संसद्मा दुई तिहाइ नजिकको बहुमत भएको दम्भ बोकेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले आफैँ अध्यक्ष भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको पुष्पकमल दाहाल— माधवकुमार नेपालको कसिलो गठबन्धनका कारण अल्पमतमा परेका छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रधानमन्त्रीका महत्त्वकांक्षी वामदेव गौतमसमेत गठबन्धनको पोयामा बाटिएकाले पनि सत्ताको अर्को समीकरण नबनेसम्म सजिलै टुट्ने देखिँदैन । हुनत, पदमा टाँसिइरहन केपी शर्मा ओलीले गठबन्धन टुटाउने खेलका रूपमा प्रधानमन्त्री र पार्टी अध्यक्षसम्मको उधारो कार्ड फ्याँकी रहेका छन् ।
संसदीय दलमा बहुमत पुर्याउन सांसद किनबेचका लागि राज्य शक्तिको दुरुपयोग गरिरहेका प्रधानमन्त्री ओलीले हल्लिएको कुर्सी टिकाइराख्न हुनेनहुने सबै उपाय अपनाइरहेका छन् ।
संवैधानिक परीषद र दल विभाजनसम्बन्धी स्वेच्छाचारी अध्यादेश फिर्ता लिन बाध्य भएका ओलीमाथि पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै वा कुनै एउटा पद छोड्नै पर्ने दबाब केही दिनदेखि लगातार परिरहेको छ । दुवै पदको लोभका कारण आफैँबाट उपेक्षित सांसदहरुसँग समेत उनी अहिले रोइलो गरिरहेका छन् । कनिष्टलाई मन्त्री बनाएको र आसेपासे, हुक्के, बैठकेलाई मात्र लाभको पदमा पुर्याएको आरोप खेपेका प्रधानमन्त्रीले आफ्नै खेमाका सांसदहरुसँग समेत सहयोगको यचना गरिरहेका छन् । वार्ताको नौटंकीमा विपक्षी खेमालाई अल्मलाए पनि उनी प्रतिनिधिसभा संसदीय दलमा बहुमत पुर्याएर दाहाल, नेपाललाई फेरि पनि हिस्स पार्ने दाउ हेरिरहेका देखिन्छन् ।
शासन संचालनमा असफल सिद्ध प्रधानमन्त्री अझैं पनि बहुमत अल्पमतको तानातानीमा आफैँ उत्रेका छन् । कोरोना कहरपछि जनतासँगको सम्बन्ध पनि टुटाएका प्रधानमन्त्री ओली कुनै पनि हालतमा पद त्याग नगर्ने ‘बरु न रहे बाँस न बज्यो बाँसुरी’ भन्ने अवस्थामा मुलुकलाई पनि असफल सिद्ध गर्ने बाटातिर लम्केको देखिएको छ ।
बन्दाबन्दी (लकडाउन)को विकल्प खोजेर मुलुकलाई निकास दिनुपर्ने बेला प्रधानमन्त्री सरकारी निवास बालुवाटारलाई सत्ताको हानथाप गर्ने पार्टी कार्यालयमा परिणत गरेका छन् । आफ्नै नाममा बहुमत आएको भ्रमले ओलीले चुनावमा तत्कालीन एमाले—माओवादीको सत्ता स्वार्थको गठबन्धनलाई बिर्सेका छन् । हुँदाहुँदै पाँच वर्षमध्ये आधा कार्यकाल मात्र प्रधानमन्त्री बन्ने दाहालसँगको लिखित सम्झौता केपी ओलीले लत्याई दिए । “समानता र समान अवधिका आधारमा आवश्यकता अनुरुप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने” सम्झौता पत्रअनुसार दुवै नेताबीचको सहमती पत्रमा हस्ताक्षर भएको बताइएको थियो । तर, कार्यकारी अध्यक्ष हुने दाहालको रोजाइसँगै यस अवधिमा प्रधानमन्त्री हुने उनको सपना तुहिएको छ । होइन भने दाहाल मुखैमा आएको प्रधानमन्त्री पद छाडेर माधव नेपाललाई बोकेर किन दगुर्थे ?
दुवैको हस्ताक्षरमा हुने निर्णयमात्र पार्टीको आधिकारीक निर्णय हुने सम्झौता पत्रको भावनालाई दाहालले बेलैमा अथ्र्याउन सकेनन् । पार्टी संगठन र निर्णयको लागि बराबरी हैसियतका दाहालले प्रधानमन्त्रीको लागि साढे दुई वर्ष अर्थात् अबको छ महिना कुर्न सक्नुपथ्र्यो । पार्टी एकीकरणको सम्झौता पत्रले आफैँ पनि नैतिक बन्धनमा परेको केपी ओलीलाई राम्ररी थाहा थियो । त्यसैले दाहाललाई कार्यकारी पदमा थन्काएर ओलीले आफ्ना प्रधानमन्त्री पद सुरक्षित बनाए ।
दाहालले अपरिपक्वता र अधैर्यले मुखैमा आएको प्रधानमन्त्री पद गुमाउन पुगे । हुनत, प्रधानमन्त्रीको पद केपी ओलीले सहजै हस्तान्तरण नगर्ने रहेछन् । तैपनि पार्टी एकीकरण सम्झौता पत्रका कारण केपी ओलीमाथि नैतिक दबाब पर्ने थियो । अहिले जसरी केपी ओलीले प्रधानमन्त्री पदको भकुन्डो खेलिरहेका छन् । सम्झौताअनुसार दाहाल टिकेका भए कमसेकम नियम मिचेर यसरी जथाभावी खेल्नसक्ने थिएनन् ।
हुनत, दाहाल पनि कम धोकेवाज होइनन् । उनले सत्ताको लागि हजारौं नेपालीको ज्यान लिए । नेपाली कांग्रेससँगै सत्तारुढ पनि भइरहने विपक्षीसँग चुनावी तालमेल गर्ने घोर अनैतिकता र धोकेवाज राजनीति गरेर दाहालले यसअघि नै नैतिकता र राजनीतिक इमानलाई बलिदान दिइसकेका थिए ।
प्रधानमन्त्री पद जनताको नासो हो । जनताले नेकपालाई पाँच वर्षको लागि प्रधानमन्त्रीको पद सुम्पेका थिए । भ्रष्टाचार, अनियमितता तथा उखान, टुक्कामै छब्बीस महिना बिताएका ओलीले पाँच वर्षमा अब चौतीस महिनामात्र बाँकी छ भन्ने बिर्सेका छन् । त्यसैले ओलीले प्रधानमन्त्रीको पदलाई हाँसो बनाइरहेका छन् । हुँदाहुँदै केपी ओली आफ्नै निर्देशनमा चुनाव हराइएका र राष्ट्रिय सभामा समेत जान नदिइएका वामदेव गौतमलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न पुगेका । अहिले संविधानले समेत नचिनेका गौतमलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर केपी ओलीले संविधान, विधि र लोकतान्त्रिक शासनको पनि त धज्जी उडाए ।
प्रधानमन्त्रीको लाममा पर्खेर बसेका माधवकुमार नेपाल, झलनाथ खनाल र पुष्पकमल दाहाल तीनै जना खेलाडीलाई पन्छाएर केपी ओलीले वामदेवतर्फ किन इसारा गरे भन्ने कुराले राजनीतिमा नयाँ तरंग फैलिएको छ । एकातर्फ राष्ट्रिय सभामा जान रोक्ने अर्कोतर्फ सांसद नै नभएका गौतमलाई प्रधानमन्त्रीकोे आश्वासन दिने कार्य स्वयम् प्रधानमन्त्रीको धूर्त चरित्रबाहेक अरु केही होइन भन्ने नेकपाकै प्रभावशाली नेताहरुले भनिरहेका छन् । हिजो, अर्थात् नाकाबन्दी कालमा केपी ओलीको विरोध गर्नेलाई जनताले ढुङ्गा हान्थे । अहिले तिनै जनता केपी ओलीको समर्थन गर्नेलाई ढुङ्गा हान्छन् भन्ने नेकपाकै नेता रघुजी पन्तको मूल्याङ्गनबाट पनि सरकार कति बदनाम छ भन्ने प्रष्ट भएको छ ।
दाहाल बिच्किएपछि केपी ओलीले आफैँले लत्याएका नेपालसँग फेरि प्रेमलाप जारी राखेका छन् । उनले प्रधानमन्त्रीको लागि लाजै पचाएर एउटै पार्टीको दुई अध्यक्षले समेत नपुगेर माधव नेपाललाई फेरि तेस्रो अध्यक्षको प्रस्ताव गरे । आफ्नै पार्टीका नेता झलनाथलाई प्रधानमन्त्रीबाट गलहत्याउन कुनै कसर बाँकी नराखेका ओलीले पार्टीको तेस्रो वरीयता क्रमबाट समेत बेइज्जतीपूर्वक घोक्य्राएको माधव नेपालले पनि यति छिटै कसरी बिर्से होलान् र ? हुनत, च्याँखे दाउमा पद खाने मनोवृत्ति माधव नेपालले धेरै पटक देखाएका छन् । प्रधानमन्त्रीको लागि राजालाई बिन्ती र पाउमा दाम चढाएका माधव नेपाललाई काठमाडौं र रौतहट दुवै ठाउँबाट चुनाव हारे पनि नेपाली कांग्रेसले टाउकामा बोकेर प्रधानमन्त्री बनाएको थियो । तर नेपाली कांगे्रसलाई उनी कहिल्यै काम लागेनन् । अहिले त्यही काम दाहालले गर्दै छन् । तर, पूर्वएमाले एक हुनुपर्छ भन्ने नाममा केपी ओलीसँग पनि नेपालले आशा मारेका छैनन् ।
जे होस्, आजको राजनीतिक जोडघटाउले याथास्थितिमा रहने कि परिवर्तनको पक्षमा जाने भन्ने निर्णायक गोल चाहिँ नेपालकै हातमा देखिएको छ । नेपाललाई नै फरवार्ड बनाएर मैदानमा उत्रेका दाहाल नेपालले बीचैमा सम्झौता (मीड प्याक) गरे भने सबैभन्दा काम नलाग्ने हुन पुग्नेछन् ।
दाहाल अब ‘गर या मर’को अवस्थामा पुगेका छन् । शोषित, पीडित, सर्वहारा वर्गको मुक्तिको नारा दिएर निहत्था हजारौं मानिसलाई हिंसाको सिकार बनाए । खर्बांैको क्षति र लाखौंको उठीबास लगाएर मुलुकलाई कम्तीमा पचास वर्ष पछाडि धकेलेका दाहालले आखिरमा तिनको रगत, पसिना र सपनासँग सत्ता साट्न पुगे । उन्मुक्तिको नारा दिएर हजारौं कार्यकतालाई बीचैमा छाडेर अन्ततः माओवादी पार्टीलाई समेत एमालेमा विलय गराएका दाहाल अहिले सत्ताको लागि छट्पटाएका छन् । हिजो एमालेको कार्यकर्तामाथि दाहालको नेतृत्वमा भएको हिंसात्मक बर्बरता केपी ओलीले पनि बिर्सेका छैनन् होला । बदलाका लागि पर्खिरहेका केपी ओलीलाई पार्टी सकिएका र कार्यकर्ताबाट टाडिँदै गएका दाहाललाई तहलाउने ठीक समय आएको देखिएको छ । ठीक यही बेला द्वन्द्वकालीन गम्भीर प्रकृतिको मुद्दामा उन्मुक्ति दिन नपाइने सर्वोच्च अदालतको फैसला आएको छ । नेकपाभित्र आगो दन्किरहेको बेला फैसला आउँदा ‘बाघ कराउने र बाख्रा हराउने’ संयोग मिलेको छ ।
दाहाललाई चालीस प्रतिशत पुर्याएर पार्टी फुटाउने कि माधव नेपालसँगै सती जानेबाहेक विकल्प छैन । मुखैमा आएको प्रधानमन्त्री खाने कि पार्टी फुट्छ कि भनेर पछि हट्ने माधव नेपालसँग पनि तत्कालका यिनै विकल्प हुन् । गल्दै गएका केपी ओलीबाट अझैपनि सत्ता खोस्न नसक्ने हो भने दाहाल, नेपालको गठबन्धन अब गुटकै अस्तित्वका लागि पनि फलदायी हुनेछैन । तैपनि, राजनीति विकल्पै विकल्पको खेल हो । नेकपाको आधुनिक महाभारतको अन्त्य कसरी हुन्छ ? हेर्न त केही दिन पर्खनै पर्छ । यो महाभारतको अन्त्य जसरी भए पनि नेपाल र नेपालीले भने त्यसबाट ठूलो दुष्परिणाम भोग्नुपर्ने देखिएको छ ।
( पूर्वकेन्द्रीय उपाध्यक्ष नेविसंघ )