site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ओली र गौतमको महत्वाकाङ्क्षा कि लोकतन्त्र ?

वि.सं. २०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंश नाशपछि ज्ञानेन्द्र शाह नेपालका राजा घोषित भए । तर उनलाई सुन्नेमात्रै राजा हुन मन लागेन, देखिने राजा हुने रहर जाग्यो । आफ्ना पिता र दाजु संविधानमाथिका राजा भएको र त्यही कार्यकालमा अधिराजकुमारकै हैसियतमा भए पनि रजगज गरेको सम्झिए । अनि संसदीय लोकतन्त्र समप्त पारेर आफूलाई निरंकुश बनाए । अन्त्यमा नेपालको राजतन्त्रलाई नै एकादेशको कथा बनाइदिए ।

आकाङ्क्षा बिना मानिसले प्रगति गर्न सक्दैन । अग्रपथ समात्न इच्छा हुनै पर्दछ । त्यही इच्छा उद्दाम महत्त्वाकाङ्क्षामा परिणत हुन पुग्यो भने सर्वनाश गर्छ । तथापि सत्ताले सबै सत्य, तथ्य र शिक्षालाई विस्मृतिमा पुर्‍याई मान्छेलाई दृष्टिहीन बनाउँदो रहेछ । सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीका सत्तासीन भएपछिका कदमलेयही पुष्टि गर्दै लगेका छन् । यसमा अहिले वामदेव गौतमको चाहना समेत थपिन पुगेको छ ।

वामदेव गौतमका प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षा पुरानै हो । झलनाथ बने, माधव नेपाल बने, ओली बने, सबै बने, म किन नबन्ने ? संविधान च्यात, कानुन फ्याँक तर मलाई प्रधानमन्त्री बनाऊ भन्ने एकोहोरो रटानमा छन् गौतम । यसमा नेकपाका कतिपय नेतागण मतियार बन्दैछन् । लोकतन्त्रमा यो भन्दा लज्जास्पद के हुन्छ ? चुनावमा हारेको व्यक्तिलाई पाँच वर्षका लागि जनताले अस्वीकृत गरेका हुन् । ऊसँग पार्टीको नेतृत्व गर्ने हैसियत त रहला तर देशको नेतृत्व गर्ने रहन्न भन्ने संविधानको भावना हो । त्यही मर्मलाई मार्ने नियतले प्रधानमन्त्रीबाटै गौतमलाई प्रधानमन्त्री र माधव नेपाललाई अध्यक्षको प्रस्ताव आउनुले नेकपाबाट यो संविधान सुरक्षित छैन भन्ने सन्देश दिन खोजिएको त होइन ?

Prabhu Bank
Agni Group
NIC Asia

ज्ञानेन्द्र शाहको महत्त्वाकांक्षाले जनताको वर्षौँदेखिको निरंकुशताबाट मुक्ति पाउने इच्छालाई पूर्ण गरी दियो । कुनै असल कर्म, विशेष योग्यता र जनचाहनाविना नै राजाको छोरो राजा हुँदै आएको परम्परा सिद्धियो । तर, प्रधानमन्त्री ओलीका कदमले भने नेपालको संविधान, जनताले रगत र पसिना दिएर ल्याएको गणतन्त्रलाई र नेपालीको भित्री चाहनालाई घात गर्दैछन् । यसबाट केपी ओलीको पतन हुँदा त कुनै साधारण नेपालीको केही बिग्रँदैन तर लोकतन्त्रमाथि नै कुठाराघात हुन पुग्यो भने कुनै पनि लोकतन्त्रवादीले सहलान् जस्तो लाग्दैन ।

सरकार फेरबदलबाट वाक्क भएका जनताले गत निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीलाई करिब दुई तिहाई सांसद् हुनेगरी चुनाव जिताई दिए । स्थिरताको कामना गरे । देशभरका सातमध्ये ६ प्रदेशमा नेकपाकै सरकार बन्ने अवसर दिए । तर आज दुई वर्ष पुग्नेबित्तिकै आन्तरिक गणितीय खेलमा नेकपा फसेको छ । यसबाट ओलीको र नेकपाको स्खलनमात्रै होइन जनताको अभिमतकै अपमान भएको छ ।

Global Ime bank

अघिल्लोपटक प्रधानमन्त्री हुँदा जनताको काम त होइन कुरा चाहिँ गरेका केपी ओलीसँग उनको कपट नबुझेका सोझा जनताको व्यापक अपेक्षा थियो । चुनावी भाषणमा समेत ओलीले हुने नहुने, सक्ने नसक्ने भाषण र वाचा गरेका थिए । दोस्रोपटक प्रधानमन्त्री हुनेबित्तिकै ओलीमा दुई तिहाइको रापले जनता बिर्साउँदै लग्यो र जनताको साथबाट भन्दा धन, डन र गनबाट शक्ति मिल्छ र त्यसैबाट अजम्बरी मात्र होइन, निष्कण्टक अद्वितीय प्रधानमन्त्री बन्न सक्छु भन्ने गलत सोच पलाउँदै गएको देखिएको छ ।

फलतः बेला न कुबेला दुई अध्यादेशहरु ल्याए – दल फुटाल्ने र संवैधानिक आयोगहरूमा विपक्षीलाई स्थान नदिने । बेला थियो कोरोनाविरुद्ध सक्रिय रहने । सोच्नुपर्ने थियो दैनिक ज्यालादारी गरेर गुजारा गर्दै आएकालाई कसरी सहुलियत दिने । ओलीका ध्यान त्यता गएन । गयो कता त भने अरूलाई कसरी कमजोर बनाउने र शक्ति आर्जन गर्ने भन्नेतर्फ । हिटलर, मुसोलिनी, लेनिन, स्टालिनलाई मात्रै सम्झिन थालेको आभाष सबैलाई दिलाई दिए । नेकपामात्रै होइन अरू दलभित्र पनि चलखेल गर्न सक्छु र तोड्न, जोड्न, फुटाउन जे पनि गर्न सक्छु भन्ने देखाई नेकपाभित्रका आलोचकहरुका साथै जनसाधारणलाई समेत देश आफ्नै मुठ्ठीमा छ भनी देखाउन प्रयत्न गरेको प्रष्टै देखिन्छ ।

प्रचण्डलाई फकाई फुलाई नेकपामा ल्याएँ भनेर मख्ख परेका ओलीले प्रचण्ड राजनीतिलाई अस्थिर बनाउन कत्तिको माहिर छन् भन्ने आँकलन भने गर्न सकेनन् । एमालेका पुराना नेताहरुलाई नै साथमा लिएर दोस्रै अध्यक्ष भए पनि प्रचण्डले ओलीलाई ठाउँ ठाउँमा अप्ठेरो पार्न थालेपछि अरुलाई ठेगान लगाउँछुभन्दा ओली चुर्लुम्मै डुब्न पुगे । कुर्सीमा त उनैका अरिङ्गालको समर्थन पाउँदासम्म रहलान् तर जनताको हृदयबाट भने प्रधानमन्त्रीप्रतिको श्रद्धा पूरै हराउन पुगेको छ । व्यक्ति कसैका प्रति श्रद्धा हराउँदा केही बिग्रँदैन तर प्रधानमन्त्री पदप्रतिको जनताको आस्था गुम्न नदिन सबै एकजुट हुनुपर्ने अवस्था भने ओलीले निम्त्याई दिएका छन् ।

प्रसङ्ग दुई अध्यादेशकै हो । संसद् नचलेका बेला अत्यावश्यक परे अध्यादेश ल्याउन संविधानले सरकारलाई दिएको सुविधालाई सांसद् खरिद विक्री प्रक्रियामा उपयोग गर्न खोजिनु सरासर अक्ष्यम्य अपराध हो । पाप चिताएर कुनै काम गरियो भने त्यसको असर आफैँमा पर्छ भन्ने शास्त्रीय मान्यतासमेत ओलीको यस प्रकरणमा राम्रैसँग पुष्टि हुन पुगेको छ । ‘म ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो’ हुन पुग्यो प्रधानमन्त्री ओलीलाई । यस्तो खेल कांग्रेसले विगतमा नखेलेको भए न आज कांग्रेस यति कमजोर प्रतिपक्षमा हुन्थ्यो, न देशमा नेकपाको हालीमुहाली नै हुन्थ्यो ।

वि.सं. २०४८ को चुनावमा किसुनजीले साँखुमा भाषण गर्दा मञ्च अगाडिका दुईवटा घर, एउटा तीन तले र अर्को भुइँ तले थिए देखाउँदै भनेका थिए – समाजवाद कांग्रेसको लक्ष्य हो र कम्युनिस्टको पनि तर कांग्रेसको समाजवादले भुइँ तले घरलाई तीन तले बनाएर समानता ल्याउने भन्छ भने कम्युनिस्टको समाजवादले तीन तलेलाई भत्काएर भुइँ तले बनाई समानता ल्याउने भन्छ । कांग्रेस र कम्युनिस्ट दुवैको लक्ष्य आधारभूतरुपमा समान हैसियतका जनता हुन् जसले गर्दा भुइँतलावालाले आफु सशक्त भएको अनुभव गर्न सकोस् तर समान बनाउने प्रक्रिया भने नितान्त फरक छन् ।

अहिले प्रष्टै देखियो – नेकपा अरुलाई कमजोर पारेर आफु शक्ति आर्जन गर्न चाहन्छ । होइन, यो त ओलीको मात्रै चाहना हो भन्ने प्रमाणित गर्न चाहने हो भने नेकपाले तुरुन्तै जनतामा सकारात्मक प्रभाव पार्ने कदम चाल्नु पर्छ । त्यो भनेको ओलीमाथि कारवाही । अहिलेसम्मको अवस्था हेर्दा त्यो सम्भव देखिएको छैन । अध्यादेश आएपछिको सचिवालय बैठकमा दाहाल, माधव नेपाल र वामदेवहरुको प्रतिक्रिया सञ्चार माध्यममा आइसकेका छन् । ओलीका अगाडि सबै रुझेका बिरालोजस्ता हुन्छन्, पछाडिमात्रै उफ्रने हुन् भन्ने छाप जनतामा परिसकेको छ । सचिवालय, स्थायी कमिटी बैठकहरु डाकिए पनि आज बस्छ, अर्को मिति तोकिन्छ, सर्दै जान्छ, त्यत्तिकै सकिन्छ भन्ने धेरैको अनुमान छ ।

अध्यादेशकै प्रसङ्गमा प्रधानमन्त्री ओलीले जनतालाई एउटा कुरा भन्नु र नेकपाको सचिवालय बैठकमा अर्कै कुरा भन्नुले प्रधानमन्त्री जनतालाई ढाँट्दा रहेछन् भन्ने छाप परेको छ । जनतालाई ढाँटेर लोकतान्त्रिक पद्धतिमा कुर्सीमा बस्न पनि मिल्दैन । या त स्वास्थ्यका कारणले कमजोर भई कहिले के कहिले के भन्न पुगेका हुन् वा आफ्ना कमजोरी लुकाउने ध्याउन्नमा बोलीमा स्थिरता नभएको हो ! जे भए पनि अस्थिर बोली भएकाले देश चलाउने अपेक्षा गर्नु ओलीका लागि समेत हितकर हुँदैन ।

अध्यादेश ल्याउनुको कारण सांसद् सुरेन्द्र यादवलाई जनकपुरबाट काठमाडौँ ल्याउँदा बाहिरिएका कुराले स्पष्ट पारी सकेका छन् । जनकपुरबाट पूर्व मन्त्रीलाई काठमाडौं ल्याउने क्रममा भएका भनी चर्चामा आएका र सांसद्ले दिएका वयान सरसर्ती अध्ययन गर्दा महेश बस्नेत, किसान श्रेष्ठ र सर्वेन्द्रमात्रै दोषी होइनन्, प्रधानमन्त्री ओली स्वयं पनि संलग्न छन् भन्ने पुष्टि हुन बाँकी छैन । सत्य हो भने यस्ता प्रवृत्तिका व्यक्ति प्रधानमन्त्रीको कुर्सीमा विराजमान भएको टुलुटुलु हेर्ने बाध्यता नेपालीका लागि दुर्भाग्य नै हो । 

लोकतान्त्रिक परिपाटीमा जनताले न्यायको माग गर्न पाउनै पर्दछ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवसहित अपहरणमा परेका भनिएका सांसद सुरेन्द्र यादवले प्रहरी र सरकारी वकिलको कार्यालयमा उजुरी दिन जाँदा दर्ता गर्न मानिएन । सत्यतथ्य जाँचबुझ गरी प्रकाशमा ल्याउनु र उजुरी दर्ता गरी जनतालाई न्यायको अनुभूति दिलाउनु सरकारको प्रथम कर्तव्य हो । उल्टै पूर्वप्रधानमन्त्रीले वर्तमान प्रधानमन्त्रीलाई रेडियो नेपालको अन्तर्वार्तामा आक्षेप लगाए भनेर रेडियोका हाकिममाथि कारबाही थालिएको छ । यो लोकतन्त्रका लागि दुर्भाग्य हो ।

नेकपाले आफ्नो छवि उजिल्याउन यो प्रकरणसँगै माधव नेपाल प्रधानमन्त्री, पुष्पकमल दाहाल सर्वेसर्वा अध्यक्ष, झलनाथ खनाल राष्ट्रपति हुनेजस्ता चर्चा पनि चलाएका छन् । एकघन्टा अघि एकजनासँग र एकघन्टा पछि अर्कैसँग बेग्लाबेग्लै सहमति गर्न सक्ने खुबी दाहालमा विगतदेखि नै देखिँदै आएको छ । त्यसैले नाम चलेका व्यक्तिहरु त्यत्तिकै सजग रहनसमेत जरुरी छ । यही प्रसङ्गमै दाहाल ओलीतिर कोल्टे नफेर्लान् र ? नेपाललाई ‘हात्ती आयो हात्ती आयो फुस्सा’ नबनाउलान् ? 

रोग र भोकबाट जनता संकटमा परेका बेला यस्ता हर्कत गर्ने सरकार कुर्सीमा बसी रहनु शोभा दिँदैन । नैतिकता भए राजीनामा दिनु नै ओली र नेकपाका लागि श्रेयश्कर देखिन्छ । सुरक्षा विधेयक, सञ्चार विधेयक, गुठी विधेयक आदिमा दुई तिहाई संसद्मा छँदाछँदै असफल हुनु, गोकुल काण्ड, स्वास्थ्य सामग्री खरिद काण्ड र अहिलेको सांसद् खरिद विक्री प्रक्रिया आरम्भको आरोप लाग्नु जस्ता कुराहरुले नेकपा पूरै पार्टीलाई नै फोहोर बनाउँदै लगेको छ । यही प्रक्रिया चल्दै गएमा जनतामा भयावह निराशा पैदा हुनेछ र त्यसले देशलाई नै अन्धकारतर्फ धकेल्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  १०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC