प्रदीप नेपाल राजनीतिक दृश्यमा छैनन् । एमालेको नवौं महाधिवेशनसम्म सक्रिय रहेका नेपाल अहिले गुमनाम छन् । पार्टीका भेला, बैठकमा उनको अनुहार देखिँदैन । बरु आफैंले गोडमेल गरेर हुर्काएको पार्टीलाई गोठाटारमा बसेर हेरिरहेका छन् ।
२०५१ सालमा पार्टीले अल्पमतको सरकारको नेतृत्व गरेका बेला सूचना तथा सञ्चारमन्त्री बनेका थिए । त्यपछि उनी मन्त्रालयको पनि जिम्मेवारी सम्हाले ।
एकतापछि उनलाई पार्टीले केन्द्रीय कमिटीको जिम्मेवारी दिएको छ । तर, केन्द्रीय कमिटीको दुवै बैठकमा उनी ‘अनुपस्थित’ भए ।
४ सय ४५ सदस्यीय केन्द्रीय कमिटीमा आफ्ना कुरा राख्नै नपाउने बैठकमा नगएको उनको तर्क छ । नेपाल अहिले ६० वर्ष नाघेका र शासन–सत्ताको स्वाद चाखिसकेका नेतालाई पार्टी कमिटीबाट बिदा दिनुपर्छ भन्ने मान्यता राख्न थालेका छन् । उनै नेपालसँग बाह्रखरीका अक्षर काकाले गरेको कुराकानी :
नेकपाभित्रको अहिलको विवाद पार्टी बनाउने हुटुहुटी हो कि पदमा पुग्ने छटपटी ?
सरकारमा जानुपर्छ, पदमा पुग्नुपर्छ भन्ने छटपटी हो । पार्टी बनाउन त उहाँहरू जान्दै जान्नुहुन्न । तपाईंले फोन गरिहाल्नुभयो, प्रदीप नेपालले भनेको भनेर लेखिदिनुनस्– दुवै अध्यक्षलाई पार्टी बनाउने कुरा थाहै छैन ।
जेलनेल खाएको र जनयुद्धको आँधीबेहरी सिर्जना गरेको नेतृत्वसँग पार्टी बनाउने ज्ञानसीपै नहोला त ?
यसमा प्रष्ट हुँदा हुन्छ, उहाँहरू दुवैसँग पार्टी बनाउने ढङ्ग छैन । पुगेको भए त देखिहालिन्थ्यो नि !
जनताले यत्रो विश्वास गरेर देश बनाउने जिम्मा दिएका छन् । कम्युनिस्ट आन्दोलनले पनि उहाँहरूसँग भरोसा गरेको छ । ढङ्ग नपुगे त नेता–कार्यकर्ता, जनताको सपनामाथि कुठाराघात भयो नि !
जनताको विश्वास पूरा गर्ने, कार्यकर्ताको भावनाको सम्मान गर्नेतिर उहाँहरू जाँदै जानुभएन । संघीयता भन्नुभयो । नारा त लगाउनुभयो– घरघरमा सिंहदरबार पुर्याउँछौँ । काम के गर्नुभयो त ? केही गर्नुभएन नि । भाषणचाहिँ गर्न जान्नुभएको छ । त्यो अनुसार काम गर्न ढङ्ग पुगेन ।
संविधान कार्यान्वयनको सुरुआती चरणमा छौं । संरचनाहरू नयाँ छन् । कतिपय त बन्दै पनि छन् । परिणाम देखिन बाँकी हो कि ?
मैले अघि नै भने नि, संविधान कार्यान्वयनमा, नियम कानुन तर्जुमा संघीय संदको ध्यान केन्द्रित हुनुपर्छ । सबै नेताहरू संघीय संसदमा छन् । म त उहाँहरूको ध्यान नितान्त निजी कुरामा देख्छु । सांसदहरू सबैको ध्यान उही व्यक्तिगत सुख–सुविधा, बजेटतिर पो देख्छु ।
त्यसो भए अहिलेको राजनीतिक नेतृत्वबाट मुलुक परिवर्तन सम्भव छैन त ?
अहिले नेकपाभित्रको पहिलो लेयरका नेता जति पनि छन् नि, उहाँहरू चुपो लागेर निस्कनुपर्छ । जसले सत्ताको स्वाद चाखे, यि सबै पार्टीबाट बाहिर निस्कनुपर्छ । दोस्रो, तेस्रो, सत्ताको स्वाद नचाखेका कुनकुन लेयर बाँकी रहन्छ, स्वतन्त्र ढङ्गले काम गर्न सक्ने, आग्रह–पूर्वाग्रह नराख्ने, उहाँहरूलाई अगाडि बढाउनुपर्छ ।
तपाईं पनि केन्द्रीय कमिटीमा हुनुहुन्छ, सल्लाह–सुझाव त दिनुभएको होला ?
मलाई पार्टीको केही पनि थाहा छैन । मैले अहिलेको नेकपालाई फर्किएर पनि हेरेको छैन ।
पार्टीको केन्द्रीय कमिटी बैठकमा पनि जानुभएको छैन ? शपथ पनि खानु भएको छैन ?
कहिले बस्छ र त्यो ?
माघ महिनामा बसेको थियो केन्द्रीय कमिटीको बैठक, तपाईंलाई खबर भएन कि ?
केन्द्रीय कमिटीको बैठक बसेको थियो कि, आमसभा हो त्यो ? त्यत्रो ठूलो केन्द्रीय कमिटीमा सबैले कुरा राख्न पाउँछन् र जानू !
त्यो त कार्यकर्ता भेला हो । ४४५ जना स्रोतामा दस–बाह्रजनाले बोल्ने ! त्यसपछि बैठक सकियो । जब आफ्नो कुरा राख्नै पाइँदैन, नेताका कुरा सुने फर्किनुपर्छ भने त्यहाँ जानु समयको बर्बादी मात्रै हो ।
कमिटी हुन, बैठक हुनका लागि तपाईंको मानकचाहिँ केके हो त ?
कमिटीको पुरानै मानक छ नि ! केन्द्रीय कमिटीका सबै साथीहरूलाई एउटाएउटा जिम्मेवारी दिनुपर्यो । मलाई कुनै जिम्मेवारी छैन ।
केही दिन पहिले माओवादी केन्द्रतर्फका साथीहरू आउनुभएको थ्यो । उहाँ भन्दै हुनुहुन्थ्यो– हाम्रो र तपाईंहरूको पार्टी उस्तै पो रहेछ हौ कमरेड (ठट्टा गर्दै) ।
उहाँले पनि केही जिम्मेवारी पाउनुभएको रहेनछ । हामी कमिटी चलाएरै आएका हौं । हरेक मानिसलाई जिम्मेवारीले बाँध्नै पर्छ । अहिले त कमिटी प्रणाली नै भत्कियो ?
कहिलेदेखि कमिटी प्रणाली भत्कन थाल्यो ? तपाईं पनि त्यही पार्टीमा हुनुहुन्छ !
नेकपा बनेको आधा घण्टामा भत्कियो ।
कसरी ?
कम्युनिस्ट पार्टी भनेको के हो भन्ने बुझ्दै नबुझेका मानिसहरू केन्द्रीय कमिटीमा थुप्रो लागे, नेता भए । उनीहरूको केही दोष छैन । थाहा नपाउनु उनीहरूको दोष होइन नि । बुझेकै छैन त कसरी पार्टी बनाउनू !
तपाईं पार्टी–आन्दोलनबाट ओझेल परिसक्नुभएको छैन, भूमिकाको खोजी गरिराख्नु भएको छ भने सच्याउने उपाय पनि त होला नि !
महाधिवेशन हो । छिटो महाधिवेशन गर । आराम गर्नेलाई आराम गर्न पठाऊ । सक्रिय हुन चाहनेलाई जिम्मेवारी देऊ ।
प्रदीप नेपालको विचारमा अबको महाधिवेशनले कसकसलाई जिम्मेवारीबाट घर पठाइदिए हुन्छ ?
हाम्रो पुस्ता सबै निस्कनुपर्छ ।
जो पञ्चायतकालका विरूद्ध धेरै लड्यो । बहुदल ल्याउन साह्रै भिड्यो । त्यो पुस्ता अब निस्कनुपर्छ । धेरै थाकियो क्या !
किन ?
अब अरूले डेलिभर गर्नुपर्छ । हामीले सक्नेजति गर्यौं नि त । गणतन्त्रसम्म मुलुकलाई ल्याइदियौं अब हाम्रो काम फत्ते भयो । आराम चाहन्छौं हामी । युवाले गर्नुपर्यो । खासगरी २०४६ सालपछि हुर्किएका पुस्ता जिम्मेवारीमा आउनुपर्छ अब ।
सरकारको कामकारबाही बारेचाहिँ यहाँको के मूल्याङ्कन छ ?
दुईतिहाइ, एकतिहाइ, एक चौंथाइ जति भए पनि त्यसको अर्थ हुँदैन । हामीले एकतिहाइ हुँदा पनि काम गरेकै थियौं नि । दुई तिहाइ हुँदा झन् ढुक्कले काम गर्ने हो । वास्तवमा अहिले २०५१ साललाई छाड्ने हो भने, त्यसयताका सबै सरकारले भन्दा राम्रो काम गरेको छ ।
राम्रो काम गरे पनि यो सरकारसँग प्रचार गर्ने ढङ्ग छैन । भेला पारेर आफ्नो कुरा भन्न पनि जान्दैन । नराम्रो, छीः भन्ने त काम गरेको छैन नि !
काम गरिरहेको भए सरकारको विरोध किन भइरहेको छ त ?
पार्टी छैन । कमिटी छैन । कार्यकर्ता जिम्मेवारीमा छैनन् । त्यसैले सरकारको काम तल गएको छैन ।
सरकार सञ्चालनमा पनि ढङ्ग पुगेन भन्ने लागेको रहेछ तपाईंलाई, प्रधानमन्त्रीले सल्लाह सुझाव माग्नुहुन्न ?
प्रधानमन्त्री कसैसँग सल्लाह माग्नुहुन्न । लिनु पनि हुन्न । प्रधानमन्त्रीसँग मेरो फोनमा र प्रत्यक्ष एकपटक पनि भेट भएको छैन ।
पार्टीका पाका, पुराना नेतासँग परामर्श, सल्लाह नगरी सरकार कसरी अगाडि बढ्ला त !
त्यो त प्रधानमन्त्रीले थाहा पाउने कुरा हो । मैले यसै गर्नुहोस् कसरी भन्नू !
पार्टीका नेता कार्यकर्तालाई भन्नुपर्ने केही छ कि ?
पार्टीको महाधिवेशन छिटो गर भन्नुहोस् । महाधिवेशनका लागि छानिएर आएका प्रतिनिधिहरूले ६० वर्ष नाघेका नेतालाई बिदा गरिदिनूहोस् । त्यसपछि मात्रै पार्टी चलायमान हुन्छ ।