site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सलाम छ नेकपा र कम्युनिस्ट सरकारलाई ! 

बधाई छ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई ! अनि बधाई करिब करिब दुई तिहाइ बहुमतको सरकारलाई । बधाई किन ? किनभने महामारीले विश्व त्राहिमाम् भइरहेका बेला पार्टी र सरकार दुवैले जनताको ध्यान नै पूरै ‘डाइभर्ट’ गर्न सफल भएकोमा । अनि, यो महाव्याधिको चासो नभएजसरी सत्ता लुछाचुँडीको कुस्ती खेलेर जनतालाई मनोरञ्जन प्रदान गरेकोमा । विपत्तिका बेला देखाएको चटकको मूल्यांकन जनताले पनि चुनावका बेला गर्ने त होला ! 

विश्वका धेरै देशमा जस्तै नेपालमा पनि बन्दाबन्दी (लकडाउन) छ । यो बन्दाबन्दी बिस्तारै सबैतिर खुल्दै जानेछ । नेपाली युवा मलेसिया, कतार लगायतका अरबखाडीदेखि युरोप अमेरिकासमेतबाट बेरोजगारीका कारण क्रमशः फर्कन सुरु गर्नेछन् । रेमिटयान्सको  स्रोत ठप्प प्रायः हुनेछ  । अनि देशमा बेरोजगारको संख्या हवात्तै  बढ्नेछ । बेरोजगारीको हल हुन नसके विभिन्न प्रकारका विद्रोह र अशान्ति बढ्दै जानेछन् । पारिवारिक कलहदेखि अपराधका  घटनाको मापन फराकिलो हँुदै जाने संकेत देख्न थाली सकिएको छ । युरो र डलर कमाउन आएकाहरु कामविहीन हुँदैगएका छन् । रोजगार गुमाएपछि पनि युरोप अमेरिकातिरै धानिन नेपाली रुँपैयालाई नै डलर र युरोमा ‘कन्भर्ट’ गरेर मगाउन सुरु भइसकेको छ । 

देशको पर्यटन चौपट भइसकेको छ । यो अझ कहिलेसम्म लम्मिन्छ निश्चित छैन । कृषि निर्वाहमुखी छ । निर्यात र आयतको खाडल थामी नसक्नु छ । त्यसलाई रेमिट्यान्सले धानेको थियो । रेमिट्यान्सको स्रोतै धराशयी भइसकेको छ । रोगभन्दा पनि जनतामा भोकको चिन्ता बढ्न थालेको छ । विश्वका सम्पन्न देशहरु कोरोनापछाडि जनताको आवश्यकता सम्बोधन कसरी गर्ने भनेर चिन्तित र क्रियाशील देखिन्छन । इटली, स्पेन, फ्रान्स, जर्मनीजस्ता देशका सत्तापक्ष र प्रतिपक्ष राजनीतिक दल जनताको हितमा के गर्न सकिन्छ र के गरिनुपर्छ भनेर दैनिक बहस गर्छन् । विरोध होइन सद्भाव र सहकार्यबाट संकटलाई पार लगाउन हातेमालो गर्ने प्रण गर्छन् । तर, देशको अवस्था विकराल बन्ने खतराको घन्टी बजी सक्दा पनि हाम्रो देशमा भने कुर्ची केन्द्रित बहसमै बैठक सकिन्छ ।  सत्ता र शक्तिको बाँडफाँटको सन्तुलन मिलाउनमै कम्युनिस्ट शीर्षस्थहरु लुछाचुँडी गरेको समचार आउँछ । तर बहस हुँदैन कहिल्यै भुइँ मान्छेको  कोलाहल र क्रन्दनको । किनभने त्यो कम्युिनस्ट ‘सुप्रिमो’हरुको बैठक हो ।

Prabhu Bank
Agni Group
NIC Asia

रोगको भन्दा भोकको डरले छटपटिएका भुइँमान्छेहरुको कोटेश्वरको कोलाहल कोटेश्वरकै कमरेड नेपालले देख्दैनन् । चिउरा र पानीको भरमा पश्चिमतिरको पैदलयात्रा थालेकाहरुको कलंकीको क्रन्दन खुमलटारसम्म त झनै सुनिदैन । देखियोस्, सुनियोस् पनि कसरी ? त्यो कोलाहल न चुनावको सभाको थियो न त्यो भिडमा कामरेडहरूका कुनै साइनो सम्बन्ध भएका आफन्त नै थिए । थिए त प्राण जोगाउन एक छाक खान संघर्ष गरिरहेका भुइँ मान्छेहरु । अनि भुइँ मान्छेहरुको व्यथा कम्युनिस्ट नेताले बुझ्ने र सुन्ने बेला होइन यो ।

अनि कामरेड रावल र पोख्रेललाई पनि राम्रोसँग थाहा छ कामरेड वामदेवको बालुवाटारको बेडमा बस्ने सपना पूरा नभएसम्म आफ्नो पालो आउँदैन भन्ने । यतिबेला भुइँ मान्छेको आवाज बोलेर पार्टीको ध्यान अन्त लानु आफ्नै खुटटामा बन्चारो हानेसरह हुनेछ भन्ने पालो पर्खेका कामरेडहरुलाई ज्ञान नहुने कुरै भएन । कामरेड वामदेवलाई त अग्रिम बधाई तथा शुभकामना छ । फेरि दोहोरयाऊँ नेकपाका नेताहरुले संकटको यस घडीमा जे गरेका छन् साँच्चै देश र जनताकै लागि गरेका छन् । उनीहरुको यस्तो त्याग र समर्पणलाई सलाम त गर्नै पर्छ । आज नबुझे पनि सायद जनताले भोलि बुझ्नेछन् ।

Global Ime bank

यसैले नेकपालाई बधाई ! 

कोरोना कन्ट्रोलका लागि लकडाउन नै गरिदिएको छ । त्यो पनि दुई महिना पुग्न लागिसक्यो । सरकारले गर्नुपर्ने सायद यतिमात्रै थियो र गर्नसक्ने पनि यत्ति नै हो । तसर्थ, सरकारको विरोध त झन् गर्दै नगराैँ, अरु देशसँग त झनै तुलना नै नगरौँ । किनभने यो नेपाल हो र नेपाल भनेको नेपाल हो ।  

देशको राजस्व हवत्तै घटदैछ । विकास निर्माणका काम कोरोना र लकडाउनले ठप्प छन् । लाखाैँले देशभित्रै रोजगार गुमाइसके । विदेशबाट लाखौं नेपालीले उद्धारका लागि याचना गरिराखेका छन् । कतै कसौँडी खाली हनु थालिसक्यो, कति बच्चा कुपोषणको सिकार भइसके, आमाबाबु आधापेट खाएर गुजारा गर्न विवश भइसके । सहायतामा पनि टाठाबाठा कै राज छ । समस्या दैलामा आइसक्यो । के गर्ने कुनै योजना छैन । उडान खुल्नेबित्तिकै देश भित्रिनेको  लाम लाग्नेछ । खालीहात स्वदेश फर्किने धेरै हुनेछन् । बाहिरबाट भित्रिएका र भित्रैका लाखौं बेरोजगारहरु  विकल्पविहीन  भएपछि हुने त विद्रोहको बीजारोपण न हो । 

चौतर्फी समस्याको चौघेरामा देश घेरिंँदै जाँदा पनि प्रधानमन्त्री ओलीले पार्टी फुटाउने ‘ अत्यावश्यक’ अध्यादेश ल्याउन भने ढिलो गरेनन् । बालुवाटारको बरन्डाबाट भुइँ मान्छेहरुको बेचैनीलाई रमिता मानेर हेर्न छुटाएनन् । सत्ता र शक्ति जोगाउन कुनै कसर बांकी राखेनन् । अन्योलका बीचमा पनि उनले देखाएकोे सक्रियता कम तारीफ योग्य छ ? 

महामारीसँगै आउन सक्ने आर्थिक संकट र जनताको दुःख सम्झेर क्यानेडियन प्रधानमन्त्री जस्टिन टु«डो  आँसु झार्छन् । एन्जेला मार्केललाई जर्मनीले संकटबाट कसरी पार पाउला भन्ने चिन्ता छ । इमानुएल म्याक्रो फ्रान्सेलीले भोग्न परेको दुर्दशा देखेर दिक्दार छन् । महाशक्ति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत अमेरिका कसरी जोगिएला भनेर बेचैन भएजस्तो देखिएका छन् । हाम्रा प्रधानमन्त्री ओलीमात्र ढुक्क देखिन्छन् । लकडाउन बढाउने निर्णयलाई नै जादूको छडी भन्दै आत्ममुग्ध छन् । धन्य छ प्रधानमन्त्री ओलीले दूरदर्शिता र सक्रियता ! 

डेनमार्कको पुँँजीवादी सरकारले काम छुटेको मजदुरको खातामा पनि शतप्रतिशत तलब हाली दिएको छ ।  सिंगो देश लकडाउन हुँदा पनि इटाली सरकारले प्रत्येक नागरिकको खातामा मासिक पाँच सय युरो राखिदिएको छ । भारतले आफना नागरिकलाई  नगदैदेखि अन्नको सहयोग दिइरहेको छ । हो, कहिलेकाहीँ हामी झुकिन्छौँ, भावना र आदर्शमा बहन्छौँ । अन्तजस्तै नेपालमा किन भएन भन्छौँ ? बुझ्नु पर्‍यो नि गरिब मजदुरका लागि त नेपालमा सिगो दुई तिहाइको कम्युनिस्ट सरकार नै छ ।  

सिंगो राज्य नै सर्वहाराका प्रतिनिधिको भएपछि केका लागि चाहियो अनुदान र सहायता ? जे जति भइराखेका छन् सबै जनताकै लागि भइराखेका छन् । 
अनि धेरै धेरै बधाई नेकपाका कार्यकर्तालाई । कोही भोकै म्याग्दीबाट रामेछाप पैदल हिँडेका छन् । कति देशकै राजधानीभित्र अलपत्र परेका छन् । ओम्नी र यतीको चलखेलले निरन्तरता पाइराखेको छ । कोरोना टेस्ट किटदेखि पीपीई खरिदसम्ममा पारदर्शिताको प्रश्न उठिराखेको छ । तर, नेकपाका कार्यकर्ता अपराध र अनियमिततामा चुर्लुम्मै डुबे पनि आफ्ना गुटका नेता बचाउन मौरीले रानो संरक्षण गरेजस्तै एकाकर हुनबाट विचलित भएका छैनन् ।  

पराइ गुटका नेता कार्यकर्तालाई पाखा लगाउन अरिंगालजस्तै बनेर आक्रमण गर्न रोकिएका छैनन् । यसर्थ पनि उनीहरुलाई बधाई दिन पनि कन्जुस्याइँ गर्नु हुँदैन । तब नकम्युनिस्ट कार्यकर्ता ! 
सामाजिक सञ्जालबाटै प्रधानमन्त्री र मन्त्री कसलाई बनाउने छिनोफानो  गर्न, ठेक्कापटटा, आफनो नाममा पार्न को आउँदा फाईदा हुन्छ उसको पक्षमा सक्दो लबिङ गर्न, अनि टोल विकासदेखि विद्यालय व्यवस्थापन समिति कब्जा गर्न ‘मनी’ र ‘मसल’ प्रयोग गर्न व्यस्त र अभ्यस्त कार्यकर्तालाई कसरी फुर्सद मिलोस् भुइँमान्छेहरुका बारेमा सोचिरहन ? कार्यालय सहयोगीदेखि हाकिमकोे नियुक्तिसम्मका लागि वडाबाट मन्त्रालयसम्म सिफारिस बोकेर धाउन व्यस्त नेकपाका कार्यकर्तालाई खाली खुट्टा भोकै सडकमा अलपत्र परेकालाई सहयोग गर्ने समय कसरी मिल्छ ? चुनावका बेलामात्र चाहिने ती भुइँमान्छेको बारेमा यो बेमौसममा सोच्ने फुर्सद नहुनु पनि स्वभाविक हो ।  
अन्त्यमा, जनतालाई जेसुकै होस्, देशमा जस्तो समस्या आओस् नेपाल कम्युनिस्ट पार्टीका नेता, मन्त्रीदेखि कार्यकर्तासम्मको स्वार्थ र इच्छा पूरा भइरहोस् । तिनको पार्टी र सरकारले गरेको कामको ‘उच्च मूल्यांकन’ जनताले आगामी दिनमा निष्पक्ष रुपमा गरुन् । शुभकामना ! 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  ११:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC