site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
हाकिम
Sarbottam CementSarbottam Cement

– एकतारे

बिहानको १०.३० को समय । हातमा निवेदन बोकेर निर्देशकको कार्यकक्ष अगाडि पुगेको अनिल टक्क अडियो । समान्यतया ऊ हाकिमको कोठामा पस्नुअघि ढोका ढक्ढकाउने गर्दैनथ्यो ।निर्देशक भनेको कार्यालयको अभिभावक हो र अभिभावकको अगाडि पर्न डराउनु हुन्न र अनावश्यक शिष्टता भनेको चाकरी हो भन्ने ऊसको मान्यता हो ।

तर, यी हाकिम कार्यालयका लागि नयाँ हुन् । हिजो भर्खर आएका । आउनेबित्तिकै वैठक बोलाएर सबै कर्मचारीलाई निर्देशन दिइसकेका थिए ।  कार्यालयमा अनुशासन नभएमा नसहने र हदैसम्मको कारबाही गरिने कुराले अनिलको पाइला ढोकाअघि रोकेका थिए । ढोका नढक्ढकाई भित्र पस्दा अनुशासन भंग भएको पो सोच्ने हुन् कि ?

Prabhu Bank
Agni Group
NIC Asia

सोचमा डुब्दै अनिलले ढोका खोल्यो र हाकिमलाई नमस्ते गर्यो । आफ्नै कुराकै तानाबानामा रहेका हाकिमले पुलुक्क हेरे र मुखले नमस्ते फर्काए । कार्यालयका अरू कर्मचारीहरू पहिले नै निर्देशकको कार्यकक्षमा पुगिसकेका रहेछन् । हाकिम साहेब हिजो भर्खर प्रधानमन्त्रीले बोलेको विषयमा हाउभाउ दिँदै भाषण छाँट्दै थिए । कोठाभित्र सबैजना मुखमा ताल्चा लगाएर नयाँ हाकिमको कुरा सुन्दै थिए । अनिल भित्र पस्यो र सरासर हाकिमको टेबलमा निवेदन तेर्सायो र एउटा कुर्सी तानेर बस्यो । हाकिमले निवेदन उठाए र एक नजर लगाए । निवेदन हेर्दाहेर्दै पुलुक्क अनिललाई सोधे, "बाबु, जागिर खाएको कति भो ? "

"सर ११ वर्ष भयो । अनि अधिकृत भएको ५ वर्ष ।" सहज रूपमा अनिलले जवाफ दियो ।

Global Ime bank

आँखा ठूलाठूला पार्दै एक्कासि हाकिमले हातमा भएको निवेदन टेबलमा फुत्त फालिदिए ।

"यत्रो भयो जागिर खाएको, निवेदन लेख्न आउन्न ?"

अचानकको यो रिसले सबै कर्मचारी अक्क न बक्क भए । अनिलले बुझ्नै सकेन, के गल्ती भएछ !

मलिनो स्वरमा बोल्यो, "के भयो र सर ? केही गलती भएको भने भन्नुस् । सच्याएर फेरि लेख्छु ।"

हाकिम झन् कड्किए, "यही हो निवेदन लेख्ने पारा ? मैले महानिर्देशकलाई लेख्दा त श्रीमान् महानिर्देशकज्यू भनेर लेख्छु । तिमी ठाडो श्री निर्देशक् लेख्ने ? आदर गर्न आउन्न आफूभन्दा माथिको पदकालाई ?"

बल्ल स्पष्ट भयो, कुरा के रहेछ भनेर ।

"हैन सर, हामीले सेवाप्रवेश तालिममा सिकेको कुरा हो । सम्बोधन गर्ने तरिका यही नै हो र यसरी नै लेख्ने गरेको छु ।"

रिस उठे पनि संयमित हुँदै अनिलले स्पष्टीकरण दिन खोज्यो, "र, यसरी लेख्दा अहिलेसम्म कसैले आपत्ति जनाउनुभएको पनि छैन र थर्काएको पनि छैन । "

हाकिम झनै रिसाए । गाला रातोरातो पार्दै भने, "ल मैले थर्काएँ आज !"

अनिलको रगत उम्लियो । यसरी त उसलाई उसको बुवाले समेत अहिलेसम्म गाली गरेका थिएनन् । रिसको आवेगमा जुरूक्क उठ्यो र टेबलबाट निवेदन उठायो ।

"हजुरलाई मान चाहिने रै'छ, सिधै भन्नुस् सर । म यो कागजको खोस्टोमा तपाईंको मान थपेर ल्याइदिउँला ।"

अनिलले जवाफ पनि कुरेन । ढोका खोलेर फटाफट बाहिर निस्क्यो ।

निर्देशकको कार्यकक्षको ढोकाको स्प्रिङ्ग बिग्रेको रहेछ शायद । बिस्तारै लाग्नुपर्ने ढोका ढ्याम्म गर्दै ठूलो आवाजका साथ लाग्यो ।

० ० ०

"सर, चिया सेलायो," एकोहोरो कम्प्युटर स्क्रिनमा हेरी किबोर्डमा औंला खेलाइरहेको अनिलको ध्यान तिखो आवाजले भंग भयो । सीता चियाको कप लिन आएकी थिई तर उसले चिया पिउन भुसुक्कै बिर्सेको थियो ।

"यो सरलाई त चिया ल्याइदिनु नि बेकार छ । ल्यायो, सेलाएर राख्छन् अनि फेरि अर्को लिएर आउनू भन्छन् ।"

सीताको गनगनलाई बेवास्ता गर्दै अनिलले सेलाइसकेको चिया घुटुघुटु पियो ।

"ल दिदी, अर्को एक कप तातो चिया ल्याइदिनुस् न है !"

"ल ल, अब के भन्नु र ! पाएसि काम लाउने त हाकिमहरूको बानी नै हो…" सीता भुन्भुनाउँदै बाहिर निस्किई ।

अनिललाई सीताको बोली सुन्यो कि झिँझो लाग्थ्यो । लगभग १८ वर्ष जागिर अवधि भइसकेकी सीताले अनिल जस्ता अधिकृत कैयौं देखी-झेली सकेकी थिई । कार्यालयको सबैभन्दा सानो पद कार्यालय सहयोगी भए पनि सीताले गनगन सुनाउन कसैलाई बाँकी राख्दिनथी । रूखो र सीधा बोलीका कारण सीतालाई रूचाउने कमै थिए । तर, पनि कार्यालयको एकमात्र महिला कर्मचारी भएका कारण चिया खुवाउने जिम्मा उसैलाई थियो । स्थायी सरकारी जागिरबाट हटाउन सक्ने कुरै भएन, सबैले उसको रूखो व्यहोरा सहन्थे ।

सीताले चिया टेबलमा राखी । अनिलले कप उठाएर चियाको घुट्को लियो । चिया सीताजस्तै तीतो थियो । अनिलले कुनै प्रतिक्रिया दिइहाल्न सकेन किनकि सीता त्यही उभीरहेकी थिई । उसले सीता दिदीलाई हेर्यो । उसले केही भन्न खोजेको स्पष्ट देखिन्थ्यो ।

"केही कुरा थियो कि दिदी ?"

"अरू कुरा त के हुनु नि ! असार लागिसक्यो, एउटा टीओ त दिनुपर्यो नि सरले !"

असार मसान्तमा आर्थिक वर्षको समाप्तिसँगै बजेट सकाउने धून थियो । कार्यालममा सबै आ-आफ्नो काम सकाउने चटारोमा थिए । कार्यालय सहयोगीहरू भने कसलाई चाकरी गरियो भने बाहिर जान पाइन्थ्यो र अलिअलि पैसा कमाउन पाइन्थ्यो भन्ने ध्याउन्नमा थिए ।

"अब यो बर्खामा कहाँ जानुहुन्छ र दिदी ?"

"जानैपर्छ भन्ने छ र ? कैलेकाहीँ त यसै बनाइदिनू नि । वर्षभरि यत्रो काम गर्यो, अन्तमा यसो मुखमा माड लाउनुपर्दैन र हामीलाई गरिबलाई ?" सीताले सोझो कुरा राखी । उसले गणेश टीओको आशा गरेकी थिई । खटिएको ठाउँमा नगएर बसीबसी नक्कली कागजात पेस गरेर भ्रमण खर्च लिनेको अनिल भने सख्त विरोधी थियो ।

"नगई त हुन्न दिदी । भोलि रातो घर बोलाउँदा तपाईं र मलाई दुवैलाई अप्ठेरो पर्ने हो । फेरि यस्ता हाकिम छन्, म के भनेर हाकिमलाइ भनूँ तपाइँका लागि भनेर ?"

"अँ सर ! तपाईं पनि पिउन भनेर हेप्नुहुन्छ, हाम्रो अधिकार छैन भनेर कमारोझैं पेल्न पनि पाउनु हुन्न ।" अनिलमाथि अप्रत्याशित आरोप आइलाग्यो । सीता बोल्दै थिई, "तलबले कसरी पुग्छ यो जमानामा ? याँ मान्छेलाइ फिटीफिटी भइसक्यो । काममा भने अलिकति पनि छाड्ने हैन । १० देखि ५ सम्म बस्नै परेको छ, गोरू जोतिया झैं जोतिएकै छ । सुविधा दिने बेलामा चैं मुठ्ठी कसेर हुन्छ ? यो पालि जसरी नि टीओ दिनैपर्छ । नत्र म एक हप्ता बिदा लेखेर हिँडें ।"

सीता ठूलो स्वर पार्दै कराउँदै थिई ।

अनिल मनमनै हिसाब गर्दै थियो । कति छ उसको कमाइ ? सरकारले दिने उही लगभग २५ हजार हो । अनि यी सीता दिदीको तलब कति त ? पाँचौं तहको का.स.को तलब पनि त लगभग २० हजारमाथि नै छ । फरक जम्मा ५–६ हजार त हो ।

के फरक भो र एउटा का.स. र एउटा अधिकृतबीचमा ? सीताको खर्च र अनिलको खर्चमा खासै फरक पनि छैन । अझै अधिकृत भएपछि समाजमा देखाउन भए पनि तामझाम मिलाउन खर्च अलि बढी नै गर्नुपर्छ । यी सीता दिदीलाई चै तलब नपुगेको, उसलाइ चैं किन पुगेको होला ?

अनिलले यो हिसाब पार लाउन सकेन । अनि अलि आवाज ठूलो पार्दै बोल्यो, "यस्ता कुरा मसँग नगरम् त दिदी । टीओ तपाईंको हक अधिकार हैन । कार्यालयको काम गर्न दिइने खर्च हो । तपाईंलाइ खर्च पुगेन भनेर मैले सरकारको पैसा बाँड्न मिल्दैन । कुनै काम लिएर बाहिर जानुपर्ने भए म भनुँला नत्र यस्ता गणेश टीओका कुरा मसँग नगर्नुस् ।"

सीता त ठूलै स्वरमा बोल्ने गर्थिन् तर अनिल पनि चर्किएको सुनेर कार्यालयका अरू कर्मचारी पनि अनिलको कोठामा उत्सुकतापूर्वक तमासा हेर्न आइपुगे ।

अनिल झनै उग्र हुँदै बोल्यो ।

"सबै साथीहरूले सुन्नुस् । यो पालि एउटै पनि गणेश टीओ बन्दैन । कसैलाई काँध थापेर रातोघर जानु छैन मलाई । जसलाई टीओ चाहिया छ, उसले काम लिएर बाहिर जानैपर्छ, नत्र हुन्न । अरू कुरा मलाई सुन्नु छैन । जसलाइ गुनासो छ, उसले मभन्दा माथि गएर कुरा लाउन सक्छन् ।"

अनिलको कुरा टुंगियो । सीताले केही जवाफ दिइन । कप उठाई र अनिलको कोठा बाहिर गई ।

ढोकाको स्प्रिङ बिग्रिएको थिएन । च्याइँय्य... गर्दै बिस्तारै ढोका लाग्यो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २२, २०७३  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC