site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कालजयी मन्टो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
– उपेन्द्रराज पाण्डेय
“जुन समाज पहिले नै विकृत र उदांगिएको छ, त्यसलाई मैलै कसरी नंग्याउन सक्छु र ? मैले त्यसलाई कपडा लगाइदिने प्रयत्न गरेको पनि छैन किनभने त्यो मेरो काम होइन । त्यो त सूचीकारको काम हो ।”
उर्दू भाषाका कथाकार सआदत हसन मन्टोले माथिको पंक्तिमा भनेझैँ समाजको यथार्थ चित्रणमा ध्यान दिएका छन् । त्यसो त उनका कथाहरू भारत–पाकिस्तान विभाजन हुनुअघि र विभाजनपछि घटित घटनाहरूका बारेमा बढी केन्द्रीत भएर सामाजिक विसंगतिमाथि उनका कथाहरूले कडा प्रहार गरेको पाइन्छ । विभाजनका बेला भएका हत्या, हिंसा, बलात्कार र ज्यादति उनका कथाका प्रमुख विषयवस्तु भए पनि उनले सँगसँगै हाम्रोजस्तो आडम्बरी र ढोँगी समाजमाथि व्यंग्य प्रहार गरेका छन् ।
हामी भित्रभित्रै यति धेरै भ्रष्ट र विकृत विचार लिएर बसेका हुन्छौं तर बाहिर हामी नैतिकताको लेप लगाई बडो आदर्शवान र नैतिकवान बन्ने प्रयत्न गर्छौं । मन्टोले मानिसमा रहेको यस्तो प्रकारको दोहोरो चरित्रलाई आफ्ना रचनाहरूमार्फत देखाउने चेष्टा गरेका छन् ।
सन् १९१२ मा तत्कालीन ब्रिटिस भारतको पञ्जाब प्रान्तको सम्रालामा कश्मिरी परिवारमा जन्मेका सआदत हसन मन्टो उर्दू साहित्य विशेषगरी कथा विधामा एक उचाइमा पुग्न सफल नाम हो । उर्दू भाषामा मन्टोसँग तुलना गर्न सकिने कथाकार नै छैनन् भनिन्छ । कथामात्रै लेखेर उर्दू साहित्यमा मन्टोले हलचल नै ल्याएका थिए ।
त्यसो त मन्टो विद्यालयमा पढ्ने क्रममा उर्दूमा निकै कमजोर थिए । तीन पटकको प्रयासमा उनी म्याट्रिक पास भएका थिए । तर, जब उनको भेट पञ्जाबको अमृतसरबाट निस्कने उर्दू पत्रिका ‘मुसावत’ अर्थात् ‘समानता’का सम्पादक अब्दुल बारीसँग भयो, उनमा साहित्यप्रतिको लगाव झनै बढ्दै गयो । बारीकै प्रेरणाले भिक्टर ह्युगोको नाटक ‘द लास्ट डे अफ अ कन्डेम्ड म्यान’ उर्दूमा अनुवाद गरे । उनले बारीकै सहयोगमा ओस्कार वाइल्डको ‘वेरा’ पनि अनुवाद गरे, जसमध्ये ह्युगोको नाटकले मृत्युदण्डको विरोध गरेकोले अनुवादका क्रममा मन्टोले आफ्नै मनको कुरा ह्युगोले भनेको बताएका थिए । मन्टो रसियन तथा साम्यवादी धारका साहित्यबाट प्रभावित थिए । त्यसैले पनि होला, उनका रचनामा समाजका निम्न वर्ग र सीमान्तकृत वर्गका लागि आवाज उठाएको पाइन्छ । मन्टोले एन्तोन चेखव, म्याक्सिम गोर्की, पुश्किनलगायतका रचनाहरू उर्दूमा अनुवाद गरेका थिए । रुसी साहित्यसँगको लगावले उनलाई प्रगतिशील लेखकको कित्तामा उभ्याइदियो, भलै उनी प्रगतिशील हुन वा होइनन् भन्ने विषयमा मतभेद छ । 
विभाजनअघि र विभाजनपछि घटेका हिंसात्मक घटनाहरूलाई प्रस्तुत गरेका छन् मन्टोले । ती घटनाहरूले मानिसमा परेको मनोवैज्ञानिक असर र सन्त्रासलाई उनले आफ्ना कथाहरूमा प्रस्तुत गरेका छन् । सहादत हसनलाई उनको क्रान्तिकारी सोच र अति संवेदनशील हृदयले मन्टो बनाएको हो भनिन्छ ।
उनको पहिलो कथा ‘तमाशा’ सन् १९१९ मा पञ्जाबमा घटेको जलियाँवाला बाग हत्याकाण्डमा आधारित छ । उनले यो कथामा जलियाँवाला नरसंहारलाई एक ७ वर्षीय बालक खालिदको दृष्टिकोणबाट प्रस्तुत गरेका छन् । सन् १९१९ मा मन्टो आफैं पनि सात वर्षका थिए र घटना घटेको ठाउँवरिपरि नै थिए । त्यसैले यो कथामा जलियाँवाला बाग घटनाप्रति लेखकको आफ्नै दृष्टिकोण पनि हुन सक्छ । जलियाँवाला नरसंहार बेलायती उपनिवेशका विरुद्ध भइरहेको आन्दोलन दबाउन ब्रिटिस सरकारद्वारा ल्याइएको ‘रौलेट एक्ट’को विरोधमा गरिएको शान्तिपूर्ण आन्दोलन दबाउन रचिएको थियो । रेगिनाल्ड डायरको नेतृत्वमा रहेको सैनिक टोलीले जलियाँवाला बगैँचाका ढोका बन्द गरेर प्रदर्शनकारीमाथि गोली हानिएको थियो । त्यसमा करिब ४ सय नागरिकको मृत्यु भएको थियो । यो घटनालाई भारतीय स्वतन्त्रत संग्रामको महत्वपूर्ण घटना साथै बेलायती शासनको अन्त्यको सुरुवातका रूपमा हेरिन्छ ।
सन् २०१३ मा भारत भ्रमणमा रहेका बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनले जलियाँवाला स्मारकको आगन्तुक पुस्तिकामा ‘बेलायती इतिहासको एक लज्जास्पद घटना’ भनेर लेखेका थिए । मन्टो आफैं पनि क्रान्तिमा संलग्न हुन चाहेका थिए । देशमा क्रान्तिकारी गतिविधि चलिरहेको थियो । बेलायती शासनका विरुद्ध सिंगो भारत एक भएको थियो । गल्ली–गल्लीमा ‘इन्कलाब जिन्दावाद’को नारा घन्किरहेको थियो । ती भिडहरूमा मिसिएर नारा लगाउन मन्टोलाई जान मन थियो तर उनका पिताको रोकावटका कारण जान सकेनन् । तर, उनी आफ्ना रचनाहरूमार्फत आन्दोलनमा सरिक भए ।
मन्टोका कथाहरूले पाठकको मस्तिष्कमा अमिट छाप छोड्न सफल भएका छन् । उनका कथा हेर्दा सरल लाग्ने भए पनि उनी आफ्ना रचनामार्फत पाठकहरूलाई सोच्न बाध्य तुल्याउँथे । उनका कथाहरू साधारण मानिसका बारेमा लेखिएका छन् र सुन्दर लाग्छन् । यसले साहित्यको सौन्दर्य केवल ठूला विषयवस्तुमा मात्रै होइन, दैनिक जीवनमा हामीले खासै ध्यान नदिने वस्तु तथा पात्रहरूमा पनि देखाउन सकिन्छ भन्ने कुरा पुष्टि हुन्छ । केवल राजा महाराजा र प्रकृतिको बयान गर्दैमा साहित्य सुन्दर हुँदैन भन्ने कुरा वाल्टर बेन्यामिन, चाल्र्स बाउडलायर र टी एस इलियटका रचनाहरूबाट पनि थाहा पाउन सकिन्छ । 
बाउडलायरले पेरिसका गल्लीका कविता लेखे, फोहोर उठाउने मान्छेका कविता लेखे । त्यस्तै इलियटले पनि ‘द लभ सङ अफ जे अल्फ्रेड प्रुफोक’मा सामान्य गल्लीका रेस्टुराँ र त्यहाँको वातावरणबारे लेखे । ती रचनाहरू सुन्दर छन् । मन्टोले पनि सामान्य सिपाहीका कुरा, वेश्यालयका कुरा, बलात्कारका घटना र विभाजित भइसकेपछिको भारत र पाकिस्तानका नागरिकको मनोविज्ञानलाई सुन्दर ढंगले प्रस्तुत गरेका छन् ।
त्यसो त मन्टोका रचनाहरू केवल यौनका विषयमा मात्रै केन्द्रित हुने र उनको लेखनलाई फोहोरी र अश्लील हुने गरेको आरोप बारम्बार लागिरह्यो । उनले आरोपमात्रै खेपेनन्, ६ पटकसम्म अदालत पनि जानुप¥यो । उनका धेरैजसो कथाहरू विवादित बनेर अदालतसम्म पुगे पनि मन्टो निर्दाेष सावित भए । उनको ‘खोलिदेऊ’, ‘कालो सुरुवाल’, ‘चिसो शरीर’, ‘टोबा टेक सिंह’ चर्चितका साथै विवादित बन्न पुगेका कथाहरू हुन् । उनका कथाहरू पक्कै पनि यौनका विषयसँग केन्द्रित छन् । तर, अश्लील भने होइनन् भन्न सकिन्छ ।
साहित्यमा अहिले केलाई अश्लील मान्ने र नमान्ने भन्ने बहस निकै चलेको छ । साहित्यमा ‘पोर्नोग्राफी’ र ‘इरोटिक’ विषयवस्तुको चर्चा हुने गरेको छ । यदि तपाईंलाई कुनै विषयवस्तुले यौनाकर्षण गराउँछ भने त्यसलाई पोर्नोग्राफीका रूपमा हेर्ने, यदि गराउँदैन भने त्यसलाई इरोटिकका रूपमा हेर्ने गरिन्छ । मन्टोका कथाहरू यौनमा केन्द्रित छन् तर ती कथा पढ्दा पाठकलाई उत्तेजित बनाउने भन्दा पनि सोचनीय बनाउँछ । पाठकलाई आत्ममूल्यांकनको बाटोतिर डो¥याउँछन् मन्टोका कथाहरूले ।
मन्टोले चर्चित कथा ‘खोलिदेऊ’ (खोल दो)मा विभाजनका बेला घटेका घटनालाई बडो मार्मिकताका साथ प्रस्तुत गरेका छन् । विभाजनका क्रममा दुवै पक्षबाट बलात्कारलगायत ज्यादती भएका थिए । कथामा सिराजुद्दिन, उसकी श्रीमती र छोरी सकिना अमृतसरबाट लाहोरका लागि छुटेको रेलयात्रामा हुन्छन् । त्यस क्रममा बाटोका हजारौं मानिसहरू मारिने, लुटिने र हजारौं मािहला बलात्कृत हुन्छन् । मुगलपुरा रेल्वे स्टेसनमा जब सिराजुद्दिन आफूलाई बेहोस अवस्थाबाट होसमा फर्केको पाउँछ, त्यसपछि उसले श्रीमती र सकिनाको बारेमा सोच्न थाल्छ । उसले यताउति हेर्दा दुवैलाई देख्दैन र सम्झिने प्रयत्न गर्छ । तर, केही सम्झन सक्दैन । उसले श्रीमतीको अन्तिम अवस्थामा उनलाई एक्लै छोड्न र सकिनाको ख्याल राख्न भनेको कुरा सम्झिन्छ । उसले सकिना साथमा नभएको तर उनको चुन्नी खल्तीमै पाउँछ । केही दिनपछि सिराजुद्दिनले थाहा पाउँछ कि स्वयंसेवी युवाहरूले बाटोमा फसेका महिलाको उद्धार गर्दैछन् । उसले ती युवाहरूलाई सकिनाको हुलिया बताउँछ र आशा गर्छ कि उनीहरूले सकिनालाई सकुशल उद्धार गर्नेछन् । तर, धेरै दिनसम्म पनि सकिना फेला पर्दिनन् । केही दिनपछि गाउँलेहरूले एउटी युवतीलाई अर्धचेत अवस्थामा भेट्छन् र अस्पतालमा ल्याउँछन् । सिराजुद्दिन दौडिएर अस्पतालमा पुग्छ । सकिनालाई अस्पतालको ओछ्यानमा देख्छ । डक्टरलाई आफू सकिनाको बुबा भएको बताउँछ । त्यति नै बेला डक्टरले सिराजुद्दिनलाई ‘खोल’ भनेर झ्यालतिर इसारा गर्छन् । तर, त्यति नै बेला सकिनाले आफ्नो सुरुवालको इजार खोल्छे । सिराजुद्दिन खुसीले चिच्याउँछ, “मेरी छोरी जिउँदै छे डाक्टरसाब, मेरी छोरी जिउँदै छे ।”
यो कथालाई धेरैले अश्लील भने । स्वयंसेवकबाटै सकिनाको बलात्कार हुन्छ । सकिनाले उनीहरूबाट यति पीडादायी व्यवहार भोग्छे कि उसले ‘खोल’ शब्द सुन्नेबित्तिकै सुरुवालको इजार खोल्छे । यसले के देखाउँछ भने ऊ ती स्वयमंसेवकको खोल ओढ्नेहरूबाट धेरै पटक बलात्कृत हुन्छे ।
यो कथा कसरी अश्लील र फोहोरी भयो ? यो कथामा सकिनाको क्रियाकलाप अश्लील भयो कि स्वयंसेवीको ? हाम्रो समाज यतिसम्म पतित छ कि बलात्कृत महिलालाई घृणाको भावले हेर्छ र उसैलाई दोषी देख्छ । तर, बलात्कारी पुरुषलाई औँला ठड्याउन सक्दैन । यस्तै समाजको यथार्थ चित्रण गरेका हुन् मन्टोले न कि अश्लील सामग्रीको प्रस्तुति ।
मन्टोले उनका कथाहरू फोहोरी भयो भनेर आरोप लगाउनेहरूलाई जवाफ फर्काउँथे, “यदि तपाईं मेरा कथाहरू फोहोरी ठान्नुहुन्छ भने तपाईँ बसेको समाज नै फोहोरी छ । म त केवल सत्य उजागर गर्छु ।”
मन्टोको परिचय केवल कथाकारका रूपमा मात्रै परिचित छैन । उनी चलचित्रको पटकथाकार, रेडियो नाटककार र निबन्धकारका रूपमा पनि परिचित छन् । तर, मन्टो विभाजनपछिको पाकिस्तान बसाइमा खुसी बन्न सकेनन् । उनीमात्रै होइन, धेरै पाकिस्तानी तथा भारतीय नागरिक आफ्नो थातथलो छोड्नुपर्दा मानसिक रूपमा विक्षिप्त भएका थिए । उनले यसप्रकारको मानसिक तनाव र मनोविज्ञानलाई ‘टोबा टेक सिंह’ मा प्रस्तुत गरेका छन् । 
सआदत हसन मन्टो आफ्नो विक्षिप्त मनलाई खुसी पार्न भन्दै पियक्कड भइरहेका थिए । यसबारेमा पाकिस्तानी लेखक तथा इतिहासकार आयशा जलाल भन्छिन्, “पाकिस्तानले मन्टोलाई मदिराको लत बसाल्यो ।” 
विभाजनपछि हिन्दू र मुस्लिम समुदायबीच साम्प्रदायिकताको भाव बढ्न सक्ने भन्दै मन्टोले भारत छोडेका थिए । उनी आफ्नो जीवनको उत्तराद्र्धमा यस्तो अवस्थामा पुगेका थिए कि दैनिक एउटा कथा लेखेर प्रकाशककोमा पुग्थे र पारिश्रमिक लिन्थे । त्यो पैसाले उनी रक्सी पिउँथे भन्छन् लेखक म्याट रिक ।
मन्टोका कथामा च्यातिएका सुरुवालको प्रयोग निकै नै पाइन्छ । तर, त्यो प्रयोगको सान्दर्भिकताबारे धेरैले खोज गरेको पाइँदैन । टेक्सास विश्वविद्यालयका प्राध्यापक कमरन असदरका अनुसार मन्टोले च्यातिएको सुरुवालमार्फत भारत र पाकिस्तान विभाजित भइसकेपछि धेरै नागरिकको पहिचान संकटमा परेको सन्दर्भ जोडेका हुन् ।
मन्टोले एउटै वाक्यमार्फत पाठकको मस्तिष्क उथलपुथल गर्ने सामथ्र्य राख्थे । उनले ‘लाइसेन्स’ कथामा भनेका छन्, “ऊ अक्सर महसुस गर्थी कि ऊ आफैंलाई बेच्दिनथी । तर, मानिसहरू लुकीलुकी उसलाई खरिद गर्न आउँथे ।” ‘लाइसेन्स’मा उनले एक निती नामकी युवतीको अब्बु टाँगावालासँगको प्रेम सम्बन्धलाई प्रस्तुत गरेका छन् ।
मन्टोले आफू बाँचेको समयभन्दा एक कदम अघि बढेर कथाहरू लेखे भनिन्छ । उनका कथाका बारेमा आज पनि उत्तिकै खोज अनुसन्धान हुने गरेको पाइन्छ । उनको निधन भएको ६ दशक नाघिसकेको छ तर पनि उनका कथाहरू आज पनि सान्दर्भिक लाग्छन् । आजका समस्यालाई पनि उनका कथाहरूले उत्तिकै सम्बोधन गर्छन् । तर पनि उनका प्रायः रचना उर्दूमा भएकाले विश्व साहित्य बजारमा जान नसकेको अवस्था छ । कुशल अनुवादकको कमीले पनि उनका रचनाहरू विश्व साहित्य बजारमा पुग्न सकेका छैनन् ।
४३ वर्षका मन्टोले उर्दू साहित्यलाई एउटा उचाइमा पु¥याएका मात्रै होइन, विभाजनसँग सम्बन्धित मुद्दालाई पनि उत्तिकै स्थान दिए । ढोँगी र आडम्बरी समाजले हरेक चिजलाई अश्लील देख्ने गरेको स्थितिमा उनले समाजको वास्तविक तस्बिर देखाउन साहस होइन, दुस्साहस नै गरेका हुन् । उर्दू कथाकार मुशर्रफ आलम जौकीका अनुसार मन्टोलाई बुझ्न सय वर्ष पनि कम हुन्छ ।
आफूलाई प्रगतिशील लेखकका रूपमा उभ्याएका मन्टो बितेर गए पनि उनका रचनाहरू अझ पनि उत्तिकै पढिन्छन् । उनका कथाले अझ पनि पाठकलाई तरंगित बनाउँछन् । कथा लेखेरै चर्चा कमाएका मन्टोका रचनामात्रै होइन, उनी पनि कालजयी छन् । उनका गैरआख्यान लेखहरू ‘पण्डित नेहरुलाई पत्र’, ‘म कथा किन लेख्छु’ र ‘अंकल सामलाई पत्र’ पनि उत्तिकै चर्चित छन् ।
उनको जीवनमा आधारित ‘मन्टो’ चलचित्र गत वर्ष सेप्टेम्बरमा प्रदर्शन भएको थियो ।
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २२, २०७३  १०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC