site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रादेशिक अस्पतालमै उपचार नपाएपछि...
Sarbottam CementSarbottam Cement

जनकपुर । धनुषास्थित गणेशमान चारनाथ नगरपालिकाकी १२ वर्षीया एक बालिका यौनाङ्गमा घाउ भएर गएको वैशाख ३१ गते उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पुगिन् । विपन्न दलित परिवारकी ती बालिकाको घाउ बिग्रेर कीरा लागिसकेपछि जनप्रतिनिधिको सहयोगमा उपचारका लागि पठाइएको थियो । तर, अस्पतालले उपचारै नगरी घर पठाइदियो । 

बालिकाको यौनाङ्गमा केही महिनाअघि देखि घाउ थियो । सुरुमा तिनका अविभावकले पनि थाहा पाएनन् । बालिकालाई निकै पीडा हुन थालेपछि बल्ल आमालाई बताइन् । आमालाई जानकारी भए पनि तत्काल उनको उपचार हुन नसक्नुको दुईवटा कारण छन् । पहिलो त आमालाई पनि डाक्टरमा गएर उपचार गराइहाल्नुपर्ने आवश्यकता महसुस भएन अर्को उपचारका लागि पैसा अभाव । जब बालिकाले सहनै नसक्ने अवस्था आयो अनि आमा मन्टुट देवीले समाजलाई गुहार्न थालिन् । 

गुप्ताङ्गमा घाउ छ, सबैलाई भन्न पनि नमिल्ने । उपचारका लागि समाजमा पैंचो (सापटी) माग्न जाँदा किन पैसा चाहियो भनेर सबैले सोधिहाल्थे । दैनिक मजदुरी गरेर परिवार पाल्ने मन्टुटले बन्दाबन्दी (लकडाउन) भएदेखि दुई छाक हातमुख जोड्नै धौ–धौ परिरहेको बताउँछिन् । त्यसैमा छोरीको उपचार गराउनुपर्ने अर्को भार थपियो । 

Prabhu Bank
Agni Group
NIC Asia

“समाजमा पैसा माग्न जान्छु । खान त पुग्दैन यसले कहाँबाट पैसा फर्काउँछ भनेर हेप्छन्,” मन्टुटले बाह्रखरीसँग पीडा कहिन्, “जसोतसो जनकपुरको सरकारी अस्पतालसम्म पुगे पनि डाक्टरले उपचारै नगरी फिर्ता पठाइदियो । अब कहाँ जाउँ ?”

तराई मानवअधिकार रक्षक सञ्जाल प्रदेश २ का संयोजक विनोद महरा गाउँमा बसोबासको हिसाबले मन्टुटका छिमेकी हुन् । महराले बालिकाको अवस्थावारे जानकारी पाउनासाथ गाउँमै घर रहेको गणेशमान चारनाथ नगरपालिका प्रमुख रामबाबु यादवसमक्ष सहयोगका लागि आग्रह गरे । यादवले तत्कालै जनकपुरसम्म जान एउटा एम्बुलेन्सको जोहो गरिदिए, औषधोपचारका लागि दुई हजार नगद पनि । नगर प्रमुख यादवको सहयोग पाएर राहत महसुस गरेकी मन्टुटको त्यतिखेर मन टुट्यो जब अस्पतालमा पुगेर पनि छोरीको उपचार पाइनन् । 

Global Ime bank

“कोरोना हल्लाले सबैतिर कर्फ्यु लागेका बेला एम्बुलेन्स चढेर अस्पताल पुग्ने कसको पो रहर होला र !,” मन्टुटले बाह्रखरीसँग भनिन्, “परेका बेला भगवानजस्तै उपकार गर्ने मानिस भनेर चिनेको थिएँ डाक्टरलाई । तर, होइन रहेछ ।” अस्पतालको स्तर र अन्य कुरादेखि कुनै मतलब नराख्ने मन्टुटले यति भनिन्, “मेरो ठाउँमा कुनै नेताको परिवार भएको भए सायद मैलेजस्तो दुःख भोग्नुपर्दैनथ्यो कि !” 

पहिले त मूल गेटमै रोकिएको एम्बुलेन्स इमर्जेन्सी भनेपछि अस्पतालमा प्रवेश त पायो तर इमर्जेन्सी सेवाका लागि उनले टिकट पाइनन् । जति अनुनय गरे पनि जाबो टिकटसम्म कटाउन नसक्ने भएपछि उनले गाउँकै छिमेकी मानवअधिकारकर्मी महरालाई फोन गरिन् । महराले पनि आफ्नै गाउँमा घर भएका सञ्जय सिंह (प्रादेशिक अस्पताल विकास समिति अध्यक्ष) लाई फोन गरेर सहयोग गरिदिन आग्रह गरे । सोही अस्पतालका अध्यक्ष रहेका सिंहले निर्देशन दिएपछि मन्टुटले ५० रुपैयाँ तिरेर इमर्जेन्सीको टिकट पाइन् । जाँचका लागि करिब आधा घण्टा डाक्टरको प्रतीक्षा गरिन् । डाक्टरले घाउबारे थाहा पाउनेबित्तिकै कोरोनाको समयमा यस्तो उपचार हुन नसक्ने भन्दै फिर्ता जान सल्लाह दिएर निस्किहाले ।

डाक्टर र अस्पतालका अन्य कर्मचारीलाई जति नै बिन्ती गरे पनि कुनै सुनुवाइ नभएपछि मन्टुटले फेरि महरालाई फोन गरिन् । महराले अस्पताल विकास समिति अध्यक्ष सिंह र मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. नागेन्द्रप्रसाद यादवलाई दर्जनौंपटक फोन गरे पनि कुरा हुन नसकेपछि केही गर्न नसकेको बताउँछन् । बाह्रखरीको जिज्ञासामा सिंहले अस्पतालको अवस्था जर्जर रहेको र कर्मचारी नटेरेको प्रतिक्रिया दिए । मेसु डा. यादवले भने बिरामीबारे अनभिज्ञता प्रकट गरे ।

“अस्पतालमा दिनहुँ सयौं बिरामी आउँछन् । कसले उपचार नपाएर फर्किनुपरेको भन्ने मलाई जानकारी भएन,” मेसु यादव भन्छन्, “अहिले तपाईंले गरेजस्तै बिरामी अस्पतालमै रहेका बेला कसैले मलाई फोनमा समस्याबारे जानकारी दिएको भए पहल गर्थें । अब के गर्न सक्छु ?” अध्यक्ष सिंहले आफूले नै भनेर बिरामी पुर्जा काटिएको बताउँदै डाक्टरले जाँच पनि गरेको तर के कति कारणले फिर्ता पठाएको भन्ने जानकारी पाउन नसकेको बताउँछन् । 

सरकारी अस्पतालले उपचार र भर्ना गर्न नमानेपछि ती बालिकालाई अहिले धनुषाधाममा बस्ने उनका मामाको पहलमा त्यहीँको एउटा निजी क्लिनिकमा उपचार गरिरहेको मन्टुटले बताइन् । १५ दिनसम्म क्लिनिकमै राखेर उपचार गर्नुपर्ने क्लिनिकका सञ्चालकले भनेको सुनाउँदै उनले थपिन्, “क्लिनिकले पाँच हजार रुपैयाँ लिइसक्यो । थप पाँच हजारको जोहो गर्न भनेको छ । यतिले पनि उपचार सम्भव हुन्छ कि हुँदैन थाहा छैन तर थप पाँच हजारको जोहो कहाँबाट हुन्छ ? चिन्ताको विषय हो ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  १२:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC