अहिलेको जस्तै लकडाउन निरन्तर जाने हो भने धेरै व्यवसाय धराशायी हुन्छन्

अहिलेको जस्तै लकडाउन निरन्तर जाने हो भने धेरै व्यवसाय धराशायी हुन्छन्

लकडाउनको अधिकांश समयमा ‘बिजनेस कन्टिन्युटी प्लान’मै बित्यो । यो समयमा ‘वर्क फ्रम होम’ नै गर्‍यौं । प्रविधिले घरबाटै काम गर्न पनि सजिलो बनाइदियो । डिजिटल प्लेटफर्ममार्फत घरबाटै काम गर्ने वातावरण मिलायौं । कोरोना र कोरोनापछि व्यापारलाई कसरी निरन्तरता दिने भन्ने विषयमा योजनाहरू बनायौं । व्यवसायलाई कसरी बचाउने र अगाडि बढाउने भन्ने नै अहिलेको सबैभन्दा ठूलो चुनौती हो । कोरोनाको असर कहिलेसम्म हुन्छ, कसैलाई थाहा छैन । त्यसैले हाम्रो व्यापार–व्यवसायलाई कसरी निरन्तर गर्ने र कसरी बचाउने भन्ने योजनामै बढी समय बित्यो । 

कोरोनाका कारण व्यापार रोकियो तर योजना बनाउन रोकिएन । व्यापार अहिले ठप्पै भयो । दुई महिना हुन लागिसक्यो व्यापार छैन । तर, लकडाउन खुलिसकेपछि आर्थिक गतिविधि हुन थाल्छ भने त्यो बेलामा कसरी व्यापारलाई अगाडि बढाउने र त्योसँगै लकडाउनको स्थितिमा पनि हामीले के कस्तो योजना बनाएर अगाडि जानुपर्छ, कसरी संस्थालाई बचाउन सकिन्छ भनेर वर्किङ क्यापिटल व्यवस्थापनमा हामीले काम गर्‍यौं । त्यसमा लागत कति र कसरी घटाउन सकिन्छ, कहाँ कहाँ घटाउन सकिन्छ भन्ने योजना बनायौं र कार्यान्वयन गर्दै आएका छौं । 

अटो मोबाइल क्षेत्रमा कोरोनाको असर
अटो मोबाइल क्षेत्रमा कोरोनाको ठूलो असर परेको छ । गत वर्षदेखि नै नेपालमा अटो मोबाइलको कारोबार घट्दो क्रममा गइरहेको स्थितिमा कोरोना आइसकेपछि दुई महिनादेखि बिक्री छैन । विगतमा कमर्सियल र प्यासेन्सर गाडी प्रतिदिन करिब ५० वटा बिक्री हुन्थ्यो । अहिलेसम्म तीन हजार गाडीको असर यो क्षेत्रलाई परिसकेको छ । यो क्षेत्रबाट मात्रै अर्थतन्त्रमा एक हजार करोडको असर परिसकेको छ । यही स्थितिमा व्यवसायलाई अगाडि बढाउन सक्ने स्थिति छैन । सबै व्यवसाय धराशायी भइसकेका छन् । 

अहिलेको अवस्थामा दुईवटा विषयलाई सँगसँगै लैजानुपर्छ । एउटा, जनसुरक्षाको कुरा । कोरोना चाँडै फैलिन्छ भने त्यसलाई कसरी निराकरण गर्दै जाने र त्यो सँगसँगै आर्थिक गतिविधिलाई पनि सँगसँगै कसरी लैजाने भन्ने विषयलाई हेर्नुपर्नेछ । आर्थिक गतिविधि नभएसम्म जीविकोपार्जन चल्ने छैन । अहिलेको जस्तै लकडाउन निरन्तर जाने हो भने धेरै व्यवसाय धराशायी हुन्छन् र कतिपय व्यवसाय बन्दै गर्नुपर्ने पनि हुन्छ । त्यो खालको असर अटोमोबाइल क्षेत्रमा परिसकेको छ । यो विषयलाई हामीले नाडाबाट पनि उठाइरहेका छौं । हामीले उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्ससँग पनि समन्वय गरिरहेका छौं । सुरक्षाका सम्पूर्ण उपाय अवलम्बन गरी कोरोना पनि नफैलियोस् र व्यवसाय पनि सञ्चालन होस् भन्नेतर्फ हामीले पहल गरिरहेका छौं । 

सिप्रदी ट्रेडिङलाई कोरोना असर
कमर्सियल भेइकलमा हाम्रो कम्पनीको सेयर ठूलो छ । अहिले पनि ६५ देखि ७० प्रतिशत बजार हिस्सा हाम्रो कम्पनीको छ । सय गाडी बिक्री हुँदा ६५/७० वटा गाडी त हाम्रो बिक्थ्यो । तर, अहिले त्यसको असर हामीलाई परेको छ । प्यासेन्जर भेइकलमा पनि हाम्रो राम्रै सेयर छ । त्यसैले कोरोनाबाट हामीलाई निकै असर परिरहेको छ ।

नीति परिवर्तन भइरहनु अर्को समस्या
कमर्सियल प्रयोजनका गाडीमा सरकारको नयाँ नयाँ नीति आयो । व्यवसायीहरूले त्यो नीतिलाई तत्काल ‘एडप्ट’ गर्न सकिरहेका छैनन् । नीतिहरू राम्रा आएका छन् तर ती नीति छिटो–छिटो आए । हाम्रो क्षमता छिटो–छिटो परिवर्तन हुने नीतिलाई ‘एडप्ट’ गर्न सक्ने अवस्था थिएन । भीसीटीएस, कम्पनी दर्ता, करका विषयले धेरै दोधार बनायो । त्यसले गर्दा मान्छेले लगानी गर्न डराए र व्यापार घट्दै गयो । र प्यासेन्जर भेइकलमा पनि भन्सार बढ्दै गयो । सीसीका आधारमा भन्सार शुल्क बढ्दै जाँदा त्यसको असर पर्ने नै भयो । त्यससँगै लोन टु भ्यालु रेसियो अर्को प्रमुख कारक बन्यो, व्यापार घट्नुमा । 

कुनै गाडी खरिद गर्न ५० प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्छ । अहिलेको अवस्थामा ५० प्रतिशत डाउन पेमेन्ट गरी गाडी किन्न गाह्रो छ । पहिला २०/२५ प्रतिशत डाउन पेमेन्ट गरी गाडी किन्न सकिने व्यवस्था थियो । जब डाउन पेमेन्टै ५० प्रतिशत गर्नुपर्ने भनियो, त्यसले हाम्रो व्यापारलाई असर पारेको छ । कम्पनी दर्ता गर्नुपर्ने भन्ने व्यवस्था, प्रक्रियागत विषय र छिटो–छिटो परिवर्तन भएका नीतिले हामीलाई असर पारेको छ । नीति ल्याउँदा पूर्वतयारी गरिएको भए त्यसले असर पार्दैनथ्यो होला तर हाम्रो सन्दर्भमा नीति छिटो–छिटो आए र ती नीति कार्यान्वयन गर्दा हाम्रा ग्राहकलाई त्यसमा ‘एड्प्ट’ गर्नै गाह्रो भयो । 

कमर्सियल, प्यासेन्जर र मोटरसाइकलको बिक्री देशको अर्थतन्त्रसँग जोडिएको छ । निर्माण क्षेत्र, उद्योगहरू सञ्चालन भए एवं प्रवर्द्धन भए, सार्वजनिक यातायात राम्रो भए भने अटोमोबाइल व्यवसाय राम्रो हुने हो । यी उद्योग राम्रो भएपछि मात्रै अटोमोबाइलको व्यापार बढ्दै जान्छ । यो विकाससँग पनि जोडिएको छ । अर्को प्यासेन्सर भेइकलन सीधा क्रयशक्तिसँग जोडिएको छ । मान्छेको आय घट्दै गए क्षमता पनि घट्दै जान्छ जसले महँगा गाडीको बिक्रीभन्दा कम मूल्यका गाडीको बिक्री हुन सक्छ । तर, लोन टु भ्यालुले यसमा अर्को चुनौती थपिदिएको छ । 

प्यासेन्जर भेइकलमा भन्सार निकै धेरै छ । ५० हजार डलरभन्दा बढीको गाडी खरिद गर्न नपाउने भन्ने व्यवस्थाका कारण यो मूल्यका गाडी खरिद गर्नेको संख्या ज्यादै न्युन छ । त्यसको असर भ्यालुमा धेरै हुन्छ तर संख्यामा धेरै नहोला । त्यो व्यवस्थाका कारण दुई सय गाडीमा असर पर्न सक्छ । तर, भ्यालुमा त्यसको ठूलो असर हुन्छ । 

सिप्रदीको यात्रा
सिप्रदी स्थापना भएको पनि ३७ वर्ष पूरा भइसक्यो । म आफैं यो कम्पनीको यात्रामा २१ वर्षदेखि छु । धेरै दुःख गरी कम्पनीलाई यो अवस्थासम्म ल्याइपुर्‍याएका छौं । कम्पनीलाई कसरी अगाडि लैजाने भन्ने विषयमा बिजनेस कल्चर विकास गरेका छौं । कम्पनीको ‘कोर भ्यालु’ मै बसेर काम गर्नुपर्ने हुन्छ, कम्पनीको त्यही कल्चरकै कारण हामी अगाडि बढिरहेका छौं, त्यसैमा केन्द्रित भइरहेका छौं । 

हामी कुनै पनि विषयमा सम्झौता गर्दैनौं । कम्पनीका कर्मचारी भनेको हाम्रो सम्पत्ति हो । त्यो सम्पत्तिलाई सधैं अपडेट गरिराख्ने हो, गरिरहेका छौं । बजारको माग सधैं एउटै हुँदैन, कर्मचारीलाई धेरै तालिम दिनुपर्छ, त्यसमा हामी केन्द्रित छौं । हामी सबै टिमवर्कमा विश्वास गर्छौं ।

अर्को कम्पनी सिस्टममा चल्नुपर्छ । त्यसैले हामीले सिस्टममा धेरै लगानी गर्‍यौं । सिस्टमकै कारण कम्पनीलाई जस्तोसुकै अवस्थामा पनि अगाडि बढाउन गाह्रो भएको छैन । त्यसैले पनि हामीले ग्रोथ गरिरहेका छौं र सिप्रदी यहाँसम्म आउन सफल भएको छ । 

नेपालमै गाडी एसेम्बलको योजना
गाडी एसेम्बल गर्ने विषयमा धेरै गृहकार्य गर्‍यौं । टाटासँग पनि धेरै कुरा भयो । कुन मोडलमा गर्न सकिन्छ भन्ने विषयमा धेरैपटक छलफल गर्‍यौं । तर, नेपालको जुन बजार छ, त्यो धेरै सानो छ । नेपालको उद्योगको बजार पनि सानो छ । त्यसैले धेरै सम्भावना देखेका छैनौं । गाडीको एउटा मोडल बनाउन जुन प्रकारको पूर्वाधार चाहिन्छ, त्यसमै धेरै लगानी हुन्छ । त्यसलाई नम्बरले औचित्य सिद्ध गराउँदैन भने लगानी गरेर केही हुँदैन । हामीले एसेम्बल गरेर देशको अर्थतन्त्रमा भ्यालु एड गर्न सकेनौं भने त्यसको अर्थ रहँदैन । एसेम्बलका लागि लगानी गरेर अर्थतन्त्रमा भ्यालु एड गर्ने कुरा हामीले देखेनौं । 

योसँगै सरकारको नीति पनि अनुकूल हुनुपर्‍यो । नीति अनुकूल भयो भने हामी मात्रै होइन अरू पनि गृहकार्य गरेर बसिरहेका छन् । तर अहिलेसम्म अवस्था अनुकूल नभएकाले कोही पनि अगाडि आउन सकेको छैन । 

सरकारले स्वदेशमै गाडी एसेम्बल गर्ने हो भने विभिन्न सुविधा, छुट दिन्छौं भनिरहेको छ तर कस्तो सुविधा कसरी दिने भन्ने विषयमा अहिलेसम्म सरकारको मोडालिटी नै स्पष्ट भइसकेको छैन । त्यसैले व्यवसायी दोधारको अवस्थामा छन् । सरकारको नीतिमा स्पष्टताको अभाव छ । 
 

प्रतिकृया दिनुहोस
ad