बाह्रखरी
sticky  ncell
British college
British college
ब्लग प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
न्युयोर्कमा नेपाली डाक्टरको अनुभव दैनिक ७० संक्रमितको मृत्यु देख्दा... डा. ए. आचार्य/न्युयोर्क
NMB Bank
NMB Bank
बाह्रखरी - बिहिबार, वैशाख २५, २०७७
Laxmi Bank
Laxmi Bank

बिहानको ठीक ५ बजेपछि मेरो दिन सुरु हुन्छ । उठ्नेबित्तिकै छिटो–छिटो नुहाउँछु । स्क्रब लगाएर ब्रेकफास्ट खान्छु अस्पतालतिर लाग्छु । पसल सबै बन्द हुन्छन् । सडक सुनसान हुन्छ ।

१० मिनेटमा अस्पताल पुगिन्छ । सुनसान बाटो एक्कासि कोलाहलमय बन्छ । एम्बुलेन्सका साइरनले अस्पताल घेराउ गरेको हुन्छ । अस्पताल पुगेपछि सुरु हुन्छ, १२ घण्टाको ड्युटी । पीपीई लगायो अनि होमियो । यो संसारमा उत्तरभन्दा प्रश्न धेरै छन् । त्यो संसार जहाँबाट फर्कने/नफर्कने निश्चित छैन । 

अघिल्लो सिफ्टका डाक्टरबाट बिरामीको जानकारी लियो र अगाडि बढ्यो । हजारमा ९५५ बिरामीको समस्या एउटै छ, खोकी, ज्वोरो, अनि श्वासको समस्या । आफूलाई पीपीईले छोप्यो अनि उपचारतिर लाग्यो । 

Global bank

Agani Group

विगत हेर्दा...
फागुन १८ गतेको साँझ ६ बजे । म आफ्नो काम सकेर भर्खर घर पुगेकी थिएँ । मोबाइलमा अचानक एउटा समाचार आयो । कोरोना भाइरसको एक रोगी न्युयोर्कमा भेटियो । मेरा पति त्यो बेला नेपालबाट अमेरिका फर्कने क्रममा कतारको दोहा ट्रान्जिटमा हुनुहुन्थ्यो । मैले उहाँलाई तुरुन्त सामाजिक सञ्जालमार्फत खोजेँ र उच्च स्वास्थ्य सुरक्षा अपनाएर आउन सुझाएँ । मनमा विगत आँखाभरि नाच्यो । विभिन्न घटना एकपछि अर्को आँखाभरि नाचे । घटना थियो सन् १९१८ को फ्लुको महमारी । 

अर्को महामारी
अब संसारमा कोभिड–१९ को महमारी फैलने डरले मन एक तामासको भइरह्यो । न्युयोर्कको अति व्यस्त जीवनशैलीमा यो भाइरसले महामारी ल्याउने लगभग निश्चित रहेकामा म ढुक्क थिएँ । तर मन अस्थिर थियो । 

sarbottam cement

म काम गर्ने सुनिडाउन्स्टेट मेडिकल सेन्टरअन्तर्गतका तीनवटै अस्पताल सरकारी हुन् । यी न्युयोर्ककै व्यस्त अस्पतालमध्येका हुन् । यहाँ बिरामीको चाप अरूमा भन्दा धेरै हुन्छ । यहाँ धैरैजसो गरिब, वृद्ध, क्रोनिक मेडिकल समस्या भएका बिरामी आउँछन् । कतिपय बिरामी विदेशबाट उपचारका लागि मात्र भनेर पनि आउँछन् ।

हामी चिकित्सकहरू अस्पतालमा अब आइरहेको जोखिमलाई सामना गर्न सकिएला कि नसकिएला भन्ने सोच्दै थियौं । एक्कासि बिरामीको संख्या दिन दुईगुणा रात चौगुणा हुँदै गयो । हेर्दा–हेर्र्दै न्युयोर्कमा महामारी करिब निश्चित भयो । फागुन २५ गते न्युयोर्क स्टेटभरी जम्मा २९ कोरोना संक्रमित थिए । चैत १ गते पहिलोपटक कोरोना संक्रमितको मृत्युको खबर आयो । त्यो ६ दिनको अवधिमा संक्रमितको संख्या बढेर करिब ७०० पुगिसकेको थियो । यहाँको राज्य सरकारले सामाजिक दूरीको घोषणा ग¥यो । तर त्यतिबेलासम्म धेरै ढिलो भइसकेको थियो । अर्को २–३ साता धेरै गाह्रो हुने लगभग निश्चित थियो । 

दिनमै ७० जनाको मृत्यु देख्दा
बिरामीको बढ्दो चापलाई धान्नका भन्दै हाम्रा दुई अस्पताल सरकारद्वारा कोरोना संक्रमित बिरामीका लागि मात्रै भनेर कोभिड युनिटमा परिणत गरियो । अब हामीले कोरोनाका बिरामी मात्रै हेर्नुपर्ने भयो । एक हिसाबले हाम्रा लागि जोखिमको वृद्धि पनि हो भने अर्को चिकित्सकीय नजरले अवसर पनि हो । 

बिरामीको चाप धान्न अस्पतालको क्षमता बढाउन नयाँ युनिट खोलिए । मेडिसिनका मात्र नभएर अन्यत्र सेवाका डाक्टरहरू पनि अब कोरोना भाइरसका बिरामी उपचार गर्ने भए ।

कोरोना संक्रमितहरू थपिँदै गए । क्रमशः काम गर्न कठिन हुँदै गयो । बिरामीको संख्यामा एक्कासि वृद्धि भयो । मैले काम गर्ने ठाउँमा देशकै धेरै बिरामी हुन थाल्यो । जीवन र मृत्युसँग लडिरहेका बिरामी जीवनको आशा बोकेर हामीसामु आइपुगेका हुन्थे । त्यसैले हामी हाम्रो कर्तव्यबाट भाग्न सक्दैनथ्यौं । त्यसैले हामी आफ्नो ज्यानको बाजी थापेर भए पनि काम गर्न थाल्यौं । संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा पनि भीड बढ्दै गयो । दिनमै ५, १०, १५, २० हुँदै मैले काम गर्ने अस्पतालमा मात्रै ७० जनासम्म बिरामीको मृत्यु हुन थल्यो । जिन्दगीलाई संसार थप देखाउने चाहना हुँदाहुँदै अस्पतालको बेडमा एक्लै छट्पटाउँदै अन्तिम सास लिँदाको दृश्यले मन थाम्नै गाह्रो हुँदोरहेछ । जिन्दगीको अन्तिम सास फेर्दै गर्दा आफन्तविहीन अवस्थामा बिरामीले आफन्तको मुख पनि नहेरी ज्यान गुमाउँदा उनीहरूको अनुहारमा देखिने मिलनको याचनाले मनै गह्रौं हुन्छ । तर न आफन्त बोलाइदिन सकिन्छ, न उनीहरूलाई बचाउन नै सकिन्छ । कहिल्यै नसोचेको अवस्था सामना गर्नुपर्यो । 

कोरोना घर गयो भने ?
कोरोना भाइरसको कहरसँगै एउटा डर सधैं मेरो मनमा लागिरह्यो । कोरोनाको संक्रमण मसँगै मेरो घर जाने हो कि । श्रीमान्लाई पनि रोग सर्ने पो हो कि । आफ्नै अगाडि दिनहुँ कैयौंले ज्यान गुमाएको दृश्य आफू र आफ्नो परिवारसँग जोडेर कल्पना गर्दा मात्रै पनि कति डर लाग्दोरहेछ । मैले अनुभूत गरेँ । 

अहँ यो अवस्था आउन दिनु हुँदैन । मेरो कारणले मेरो श्रीमान्मा यो भाइरसले प्रवेश पाउनु हुँदैन । यसका लागि सकेसम्म धेरै पीपीईको अवश्यकता थियो मलाई । तर सरकारले त्यति धेरै पीपीई सप्लाई गर्ने अवस्था थिएन । सरकारले आवश्यक पर्ने पीपीई पनि उपब्ध गराउन नसकेपछि आफ्नो सुरक्षाकाका लागि महँगो मूल्यमा आफैं पीपीई अर्डर गर्नुपर्‍यो । यसको मुख्य उद्देश्य कोरोनाको भाइरस घरमा नल्याउने नै थियो ।

दुवैमा कोरोनाको लक्षण
तर, सधैं आफूले सोचे जस्तो कहाँ हुदोरहेछ र ? जे नहोस् भन्यो त्यही हुने । म स्वयं र मेरो पतिलाई जोगाउने मेरो कोसिस असफल भयो । हामी दुवैलाई कोरोनाको मन्द लक्षण देखिन थाल्यो । श्रीमान्ले हाम्रो निजी डाक्टरलाई फोन गरेर सोध्नुभयो । मन्द लक्षण टेस्ट गर्दा अरू अत्यावश्यक सेवामा फरक पर्ने भन्दै डाक्टरले घरमै १४ दिन क्वारेन्टाइन बस्ने सल्लाह दिए । 

डाक्टरले दिएको सल्लाह पक्कै राम्रो थियो । सायद म पनि उहाँको ठाउँमा भएको भए त्यही सल्लाह दिन्थेँ होला । तर उहाँले दिएको सल्लाह मेरो हकमा लागु गर्न सम्भव थिएन । आफ्नो ज्यानलाई माया मारेर भए पनि बिरामीको ज्यान जोगाउन अस्पताल जानु नै थियो । 

अब मैले पतिसँग घरमै सामाजिक दूरी राख्नुपर्ने भयो । ढोकाछेउमा रहेको सानो खोपोमा आफ्ना सबै सामान राखेँ । नुहाएर मात्र घर छिर्न थालेँ । बैठक कोठामै सुत्न थालेँ । अनि श्रीमानलाई नछोइ बस्न थालेँ । एक सातामा श्रीमानको ज्वरो र मन्द लक्षण कम हुँदै गयो । 

तर म जुन अस्पतालमा काम गर्थें । त्यहाँ एकदम धेरै गाह्रो नभएसम्म जचाउन पाइँदैन थियो । आज हो कि भोलि हो जिन्दगीको केही ग्यारेन्टी थिएन । त्यसमा पनि हरेक दिन आफ्नै अगाडि ७० भन्दा धेरै ज्यान निर्जीव वस्तुमा परिणत भएको देखेकाले मनमा जिन्दगीको केही ठेगान छैन, आज हो कि भोलि भन्ने सोचाइ मनमा आइरहन्थ्यो । तर पनि अस्पताल जानै पथ्र्यो । १०२ डिग्रीभन्दा माथि ज्वरो आयो भने मात्रै बिदा बस्न पाइन्थ्यो । साँझ आएर घरमा मास्क खोल्दा अनुहारमा मास्कको लेसको डाम बसेको स्पष्टै देखिन्छ । तर पनि यो दुःख संक्रमितको मुहारमा देखिएको पीडा सम्झिएर तुलना गर्दै काममा दौडिनुपर्छ । 

मन विचलित भएको क्षण
त्यसमा पनि इटलीमा डाक्टरहरू दिनदिनै मरिरहेको भन्ने खबर सुन्दा आङ जिरिङ्ग हुन्थ्यो । मनमा ठूलो त्रास बोकेर कोरोना संक्रमितको उपचार गरिरहेका बेला आफैंलाई झस्काउने खबर सुन्नुपर्‍यो । 

