही छात्रहरूलाई लिएर रजिस्ट्रारको अफिस तिर गयो । जब ऊ रजिस्ट्रारको अफिसतिर लाग्यो, उसका पछिपछि मानिसहरूको भीड बढ्दै गएको थियो । भीडमा रहेका सबै एक स्वरमा बोलिरहेका थिए । ऊ पनि निस्काम भावले मुस्कुराउँदै तिनका अनगिन्ती प्रश्नहरूको उत्तरमा एकाध सूक्तिवाक्य बोल्दै गइरहेको थियो । रजिस्ट्रारको अफिसमा छिरेर उसले क्लर्कहरूतिर आफ्नो आग्नेय दृष्टि फ्याँक्यो । र, दुःख व्यक्त गर्यो कि उसको त्यो दृष्टिबाट कोही भष्म भएनन् ! 

उप्रान्त क्लर्कहरूसँग उसले घरेलु सम्बन्ध स्थापित गर्यो । तिनलाई आफ्ना चम्चाहरूको काम गरिदिने विषयमा केही निर्देशन दियो । त्यो निर्देशनपछिको भाग अझै धेरै महत्वपूर्ण थियो जसमा उसले काम नभएको खण्डमा केही विशेष परिणामहरूका बारेमा क्लर्कहरूलाई आश्वस्त गराएको थियो । क्लर्कहरूले पनि यही भाग पूरा मनले सुने र काममा लागे ।

रजिस्ट्रारको कार्यालयबाट निस्किएपछि ऊ अश्वमेधी घोडाजस्तै दिग्विजयका लागि पूरा विश्वविद्यालय क्याम्पसभरि घुमिरह्यो । बाटोभरि ऊसँग तीन किसिमका मानिस भेटिए । तिनलाई बेग्लाबेग्लै रुपबाट उसले सम्बोधन ग¥यो । पहिलो किसिमका व्यक्तिहरू उसका चम्चाहरू थिए, जसलाई उसले आफ्नो चुनावको जुलुसमा आउन निर्देशन दियो । त्यसको बदलामा तिनको क्याम्पस भर्ना, छात्रवृत्ति र कक्षा उपस्थितिमा हुने कमीका विषयमा निश्चिन्त रहन सल्लाह दियो । 

दोस्रो प्रकारमा अध्ययनशील छात्रहरू थिए जो वर्षमा कम्तीमा पनि दुई महिनाको हडताल चाहन्थे । जसकारण तिनले आफ्नो कोर्स पुरा गर्न सकून् । किनभने तिनलाई थाहा थियो, क्लासमा कोर्स पूरा गरेर अध्यापक महोदयहरूले विश्वविद्यालयको प्रतिष्ठा खतरामा पार्ने काम गर्न सक्दैनथे । उसले ती छात्रहरूलाई पनि आश्वासन दियो कि जितेपछि दुई महिना मात्रै किन पूरा वर्षैभरि विश्वविद्यालय बन्द रहन सक्छ ? यो कुरामा धेरैजसो अध्ययनशील छात्रहरूको अनुहारमा प्रशन्नताका रेखा देखा परे । कतिपय भने गम्भीर चिन्तामा डुबे । गम्भीर चिन्ता गर्ने छात्रहरूका अगाडि उसले आफ्नो मैलो दाँत फेरि देखायो । छात्रहरूलाई लाग्यो, ऊ मजाक गरिरहेको छ । त्यसैले तिनीहरूलाई विश्वास भयो, उसमा ‘सेन्स अफ ह्युमर’ नामक पदार्थ अधिक मात्रामा रहेको छ । 

तेस्रो दर्जामा केही विकट किसिमका मानिस पर्थे । तिनीहरू उसका विरोधी थिए । ती उसको दाँत भाँच्नेदेखि अङ्गभङ्ग गर्नेसम्मका काममा गम्भीरतापूर्वक कुरा गर्दथे । तिनले ठाउँठाउँमा हुटिङको प्रयास पनि गरेका थिए । तर उसले गीताका केही श्लोक कोर्समा भएका कारण पढेको थियो । त्यसैले निस्काम भावका साथ तिनको व्यङ्ग्य बाण झेल्दै आफ्नो काममा ऊ लाग्योे ।

विश्वविद्यालय क्याम्पसमा दिग्विजय गरेपछि ऊ अध्यापक कोलोनीतिर लागि निस्कियो । दुई तीन अध्यापकहरूले गएको वर्ष ऊबाट पम्पलेट निकाल्न लगाएका थिए । त्यसैले चुनावमा मद्दत गर्नलाई उसले भनेको थियो । ऊ कतिपय घरमा खाली खल्ती छिरेको थियो र निस्किँदा खल्ती भरिभराउ भएको थियो । 
त्यसपछि ऊ डिनको घरतिर लाग्यो, जो आफ्ना मित्रहरूमाझ उसलाई आफ्नो खास मानिस भन्थे । डिन महोदय विश्वविद्यालय जाने तरखरमा थिए । उसलाई देखेर रोकिए । डिनले सल्लाह दिए– ‘भगवान्ले यस्ता शुभकार्यका लागि रातको सिर्जना गरेका छन् । त्यसैले हामीले त्यसको उपयोग गर्नुपर्छ ।’  

डिनको आस्तिक सल्लाह उसले उपेक्षाका साथ सुन्यो र भन्यो, ‘राति गर्नुपर्ने अरु धेरै महत्वपूर्ण कार्यहरू छन् ।’ फेरि उसका लागि रात र दिन सबै बराबर छ, किनकि ऊ कसैसँग डराउँदैन । डिनले उसलाई आफ्नो मित्रको गाडी चुनाव प्रचारका लागि उपलब्ध गराउने वचन दिए र केही धन दिएर बिदा गरे । यस प्रकार डिनले गुरुशिष्यका बीचमा सम्बन्ध बनाउने दिशामा महत्वपूर्ण योगदान दिए !

डिनको घरबाट निस्किएर ऊ फेरि क्याम्पसतिर गयो । अगाडि केही सुकन्याहरू आइरहेका थिए । उसले तिनलाई देखेर हात जोडेर नमस्कार गर्यो र ‘बैनी’को सम्बोधन गर्दै तिनको स्वास्थ्य तथा मौसमलाई लिएर सस्तोखाले कविता सुनायो । बैनीको सम्बोधनका साथ ती सुकन्याहरूको अनुहारमा जसरी कान्ति क्षय भएको थियो, सस्तो कविता सुनेर त्यो क्षय तत्कालै हराएर गयो । सुकन्याहरू चिरबिरचिरबिर गर्दै अगाडि बढे ।

उसले चुनावलाई धिक्कार्यो, कारण यी सुकन्याहरूलाई कुनै अन्य मधुर सम्बोधनको ठाउँमा बैनीजस्तो शुष्क सम्बोधन गरिरहनु परेको थियो । चुनावपछि सबै ठीक हुन्छ भन्ने शैलीमा उसले आफ्नो टाउको हल्लायो । अनि फेरि एकपटक क्याम्पसको चक्कर लगाउन थाल्यो । धेरै बेरसम्म उसको जनसम्पर्क जारी रह्यो र थाकेपछि ऊ आफ्नो निवासस्थानतिर फर्कियो ।

घरमा दुःखी छात्रहरू उसको प्रतीक्षा गरिरहेका थिए । उसको सामुन्ने नानाभाँतीका समस्याहरू प्रस्तुत गरियो । विश्वविद्यालयमा भर्नादेखि लिएर कुनै युवतीलाई प्रेमपत्र दिनेसम्मका कतिपय कुराहरू उसले गम्भीरतापूर्वक सुन्यो । र, राष्ट्रिय नेताको अन्दाजमा बिस्तारै अनेक अर्थ लाग्ने वाक्यहरू बोल्दै गयो । धेरै मानिस सन्तुष्ट भएर फर्किए । मात्रै ती रहे जो उसँग एकदमै अन्तरङ्ग थिए । 

तिनीहरूसँग निक्कै बेरसम्म उसले कुरा गरिरह्यो, जसबाट तिनलाई विश्वास भएको थियो कि आज दिनभरि क्याम्पसमा उसको जुन रुप देखिएको थियो त्यो ‘सुनियोजित’ थियो । उसको सक्कली स्वरुप पनि त्यति नै त थियो जसलाई मानिसले वर्षौंदेखि चिन्दै आएका थिए । तिनीहरूसँग उसले चुनाव प्रचारको विषयमा कुरा गर्यो, पर्चा र पोस्टरका विषयमा कुरा गर्यो । साथै एउटा अर्को विषयमा पनि गम्भीरतापूर्वक चिन्तन ग¥यो, यदि विरोधी उम्मेदवारको एउटा खुट्टा भाँचिदिने हो भने त्यसको सौन्दर्यमा कस्तो असर पर्न सक्छ !

यसरी विभिन्न प्रकारका चिन्तनमा डुब्दै अनेक कार्य सम्पादन गरेर उसले आफ्नो दिन बितायो । रात पर्दा नपर्दै ऊ फेरि गल्लीको मोडमा रहेको चिया पसलमा क्रान्ति गर्न हिँड्यो । उसलाई थाहा थियो बिना क्रान्ति यो देशमा नेतागिरि पक्का हुनेवाला छैन । हाम्रा राष्ट्रिय नेता संसद् तथा कफी हाउसमा क्रान्तिको कुरा गरेर आफूलाई धन्य ठान्दछन् । उसको लागि संसद् या कफी हाउस उपलब्ध छैन । त्यसैले ऊ चियाको पसलमै क्रान्ति गर्छ । त्यहाँ उसले घण्टौं वर्तमान व्यवस्थाको खराबी अनि नयाँ व्यवस्थाबाट राष्ट्रलाई हुने लाभको बहुचर्चित विषयमा भाषण दियो । जुन चिया पसलमा काम गर्ने केटाहरू तथा विभिन्न अफिसका निम्नतहका कर्मचारीहरू उँघ्दै सुनिरहेका थिए ।

रात निक्कै छिप्पिएपछि ऊ त्यहाँबाट एउटा अर्को सार्थक दिन बिताएको सन्तोष मनमा बोकेर घर फर्कियो र चुपचाप सुत्यो । 

(सन १९५१ नोभेम्बरमा उत्तर प्रदेशको जौनपुरमा जन्मिएका साहित्यकार विभूतिनारायण रायले उपन्यास, निबन्ध र व्यङ्ग्यमा कलम चलाउँदै आएका छन् । उनको पाँच वटा उपन्यास प्रकाशित छ भने एउटा व्यङ्ग्यसङ्ग्रह र संस्मरण पनि प्रकाशित छ ।) 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  ०७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC