काठमाडौं । प्रहरीले सत्तारुढ नेकपाका सासंदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनालविरुद्धको अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ ।
सरकारी वकिलको कार्यालयले महानगरीय प्रहरी परिसर काठमाडौंलाई सांसद सुरेन्द्र यादवले दिएको अपहरणसम्बन्धीको जाहेरी दर्खास्त पठाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो ।
एक प्रहरी अधिकारीले भने,“अनुसन्धान सुरु भइसकेको छ । अनुसन्धान गर्दै जाँदा के-के देखिन्छ हेर्दै जाउँ । अहिले नै पक्राउ गर्ने नगर्ने भन्नेबार निष्कर्षमा पुग्न सकिदैन ।” यसअघि सोही जाहेरी लिन प्रहरी परिसरले अस्वीकार गरेको थियो ।
प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि उनीहरु सरकारी वकिलको कार्यालय पुगेका थिए ।
लकडाउनको समयमा सांसद बस्नेत र श्रेष्ठ तथा पूर्वआईजीपी खनाल महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याएको आरोप छ । यादवले आफूलाई इच्छाविपरित काठमाडौं ल्याइएको बताउँदै आएका छन् ।