site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
५२ वर्षमा कखरा सिकें, अब पढाउँछु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
सन्तोष दाहाल
हरबखत कार्यकर्ताको भीड, सुरक्षाका लागि अगाडि–पछाडि साइरन जडित गाडीको लस्कर, करोडौंको गाडीमा सवारी । नेताहरूको बारेमा हामी यस्तै–यस्तै कुराहरु सोच्छौँ । उनीहरुले कहिल्यै दुःख देख्न पाएका हुँदैनन् भन्ने लाग्छ । सधैं सत्ता र शक्तिको वरिपरि घुमिरहने नेताका परिवार सधैं खुसी र सम्पन्न हुन्छन् भन्ने हामी ठान्छौं ।
तर, हाम्रो यस्तो सोचाइ अनुमान सबैमा लागू हुँदैन । नेताको परिवारमा पनि दुःखले बास गरेको हुन्छ । समस्याले उनीहरूलाई पनि गिजोलिरहेको हुन्छ । आर्थिक अभाव र पारिवारिक तनावको शिखरबाट गुज्रिएर आएकी सुषमा वैद्यको जीवन एउटा उदाहरण हो । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य (किरण)की पत्नी हुनुको परिचयले उनलाई कति ठाउँमा सन्तोष दियो, कति ठाउँमा असन्तोष ।
हामी धापासीस्थित डेरामा पुग्दा सुषमा सकीनसकी एक्लै फ्रिज ठेल्दै थिइन् । भर्खरै कोठा सरेको हुनाले सामानहरू असरल्ल थिए । किचेनका डाइनिङ टेबुल, फ्रिजलगायत गह्रौं सामानहरू ६१ वर्षीया सुषमा आफैं मिलाउँदै थिइन् । पत्नी बोरामा रहेका सामान मिलाइरहँदा श्रीमान् मोहन भने माथिल्लो तलाको आफ्नो कोठामा अध्ययन गरिरहेका थिए ।
हामीलाई देखेपछि उनले भनिन्, “ए ! पत्रकार भाइहरू आउनुभयो ? हामी भर्खर सरेकोले सबै कोठा अव्यवस्थित छन् ।”
यति भनेर उनी आफ्नै काममा फर्किइन् । छेउकै अर्काे कोठाको सोफामा बस्न आग्रह गरिन् । केही बेरमा हामीलाई चिया टक्य्राएर उनी मुसुक्क हाँसिन् र भनिन्, “लुगा फेरेर आउँछु, यस्तो फोहोर लुगामा त राम्रो फोटो नआउला ।”
अर्को कोठातिर गएको केही बेरमै उनी झुल्किइन् । उनलै ‘ल सुरु गरौँ, साढे ३ बजे नातिनी लिन स्कुल जानुपर्छ’ भनेपछि हामी उनको विगतका व्यथा र भविष्यका योजना सुन्न बस्यौं ।
 
० ० ०
 
०१३ जेठ २९ गते अर्घाखाँचीमा जन्मिएकी सुषमा ०३१ सालमा प्युठानका मोहन वैद्यसँग विवाह बन्धनमा बाँधिइन् । विवाहपछि उनले आफ्नो थर माइतीमै छोडिन् तर माइतीको दुःख भने प्युठान सँगसँगै लिएर गइन् ।
सुषमाको पूरै परिवार कम्युनिस्ट थियो । बुबा र भिनाजु मोहनविक्रम सिंह नेतृत्वको कम्युनिस्ट पार्टीमा आबद्ध थिए । त्यसैले छोरीको विवाह पनि कम्युनिस्टसँगै गराइदिने अठोट थियो बुवामा । भनेजस्तो कम्युनिस्ट केटा नभेटेकै कारण १८ वर्षसम्म पनि सुषमाको विवाह गरिदिएनन् । उनकै उमेरका अरु साथीहरूका भने बच्चाबच्ची पनि भइसकेका थिए ।
भारतको गोरखपुरमा भएको पार्टीको महाधिवेशनका बेला सुषमाका बुबा, भिनाजु र मोहनविक्रम सिंहले सल्लाह गरेर सुषमाको विवाहको निधो गरेछन् । अचम्म त के थियो भने जतिबेला विवाहको मिति तय भएको थियो, त्यतिबेला मोहन जेलमा थिए । उनलाई यसबारे केही थाहा पनि थिएन । पछि विवाहको निर्णय पार्टीले पनि ग¥यो र मोहनलाई यसबारे जानकारी दिइयो । जेलमुक्त भएपछि उनी सुषमालाई हेर्न अर्घाखाँची आए । सुषमालाई हेरेपछि उनले ‘केटी त राम्री छे’ भनेर प्रतिक्रिया दिएछन् ।
उनीहरूबीच हेराहेर भए पनि बोलचाल हुन भने विवाह नै कुर्नुप¥यो । “त्यतिखेरको समाज नै त्यस्तै थियो, विवाह नभई बोल्न मिल्दैनथ्यो,” सुषमा अनुहार बिगार्दै हाँसिन् ।
०३१ सालमा उनीहरूबीच विवाह भयो । कहिल्यै विद्यालय नटेकेकी सुषमालाई एमए पास गरेको र पार्टीको केन्द्रीय सदस्यसमेत रहेका छोराले घरमा ल्याउँदा परिवारले स्वीकार्ने कुरै थिएन । आफूले भनेको केटी विवाह नगरेको र कम्युनिस्टकी छोरी विवाह गर्न आँटेको भनेर मोहनका बुबा विवाहमा पनि गएनन् । बुहारी बाहुनकी छोरी हुन् भन्ने यकिन नलागेसम्म सुषमाले छोएको पानी पनि खाएनन् रे !
“माइतीमा बुबाले पर सरेको बेलासमेत मैले पकाएको खानुहुन्थ्यो । तर, घरमा चाहिँ ससुराले छोएको पानी पनि नखाँदा नराम्रो लाग्थ्यो,” उनले सुनाइन्, “बाहुनकी छोरी भएको यकिन भएपछिमात्रै मैले छोएको पानी खानुभयो ।”
पञ्चायतकालमा कम्युनिस्ट राजनीति गर्नु भनेको सरकारको आँखामा कसिंगर बन्नुजस्तै थियो । मोहनसँग त्यतिखेर दुइटा विकल्प थिए– एउटा, राजनीति छोडेर परिवारका साथमा बस्ने र अर्को, भर्खर विवाह गरेर ल्याएकी श्रीमतीलाई घरमा छोडेर भूमिगत हुने ।
सुषमाले वैद्यलाई ‘म घरमा दुःख गर्छु, तपाईं राजनीति नछोड्नू’ भनिन् । विवाहको २ वर्ष नबित्दै मोहन भूमिगत भए । २० वर्षीया सुषमाको जीवनमा त्यसपछि चुनौतीका पहाड खडा भए ।
“श्रीमान् भूमिगत भएको केही समयमै उपचार अभावमा २ वर्षको छोरा गुमाउनुप¥यो । देवरहरू साना थिए । ससुराले वास्ता गरिदिनु भएन,” भावुक हुँदै सुषमा भन्छिन्, “छोरा बिरामी भएको थाहा पाएपछि उहाँ राति घर आउनुभयो । तर, कसैले प्रहरीलाई सुराकी गरिदिएपछि राति नै घरबाट भाग्नुप¥यो । बुबाले मृत छोराकोे अन्तिम संस्कार गर्नसम्म पनि पाउनु भएन ।”
०३३ देखि ०४६ सम्म मोहन कहिल्यै घरमा बसेनन् । प्रहरीको आँखा छलेर कहिलेकाहीँमात्रै घरमा आउँथे । केही समय बस्थे र हिँडिहाल्थे । विवाह भएपछि ०४६ सालसम्म २ वर्षमात्रै उनीहरू सँगै बस्न पाए । छोरा बितेको केही वर्षपछि तीन छोरी जन्मिए । कुनै पनि छोरी जन्मिँदा बुबा घरमा भएनन् । “अरुबेला जे भए पनि सुत्केरीको बेला श्रीमान् पनि सँगै हुनुहोस् भन्ने लाग्थ्यो,” सुषमाले भनिन्, “त्यस्तो अवस्थामा श्रीमान्को धेरै याद आउँदोरहेछ ।”
श्रीमान्ले नकमाएपछि श्रीमतीले घरमा आर्थिक अभाव झेल्नु सामान्य भइहाल्यो । सुषमाले आर्थिक अभाव झेल्नु त प¥यो नै, सासूको हेलाँ पनि सहनुप¥यो ।
“सासू कम बोल्ने, ससुरा गाली गर्ने । मेरा छोरीहरूलाई पनि माया गर्नुभएन,” सुषमाले तीतो पोखिन्, “सासू–बुहारीको सम्बन्धबारे समाजमा चर्चा चल्ने गरेकै हो । तर, मेरो त ससुरासँग पनि कहिल्यै राम्रो सम्बन्ध भएन ।”
जति काम गरे पनि उनले जस पाइनन् । श्रीमान्ले कमाएर नल्याउने भएकाले उनले सासू÷ससुराको अनेक कुरा सुन्नुपथ्र्यो ।
“देवरहरूले बुबालाई सम्झाउन खोज्नुहुन्थ्यो तर शंकालु स्वभावका ससुराले देवरसँग लागेकी छ भन्नसमेत भ्याउनुभयो,” सुषमाले सुनाइन्, “त्यस्तो बेलामा म धेरै रुन्थें । बहुदल आएपछि हामी भिन्न बस्न लागेका थियौं । त्योबेला ससुराले श्रीमान्लाई ‘यसको नाममा जग्गा पास नगर्, यो पोइल गई भने छोरीहरू कसरी पाल्छस् ?’ भन्नुभयो । तर, श्रीमान्ले मलाई कहिल्यै अविश्वास गर्नुभएन ।”
खाना पकाउने, घाँस–दाउरा गर्ने, खेतको काम सबै सुषमाको भागमा पथ्र्यो । घर छाउने र हलो जोत्नेबाहेक सबै काम गर्नुप¥यो उनले ।
“त्यही भएर होला, अहिले पनि काम नगरी बस्नै सक्दिनँ,” सुषमाले हाँस्दै भनिन्, “काम धेरै गरेकै कारण ग्यास्ट्रिकबाहेक अहिलेसम्म केही रोग लागेको छैन । बरु उहाँलाई दम छ ।”
खेतको काममा अरुका श्रीमान्ले सहयोग गरेको देख्दा उनको मन कटक्क खान्थ्यो ।
“आफ्नो त बूढा घरमा थिएनन् । मर्ने–बाँच्ने टुंगो पनि थिएन । मैले त धेरै दुःख पाएँ । तर, जति दुःख पाए पनि श्रीमान्लाई राजनीति छोड्नू भनिनँ,” उनले सुनाइन् ।
मुलुकमा बहुदल आएपछि मोहन खुला राजनीतिमा आए । सुषमाको घरमा पनि खुसी छायो । तर, त्यो खुसी फाट्न धेरै समय लागेन । ०५२ सालमा माओवादीले जनयुद्ध सुरु गरेपछि मोहन फेरि भूमिगत भए । यसपटक भने श्रीमान् भूमिगत भएको केही समयपछि सुषमा पनि भूमिगत भइन् । दुवै भूमिगत भएपछि छोरीहरूलाई घरमा सासू–ससुराले राख्न मानेन् । दुई वर्षपछि छोरीहरूलाई बाँडेर राखिदिइन् सुषमाले । कान्छी छोरीलाई माइत लगेर राखिन् भने जेठी छोरीलाई दिदीकोमा । अर्कीलाई माहिलो देवरकोमा राखिन् । ०५४ मा जेठी छोरीले एसएलसी दिएपछि भने तीनैजनालाई काठमाडौंमा ल्याएर साथीको जिम्मा लगाइदिइन् । 
यसकारण स्कुल भर्ना
सानो छँदा बुबाले दाइहरूलाई स्कुल र सुषमालाई घाँस–दाउरा गर्न पठाए । दाइको हातमा कापी, कलम देख्दा उनको मन कुँडिन्थ्यो । पढ्न एकदमै मन लाग्ने भए पनि स्कुल जान पाउँदिनथिन् । उमेरमा पढ्न नपाएको धोको मेट्न उनी ५१ वर्षको उमेरमा विद्यालय भर्ना भइन् । त्यो उमेरमा विद्यालय जाने भनेपछि मोहनले सुरुमा राम्रो मानेका थिएनन् । तर, उनको हठका अघिल्तिर मोहनको केही लागेन । गत वर्ष एसएलसी दिएकी सुषमा फेल भइन् । गोंगबुस्थित चेतना महिला माध्यमिक विद्यालयबाट दोस्रो पटकमा उनले एसएलसी पास गरिन् । केही समयपछि आफू पढेकै स्कुलमा शिक्षकको रूपमा उनी जागिरे हँुदैछिन् । कक्षा ४ सम्म पढाउने गरी स्कुलले उनलाई बोलाएको छ ।
एसएलसी पास गरेपछि धेरै कुरा जानेजस्तो लागेको छ उनलाई । अब चाँडै कलेज जाने धोको छ उनको । उनलाई लाग्छ– सानैदेखि पढ्न पाएको भए अहिले घरको काममात्रै गरेर बस्नुपर्ने थिएन । राजनीतिमा अगाडि बढ्न पनि सजिलो हुन्थ्यो ।
सुषमा अहिले आत्मकथा लेख्दैछिन् ।
“अब त उमेर ढल्किसक्यो । केही गर्न सकिएला जस्तो लागेको छैन । उमेर छँदै पढ्न पाएको भए त धेरै गर्न सक्थें । आत्मकथा लेख्ने रहर छ, चाँडै लेख्न सुरु गर्छु,” उनले कुराको बिट मारिन्, “अनि ५२ वर्षमा कखरा सिकें, अब पढाउँछु ।”
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २२, २०७३  ०९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC