site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

जनताले चुनेका प्रतिनिधिहरूको स्वीकतिका लागि सरकारले संसद्मा प्रस्तुत गर्ने वार्षिक नीति र कार्यक्रममा यथार्थ प्रतिविम्बित हुनुपर्ने हो । तर, नेपालमा भने वार्षिक नीति र कार्यक्रमलाई राज्यको समग्र एकीकृत दस्ताबेज बनाउन कहिल्यै खोजिएन । वार्षिक नीति र कार्यक्रमलाई अल्छी कारिन्दाले अगिल्लो वर्षको पाठबाट सारेर पठाएका टिपोटहरूको सँगालोभन्दा फरक बनाउने प्रयासै भएन । सामान्य अवस्थामै पनि त्यसलाई सामयिक र वस्तुपरक बनाउनु जरुरी थियो । अहिले त असामान्य अवस्था छ । देश संकटमा छ । कोभिड – १९ ले नेपालमात्र हैन संसारकै भविष्य बदल्ने आशंका गरिएको छ । यसैले संसारका सबैजसो मुलुकले आआफ्नै तरिकाले कोभिड–१९ को सामना गर्ने रणनीति बनाएका छन् । नेपाल सरकारले पनि त्यस्तो विशेष रणनीति संसद्मा प्रस्तुत गर्ने वार्षिक नीति तथा कार्यक्रममा आउला भन्ने अपेक्षा धेरैले गरेका थिए । तर, सरकारको वार्षिक नीति तथा कार्यक्रमले भने सबै ठीकठाक भएको सन्देश दिएको छ ! 

लामो समयसम्म कोभिड–१९ को जोखिमलाई नै अस्वीकार गर्ने वर्तमान सरकारले धमाधम बन्दाबन्दीको समय बढाएको बढाएकै छ । करिब दुई महिना सिंगै मुलुकलाई बन्दाबन्दीमा राख्नुपर्ने कारण असामान्य त पक्कै होइन । यस्तै, दुई महिना बन्दाबन्दीमा राखिएको देशको जनजीवन पनि सहज र स्वाभाविक त पक्कै छैन । तर, सरकारको वार्षिक नीति र कार्यक्रममा भने ‘कोभिड –१९’ ले उत्पन्न गरेको भयावहताको वर्णन र अहिलेसम्मको विफलताको प्रशंसाबाहेक अरू ठोस केही उल्लेख भएको देखिएन । जनताले चुनेकै पनि शासकहरू जनउत्तरदायी नहुँदा संकट झन् गहिरो हुँदोरहेछ भन्ने दृष्टान्त ब्राजिल, अमेरिकाजस्ता देशको अवस्थाबाट देखिएको छ । यस्तै, जर्मनी, ताइवान, दक्षिण कोरिया, न्युजिल्यान्डजस्ता देशमा भएका प्रयासहरूले शासनमा यान्त्रिक तत्परताभन्दा बढी मानवीय संवेदना बढी जनहितकारी हुने सन्देश दिएका छन् । तर, नेपालमा भने सरकारको वार्षिक नीति र कार्यक्रमजस्तो महत्त्वपूर्ण दस्ताबेजले समेत यहाँ सब ठीकठाक भएको सन्देश दिन खोजेको छ ।

कोभिड–१९ ले विश्वकै आर्थिक, सामाजिक र राजनीतिक व्यवस्थाहरूमा प्रश्न उठाएको छ । विश्वभर शासनमा पुँजीपतिहरूको वर्चस्व र यो वा त्यो प्रकारको लुटतन्त्रको प्रभावका कारण कोभिड–१९ पछि पनि मानवीय परिवर्तन भने सहज हुनेछैन । संकट मत्थर भएपछि परिवर्तनका पक्षधर लाखापाखा लाग्ने र लुटतन्त्रका पृष्ठपोषकहरू झन् क्रूररूपमा प्रकट हुने जोखिम नै धेरै छ । तैपनि, धेरै मुलुकले विशेषगरी कार्यकारी प्रमुखहरूकै नेतृत्वमा कोभिड–१९ को सामना गर्न क्षमता जनतामा विकास गर्ने विशेष कार्यक्रमहरू तर्जुमा र घोषणा गरेका छन् । नेपाल भने यस मामिलामा दोहोरो ठगिएको देखियो । पहिलो त देशका प्रधानमन्त्री केपी शर्मा ओलीका कथनी र करनीले उनी कोभिड–१९ ले नेपाली जनतामा पारेको प्रभावका बारेमै अनभिज्ञ रहेको सन्देह उत्पन्न हुन्छ । अर्को, स्वास्थ्य अवस्था र कार्यशैली दुवैबाट प्रधानमन्त्री ओलीमा संकटको नेतृत्व गर्ने आवश्यक क्षमता तथा शक्ति नभएको देखिएको छ । जनताका दृष्टिमा प्रधानमन्त्री ओली अहिले कहिले कहीँ यसो झुलुक्क देखिएर लोप हुने दन्त्यकथाका रहस्यमय पात्रजस्ता देखिन पुगेका छन् । सम्भवतः यही कारणले वार्षिक नीति तथा कार्यक्रमद्वारा जनतालाई सम्बोधन गर्ने अवसर सरकारले गुमायो । आर्थिक वर्षको बजेट पनि सबै ठीकठाक छ भन्ने देखाउने गरी नीति र कार्यक्रमकै निरन्तरता भयो भने देश ठीकठाक रहनेछैन । अभाव र रोगबाट पीडित जनता ठीकठाक रहनेछैनन् । कोभिड–१९ को संक्रमण र त्यसभन्दा पनि दुई महिने बन्दाबन्दीले जनजीवनमा परेको आर्थिक, सामाजिक प्रभाव न्यून गर्ने उपायहरू बजेटबाट अपनाउन सकिएन भने अरू सबै जे भए पनि मुलुक ठीकठाक हुनेछैन ।         
   
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७  १५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC