site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 उच्च मनोबलको खाँचो

विश्व महामारी मानिएको कोभिड – १९ सबैको साझा संकटको रुपमा देखापरेको छ । संकट अत्यन्त असहज परिस्थिति हो जसका आर्थिक, सामाजिक, राजनीतिक, शारीरिक र मनावैज्ञानिक असर हुने गर्छन् । यसले देशको अर्थतन्त्र, सरकार, राजनीति, सामाजिक र जनसांख्यिक बनावटलाई परिवर्तन गर्न सक्छ भने जनमानसको शारीरिक स्वास्थ्यलगायत मानिसहरुमा अविश्वास, डर, चिंता, नैराश्य, तनाव, कुण्ठा, अवसाद आदि बढन गई मनोसामाजिक स्वास्थ्यमा पनि नराम्रो असर पार्न सक्छ । 

संकटसँग जुध्न सरकारले छोटो समयमा नै नीति, नियम, योजना, कार्ययोजना बनाउने गर्छ भने उक्त कार्ययोजनाको कार्यान्वयन कर्मचारीतन्त्रले गर्ने गर्छ । संकटका बेला जनमानस र कर्मचारीको मनोबलमा नकारात्मक असर पर्नेगर्छ । मनोबल मानसिक साहस र ऊर्जा हो जुन अहिलेको महामारीसँग जुध्न कर्मचारी र सर्वसाधारण जनतामा उच्च हुनु जरुरी छ । यस असहज परिस्थितिमा कार्य क्षेत्रमा खटिएका कर्मचारीहरुको मनोबल नै उपचाररत संक्रमित व्यक्तिहरु, सरकार र सम्पूर्ण जनताको पनि मनोबल हो र सम्बन्धित क्षेत्रका कर्मचारीहरुको मनोबल उच्च बनाई राख्नु हाम्रो कर्तव्य हो ।

जनमानस तथा कर्मचारीहरुमा ऊर्जा र जाँगरको कमी, अरुको आलोचना गर्ने, अफवाह फैलाउने, अविश्वास गर्ने, नेतृत्वप्रति शंका गर्ने, कार्यका लागि व्यक्तिगत प्रयासमा रुचि नदेखाउने, कार्य गर्न आँट नआउने, नेतृत्वप्रति घृणा देखापर्नु कमजोर मनोबलका लक्षण हुन् । मनमा शान्ति, स्वस्थ्य विचार, संक्रमितप्रति स्नेह, कार्य गर्न जाँगर आउने, कार्यप्रति जिम्मेवारीपना, नेतृत्वप्रति विश्वास, संक्रमण निको पार्ने संकल्प, सहयोगी भावना उच्च मनोबलका संकेत हुन् । साथै संक्रमितहरुको संख्यामा अत्यधिक वृद्धि हुनु, संक्रमितहरुको स्वास्थ्यमा क्रमिक सुधार नहुनु, वर्तमान अवस्थालाई लिएर चिन्ता बढ्नु, अवस्था नियन्त्रणभन्दा बाहिर भएको महसुस हुनु, आफ्नो भूमिका प्रष्ट नहुनु, आफ्नो क्षमताको पूर्ण प्रयोग गर्न नपाउनु, नेतृत्व परिवर्तन हुनु, नेतृत्व तहमा समस्या देखा पर्नु, आफ्नो संस्था र देशको प्रणालीप्रतिको दृष्टिकोणले मनोबलमा फरक पार्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उच्च मनोबलले आत्मबललाई बलियो पार्नुका साथै शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने मानसिक अवस्था हो । सरकार, कर्मचारी, संक्रमित र जनसाधारण सबैको मनोबल एक अर्कामा निर्भर छ। जनताको सहयोग र अनुशासनले नयाँ संक्रमित नथपिने हुँदा त्यसले सरकार र कर्मचारीहरुको मनोबल बढाउनेछ भने कर्मचारीहरुको मनोबलले उपचाररत संक्रमितहरुको सफल उपचारमार्फत निको भई संक्रमित र जनमानसको मनोबल बढ्नेछ । त्यसैले उच्च मनोबलका लागि सबैले आआफ्नो ठाँउबाट सकारात्मक प्रयास गर्नु जरुरी हुन्छ । 

कर्मचारीहरुको उच्च मनोबल उनीहरुको प्रभावकारी कार्य सम्पादनको मनोवैज्ञानिक आधार हो । त्यसैले हालको अवस्थामा स्वास्थ्य सेवाका कर्मचारीहरुको मनोबल उच्च राख्नु वर्तमान अवस्थाको आवश्यकता र नेतृत्वका लागि चुनौतीको विषय हो ।

Global Ime bank

संसारभर महामारीले भयावह हुँदै गए पनि नेपालमा उपचाररत संक्रमितहरु स्वास्थ्य लाभ गरी घर फर्कने क्रम बढ्दो छ । यसले सबैको मनोबल उच्च कायम गर्न मद्दत गरेको छ । स्वास्थ्यकर्मीको रुपमा कार्यरत कर्मचारी मानव हो । संकटको बेला कार्य गर्ने क्रममा उसमा अन्तर्निहित विभिन्न मानवीय गुणहरुले उसको कार्यमा असर गर्न सक्छ । संकटका बेलामा पनि आफ्नो व्यक्तिगत र पारिवारिक जीवनसमेतलाई थाती राखी अहोरात्र खटेर सेवा गर्ने कर्मचारीहरुलाई कामप्रति थप अभिप्रेरित गरी उच्च मनोबल बनाई राख्न सरकारले कुनै कसर बाँकी राख्नु हुँदैन । 

संकटको घडीमा सबैको मनोबल उच्च राख्न सम्बन्धित क्षेत्रको नेतृत्व तहमा रहेका पदाधिकारीको व्यवहार महत्त्वपूर्ण हुन्छ । नेतृत्वले अनुयायी र मातहतका कर्मचारीलाई लक्ष्य प्राप्तिका लागि उचित मार्गदर्शन गर्छ । राजनीतिक र संगठनात्मक दृष्टिकोणले हेर्ने हो भने जसका अनुयायी र मातहतमा कर्मचारी छन् त्यो नेता हो । असल नेतृत्व सदैव अनुकरणीय हुन्छ । आफ्नो अनुकरणीय नेतृत्व क्षमताको सही उपयोग गर्ने बेला यही नै हो । 

हालको परिवेशमा सम्बन्धित कर्मचारीको मनोबल उच्च राख्न सरकारले कार्य क्षेत्रमा आवश्यक भौतिक सामग्रीको यथोचित प्रबन्ध मिलाइदिने, सम्बन्धित क्षेत्रको विज्ञताको सम्मान गर्ने, विश्वासको वातावरण बनाउने, अफवाह फैलिन नदिने, पारदर्शिताको सिद्धान्त अवलम्बन गर्ने, संचारलाई प्रभावकारी बनाउने, नेतृत्व स्तरमा आत्मानुशासन कायम गर्ने, सहयोगी भावनाको विकास गर्ने, समानुभूतिको विकास गर्ने, शंकास्पद एवं अप्रिय राजनीतिक निर्णय नगर्ने, राजनीतिक एकताको सन्देश दिने, कुशल नेतृत्वदायी भूमिका निर्वाह गर्ने र सम्बन्धितका लागि विभिन्न आर्थिक प्याकेजहरु घोषणा गर्न जरुरी देखिन्छ । साथै लामो समय बन्दाबन्दीमा परेका जनताको मनोसामाजिक अवस्था थप सुदृढ पार्न मनोविमर्शकर्ताहरुको समुचित परिचालन गर्नसमेत आवश्यक देखिन्छ ।

(त्रिभुवन विश्वविद्यालयबाट मनोविज्ञान विषयमा विद्यावारिधि शोधार्थी)
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  १६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC