बाह्रखरी
sticky  ncell
British college
British college
ब्लग प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
ब्लग प्रहरी ‘क्वारेन्टिन’को छोटो अनुभव दीपकराज सापकोटा
NMB Bank
NMB Bank
बाह्रखरी - मंगलबार, वैशाख २३, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

आज वैशाख २३, २०७७ । घरबाट यसो बिहान एकछिन निस्कन मन लाग्यो । खास काम नभए पनि एकैछिन टहलिन मन लागेरै बाहिर निस्किएको थिएँ  ।  केही महिना अघि जगिङ गर्ने लुगा किनेको थिएँ । त्यही लुगा लगाएर निस्कन मन लाग्यो । नयाँ लुगा लगाएँ र निस्किएँ । महाराजगन्ज चोक पुगेपछि प्रहरीले सोधे – कता हिँडेको । मैले ‘टहलिन’ भने । लुगा पनि त त्यस्तै थियो । के ढाँटनु ? 

‘‘ऊ त्यहाँ कुनामा जानोस्’’– असई साबले भने । चाहबहिल जानेपट्टिको किनारामा जहाँ पत्रिका बेच्ने एकजना दिदी सधैं बस्थिन्, तारले छेकेर बनाइएको ठाँउमा ३–४ जना अरू मानीस पनि थिए । दुईजना ध्यान गर्दै थिए ॐ को ठूलै उच्चारणसहित, सायद थुनिनु पर्दाको आक्रोश पनि मिसिएको थियो । त्यो रहेछ – पुलिस क्वारेन्टिन । भित्र छिरेँ म र खुसी नै लाग्यो । एउटा नयाँ अनुभव पनि थपियो भनेर ।

कति खेर छोड्ने भन्ने टुंगो थिएन । असईले नौ बजे भने । हवल्दार साबले – ‘‘बस्नुस् न यही हो ‘मर्निङवाक’ भनेर कटाक्ष गरे । मोबाइल फोन बोकेको थिइन । नौ बजेसम्म घर नपुग्दा घरबाट चिनेजानेका सबैलाई फोन गर्लान् कि भन्ने डर भयो । क्वारेन्टिन सहवासीलाई ‘‘फोन छ भाइ ?’’ भनेर सोधेको उनले त पैसै छैन भने । बिचरा, काममा हिँडेका रहेछन्, पैसा पनि उठाउनु छ भन्दै थिए । सायद असई साबलाई सुरुमा राम्रोसँग भनेन्न क्यार । परे क्वारेन्टिनमा । 

Global bank

Agani Group

थुप्रै मानिसहरु त्यही बाटो हिँड्दै थिए । उनीहरूलाई जुक्ती थाहा रहेछ क्यारे ! कोही के काम त कोही तरकारी किन्ने काम देखाउँदै फुत्किँदै थिए । पुलिस सहज नै देखियो कारण बताएर हिँडनेहरुप्रति । तर, जो अलि भाका पुर्याएर बोल्न जान्दैन थिए उनीहरु चाँहि फन्दामा पर्ने रहेछन् । भनाइ नै छ नि –बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन । 

त्यही बेला घुमुवा गाडी आयो । परैबाट ‘‘कति छन् ?’’ भनेर रबाफिलो स्वरमा सोधियो । ‘‘पाँचजना सर’’ भनेपछि ‘‘ठीक छ’’ भन्दै गाडी घुइँकियो । यसो सम्झेँ बेलुका पुलिसको रिपोर्टमा बेगारी, घुमुवा र लकडाउन उल्लंघनकर्ताको सूचीमा संख्या बढाउन मैले पनि योगदान गर्ने भएँ । चिन्ता चाहिँ घरमा म सुरक्षित छु भनेर कसरी खबर गर्ने भन्ने नै भयो । म आफन्तहरु खोज्न हिँड्लान् भनेर पिरोलिएको थिएँ । खोज्न हिँडे भने उल्लघंनकर्ताको संख्या झन् बढ्ला । घरमा त पीर पर्ने नै भयो, आफन्तहरुलाई पनि थप नयाँ समस्या आइलाग्ने । हत्तेरिका कस्तो कुकाम गरिएछ भन्ने पनि लाग्यो एक मनमा । अर्को मनमा आयो थप अनुभव भयो जीवनमा । फेरि भाइरसकै कारणले यस्तो बन्दाबन्दीको अनुभव त्यसमा पनि पुलिस क्वारेन्टिन त बिरलै भोग्न पाइन्छ ।

sarbottam cement

क्वारेन्टिनमा भएका विभिन्न व्यक्तिका कुरा सुन्न र तिनका  दिमागमा खेलिरहेका विविध विचार जान्ने उत्सुकता पनि थियो । पुलिस क्वारेन्टिनबाट बच्न मान्छेहरुले लगाउने जुक्ती, झुक्याउन सफल हुँदाको प्रशन्नता र समातिँदाको ग्लानि हेर्न लायक हुँदोरहेछ । प्रहरीहरुको पनि अनुहार, भावभङ्गी, व्यवहारले उनीहरुका बारेमा धेरै कुरा भनिरहेको थियो । उस्तै विषयमा फरकफरक व्यक्तिप्रति प्रहरीको फरक व्यवहार रोचक थियो । 

तिनले हिजो सुत्न पाए कि पाएनन् ? कति घन्टे ड्युटीमा छन् ?, घरपरिवारको अवस्थाजस्ता विषयले अनि व्यक्तित्वले पनि व्यवहारमा फरक पार्ला नै । मनोविद्हरुले अनुसन्धान गरिरहेका नै होलान् । तनावमा काम गर्नुपर्ने, त्यसमाथि आफैँ पनि संक्रमित हुने जोखिम र परिवारको चिन्ताजस्ता कुराले व्यवहारमा पार्ने प्रभावका बारेमा । 

प्रहरीहरुको पक्षमा सुधारका केही काम गरिहाल्नुपर्ने देखिए । त्यहाँ क्वारेन्टिनमा बस्दाबस्दै एक जनाको पालो सकिएर अर्का आए । समाई राखेको लौरो हस्तान्तरण गरे । कम्तीमा लौरो त सबैको आआफ्नै हुनुपर्ने नि । भाइरस नसरोस् भनेर लकडाउन गरिएको र सबैलाई रोक्न बस्ने मान्छेहरुनै यस्तो जोखिमपूर्ण अवस्थामा रहनु निश्चय पनि राम्रो होइन । सबैलाइै एक एकओटा लौरो त दिन पक्कै सकिन्छ होला । यो त ठूलै जोखिमपूर्ण लाग्यो । दिनमा कतिपटक पालो बदलिन्छ र कति जनाले त्यो लौरो समात्छन् होला ! उनीहरुका हातमा पञ्जासम्म पनि थिएनन् । सुरक्षा फौजमा संक्रमण भइहाल्यो भने त अवस्था भयावह होला ! 

त्यही बेला महाराजगन्ज वृत्तमा प्रमुख आए । राम्रो जिउडाल, आकर्षक व्यक्तित्व रहेछ । ‘‘कति छन् उल्लघंन गर्ने ?’’ भनेर सोधे र ‘‘राखिरहनु’’ भन्ने आदेश दिए । यसो जाँच गरेर हिँडे । यी  करिब एक सवा एक घन्टाका घटना हुन् । 

प्रहरी सेवामा कार्यरत साथीभाइहरु सम्झेँ । मनमा ग्लानि त भयो नै लकडाउन उल्लंघन गरेकोमा तर अपराधबााध नै चाँहि भएन । एक किसिमको नयाँ अनुभव गर्न पाएको जस्तो भयो । नयाँ सिकाइ पनि भयो । यद्यपि, यो गर्व गर्ने विषय चाँहि पटक्कै होइन ।  

साढे एक घन्टा जतिको बसाइमा अरु मानिस थपिए । अलि भिड बढेपछि पहिलो समूहका उल्लघंनकर्ताले छुट्टी पाउने भए । बीचमा एक जना भाइले बार नाघेर कुलेलम ठोक्न पनि भ्याएका थिए । पहिलो समूहका तीन जना गएपछि १० मिनेट जतिपछि मेरो पनि  छुट्ने पालो आयो । छिटै छुटेकोमा खुसी पक्कै भइयो । घरमा खोजतलास गरिहाल्ने बेला जो भएको थिएन । दौडेर घर पुगियो । 

बन्दाबन्दी कहिलेसम्म गर्ने र किन गरेको भन्ने जवाफ मैदानमा कार्यरत प्रहरीलाई थाहा हुने कुरा पनि भएन तर बन्दाबन्दीका विषयमा गंभीर भएर तर्कसंगत निर्णय गर्न अब अबेर गर्नु हुँदैन । यो भाइरसविरुद्ध खोप वा औषधि नबन्दासम्म सतर्क रहने, सुरक्षित व्यवहार गर्ने र जीवन शैलीमा परिवर्तन गर्ने जस्ता विषयमा बिशेष ध्यान दिएर आआफ्नो कामलाई निरन्तरता दिनुपर्छ । कोभिड–१९लाई परास्तगर्ने क्षमताको विकास र प्रकृतिमा सन्तुलन राख्ने कामहरु गर्दै आफ्ना पेसा व्यवसाय अगाडि बढाउनुपर्छ । परीक्षणको दायरा बढाउने, उपचार क्षमता बढाउने, बन्दाबन्दीपछि सुरक्षित कामगर्ने सम्बन्धी  निर्देशिका बनाउने र प्रविधिको प्रयोगसमेत गरेर नयाँ सुरक्षित तरिकाको विकास गर्ने काममा लाग्नु आवश्यक छ ।

बन्दाबन्दी गरेर रोकथामको यौटा तह त प्राप्त गर्न सकिएला तर यो समाधान चाँहि पक्कै होइन । अब यति बुझ्न ढिला नगरेकै बेस । अन्त्यमा, प्रहरीकै सुरक्षामा पनि सम्बन्धित निकायले तुरुन्तै ध्यान दिऊन् । यसमा आवश्यक पर्छ भने जनसहयोग जुटाउन पनि त सकिन्छ । आखिर प्रहरी जनताकै सुरक्षाका लागि न खटेका हुन् ! 

Nepal Investment bank
Nepal Investment bank
मंगलबार, वैशाख २३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्