नेपाली सांगीतिक क्षेत्रमा रामकृष्ण ढकाल लोकप्रिय नाम हो । १३ वर्षको उमेरदेखि नै गायनमा सक्रिय उनी आज पर्यन्त गायनमा छन् । ३३ वर्षदेखि गाउँदै आएका उनका दर्जनौं गीत लोकप्रिय छन् । आधुनिक, पप, लोक–आधुनिक तथा पाश्र्व गायनमा उनको स्वर चलेको छ । क्यासेट, सीडी बिक्री हुने समयमा गायनमा प्रवेश गरेका उनी आज डिजिटल प्लेटफर्म आउँदा पनि उत्तिकै सक्रिय छन् । उनै गायक रामकृष्ण ढकालसँग बाह्रखरीका नरेश फुयाँलले गीतको लोकप्रियता, व्यावसायिकता, बजार प्रवर्धन, रोयल्टी तथा कपी राइट्सको कानुनमा केन्द्रित रहेर गरेको कुराकानी :
केही दिन अगाडि तपाईंले गाएको गीत (माया जदौ...) करोडपटक युट्युबमा हेरिएको भन्ने समाचारहरू आए । यहाँभन्दा अगाडि तपाईंका कुनै पनि गीत युट्युबमा सोही संख्यामा हेरिएका थिएनन् । यसको कारण ?
मेरा सबै गीतको भ्युवर्स हेर्ने हो भने करोडभन्दा धेरै माथि छ । तर, एउटै गीत करोडपटक हेरिएको भने पहिलोपटक हो । १०, १५, २० लाख भ्युज भएका धेरै गीत छन् । सबै गीत करोडकरोड पटक नहेरिनुको कारण जुन बेला मेरा गीत एकदम चर्चित र लोकप्रिय थिए, त्यो बेला युट्युब च्यानल थिएन । अहिलेको जस्तो त्यो समय सामाजिक सञ्जालहरू थिएनन् ।
पहिला नै बजारमा आइसकेका गीत पछि युट्युबमा राख्दा अपेक्षित भ्युज नदेखिएको हो जस्तो लाग्छ । तर, जुनबेला मेरा गीत लोकप्रिय थिए । त्यो समय क्यासेट बिक्री र रेडियो नेपालमा आउने फर्माइसलाई हेर्ने हो भने सधैं अगाडि नै रहन्थे । त्यो बेला युट्युब हुन्थ्यो भने हरेक गीत करोड, १० करोड पटक हेरिन्थ्यो होला ।
सानो उमेरदेखि नै मैले व्यावसायिक रूपमा गीत गाउने मौका पाएँ । स्वर सम्राट नारायण गोपालको गीति एल्बम गीति यात्रा निस्किएको वर्ष ढकाल सुमधुर साँझको क्यासेट निस्किएको थियो । ती क्यासेट बराबरी बिक्री भएका थिए । त्यसलाई आधार मान्ने हो भने अहिलेको युट्युब च्यानलको भ्युजसँग तुलना गर्न सकिन्छ ।
पछिल्लो समय धेरै गीत युट्युबमा करोड/करोड पटक हेरिएका छन् । तर, तपाईंका गीतले यो अवसर नपाउँनुमा तपाईं यसमा अभ्यस्त हुन नसक्नु भएको हो कि तपाईंका गीत युट्युबका दर्शक लक्षित नभएका हुन् ?
अहिले चलनचल्तिमा रहेकाजस्ता गीत मेरा नभएर पनि हुनसक्छ । र, अर्को कारण त्यही अनुसारको प्रोमोसन नभएर पनि होला । अहिले गीत राम्रो नराम्रो एउटा पाटो हो भने त्यसको प्रोमोसन कसरी भइरहेको छ, अर्को महत्त्वपूर्ण पक्ष हो । यो गीत पनि चलचित्रको ब्यानरबाट नआएको भए र म्युजिक भिडियो राम्रो बनाउन नसकेको भए करोडपटक सायद हेरिँदैन थियो ।
गीत कसरी प्रस्तुत गर्ने त्यसमा पनि फरक पर्छ । यसअघि अञ्जु पन्त र मैले गाएको गीत 'माया गर्छु हो मनै मनमा...' पनि धेरैले हेर्नु भएको छ, त्यसको प्रस्तुति फरक छ । यसले पनि राम्रो प्रमोशन आवश्यक छ भन्ने बुझिन्छ ।
पछिल्लो समय युट्युबमा धेरै भ्युज हुने भनेको लोक प्यार्टनका गीत जो चलचित्रमा समावेश छन् तिनै हुन् । यसले पनि लोकलयमा डान्सिङ नम्बर र राम्रो प्रचारप्रसार गर्ने चलचित्रको ब्यानर चाहिन्छ भन्ने देखाउँछ ।
कयौं गीत जो युट्युबमा करोडपटक हेरिएका छन् तर ती गीत जनमानसमा खासै लोकप्रिय नभएको र कति त धेरैले सुन्दै नसुनेको पनि पाइएको छ ।
नयाँ गायक/गायिका आइरहनु भएको हुन्छ । यसरी आउने गायक गायिकाको क्रेजले पनि सहयोग गर्छ । लामो समय काम गरेको कलाकारको पहिचान एउटा धारको गीतमा बनिसकेको हुन्छ । त्यस्तो गायक गायिकाले चल्तिमा रहेको लयका गीत गाए पनि उसले त्यसमा रेस्पोन्स पाइरहेको हुँदैन । तर, यसका लागि मिहिनेत गरेर त्यही हिसाबले प्रचार–प्रसार गर्नुपर्छ । मेरो पनि छिटको गुन्यू... जस्तो गीत नआएको होइन । त्यो गीत अहिले आएको भए सायद त्यसको युट्युब भ्युज धेरै हुन्थ्यो ।
अनिवार्य आकर्षक म्युजिक भिडियो अनि व्यापक प्रचारप्रसार आवश्यक भनेपछि अब गीत पहिलाको जस्तो साधना मात्रै रहेन, व्यापार पनि भयो भन्नु खोज्नु भएको हो ?
साधना थियो पक्कै पनि त्यसमा दुई मत छैन । तर, त्यो समय पनि क्यासेट र सीडी बिक्री हुन्थ्यो । अहिले डिजिटलमा व्यापार भइरहेको छ । नारायण गोपाल, गोपाल योञ्जन लगायतको समयमा संगीत साधना नै थियो । पछि यसलाई व्यापारका रूपमा पनि हेर्न थालियो । कमर्सियल गीत पनि गाउन थालियो । स्टेजमा नाच्ने, झुम्ने गीत गाउन थालियो । ट्रयाकमा गीत गाउन थालियो ।
यद्यपि म हुरीमा दियो जलेको देख्छु... जस्ता गीत पनि स्रोताले मन पराइरहनु नै भएको छ । युट्युबमा धेरै नगए पनि आज म जहाँ जाँदा पनि दर्शक तथा स्रोता यो गीत सुन्न चहानुहुन्छ । तर, पनि गीतमा व्यावसायीकरण चाहिँ भएकै हो ।
पछिल्लो समय गीतको सफलताको मापकका रूपमा युट्युब भ्युवर्सलाई लिने गरेको पाइन्छ । युट्युबमा धेरै हेरिएका गीत मात्रै राम्रा हुन भनियो भने सुगम संगीतलाई अन्याय हुन्छ ?
युट्युब आउनुभन्दा पहिलादेखि नै हो यो त । हिट गीत मात्रै राम्रा हुन्छन् भन्ने हुँदैन । हिट र लोकप्रिय भन्ने शब्द फरक हुन् । सबै हिट गीत लोकप्रिय नहुन पनि सक्छन् । कति लोकप्रिय गीत हिट भइरहेका हुँदैनन् । ती गीत एक खालका स्रोता माझ लोकप्रिय हुन्छन् । कति साह्रै राम्रा गीत धेरैले सुनिरहनु भएको हुन्न । धेरै जनमानसमा पुगेका गीत हिट हुन् । तर यस्ता कति गीत ६ महिनापछि स्रोता दर्शकले बिर्सिन्छन् । तर, लोकप्रिय गीत सदाबहार हुन्छन्, कालजयी हुन्छन् ।
ध्यान दिएर सुन्ने हो भने कति गीत राम्रा हुन्छन् । त्यस्ता गीत मेरा पनि थुप्रै छन् । युट्युबको भ्युजलाई मात्रै आधार मानेर राम्रो भन्न त मिल्दैमिल्दैन । तर, सबै हिट गीत राम्रा हुँदैनन् पनि भन्न मिल्दैन । करिब ८० प्रतिशत हिट गीत त राम्रा पनि हुन्छन् । हिट भए पनि यो गीतको शब्द, संगीत र गायनको स्तर कस्तो छ र यो कति कालजयी छ कि छैन त्यो स्रोता र सञ्चारमाध्यमले खुट्याउँछन् । हिट र लोकप्रिय गीतको सूची छुट्टै हुन्छ । तर हिट गीतमा पनि केही न केही भएरै हिट हुन्छन्, यो सत्यलाई पनि नजरअन्दाज भने गर्न सकिँदैन ।
हामी जसलाई सुगम संगीत भन्छौं, यी गीतले युट्युबमा कम भ्युज पाउँछन् । अहिले सुगम संगीतका स्रोता दर्शक कम छन् भन्ने कि युट्युबका दर्शक स्रोता सुगमसंगीत फ्रेन्डली छैनन् भन्ने ?
हामीले अहिले चलनचल्तिमा आएका गीतको भिडियो तथा प्रचारप्रसार जसरी गरिरहेका छौं सुगम संगीतलाई त्यसरी स्रोता दर्शकमाझ ल्याउन सकेनौं भन्ने पनि लाग्छ । तर, दीर्घकालीन रूपमा हेर्ने हो भने सुगम संगीत लामो समयसम्म रहन्छ । यस्ता गीत स्रोताले खोजिरहन्छन् । नारायण गोपालले त्यो समय गाएका गीत आज पनि हामी सुनिरहेका छौं । भोलिको पुस्ताले पनि सुन्छ । तर ६ महिना अगाडि स्रोता तथा दर्शकमाझ हिट भएका गीत आज धेरैले बिर्सिसकेका हुन्छन् । यो नेपालमा मात्रै होइन हिन्दी अंग्रेजी जताको उदाहरण हेरे पनि हुन्छ । गोल्डेन नम्बर भनिन्छ यी गीत हरेक पुस्ताले सुन्छ ।
रमाइला गीत जताततै बज्ने हुँदा धेरैले छोटो समयमै नोटिस गर्छन्, जुन सुगम संगीतमा हुँदैन । पहिला रेडियो नेपालमा एउटा राम्रो गीत रेकर्ड गरेर छोडिदियो भने फर्माइस गरेर बज्न थाल्थ्यो । तर, आज त्यसलाई जबरजस्त प्रचारप्रसार गर्न सकेन भने त्यो ओझेल पर्छ, गाएको अर्थ नै हुँदैन ।
अहिले चलचित्रमा समावेश भएका लोकलयका गीत करोडौंपटक हेरिएका छन् । यसलाई अहिले सुगम संगीत छायामा परेको समय हो यो भन्न सकिन्छ ?
कुनै समय थियो, जुन बेला सुगम संगीत पनि ह्वात्तै चल्थे । हो त्यो समय अहिले छैन । तर, यो संगीत सुन्ने छुट्टै वर्ग छ, उसले सुनिरहेको हुन्छ । गीतसंगीतमा समयसमयमा फरक फरक ट्रेन्ड आउँछ । एक समय पप संगीत चल्यो, त्यो बेला सुगम संगीत छायामा परे जस्तो भयो । एक समय लोकदोहोरी पनि त्यस्तै चल्यो । तर, त्यही बेला सुगम संगीतमा प्रवेश गरेका गायकगायिकाले अहिले पनि उत्तिकै लोकप्रिय र सक्रिय हुनुहुन्छ । यसको अर्थ सुगम संगीत उत्तिकै लोकप्रिय छ भन्ने हो ।
अहिले चल्तिका नम्बरहरू अलि बढी चलेको समय छ । समाजिक सञ्जाल र डिजिटल मार्केटका कारण स्टेज पफर्मको भिडियो खिच्ने, सामाजिक सञ्जालमा राख्ने गर्दा त्यस्ता गीत पपुलर भएका हुन् । तर, त्यो भन्दै सुगम संगीत पछि परेको म मान्दिन । सुगम संगीत सधैं आफ्नो छुट्टै आधार बनाएर बसेको हुन्छ । हरेक राम्रा गायकगायिकाले चल्तिमा रहेका गीत गाए पनि उनीहरूलाई राम्रा गीत गाउले लोभ र भोक सधैं हुन्छ । स्रोताले पनि त्यसको मूल्यांकन गरिरहेको हुन्छ । यस्ता गीत अरू जस्तो एकैपटक चर्चामा आउँदैनन् यही मात्रै विडम्बना हो ।
क्यासेट, सीडीको बेलामा जति रोयल्टी आउँथ्यो, डिजिटल प्रविधिमा आउँदा त्यति नै आउँछ ?
मार्केटिङमा को कति अभ्यस्त छ भन्ने कुराले यसमा अर्थ राख्छ । डिजिटल प्रविधि पनि राम्रो नै छ । युट्युब च्यानलबाट पनि कति गायकगायिकाले राम्रै आम्दानी गरिरहनु भएको छ ।
पहिलाभन्दा राम्रो पनि होला । पहिला क्यासेट, सीडी बिक्री हुँदा एकपटक गएर म्युजिक कम्पनीबाट रोयल्टी ल्याइन्थ्यो त्यसपछि खासै रोयल्टी आउँदैन थियो । तर, आजकाल आफ्नै युट्युब च्यानलबाट पनि नियमित रूपमा आम्दानी भइरहेको हुन्छ । अब यसैलाई ग्र्याप गरेर अगाडि बढ्नुको विकल्प छैन ।
मेरो हकमा भने मैले सुरुमा आफ्नै नामबाट युट्युब च्यानल खोलेको थिएँ । पछि त्यो ग्याप भयो । अहिले छोरीको नामबाट रानी म्युजिक भनेर च्यानल खोलेको छु । मेरो आफ्नै राइट्स भएका कति गीत पनि यो च्यानलबाट ल्याउन सकिन र त्यसको असर देखियो । तर, अब यसलाई नै अगाडि बढाउनुको विकल्प छैन ।
क्यासेट, सीडीको कपी राइट्स लिएका म्युजिक कम्पनीहरूले अहिले डिजिटल राइट्स पनि हाम्रै हो भनेर श्रष्टालाई ठगिरहेको भन्ने गुनासो गायक/गायिका, संगीतकार तथा गीतकारहरूले गरिरहनु भएको छ । यो मारमा तपाईं पनि पर्नु भएको हो ?
कसले कोसँग कसरी सम्झौता गरिहनु भएको छ, त्यो व्यक्तिगत कुरा हो । कपी राइट्स नै सेल गरेका प्रोजेक्ट पनि हुन्छन्, मेरा पनि छन् । केही रोयल्टीमा बसेका प्रोजेक्ट पनि छन् । सम्झौताअनुसार रोयल्टी त दिनै पर्छ । क्यासेट, सीडीको सम्झौता गर्दा कसैले बाठो भएर आउने नयाँ प्रविधिको राइट्स पनि आफैंसँग राखेर कम्पनीहरूले सम्झौता गरेका हुन्छन् जो हामीलाई थाहै हुँदैन ।
तर, हिजो क्यासेटको मात्रै राइट्स लिएर आज युट्युब राइट्स पनि मेरै हो भनेर रोयल्टी नदिन चाहिँ हुँदैन । तर, सबै राइट्स बेचेको अवस्थामा त दाबी गर्न मिल्दैन । सामान्यतः अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने १०/१५ वर्षपछि कपिराइट्स पुनः सर्जकमै फर्किन्छ । यो अभ्यासलाई पनि भुल्नु हुँदैन ।
नेपालको कमजोर कपिराइट्स कानुनको फाइदा म्युजिक कम्पनीहरूले उठाइरहेका छन् भनिन्छ नि हो ?
कतिले सर्जकलाई ठग्नु पनि भयो । तर, कतिले आफैं बुझ्दै नबुझी सम्झौता गरेका कारण पनि यो अवस्था आएको हो । अब कपी राइट्सको कानुन, ऐन, नियम आइसकेको अवस्थामा कानुन नै बोल्छ । सम्झौता जे छ त्यो भन्दा माथि कोही जान सक्दैन ।
नेपालमा अधिकांश श्रष्टा स्वयंले लगानीमा गीतसंगीत बजारमा ल्याइरहेका हुन्छन् । कम्पनी त वितरक मात्रै हुन् । मैले नै कयौं गीतमा आफैंले लगानी गरेको छु, म्युजिक कम्पनी त वितरक मात्रै हो । नेपालमा ९० प्रतिशत यस्तै छन् । यस्ता कम्पनीसँग चित्त बुझेन भने सधैं उनीहरूसँगै बस्ने कुरा हुँदैन । हामीले यहाँ बुझ्नु पर्ने लगानीकर्ता, संगीतकार, गीतकार, गायक छुटछुटै सर्जक हुन् र उनीहरूले छुट्टा छुट्टै रोयल्टी पाउने अधिकार राख्छन् । क्यासेट, सीडी, रेडियो, टेलिभिजन, सार्वजनिक स्थान, दूरसञ्चारबाट छुट्टा छुट्टै रोयल्टी आउँछ । तर, हाम्रोमा कपी राइट्सको कानुुनको कार्यान्वयन कमजोर छ ।
राज्यले गीतसंगीतमा खासै चासो दिँदैन । किन ?
गीतसंगीतमा वार्षिक ठूलो रकम लगानी भइरहेको छ । यो व्यावसाय नै भइसक्यो । यसबाटै सयौंले जीविकोपार्जन गरिरहनु भएको छ । तर, पनि अझै यसलाई सरकारले उद्योगका रूप दिन सकेको छैन । यो नै सरकारको कमजोरी हो । सरकारले यो क्षेत्रलाई उद्योगको रूप दिँदै यसबाट ट्याक्स उठाउन पनि सक्नुपर्छ र यो क्षेत्रलाई आवश्यक सुविधा पनि दिनसक्नु पर्छ ।