site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोभिड–१९ र महिला

महामारीलगायतको विपत्तिले विभिन्न लिङ्ग, वर्ग, क्षेत्रमा रहेका समुदायलाई फरक फरक तरिकाले असर गर्छ भन्ने कोभिड–१९ को प्रभावले पनि पुष्टि गरेको छ । नेपालमा महिलाहरु आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिकरुपले विभेदमा र पछाडि पारिएका छन् । ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिला अझ बढी विभेद र हिंसामा परेका छन् ।

कोभिड–१९ को महामारीले महिलाहरुलाई फरक प्रकारले असर पार्नुका साथै बढी जोखिममा पारेको र पार्ने निश्चित छ । महिलाहरुमा यसको अप्रत्यक्ष असर व्यापक र बढी विनाशकारी पनि हुनसक्छ । यसर्थ सरकार र सरोकारवाला निकायले कोभिड–१९ को प्रभावबाट महिलाहरुमा पर्न जाने बहुआयामिक असरहरु न्यून गर्न तिनको गहन अध्ययन तथा विश्लेषण गर्न आवश्यक देखिन्छ । अनिमात्र कोभिड–१९ को संक्रमण नियन्त्रणको अभियान अझ सुदृढ र मानव अधिकारमुखी बन्नसक्नेछ । 
कोभिड–१९ ले महिलाहरुमा पारेको र पार्न सक्ने प्रभावका केही विषयको यहाँ चर्चा गरिएको छ । 

महिला र नेतृत्व

Prabhu Bank
Agni Group
NIC Asia

यस महामारीको अग्रपंक्ति र बढी जोखिममा रहेका योद्धा स्वास्थ्यकर्मी हुन् । विश्वमा स्वास्थ्यकर्मीको ७० प्रतिशत संख्या महिलाहरुले नै ओगटेका छन् । नेपालमा पनि करिब ५० प्रतिशत स्वास्थ्यकर्मी महिला नै छन् । महिला भएकै कारण उनीहरुको फरक र विशेष आवश्यकता, मानसिक तनाव सँगसँगै व्यक्तिगत जिम्मेवारीको उचित पहिचान र व्यवस्थापन गर्न सके महामारी नियन्त्रण पनि प्रभावकारी र सफल हुन सक्छ । त्यसका लागि स्वास्थ्य निकाय तथा संयन्त्रको उच्च व्यवस्थापन र निर्णय लिने स्थानमा महिलाको उल्लेख्य सहभागिता सुनिश्चित हुनुपर्ने देखिन्छ । 

महिलाहरुले नेतृत्व लिएका केही देशमा कोभिड–१९ संक्रमण द्रूतगतिमा नियन्त्रणमा आएको छ । ताइवान, नेदरल्यान्ड, जर्मनी तथा फिनल्यान्डजस्ता देशहरुमा भएको सफल प्रयास महिला नेतृत्वको उदाहरण हो । नेपालमा पनि हाल स्वास्थ्य क्षेत्रका अग्रपंक्तिमा रहेका महिला डा. रुना झा, टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक र डा. सङ्गीता मिश्रा, कोशी अस्पतालको प्रमुखले आफ्नो दूरगामी सोच र चुस्त व्यवस्थापनका कारण उदाहरणीय छवि बनाएका छन् । 

Global Ime bank

महिला र प्रजनन स्वास्थ्य

महिलाको प्रजनन स्वास्थ्यको अधिकारलाई बन्दाबन्दीमा पूरै वेवास्ता गरेको देखिन्छ । यसको प्रत्यक्ष मार गर्भवती, सुत्केरी महिला र नवजात शिशुहरुलाई परेका छ । केही समयअघि कोरोनाको त्रासले उदयपुरको एक जना गर्भवतीले सुत्केरी गराउनका लागि भोग्नुपरेको पीडाको कथा अझै ताजै छ । त्यस्तै कतिपय प्रसूति सेवा उपलब्ध गराइरहेका स्वास्थ्य संस्था कोरोना विशेष अस्पतालमा परिणत गरिँदा महिलाहरुले अति आवश्यक सेवाको लागि जोखिम उठाउन बाध्य भएका खबरहरु पनि आइरहेका छन् । यसले पनि सरकार र सम्बन्धित सरोकारवालाहरुको महिलाको प्रजनन स्वास्थ्य अधिकारप्रति रहेको संवेदनहीनता र गैरजिम्मेवारी दर्शाउछ । यी त केही प्रतिनिधि उदाहरणमात्र हुन् । 

महिला र रोजगारी

विश्व अर्थतन्त्रमा अनौपचारिक क्षेत्र कृषि, दैनिक ज्याला मजदुरी, घरेलु कामदार, साना घरेलु व्यवसाय तथा पेसामा ठूलो हिस्सा महिलाकै छ । नेपालमा पनि अनौपचारिक क्षेत्रमा करिब ६७ प्रतिशत महिला छन् । हालसालै विश्व बैंकले प्रक्षेपण गरेअनुरुप चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ प्रतिशतमा झर्नेछ । यसको प्रत्यक्ष प्रभाव रोजगारीमा पर्नेछ । अर्थात्, अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले रोजगारी गुमाउनेछन् । फलस्वरूप, महिलाहरुले बेरोजगारी र न्यून आयको सामना पनि अधिक गर्नुपर्नेछ । 

महिला र हिंसा

बन्दाबन्दीका अवधिमा महिला हिंसाका घटना बढेको पाइएको छ । करिब एक साताअघि महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले सार्वजनिक गरेको तथ्यांकका आधारमा मुलुकका विभिन्न १८ वटा जिल्लामा १७६ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको पाइएको छ । त्यसमा १०३ वटा हिंसा घरभित्र पति र परिवारका अन्य सदस्यहरुबाट भएका छन् । यी घटना विभिन्न संघ संस्था, स्थानीय निकाय र पत्रपत्रिकाबाट बाहिर आएका हुन् । तर महिला अधिकारकर्मीहरुले महिला हिंसाको घटना यसभन्दा अझ बढी हुनसक्ने आँकलन गरिरहेका छन् । बन्दाबन्दीको कारणले सम्बन्धित निकायसम्म पुग्न नसकेको र पीडकसँगै एउटै घरभित्र बस्नुपर्ने बाध्यताले घटना बाहिर आउन नसकेको हुनसक्ने अनुमान गरिएको छ । महिला मानव अधिकारकर्मी तथा विभिन्न संघसंस्थाले सम्बन्धित निकायलाई सबै जिल्ला २४ घन्टै खुला हुने हटलाइन सेवा, कानुनी परामर्श, सेफहाउस, मनोसामाजिक परामर्श सेवा र घटनाको उजुरी दर्ता गर्ने सेवा सञ्चालन गर्न विशेष आग्रह गरिरहेकाछन् । 

महिला र कार्यबोझ

बन्दाबन्दीको समयमा पनि घरभित्रको काममा लैगिंक भूमिकामा खासै परिवर्तन आएको देखिँदैन । घरभित्र परिवारका सबै सदस्य भए पनि धेरैजसो काम महिलालेनै गर्नुपरेको छ । सहरका केही कामकाजी महिलाहरुमा घरभित्रको काम सक्नु, बालबच्चा र वृद्ध सदस्यको विशेष ख्याल राख्नुदेखि दैनिक घरबाटै कार्यालयको काम पनि गर्नुपर्ने चुनौती आइपरेको छ । सामान्य अवस्थामा पनि अधिकांश नेपाली महिलाले घरका पुरुषको तुलनामा करिब २५ देखि ५० प्रतिशत बढी समय काम गर्छन् भन्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । यसर्थ पनि बन्दाबन्दीको समयमा महिलाहरुको कार्यबोझ अझै बढेको देखिन्छ । 

महिला र खाद्य सुरक्षा

बन्दाबन्दीको कारण आयस्रोत नभएको र खाद्यान्नको अभावको मारमा पनि महिलाहरु नै बढी प्रभावित भइरहेका छन् । घरको चुलोचौकाको जिम्मेवारी महिलाहरुको हातमा हुने र दैनिक घट्दै गएको खाद्यान्न अभावको तनाव तथा त्यसको व्यवस्थापनको जिम्मा पनि महिलाहरुलाई बढी हुन्छ । नेपाली ग्रामीण समाजमा समान्य अवस्थामा पनि लैंगिक विभेद र विभेदकारी मूल्यमान्यताका कारण पोषणयुक्त खानेकुरामा महिला तथा बालिकाको पहुँच कम रहेको छ । घरका पुरुष, ज्येष्ठ सदस्य, बालबच्चाले खाइसकेपछि बल्ल महिलाको खाने पालो आउँछ । यसले गर्दा बचेका आहारामा निर्भर रहनु महिलाको दिनचर्या नै भइसकेको छ । यसरी खाद्यान्नको अभावसँगै महिलाहरुले खाने भागमा पनि कटौती सुरु हुन्छ । यसले महिलाहरुको स्वास्थ्य झनै जोखिममा पर्ने जोखिम देखिएको छ । 

सन् २०१९ मा विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनमा ४८ प्रतिशत प्रजनन उमेर समूहका महिला तथा बालिकामा रक्तअल्पता रहेको देखिएको थियो । त्यसको मुख्य कारण अति आवश्यक पोषक तत्त्व शरीरमा कमी हुनु थियो । पोषणयुक्त खानेकुरा उचित मात्रामा उपलब्ध नहँुदा महिलाले कमजोर प्रतिरोधात्मक क्षमता र विभिन्न रोगको सामना गर्नुपर्ने पनि देखिन्छ ।

महिला र सहायता

बन्दाबन्दीको कारण दैनिक ज्यालादारी गर्दै आएका श्रमिक र अति विपन्न वर्गलाई लक्षित गरी स्थानीय सरकारमार्फत सहायता वितरण भइरहेको छ । उक्त सहायता सामग्रीहरुको प्याकेजले महिला तथा बालबालिकाको विशेष आवश्यकतालाई समावेश गर्न सकेको छैन । खास गरेर सहायता दिने क्रममा गर्भवती, सुत्केरी र दूधे बालबालिकामा ध्यान पुगेको छैन । यसका साथै एकल महिला, अपांगता भएका महिला र दलित महिला सूचनाको अभावसमेतका कारण सहायताबाट वञ्चित भएका छन् । 

महिला र मनोविज्ञान

महिलाहरुमा तनावसँगै घर परिवार व्यवस्थापन, कोभिड –१९ संक्रमणको त्रास, हिंसा, विभेद र अनावश्यक दबाब, अनिश्चित भविष्य आदि विभिन्न कारणले गर्दा मानसिक स्वास्थ्यमा असर परिरहेको देखिन्छ । यसको समयमा विशेष निगरानी र व्यवस्थापन गर्नुपर्ने हुनसक्छ । घरपरिवार, साथीभाइदेखि सम्बन्धित सरोकारवालाले त्यसमा विशेष सहयोगी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।  

महिला/बालिका र शिक्षा

बन्दाबन्दीका कारणले विद्यालय तथा शैक्षिक संस्था सबै ठप्प भएकाछन् । बन्दाबन्दीपश्चात धेरै विधार्थीले विद्यालय छोड्ने अनुमान गरिएको छ । त्यस्ता विद्यार्थीमा पनि अधिंकाश छात्राहरु हुनेछन् । यो शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा अझ बढी हुनसक्ने देखिएको छ । आर्थिक अवस्था कमजोर भएपछि अभिभावकले छोराछोरीलाई विद्यालय पठाउन छोड्नेछन् । यसमा पनि छोरीहरु अभिभावकको पहिलो रोजाइमा पर्नेछन् ।

सामान्य अवस्थामा पनि बालिकाको विद्यालय छोड्ने दर बालकहरुको तुलनामा २.५ पटकले बढी छ । विधालय छाडेर बसेका यी बालबालिका बालमजदुरी, यौन दुव्र्यवहार, बालविवाह तथा मानवबेचबिखनको सिकार हुने जोखिम हुन्छ । सन् २०१९ को मध्यतिर युनिसेफले नेपालमा ५ देखि १२ वर्ष उमेर समूहका करिब ७ लाख ७० हजार बालबालिका विद्यालय बाहिर रहेको तथ्यांक प्रकाशित गरेको थियो । कोभिड–१९ पछिको अवस्थामा अझ बढ्ने निश्चित छ ।   

यसर्थ यो संकटको विषम परिस्थितिमा महिलाहरुलाई पर्ने विभिन्न असर र त्यसको दूरगामी प्रभावहरु तथा आउन सक्ने चुनौतीहरुको गहन विश्लेषण गरी समाधानका लागि विभिन्न विकल्पहरुको तयारीमा  सरकार र सम्बन्धित सरोकारवाला निकायहरु जुट्न जरुरी छ । यसमा एकै प्रकारका रणनीति तथा योजनाले काम गर्दैनन् । तसर्थ, विभिन्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना, रणनीति तथा कार्यक्रम आवश्यक पर्ने देखिन्छ ।

महामारी नियन्त्रणको क्रममा वा महामारी नियन्त्रणपश्चातका विभिन्न आर्थिक, सामाजिक र राजनीतिक योजना, नीति तथा कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन एवं मूल्यांकनका विविध चरणमा नेतृत्वदायी भूमिकामा महिलाको उपयुक्त सहभागिता सुनिश्चित हुनुपर्ने देखिन्छ । अनिमात्र लैगिंक समानताका लागि साँचो अर्थमा सरकार र सम्बन्धित निकायहरु प्रतिबद्ध रहेको स्पष्ट हुनेछ । यसबाट  लैंगिक समानताका लागि वर्षौंदेखि गरिएका आन्दोलन र प्रयासहरु सफल हुनेछन् । अन्यथा, महामारीको दुष्प्रभावले लैंगिक असमानता र विभेदका खाडलहरु अझ जटिल र फराकिलो हुने निश्चित छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७  ११:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC