site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डुब्ने नै भयो त कांग्रेसको जहाज ?

स्थानीय तहको निर्वाचनको प्रवृत्ति केलाइहाल्ने बेला नभए पनि यस चुनावमा दुवै कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्र फाइदामा र गैरकम्युनिस्ट दलहरू मूलतः नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी घाटामा परेको भने स्पष्ट देखिएको छ । यसको मूल कारण दुवै दलले आआफ्नो सैद्धान्तिक धरातल बिर्सेर सत्ताका लागि गरेको गठबन्धन नै हो । नेपाली जनताले यी दुवै दललाई यस निर्वाचनमार्फत् चेतावनी दिए । 

सिद्धान्तहीन गठबन्धन अस्वीकार

राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको केही पदमा जित्ने लोभ छाडेर राजतन्त्र र हिन्दु धर्मको एजेन्डामा सहमत हुनेसँगमात्र चुनावी तालमेल हुनसक्छ भनेर अडेको भए उसका मतदाताले गणतन्त्र र धर्मनिरपेक्षताका समर्थकलाई मत हाल्नुपर्ने थिएन । हार्दा पनि दलीय अडान र अस्मिता जोगिने थियो । यस निर्वाचनले सिकाएको सिद्धान्त छाडेर सम्झौता गर्दैमा चुनाव जितिने होइन रहेछ भन्ने पाठ राप्रपाका नेताले सम्झे भने भविष्यमा कुनै दिन उनीहरूलाई फाइदै हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेसको कन्तबिजोग

निर्वाचन परिणामले सबैभन्दा बढी निराश नेपाली कांग्रेसका कार्यकर्तालाई बनाएको हुनुपर्छ । मतदान हुनुभन्दा अगाडिसम्म मौन रहेका कांग्रेसका नेता कार्यकर्ता अहिले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्न थालेका छन् । तर, सबैलाई थाहा छ उनीहरूको आक्रोश केही दिनपछि सेलाउने छ र कांग्रेस डुब्दै गएको टुलुटुलु हेरेर बस्नेछन् । पार्टी सभापतिमा शेरबहादुर देउवाको विजयपछि कांग्रेस निरन्तर ओरालो लागेको छ । यसो त नयाँ दिल्लीमा १२ बुँदे सहमति गरेपछि नै कांग्रेसको सैद्धान्तिक धरातल खस्कन थालेको हो । संविधान सभाको पहिलो निवाचनमा नेपाली जनताले कांग्रेसलाई स्पष्ट सन्देश पनि दिएका थिए । सुशील कोइरालाको कम्युनिस्ट विरोधी छवि र सिद्धान्तनिष्ठाका कारण संविधान सभाको दोस्रो निर्वाचनमा कांग्रेसप्रति मतदाता आकर्षित भएका थिए । तर, शेरबहादुर देउवा सभापति निर्वाचित भएपछि कांग्रेसको पहिचानै मेटिने गरी भइरहेका सिद्धान्तहीन सम्झौताका कारण मतदाताले कांग्रेसलाई अस्वीकार गरेका हुन् ।

Global Ime bank

जिम्मेवार को ?

विडम्बना, निर्वाचन परिणाम जति निराशाजनक भए पनि नेपाली कांग्रेसका नेता कसैले पनि त्यसको जिम्मेवारी लिने नैतिक हिम्मत देखाउने छैनन् र अर्को चरणको निर्वाचनमा उमेदवार र रणनीति चयन गर्दा फरक शैली अपनाउने पनि छैनन् ।  यसैले अर्को चरणको निर्वाचनको परिणाम पनि खासै फरक हुने सम्भावना निकै कम छ  । यसको निचोड के हो भने नेपाली कांग्रेसको जहाज डुब्दैछ र त्यो पनि जहाजकै कप्तानका कारण ।

डुब्दै गरेको जहाज !

डुब्न लागेको कांग्रेसको जहाजमा रहेका यात्रुहरूसँग अब तीनवटा मात्र विकल्प छन् : पहिलो, जहाज नडुब्दै आफूसँग विचार मिल्ने सहयात्री लिएर निस्कने । पौडी खेलेर पार लगाउन नसके राजनीतिक भविष्य समाप्त हुने जोखिम त छ तर पौडिन जानेमा सुरक्षित अवतरण पनि हुनसक्छ । दोस्रो, कप्तानलाई हटाएर जहाजको नेतृत्व कुशल हातमा सुम्पनका लागि विद्रोह गर्ने र तेस्रो, टुलुटुलु हेरेर बस्ने अनि जहाजसँगै डुब्ने ।

विद्रोहको विकल्प

नेपाली कांग्रेसका अहिलेका नेताले पार्टी छाडेर नयाँ संगठन गर्ने आँट गर्नेजस्तो भने देखिँदैन । सैद्धान्तिक धरातलमा लाभ हानि नहेरी अडिने नेता पनि अहिले कांग्रेसमा सक्रिय भएजस्तो लाग्दैन । केही कार्यकर्ताले फाट्टफुट्ट पार्टी छाडेर कांग्रेसको सैधान्तिक धरातल जोगाउँदैमा अर्को पार्टी  हुनसक्तैन । राष्ट्रियता र लोकतन्त्र जोगाउन कांग्रेस छाडेर अर्को पार्टी बनाउनु पर्ने हुन्छ । तर, कसैले नपत्याउने वा स्पष्ट सैद्धान्तिक धरातलमा टेक्न नसक्ने हो भने अर्को एक थान राजनीतिक पार्टी थपिने मात्रै हो ।  यसैले कांग्रेसजनको अगुवाइमा अर्को पार्टी बनाउने विकल्प हाललाई सम्भव देखिँदैन ।

विनिर्माणको बाटो

दोस्रो विकल्प अपनाउन पनि केही प्रभाव र भविष्य भएका नेताहरूले राजनीतिक भविष्य दाउमा राख्ने आँट गर्नुपर्छ । तर, शेरबहादुर देउवा सभापति भएपछिका सैद्धान्तिक गल्ती र ’अपराध’मा चुँक्क एक वचन बोल्ने आँट नगर्नेहरूबाट जहाजको कमान्ड खोसेर अगाडि बढ्ने अपेक्षा गर्नु पनि मूर्खता नै हुनेछ । तर, अझै पनि कांग्रेसका नेताहरू केन्द्रीय समितिमै भएका मध्ये केहीले आँटे भने नेपाली कांग्रेसको विनिर्माण सम्भव छ । राष्ट्रियता र लोकतन्त्रमा आधारित यही सिद्धान्तमा टेकेर यिनै निष्ठावान् कार्यकर्तामा भरमा संगठन पुनःनिर्माण गर्ने हो भने नेपाली कांग्रेस डुब्नेछैन । त्यस अवस्थामा अहिले पन्छेर बसेका कांग्रेसका समर्थक, शुभेच्छुक र मतदाता पुनः सक्रियरूपमा संगठनमा लाग्नेछन् ।

विनिर्माणका लागि शशांक कोइराला, शेखर कोइराला,  प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायतका नेता एकै ठाउँमा उभिएर विद्रोह गर्न अग्रसर हुनुपर्छ । कसैलाई मन परे पनि नपरे पनि दक्षिण एसियाली राजनीतिमा पारिवारिक प्रभाव बलियो छ । श्रीलंका, बंगलादेश, भारत, पाकिस्तान, नेपाल सबैतिर पुरानो राजनीतिक पार्टीसँग कुनै न कुनै परिवारको नाम जोडिएको छ । यसैले कांग्रेस जोगाउने हो भने सबैभन्दा पहिले यिनीहरूले एकै ठाउँमा उभिएर गर्न हुने र नहुने के हो भन्ने विषयमा स्पष्ट अडान राख्नुपर्छ । देउवालाई यस पराजयको नैतिक जिम्मेवारी लिन बाध्य बनाउनसक्नुपर्छ ।

गठबन्धले नुर गिरेका कार्यकर्ता

अहिले कांग्रेसका कार्यकर्ता मत माग्न जाँदा टाउको ठाडो पार्नसक्ने अवस्थामा थिएनन् । माओवादीलाई समर्थन गरेर प्रधानमन्त्री बनाएकै दिनदेखि नैतिक मनोबल खस्कन थालेको थियो तिनको । माओवादीको नेतृत्व स्वीकार गर्नु शेरबहादुर देउवालाई प्रधानमन्त्री हुने बाटो खोल्नुबाहेक अरू कुनै पनि दृष्टिले उचित थिएन । सिद्धान्तमा माओवादीले नेपाली कांग्रेसलाई अहिले पनि पहिलो शत्रु मान्छ । व्यवहारमा गाउँघरमा माओवादीबाट सताइनेमा सबैभन्दा धेरै कांग्रेसकै कार्यकर्ता छन् । ती कसरी सँगै रहन सक्छन् ?

मनोबल खस्काउने कारकहरू

त्यसपछि लोकमान सिंह कार्की प्रकरणमा कांग्रेसले देखाएको दुबिधा र अन्यमनस्कताले कार्यकर्ताको मनोबल कमजोर बनायो । यद्यपि, गगन थापा र धनराज गुरुङले लोकमान कार्कीविरुद्ध पहिले आवाज उठाएका थिए । उनीहरूले पार्टी नेतृत्वलाई त्यस प्रकरणमा औँला ठड्याउनुपर्ने बेलामा सकेनन् । माओवादीले सत्तामा बसेर सत्ता साझेदारलाई थाहै नदिई महाभियोग लगाउँदा उठाउनु पर्ने सैद्धान्तिक र नैतिक प्रश्न पनि उठाउन सकेनन् ।

त्यसपछि प्रहरी महानिरीक्षक नियुक्तिमा त झन् कांग्रेसलाई माओवादीले नराम्रोसँग नंग्याइदियो । गृह मन्त्रीको चाहनाविपरीत पार्टी सभापतिले हस्तक्षेप गरेर वरीयतामा अगाडि रहेको व्यक्तिलाई नियुक्त हुन दिएनन् भन्ने सन्देश देशभर पुग्यो । सरकारको नेतृत्व माओवादीले गरेको भए पनि दोष कांग्रेसले पायो । न त कांग्रेसले हैन नै भन्न सक्यो न त्यसो गर्नुको कारण नै जनसमक्ष प्रस्तुत गर्न सक्यो । चुनावमा होमिने बेलामा कार्यकर्ताले बोल्ने बाटो पनि पाएनन् ।

यस्तै अर्को गल्ती प्रधान न्यायाधीश सुशीला कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता गर्दा भयो । प्रधान न्यायाधीश कार्कीमाथि महाभियोग लगाउनु पर्ने कारण अहिलेसम्म जनतालाई त के कांग्रेसका केन्द्रीय सदस्यलाई पनि थाहा भएजस्तो लाग्दैन । यसलाई न्यायालयको स्वतन्त्रतामा गरिएको प्रहारका रूपमा लिइयो । यसमा पनि जनताले माओवादीलाई खासै दोष दिएनन् । माओवादीबाट न्यायपालिकाको स्वतन्त्रता वा विधिको शासनको अपेक्षा जनताले गरेकै थिएनन् ।

तालमेलको विषपान

प्रहरी महानिरीक्षक नियुक्ति र महाभियोग प्रकरणबाट कांग्रेसका कार्यकर्ता पूरै प्रतिरक्षात्मक हुन पुगेका थिए । त्यसमाथि थपियो तालमेलको विषपान । नेपाली मतदाताको मनोविज्ञान पटक्कै नबुझेकाले कांग्रेस र माओवादीका नेता एकै मञ्चमा उभिँदैमा जनताले भोट पनि हाल्छन् भन्ने ठाने । भरतपुरमा त महानगरका प्रमुख उमेदवारको उमेदवारी पनि जबर्जस्ती खोसियो । सुनेअनुसार, काठमाडौंमा पनि उपप्रमुखको उमेदवारी फिर्ता गराउन देउवा निकै कस्सिएर लागेका थिए । प्रकाशमान सिंह बैठकबाट रिसाएर निस्केकाले मात्रै हरिदेवी खड्गीको उमेदवारी जोगियो । काठमाडौं महानगरको मतगणनामा अहिलेसम्म उनले मात्रै अग्रता कायम राखेकी छन् ।  

प्रधानमन्त्री पदका लागि माओवादीलाई रिझाउन शेरबहादुर देउवाले कांग्रेसको अस्मितासँग खेले । अचम्म, कांग्रेसका नेता कार्यकर्ता भने ’क्रीतदास’ जस्ता देखिए । यस्तो अवस्थामा पनि मौन रहेका कार्यकर्ताले कांग्रेसको विनिर्माण गर्लान् भनेर पत्याउने त के आशा गर्ने ठाउँ पनि देखिँदैन ।

सायद, नेपाली कांग्रेसलाई डुबाउन नियतिले रचेकै प्रपञ्च हो यो ।

वैकल्पिक शक्तिको उदय होला?

नेपाली कांग्रेसको अधोगतिले राजनीतिमा एउटा ठूलो रिक्तता उत्पन्न गर्दै लगेको छ । नेकपा (एमाले) राजनीतिक दलभन्दा बढी कुनै कर्पोरेसनजस्तो छ । माओवादी अब क्रान्तिकारीभन्दा बढी कपटीहरूको झुन्ड हुनपुगेको छ । राप्रपा सैद्धान्तिकरूपमै नयाँ युगका लागि उपयुक्त पार्टी हुन सत्तैmन । अरू क्षेत्रीय दलहरूमा पनि राजनीतिक संस्कार छैन । यसैले देशमा लोकतान्त्रिक विकल्पको खाँचो छ । विडम्बना, विकल्प बन्न खोज्नेहरू राजनीतिक बन्न सकेनन् । डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्ति माओवादीकै असन्तुष्ट समूहभन्दा बेग्लै देखिनै सकेन । विशेषगरी माओवादी हिंसामा दण्डहीनताको पैरवी गरेर नयाँ शक्तिले लोकतान्त्रिक गुमायो । विवेकशील नेपालीले राजनीतिलाई ’रक कन्सर्ट’को व्यवस्थापनजस्तो ठानेको देखियो । साझा पार्टी २०४० को दशकको पञ्चायतको ’विकासका लागि राजनीति’ भन्ने नाराकै सेरोफेरोबाहिर निस्कन सकेको देखिएन ।

आवश्यकतालाई आविष्कारको जननी भन्छन् । के नियतिले नेपाली राजनीतिमा अर्को कुनै शक्ति वा समूहको उदय गराउँदै होला त ? 

   

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३, २०७४  ११:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC