बीबीसी । कोभिड–१९ का कारण दिनहुँ संक्रमण र मृत्यु दर बढिरहेका बेला इटलीको संगठित अपराधिक ग्याङहरु चाहिँ अहिले करोडौँ कमाउने ताकमा छन् भने त्यहाँका बासिन्दासँग पनि अपराधीबाट सहयोग लिनु बाहेक कुनै विकल्प नभएको अवस्था छ ।
सिसिली टापुमा एक माफिया समूहको सदस्यका भाइले अहिले पलेमोका गरिब बासिन्दाहरुलाई खानेकुरा वितरण गरिरहेका छन् ।
उनी भन्छन्, “मलाई देख्नासाथै मान्छेहरुले घेर्न थाल्छन् र फोन गरेर रुँदै आफ्ना दुःखेसो पोखिरहेका छन् । बच्चाहरुका लागि खानेकुरा केही छैन भन्दै एक महिलाले त मलाई दिनदिनै फोन गर्ने गरेकी छन् । उनका पाँच छोराछोरी छन् । ”
यसमा उनले आफू पनि माफियामा संलग्न भए नभएको स्पष्ट पारेका छैनन् तर माफिया भएर पनि मान्छेको मद्दत गर्न सकिन्छ भने आफूलाई त्यसमा कुनै समस्या नभएको उनले बताए ।
वास्तवमा कोभिड–१९ विश्वका लागि नयाँ संकट हो तर संवेदनशील र गरिबहरुलाई खानेकुरा वितरण लगायत सहयोग गर्ने माफीयाको रणनीति भने धेरै पुरानो रहेको छ । माफीया विरुद्धका अनुसन्धानकर्ता निकोल गेटेरीका अनुसार यसमा उनीहरुको एक मात्र उद्देश्य भनेको विश्वसनीयता हासिल गर्नु र राज्यको विकल्पका रुपमा स्थानीयमाझ आफूलाई स्थापित गराउनु हो । यसमार्फत माफिया ग्याङहरुले स्थानीय वासिन्दाको समर्थन पाउने गरेको उनले बताए ।
इटलीको अर्थतन्त्र धेरै वर्षदेखि राम्रो अवस्थामा नरहनाले बेरोजगारीको दर उच्च छ भने आर्थिक वृद्धिदर अत्यन्तै सुस्त गतिमा छ । यस्तोमा लकडाउनका कारण धेरै मान्छेहरु पतन हुने अवस्थामा पुगिसकेकाप्रति आत्तिरहेका छन् । तर जतिसुकै हतासिएको अवस्थामा भएपनि माफीयाबाट सानो मद्दत लिनु समेत अत्यन्तै खतरनाक मानिन्छ ।
माफिया विरुद्धको संगठनमा काम गर्ने एन्जा रेन्दो भन्छन्, “माफीयाहरुले कहिल्यै पनि उदारवादी काम गरेका छैनन् । बिना सर्तको मद्दत अथाव दया भन्ने कुरा उनीहरुमा लागू नै हुँदैन । त्यसैले उनीहरु आफूले दिएको सहयोग फिर्ता लिन अवश्य पनि आउनेछन् । सुरुवातमा केही नमागेपनि प्रत्येक दुःखी गरिबले कुनै न कुनै रुपमा त्यसको मूल्य चुकाउनै पर्ने हुन्छ ।
पलेमो शहरको बीचमा आफ्नै रेष्टुरेन्ट खोलेर बसेका मार्सेलोले यसै मार्चमा व्यवसाय बन्द गराउनुपर्यो । आफूले नकार्नै नसक्ने प्रस्ताव पाएकाले नै रेस्टुरेन्ट बन्द गर्ने निर्णय गरेको उनले बताए । उनका अनुसार “माफियासँग सबै काम सिधा रुपमा हुन्छ । जस्तै माफीया तपाईँको घरमै ढोका ढक्ढक्याउन आइपुग्छन् र उति खेर नै व्यवसाय खरिद गर्ने प्रस्ताव राख्छन् । अनि मूल्यबारे छलफल गरिसकेपछि आधा पैसा तपाईँको अकाउन्टमा र आधा क्यासमा ठाउँको ठाउँ दिइन्छ ।” उनले थप भने, “अहिले मेरो व्यापार ओरालो लागिरहेको थियो । त्यसैले यसरी समुद्रमा डुबिरहेका बेलामा कसैले मलाई ‘लाइफ भेस्ट’ फ्याँकिदिन्छ भने कि मैले आफ्नो स्वाभिमानको ख्याल राखि डुब्न सक्नुपर्यो या त त्यो भेस्ट पहिरेर पौडिनुपर्यो ।”
सिसिलियाका एक पूर्व माफीया सदस्य गेस्पर मुटोलो भन्छन्, “तर जति जे भएपनि माफीया अन्त्यमा आफूले दिएको फिर्ता लिन आउँछ नै । मैले पनि ठीक त्यसरी नै काम गर्ने गर्दथेँ । म हेर्दा दयालु देखिन्थेँ । तर याद राख्नुस् म आखिरमा एउटा अपराधी नै थिएँ जसले २० भन्दा धेरैको हत्या गरेको थियो । ”
मुटोलोले बीबीसीसँग एक गोप्य स्थलबाट कुराकानी गरेका हुन् । उनका अनुसार उनले जति पनि परिवारलाई मद्दत गरे, उनीहरुले कहिल्यै उनी को हुन् भन्नेबारे विचार गरेनन् । उनी भन्छन्, “व्यवसाय डुबिरहेका बेला जब तपाईको घरमा खान नपाएर बच्चाहरु रुन्छन् त्यस समय तपाइँले आफ्नो निर्णयको कुनै परिणामबारे नसोची गलत व्यक्तिबाट समेत मद्दत लिनुहुनेछ । बाँच्नका लागि मान्छेले जे पनि गर्न सक्छ ।” यसपछि जब स्थानीय चुनाव नजिकिन्छ त्यस समय तिनै माफीयाहरु आएर आफूले गरेको सहयोग वापद् आफ्ना उमेदवारलाई भोट हाल्न भन्दै धम्क्याउन थाल्छन् ।
मुटोलोका अनुसार संकटका लागि भनेरै माफीयाहरुसँग सधैँ पैसा उपलब्ध हुन्छ र राज्यको तुलनामा उनीहरुले स्थानीयलाई सजिलोसँग मद्दत गर्न पनि सक्छन् । जस्तै एन्टोनियो र उनकी पत्नी फ्रान्सेस्काको दक्षिण इटलीमा एउटा मासु पसल छ जुन लकडाउनका कारण संघर्षरत् अवस्थामा छ ।
यसबीच केही दिन अगाडि मात्र एक व्यक्तिले आएर उनीहरुलाई क्यास पैसा ऋणमा दिने प्रस्ताव गरे । एन्टोनियो भन्छन्, “त्यसबेला हामीले एकअर्कालाई हेर्यौँ । हामी दुबैको मुटु चसक्क गर्यो । ” उनीहरु दुवैजनाले त्यहाँ के गर्ने प्रयास भइरहेको थियो भन्ने बुझिसकेका थिए जसकारण उनीहरुले पहिले त प्रस्ताव अस्वीकार गरे ।
तर माफीयाको पैसा कमाउने भन्दा पनि स्थानीय व्यवसाय कब्जा गर्ने र त्यसलाई अन्य अवैध कारोबारका लागि प्रयोग गर्ने लक्ष्य हुन्छ । यस्तोमा इटली सरकारले सहि समयमा स्थानीयको मद्दत नगरेमा सबैले बलपूर्वक माफीयाको हात थाम्नुपर्ने हुन्छ । माफीयाहरुका लागि यो समय सबैभन्दा उत्तम भएकाले पनि राज्यले छिटो भन्दा छिटो उपयुक्त कदम उठाउन जरुरी रहेको एन्जाले चेतावनी दिएका हुन् ।
अहिले भने इटली सरकारले व्यवसायीहरुका लागि कम्तीमा पनि २५ हजार युरोसम्म ऋण दिलाउने भनेको छ । तर मार्सेलो लगायत धेरैले सरकारबाट ऋण लिने कुनै चाहाना नभएको बताए । उनी भन्छन्, “ त्यति धेरै ऋण लिएर तिर्न हाम्रा लागि लगभग असम्भव हुन्छ । किनकी आगामी दिनहरुमा खुल्ने व्यवसायहरुले पनि सामाजिक दुरीको नियम पालन गर्नुपर्ने हुन्छ जसको अर्थ थोरै ग्राहक र थोरै पैसा हो ।” उनका अनुसार सबै रेस्टुरेन्टका मालिकहरु त्यस्तै सोच्छन् । यसकारण पनि बिना प्रश्न छोटो समयमा माफीयालाई आफ्नो व्यवसाय बेच्नु नै उनीहरुको एकमात्र सम्भावित विकल्प रहन जाने उनले बताए । मार्सेलो भन्छन्, “मलाई अहिले आफू धेरै ठूलो मूर्ख जस्तो आभास भइरहेको छ । किनकी म सधैँ माफीयाको विरुद्धमा थिएँ तर अहिले म आफैँलाई धोका दिइरहेको छु र आफ्नै विश्वास तोडिरहेको छु । ”