site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

जनताको अभिभावक हुनुपर्ने भनिएको सरकार नै कपटी देखिएपछि नेपाली नागरिहरूले सास्ती पाउनु कुन आश्चर्य भयो र? यसो त नेपालमा जनताकै हितमा समर्पित सरकार सायद अहिलेसम्म गठन भएकै छैन । त्यसमा पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकार त सुरुदेखि नै जनताका लागि शकुनिको अवतारमा देखिएको थियो । कोभिड–१९ को महामारीले त झन् सरकारको शकुनिरूप उदांगो भयो । महाभारतका खलपात्र शकुनि गान्धार देशका युवराज छँदै हस्तिनापुर आएर बसे । गान्धार नरेश हुँदा पनि उनी हस्तिनापुरै बसे । हस्तिनापुरका संरक्षक भीष्मले गान्धार राजकुमारी गान्धारीको अपहरण गरेर आफ्ना जन्मान्ध भतिजा धृतराष्ट्रसँग विवाह गराइदिएको इबी साध्न शकुनि हस्तिनापुर बसेका थिए । हस्तिनापुरमा झगडा लगाएर शकुनिले अन्ततः दुर्योधनको मात्र हैन साम्राज्यकै अन्त्य गराइदिए । हित गरेको देखाउँदै अहित गर्ने पात्रलाई अहिले पनि शकुनि भन्ने गरिन्छ । शकुनि प्रवृत्तिको मूल विशेषता देखाउने र वास्तविक अभीष्ट फरक हुनु हो । नेपाल सरकारले कोभिड–१९ को महामारीको सम्बोधन गर्ने क्रममा यस्तै शकुनि प्रवृत्ति देखाएको छ । 


सरकारको मूल उद्देश्य कोभिड–१९ को संक्रमण रोक्ने र त्यस क्रममा नेपाली नागरिकको असुविधा सकेसम्म कम गर्न प्राथमिकता दिने हुनुपर्थ्यो । तर, शासकहरूको ध्यान भने अत्यावश्यक चिकित्सा सामग्रीको पहिले अभाव उत्पन्न गराउने र हाहाकार मच्चिएपछि त्यसैलाई निहुँ बनाएर आफन्तहरू संलग्न संस्थालाई आपूर्तिको ठेक्का दिनेमा केन्द्रित रहेको देखियो । भ्रष्टाचार गर्ने बदनियत नभएको भए माघमै आह्वान गरिएको टेन्डर चैतसम्म निर्णय नगरी पक्कै राखिने थिएन । चर्को विरोधपछि ओम्नीको स्वार्थ पूर्ति हुनेगरी ‘धरौटी जफत’ गरेर कम्पनीलाई कालोसूचीमा राख्ने भनेर भ्रष्टाचार सामसुम बनाइयो । त्यसपछि चिकित्सा सामग्री ल्याउने जिम्मा नेपाली सेनालाई त दिइयो तर ओम्नीले ल्याएको कमसल गुणस्तरको र्‍यापिड डाइग्नोस्टिक टेस्ट किटको प्रयोग भने जारी नै राखियो । त्यतिमात्र हैन ओम्नीको सामान बिकाउन अन्तर्राष्ट्रिय विकास साझेदारहरूलाई समेत स्वाथ्य मन्त्रालयका उच्च अधिकारीहरू दबाब दिएको समाचार सार्वजनिक भयो । संक्रमण नियन्त्रण गर्न खरिद गरिनुपर्ने चिकित्सा सामग्रीको आपूर्तिलाई राज्यलाई दोहन गर्ने मौका बनाइयो । सरकारको देखाउने र वास्तविक उद्देश्य फरक फरक अर्थात् शकुनि प्रवृत्ति देखियो । 

Prabhu Bank
Agni Group
NIC Asia


संक्रमण रोक्ने उपायका रूपमा संसारका धेरै सरकारले मुलुकलाई बन्दाबन्दी (लकडाउन)मा राखे । बन्दाबन्दीसँगै उनीहरूले परीक्षण, पहिचान, अनुगमन र अप्ठेरामा पर्नेहरूलाई सहायता गर्ने कार्य पनि गरे । नेपालमा भने मन्त्रीहरू पहिले कोभिड –१९ को संक्रमणको जोखिम नै नभएको ‘कोरोना फ्री’ भन्दै गुड्डी हाँकेर बसे । विश्व स्वास्थ्य संगठनले चेतावनी दिएपछि संक्रमणको जोखिम भएको त स्वीकार गरियो तर लामो समयसम्म सरकारी संयन्त्र अकर्मण्य रह्यो । सरकार अर्ध निद्राबाट बिउँझेपछि हतारमा सबैतिर एकै प्रकारको बन्दाबन्दी लागू गर्ने घोषणा गरियो । बन्दाबन्दीको असर कुन समूह र क्षेत्रमा कस्तो पर्छ र जनतालाई असुविधा नहुनेगरी कसरी सम्बोधन गर्ने भन्नेतिर पटक्कै ध्यान दिइएन । दसौं दिन पैदल हिँडेर देशको एउटा कुनाबाट अर्को कुनामा पुग्नेहरूको सरकारले न असुविधाको ख्याल राख्यो न तिनको विवरण नै राख्न बुद्धि देखायो । न परीक्षणै व्यापक बनायो । उल्टै,  मुलुकलाई बन्दाबन्दीको बन्धक बनाएर सत्तारूढ  नेकपाका नेताहरू आन्तरिक शक्ति संघर्षमा लागेका छन् ।


परीक्षणको संख्या अलिकति बढ्नेबित्तिकै थाहा भयो करिब दुई महिना लामो अहिलेसम्मको बन्दाबन्दी त अर्थहीन भएछ । समुदायस्तरमै संक्रमण सुरु भइसकेछ । यसैबीच सत्तारुढ दलभित्र रडाको मच्चाइयो । बदनियतपूर्ण अध्यादेश जारी गरियो र फिर्ता पनि गरियो । यही नै बेला भारतले नेपाली भूमिमा बनाएको सडक उद्घाटन गरेको समाचारले काठमाडौं तात्यो । बन्दाबन्दीको बेला पनि जुलुस निस्क्यो । सरकारले कोभिड–१९ को संक्रमण रोक्न लगाइएको बन्दाबन्दीलाई सरकार विरोधी प्रदर्शन दबाउने निहुँ बनायो । प्रदर्शनकारीलाई पक्रिसकेपछि पनि प्रहरीले बिजुलीको झड्का दिनुले पनि सरकारको दमनकारी नियत स्पष्ट हुन्छ । यही कारणले बन्दाबन्दी विशेषगरी काठमाडौंका अझ कडा बनाउन खोजिएको हुनुपर्छ । अर्थात्, संक्रमण रोक्न विफल भए पनि व्यावहारिक र व्यवस्थित नबनाई बन्दाबन्दी लम्याउनुको तात्पर्य विरोधको दमन गर्नु रहेको हुनसक्छ । यसरी सरकारले शकुनि प्रवृत्ति देखाएको छ । तैपनि, आशा गरौँ, हाम्रो नियति हस्तिनापुरको जस्तो हुनेछैन ।   
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC