सत्ताको स्वार्थका लागि गरिएको नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीचको स्थानीय निर्वाचनमा भएको गठबन्धन होस् वा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धन किन नहोस् नेतृत्वको अवसरवादी चरित्रका उदाहरण हुन् । यी गठबन्धन न राष्ट्रियताको सबलताका लागि गरिएका हुन्, न लोकतन्त्रको सुदृढीकरणका लागि नै हुन् । नेताको हैकम र परिवारको स्वार्थ संरक्षण गर्नमात्र गरिएका हुन् भन्ने स्पष्टै देखिन्छ ।
त्यस्तो गठबन्धन गर्नेुपर्ने अवस्थामा विगतका कमीकमजोरीको समीक्षा गरेर आत्मालोचना वा प्रायश्चित गर्न सकेको भए लोकतान्त्रिक चरित्रको अभ्यास हुनेथियो । त्यसो केही नगरी आस्था नमिल्ने शक्तिसँग गरिएको चुनावी गठबन्धन सत्ता लोलुपतामात्र हो ।
पहिलो चरणको स्थानीय तहको निर्वाचन सहजरूपमा सम्पन्न भए पनि मुलुकको राजनीतिक अवस्था तरल नै छ । बहुप्रतीक्षित स्थानीय निर्वाचन चरणबद्धरूपमा हँुदैमा लोकतान्त्रिक गणतन्त्रको जग स्थापित भयो भन्न सकिँदैन । स्थानीय निर्वाचन सम्पन्न हुँदैमा लोकतन्त्र संस्थागत भयो भन्नु कुनै सौखिनको घरको तलाउमा कमल फुलेपछि त्यसलाई सरोबर मान्नुजस्तै हो ।
सहिद रामनाथ दाहालका सहयोद्धा केपी ओली पार्टी अध्यक्ष भएकैं बेला उनको सहादत र सुखानीको वर्वरता बिर्सिएर नेकपा (एमाले) राप्रपाजस्तो पञ्चायतको उत्तराधिकार बोकेको शक्तिसँग गठबन्धन गर्न पुग्यो । कांग्रेसका कार्यकर्ता भएकै कारण घाँटी रेट्ने माओवादीसँग गठबन्धन गरेर नेपाली कांग्रेस चुनावमा होमियो । विसं २०५८ सालको शाही कदमपश्चात शेरबहादुर देउवालाई राजा ज्ञानेन्द्रले पुर्नबहाली गर्दा एमालेको केन्द्रीय नेतृत्व आधा प्रतिगमन सच्चियो भनेर पुलकित भइरहँदा भारत प्रवाससँगै १४ अञ्चलका अगुवा कार्यकर्ताले पार्टीको निर्णय गलत भयो भनेर खबरदारी गरेर सिद्धान्त र आस्थाको पगरी बचाएका थिए । तर, यतिबेला त एमाले कार्यकर्तामा त्यो विवेक पनि देखिएन ।
पार्टीले राप्रपासँग चुनावी गठबन्धन गरिरहँदा कार्यकर्ता पंक्ति बिलखबन्दमा पर्यो । त्यसका विरुद्ध आवाज उठाउन सकेन । कार्यकर्ताको विवेक र धैर्यलाई बन्धकीमा राखेर गरिएको चुनावी गठबन्धन अवसरवादी हो । यस गठबन्धनले न लोकतन्त्रको भविष्यप्रति ध्यान दिएको छ न त सिद्धान्त र आस्थालाई ।
यसलाई नेताहरूले आआफ्ना पक्षका रामनामधारी पण्डा शैलीका कार्यकर्ताको भण्डारको खोपीमा पहुँच पु¥याउन गरिएको गठबन्धन भने हुन्छ । सिंगो पार्टी र सिद्धान्तमा आस्था र विश्वास गर्नेका लागि एमाले र कांग्रेसले गरेको चुनावी गठबन्धन एक प्रकारले विश्वासमा गरिएको कुठाराघात नै हो ।
सत्ताका लागि चुनावी गठबन्धन जो जोसँग गरे पनि मुलुकको उज्ज्वल भविष्यका लागि लोकतान्त्रिक शक्तिबीचको स्वस्थ प्रतिस्पर्धा र समन्वय नै आवश्यक हुन्छ । लोकतन्त्रलाई संस्थागत गर्न जटिलता र अप्ठ्यारा छन् । तिनलाई समाधान गर्न लोकतान्त्रिक शक्तिबीच विश्वास आवश्यक हुन्छ ।
विश्वासको वातावरण तयार गर्न दल र नेताहरुको चरित्र सभ्य र सुसंस्कृत हुनुपर्छ । त्यसका लागि धैर्य र संयम आवश्यक हुन्छ । संयम अपनाउन सकिएन भने राजनीतिक भविष्य जता पनि मोडिन सक्छ ।
माओवादीको मूलधारले ‘ब्यालेट’लाई उपयोग गरे पनि अझै सबै माओवादीले ‘बुलेट’ अर्थात् हिंसा छाडेका छैनन् । माओवादीको डरले घरबार छाडेर विस्थापित भएकाहरू अझै भारत प्रवास र नेपालकै सहरी क्षेत्रमा गुजारा चलाएर बसेका छन् । प्रत्यक्ष हिंसा न्यून भए पनि मानसिक हिंसा गाउ“गाउ“ अझै कायम छ ।
दोस्रो चरणको निर्वाचनको मुखमा संविधान सशोधन पर्खिएर बसेका मधेसवादी दलको राग उत्तिकै चर्को छ । असन्तोष प्रकट गरेको शक्तिले पनि छिमेकी देशका राष्ट्रपिता महात्मा गान्धीको अहिंसाको आदर्श चरित्रमा उतारेर राजनीतिक शक्तिका रुपमा रुपान्तरण हुनु आवश्यक छ । असन्तोष र द्वन्द्वको समाधान वा न्यूनीकरण स्थायी रुपमा नहुँदासम्म लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको मान्न सकिँदैन ।
समयमा संस्थागत गर्न सकिएन भने परिवर्तनको लाभ नागरिक स्तरमा पुग्दैन । त्यसैले सत्ता स्वार्थ र वंश विरासतका लागि गरिने यस्ता गठबन्धनले लोकतन्त्र संस्थागत हुने आधार देखिँदैन । आवेग र निहित स्वार्थका लागि गरिने यस्ता निर्णयले लामो इतिहास बोकेको पार्टीको पनि अस्तित्व संकटमा पर्न सक्छ । पार्टी नेतृत्व वंश विरासत र निहित स्वार्थमा डुबेपछि पार्टीको जग कसरी भत्किन्छ उदाहरणस्वरूप भारतीय कांगे्रसलाई हेरे पुग्छ । त्यो पाठ नेपालका दलहरुले सिक्नु आवश्यक छ ।
कार्यकर्ताको विवेकलाई बन्धकमा राखेर गरिने निर्णयबाट तत्काल लाभ होला र केही चाटुकारले वाहवाही पनि गर्लान् तर कलान्तरका लागि त्यो गलपासो हुन्छ । जीवन्त पार्टी र आस्थालाई दाउमा राखेर वंश, विरासत र निहित स्वार्थका लागि गरिने राजनीति फोहोरी खेलमात्र हो । त्यसको जगमा उम्रिएको नेतृत्वमा दम्भ र पाखण्ड हुन्छ । त्यस्तो नेतृत्वले भ्रष्टाचारलाई मलजल गर्छ । पार्टीमा गुट उपगुट बनाएर स्थापित मूल्य र मान्यता सखाप पार्छ । त्यतिबेला निष्ठावान् कार्यकर्ता पाखा लाग्न पुग्छन् । निष्ठा विनाको राजनीतिले लोकतन्त्र संस्थागत हुनसक्तैन ।
निष्ठाको राजनीतिको पुनस्र्थापनाका लागि स्थानीय निकायको निर्वाचन परिणामका आधारमा नागरिक स्तरबाट उठाइएका सबाल र विषयको संवेदनशीलताका आधारमा सम्बोधन गर्न दलहरुले ध्यान दिनु आवश्यक छ । केही हदसम्म स्थानीय निर्वाचन पछिको परिणाम र मतादेशले मधेसमा आदीवासी, दलित, जनजाति, मुस्लिमलाई उचित अधिकारसहित व्यवस्थापन गर्ने भन्ने विश्वास गर्न सकिन्छ । तर, दलहरु चुनावी गठबन्धनका आधारमा एक अर्काप्रति जाइलागे भने स्थिति अपेक्षा गरिएभन्दा विपरीत पनि हुनसक्छ ।
त्यसैले लोकतान्त्रिक शक्तिलाई नैतिक चरित्रवान बनाउन आवश्यक छ । त्यो चरित्र र संस्कार राज्यका सबै अंगमा आवश्यक हुन्छ । त्यो चरित्रले मात्र राष्ट्रियता अझै बलियो भएर जान्छ । नेपालमा २००७ सालदेखि पटक पटक आन्दोलन भइरहे तर परिवर्तन संस्थागत हुननसक्दा यस्ता समस्या आइरहे । गठबन्धन जोसँग गरे पनि मुलुकको संवेदनशीलतालाई ध्यान दिँदै मतको आदेशलाई पालना दलका नेताहरु विवेकी होउन् ।
विषम परिस्थितिमा घोषणा भएको पहिलो चरणको निर्वाचनपछि पूर्व सम्झौताअनुसार नैं सरकारको नेतृत्व हस्तान्तरण गर्न तयार हुनु प्रधानमन्त्री दाहालको राजनीतिक इमानदारी हो ।
पहिलो संविधानसभा निर्वाचनमा पार्टी हारे पनि गिरिजाप्रसाद कोइरालाले राजनीतिक लडाइँ जिते जसरी नै दाहालले पार्टीले अपेक्षाकृत जनमत ल्याउन नसके पनि छिमेकी देशहरुसँगको विश्वास कायम गरेर एउटा लडाइँ जितेका छन् । उनले पार्टीले हार्दाहार्र्दै पनि जितेका छन् । अब लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न उनले आगामी दिनमा त्याग गरेर भए पनि योगदान गर्ने संस्कार देखाउन आवश्यक छ । त्यतिमात्रै गर्न सके पनि प्रधानमन्त्री दाहाल धन्यवादका पात्र बन्नेछन् ।