site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

अब छिटै बन्दाबन्दी व्यवस्थितरूपमा खुकुलो बनाएर जनजीवन पूर्ववत् नबनाउन हो भने अकल्पनीय अवस्था उत्पन्न हुनसक्छ । तर, सरकार भने बन्दाबन्दी खुकुलो बनाउन आवश्यक गृहकार्यमा जुटेको देखिएन । कोरोनाभाइरसको संक्रमण निकट भविष्यमा थामिने संकेत छैन । कम्तीमा दक्षिण एसियामा घटीमा केही महिना संक्रमण फैलने निश्चितजस्तै भएको विज्ञहरूले प्रक्षेपण गरेका छन् । विशेषगरी भारतको कुव्यवस्थापनले नेपाल र बंगलादेशले देशभित्र संक्रमण नियन्त्रण गर्न सफल भए पनि जोखिमबाट मुक्त हुनसक्तैनन् । यसैले नेपालले कोरोनाभाइरसको संक्रमणको जोखिमसँगै दिनचर्या चलाउन तयार हुनुपर्छ । विशेषगरी, सार्वजनिक यातायात, विद्यालय कलकारखाना र अड्डाअदालत सञ्चालनका लागि तयारी गरिहाल्नुपर्ने देखिन्छ । 

हाम्रा कुनै पनि भौतिक संरचना कोरोनाभाइरस संक्रमणको चुनौती सामना गर्न सक्ने गरी बनाइएका छैनन् । तिनलाई सकेसम्म नबिगारी तर भौतिक दूरी कायम रहने गरी अनुकूलन गर्नु जरुरी हुन्छ । कक्षा कोठामा विद्यार्थी संख्या कम राखेर संक्रमणको जोखिम कम गर्न सकिन्छ । यस्तै कारखानाहरूमा उत्पादनको तरिका बदलेर भौतिक दूरी कायम गर्न सकिएला । सार्वजनिक यातायातलाई संक्रमणको जोखिम हुन नदिनेगरी सञ्चालन गर्नु सम्भवतः सबैभन्दा आवश्यक तर कठिन कार्य हो । विश्वका कतिपय वायु सेवा कम्पनीहरूले संक्रमणको जोखिम कम हुने गरी परिचारिकाको पोसाकदेखि बस्ने स्थानको संख्यासम्मको नयाँ व्यवस्थापन सुरु गरेका छन् । कारखानाहरूमा काम गर्ने नयाँ तौरतरिकाबारे तालिम दिइएको छ । 

 बन्दाबन्दी लागू गर्दा व्यवस्थापनामा भएको हचुवा शैली अपनाउने गल्ती यसलाई हटाउँदा दोहोरिन दिनु ठूलो मूर्खता हुन्छ । यस्तै संक्रमणको जोखिम देखाएर बन्दाबन्दी लम्याइरहनु त झन् देशको आर्थिक सामाजिक जीवनका लागि आत्मघाती हुनसक्छ । यसैले सरकार र सामाजिक क्षेत्रका सेवा प्रदायकहरूले संक्रमणको जोखिम न्यून हुनेगरी आआफ्ना भौतिक संरचनाको अनुकूलन सुरु गरिहाल्नु उचित हुनेछ । सार्वजनिक यातायातमा यात्रुको मानवीय सुविधा र सुरक्षाका लागि यसै पनि भौतिक संरचनामा सुधार गर्नैपर्ने थियो । अब बस वा माइक्रोबसमा यात्रुका बीचमा दूरी कायम रहने व्यवस्था मिलाउनै पर्छ । यसैगरी, कक्षा कोठा र स्कुल बसमा बालबालिकालाई ‘गुन्द्रुक खाँदे’जसरी कोच्ने अभ्यास त्याग्नै पर्छ । कलकारखानामा अरू कार्यस्थल सुरक्षाका उपायसँगै संक्रमणबाट सुरक्षित रहन कामदारलाई सचेत र अभ्यस्त बनाउनुपर्छ । यसैले सरकारले यथाशीघ्र यातायात, शिक्षा, अस्पताल, कलकारखाना, बजार सञ्चालनका लागि मापदण्ड तयार गर्ने र सम्बन्धितहरूले तदनुसार परिमार्जन अनुकूलन गर्ने गर्नु अत्यावश्यक देखिन्छ । यसका लागि आवश्यक भएमा सरकारले अनुदानको व्यवस्था पनि गर्नुपर्छ । विद्यालयहरू केही ढिलो सुरु गरेर पनि शैक्षिक कार्यतालिका भेट्टाउन सकिएला । यातायात र कारखाना चलाउन भने ढिलो गर्नु हुँदैन । सकेसम्म जोखिमरहित तरिकाले जनताको दिनचर्या सञ्चालन गर्न राज्यले अल्छी र कन्जुसी गर्नु हुँदैन । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  १३:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC