केही महिना भित्रैमा कोभिड – १९ले हाम्रो विश्वलाई चिन्नै नसकिने गरी बदलिदिएको छ । जो जहाँ बसे पनि डरमा बाँचेको छ । तैपनि, हामी सबैले एकै प्रकारले डर देखाउँदैनौ । हुनत हामी सबै भित्री मनदेखि नै आफ्ना प्रियजनलाई जोगाउन चाहन्छौँ तर यति गहिरो असमानता भएको संसारमा हामी सबैसँग त्यसो गर्ने साधन छैन ।
महाव्याधिको सबैभन्दा कष्टप्रद असर के हो भने यसले सबैभन्दा कमजोर बालबालिका र तिनको परिवारलाई सर्वाधिक प्रहार गर्छ । तीमध्ये अधिकांश विगत दुई दशकमा गरिबीको दुश्चक्रबाट मुक्त भएका परिवारलाई पुनः विपन्नतामा धकेल्न सक्छ । बाल श्रमिकहरू, विद्यालय जान नसकेका बालबालिका र द्वन्द्व वा विपत्तिका कारण भागेकाहरू विशेषगरी बढी जोखिममा हुन्छन् ।
यीमध्ये कतिपय बालबालिका र तिनको परिवार साँगुरा झुपाहरूमा बस्छन् जहाँ सामाजिक दूरी र एकान्तवास लगभग असम्भव हुन्छ । कतिपयको कमजोर स्वास्थ्यका कारण पनि तिनलाई कोभिड–१९ सर्ने जोखिम बढी हुन्छ । र, अधिकांशले खानेपानी, बिजुलीजस्ता आधारभूत सुविधा पनि पाउँदैनन् भने बन्दाबन्दीले उनीहरूले खान पाउने महत्त्वपूर्ण विद्यालय खाजा कार्यक्रम बन्द भएको छ । सबैभन्दा नराम्रो त स्वास्थ्य सुविधाको त कुरौ छाडौँ संसारका सबैभन्दा गरिब र कमजोर जनसंख्याको सफाइ सुविधामा पनि पहुँच छैन ।
हाम्रो ‘दस करोडका लागि दस करोड’ कार्यक्रमबाट मैलै के थाहा पाएको छु भने नैरेबीको झुप्रेबस्ती मथारेका बालबालिका भोकै बस्नु पर्ला भनेर अहिले बढी चिन्तित भएका छन् । भारतमा हामीले उद्धार गरिएका बालश्रमिकहरूको पुनःस्थापना गृह ‘मुक्ति आश्रम’ को ढोका सडकमा रहेका बालबालिकाका लागि पनि खोलेका छौँ भने स्थानीय समुदायलाई पनि खाना उपलब्ध गराएका छौँ । संसारभर नै नागरिक समाजका विभिन्न समुदाय र समूहहरूले आफ्ना विपन्न छिमेकीहरूको संरक्षणका लागि करुणावश साधन र समय स्वयंसेवामा लगाएका छन् ।
परन्तु, अहिलेको स्थितिमा थप प्रभावकारी तथा बृहत्तर रूपमा काम गर्नु आवश्यक छ । विश्वका करिब पाँच जनामा एक जना अर्थात् २० प्रतिशत बालबालिका प्रतिदिन दुई अमेरिकी डलरभन्दा कममा गुजारा गर्छन् । अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनअनुसार अनौपचारिक क्षेत्रमा काम गर्ने दसौं करोड कामदारहरू महामारीका कारण बेरोजगार भइसकेका छन् । विश्व खाद्य कार्यक्रमले यस वर्षको अन्त्यसम्म १३ करोड जनसंख्या भोकमरीको चपेटामा पर्ने चेतावनी दिइसकेको छ । यी सबै प्रवृत्तिले अहिले नै खान नपाउने बालबालिका थप सकसमा पर्ने संकेत गरेका छन् ।
बाल गरिबी तथा बालश्रम उन्मूलन गर्ने सरकारी तथा नागरिक समाजका प्रयासहरू तत्कालै र संकटपछि महिनौ अझ वर्षौंसम्म दिगो हुनेगरी अगाडि बढाउनुपर्छ । अगिल्ला आर्थिक संकटहरूबाट के थाहा भएको छ भने सामाजिक सुरक्षा कमजोर भएको वा हुँदै नभएका मुलुकहरूमा अरू धेरै बालबालिका काममा जान बाध्य हुनेछन् ।
त्यसमाथि महामारीमा त यस्तो अवस्था उत्पन्न हुने जोखिम झन् बढ्छ । कमजोर अवस्था भएका परिवारमा वयस्क सदस्य कोभिड–१९ का कारण मरे वा काम गर्न नसक्ने भए भने गुजाराका लागि कमाउने जिम्मेवारी बालबालिकाको काँधमा आइपर्छ । यसैले तत्कालै केही गरिएन भने यस संकटले करोडौं बालबालिकालाई बालश्रम, दासता र मानव किनबेचको जोखिममा पर्नेछन् भने जोगिएकाहरू पनि आजीवन अशिक्षा र गरिबीको भुमरीमा पर्नेछन् । यसको दीर्घकालीन असरले बालबालिकाको एउटा सिंगो पुस्ता बर्बाद हुनेछ ।
यस क्रममा जी –२० मुलुकहरूले कोभिड–१९ को आर्थिक असर न्यून गर्न ५ हजार अर्ब डलर खर्चने प्रतिबद्धता प्रकट गरेका छन् । किन्तु, यस कोषको अधिकांश हिस्सा महामारीको सामना गर्न सक्षम सफल भएकाहरूलाई नै जानेछ । संसारका केही सबैभन्दा धनी कर्पोरेसनहरूलाई बढी फाइदा हुनेछ जसमध्ये धेरैले त वर्षौंदेखि आफूले तिर्नुपर्ने करमेत छल्दै आएका छन् । यसैले अहिलेसम्मको विश्वको सहयोग प्रतिबद्धताबाट संसारका सबैभन्दा गरिब र कमजोर समुदायका लागि सानो अंशमात्र उपलब्ध हुनेछ ।
जोखिममा रहेका बालबालिका र तिनको परिवारलाई उनीहरूको संख्याका अनुपातमा सहायताको हिस्सा उपलब्ध हुनुपर्छ । सबैभन्दा विपन्न २० प्रतिशत जनसंख्याले कोषबाट २० प्रतिशत अर्थात् हजार अर्ब डलर पाउनुपर्छ । यस रकमले कोभिड–१९ को संकट सामना गर्न संयुक्त राष्ट्रसंघले आह्वान गरेअनुसार न्यून आय समूहका राष्ट्रहरूको दुई वर्षको ऋण तिर्न र दिगो विकास लक्ष्यका वर्षौंदेखिको सहयोगको कमी पूरा गर्न पुग्छ । दिगो विकास लक्ष्यमा स्वास्थ्य सेवा, खानेपानी, सरसफाइ र शिक्षामा पहुँच बढाउने ठोस कार्यक्रम समावेश गरिएका छन् जुन सीमान्तकृत बालबालिकाको भविष्य राम्रो बनाउन महत्त्वपूर्ण हुन्छ ।
विद्यमान खर्च पूरा गरेर पनि बालश्रम रोक्न आवश्यक सामाजिक सुरक्षा जालका लागि पर्याप्त रकम बाँकी रहनेछ । यति गर्न सके एक करोड जनाभन्दा बढीलाई बचाउन सकिन्छ । कोभिड–१९ का सन्दर्भलाई यसरी सम्बोधन गर्न सकियो भने मानव जातिकै लागि गर्वको विषय हुनेछ ।
यसैले मैले जी –२० का नेताहरूलाई आआफ्ना सीमाबाहिर पनि हेर्न र समन्वित अन्तर्राष्ट्रिय सहायताको तत्काल आवश्यकता रहेका स्वीकार गर्न आग्रह गरिरहेको छु । म अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विश्व स्वास्थ्य संगठनलाई दिने रकम नरोक्न आग्रह गर्छु । विश्व स्वास्थ्य संगठन अहिले पक्कै पनि अप्ठेरो घडीमा छ र यसले कमविकसित मुलुकहरूमा अबालबालिकालाई खोपलगायत आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका पूरा गरिरहनेछ ।
कोभिड – १९ बाट आक्रान्त प्रत्येक मुलुकमा आशाप्रद उदाहरण छन् । लाखौं स्वास्थ्यकर्मीहरूले संक्रमितहरूलाई अग्रपंक्तिमा रहेर सेवा गरिरहेका छन् । शिक्षकहरूले बालबालिकाको पढाइ अनलाइनमै चालु राखेका छन् । स्वयंसेवीहरूको विशाल सञ्जालहरू बन्दै गएका छन् र आधारभूत सामग्रीहरू, खाना, खानेपानी आपूर्ति गर्न सहयोगका हात बढाइरहेका छन् ।
यति धेरै सर्वसाधारण जनता मानवीय करुणाबाट द्रवित भएर विपन्नतम र अत्यन्त कमजोर समूहलाई सहयोग गर्न आफ्नो नियमित दिनचर्याभन्दा बेग्लै काम गर्दैछन् भने राष्ट्रिय नेतृत्वहरूले त्यसो नगर्नु अत्यन्त लाजमर्दो हुनेछ । सरकारहरू पनि हाम्रा सबै बालबालिकाका लागि अझ सुरक्षित विश्व निर्माण गर्न हामीसँगै लाग्नुपर्छ । यस महामारीलाई वास्तविक र स्थायी परिवर्तनको घडी बनाऊँ ।
(नोबेल पुरस्कारबाट सम्मानित बालअधिकारकर्मी ।)
Copyright: Project Syndicate, 2020.