त्यही क्रममा आफ्ना अत्यन्तै नजिकका सुपरभाइजर डाक्टर र इमर्जेन्सीकी नर्स इन्चार्जले कोरोनासँग लड्दा–लड्दै ज्यान गुमाए । यसले मलाई मात्रै होइन हामी सबै अस्पतालमा कार्यरत स्वास्थ्य सेवक साह्रै दुःखी भयौं । सबैमा कोरोनाले लैजान्छ कि भन्ने त्रास झन बढ्यो । आफन्तको याचना, शुभचिन्तकको सुझाव अनि आफ्नै जीवनप्रतिको मायाले कहिले–काहीँ कामै छाडौं कि भन्ने पनि लाग्थ्यो । अर्को मनले पेसाप्रतिको धोका भन्ने पनि लाग्थ्यो । २० वर्षसम्म गरेको संघर्ष सम्झिँदा जे पर्ला यही समाज र मानव स्वास्थ्यमै आफ्नो जीवन समर्पण गर्छु भन्ने संकल्प गरी काम नछाड्ने निर्णय गरेँ । 

घर (पोखरा) बाट हरेक दिन फोन गरेर तिमीहरूको अवस्था कस्तो छ, काममा गइरहेको हो भनेर सोध्नुहुन्थ्यो । कतै संक्रमण भयो कि भन्ने त्रास म र मेरो पतिलाई भन्दा पनि घरकालाई धेरै रहेको आवाजमा प्रस्टै सुनिन्थ्यो । हामी दिनहुँ केही हुँदैन भनेर आस्वास्त पार्ने प्रयास गथ्र्यौं, भलै हामी स्वयं केही हुँदैन भन्नेमा ढुक्क थिएनौं । हरेक दिन आजैबाट नजाऊ भन्नुहुन्थ्यो । नेपाल फर्क भन्नुहुन्थ्यो । 
तर म निरन्तर अस्पताल गइरहेकी छु । संक्रमितको उपचार गरिरहेको छु । 

मेरो अनुरोध 
आजसम्म न्युयोर्कमा मात्र २५ हजार र अमेरिकामा ७२ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । विश्वका २१५ देशमा कोरोना संक्रमण फैलिँदा नेपालमा पनि यसको संक्रमण फैलिँदो अवस्थामा छ । हामी डाक्टर, नर्स, पसलमा काम गर्नेहरू, प्रहरी, अग्नि नियन्त्रक आफ्नो ज्यानको बाजी राखेर समाज र मानवको सुरक्षामा लागेका छौं । यो बेला हामी आफ्नो ज्यानको सुरक्षा नहुँदा–नहुँदै पनि अरूको ज्यान बचाउन लागिरहेका छौं । 

हामी सबै यो आशामा छौं समस्या छिटै समाधान होस् । यसको औषधि र खोप चाँडै आओस् । सबै नियमित जीवनमा फर्किन सकौं । हामी हाम्रो ठाउँबाट सक्दो कोसिस गरिरहेका छौं । अहिलेसम्म मानवले यो महामारीबाट पार पाउने एउटा मात्र उपाय सामजिक दूरी कायम गर्नु नै हो । घरमै बस्नु पर्दा अल्छी लाग्ला, गाह्रो पनि होला तर हामीसँग अरू उपाय पनि त छैन । हामीमध्ये कतिले कोरोना संक्रमणपछि घर, परिवार तथा आफन्तविहीन भएर एक्लो अवस्थामा प्राण त्याग गरेको नदेखेका कारण पनि यसको पीडा महसुस गर्न सकिरहेका छैनौं । जसले देखेको छ, बिरामीले अस्पतालको शय्यामा अन्तिमपटक आफन्त भेट्न याचना गर्दा–गर्दै अन्तिम श्वास फेरेको, सायद उसले मात्रै घरभित्रै बस्नुको अर्थ र औचित्य बुझ्छ होला । त्यसैले म एक चिकित्सकको नाताले सबैलाई घरमै बस्न विनम्रपूर्वक आग्रह गर्छु । घरमा परिवारसँग समय बिताउन र सामाजिक दूरी कायम गर्न जति सजिलो छ, मैले देखेको कोरोना संक्रमणपछि अवस्था त्यति नै भयावह छ । 
 

Nepal Investment bank
Nepal Investment bank
बिहिबार, वैशाख २५, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्